- नैना अधिकारी
एउटा बाँझो पन्नालाई
कलमले जोतेर मसृण पारिदिन्छु
उखेली विसङ्गतिका झार जङ्गल
मिल्काइदिन्छु कान्लापारि
मसीले राँटैराँटा पारेर उसको आङ
अभिव्यक्तिको पटाले दलेर
छातीभरि छरिदिन्छु
एकपाथी कविता
हरिया बिरुवा उम्रिन्छन् बररै
सबै पाखाहरू खोस्रेर
सारिदिन्छु अक्षरका बिरुवाहरू
सुकौरो लागेको खेत
हरियो हुन्छ
उराठ लागेको गाउँमा
उमङ्ग छाउँछ
बिरुवाहरू –
सहार्छु
पर्खन्छु
बढ्न दिन्छु
अध्ययनले भर्ने प्रयास गर्छु गिदीका गराहरू
बिस्तारै गाँजिन दिन्छु अक्षरहरू
शब्दहरू फुल्न थाल्छ्न्
बोटहरू पसाउँछन्
बालाहरू पोटाउँछ्न्
हेर्दाहेर्दै लहलह झुल्न थाल्छन्
ढुक्कले रमाउँछ मन
अमूल्य ति सुनौला शब्दबीजहरू अब हुङ्कार बन्नेछन्
भुँडीको भोक निभाउन आशाका दाना बन्नेछ्न्
व्यभिचारको लास जलाउन
चिताको आगो बन्नेछ्न्
हकको आवाज बन्नेछन्
अनि,
अन्यायमा त्राही त्राही
अशान्तिमा सहमर्मिता र
हेपाइमा बर्सिनेछन् शान्तिजल
संसारले पाउने छ
आपदको सारथी
अमूल्य कृर्तिको उपहारले भरिनेछ
साहित्यको भकारी ।
कामरूप खेत्री,असाम,भारत

