- सावित्री अधिकारी
१.
फूल त्यहाँ पनि फुल्छ जुन डालिमा पात हुँदैन ।
दिन ढलेर नगए सम्म जुनेलि रात हुँदैन ।
अप्ठेरोमा पर्दा मद्दत गर्ने व्यक्ति महान हुन्छ,
मानवता भन्दा ठुलो मान्छेकाे अर्को जात हुँदैन ।
सबैलाई आफ्नो इज्जत, मान, प्रतिष्ठा प्यारो लाग्छ,
अपमान खेप्नु जस्तो घोर सजाय लात हुँदैन ।
मायामा धोका खाएर पागल भएकालाई सोध,
प्रेमको नशा जस्तो बिषालु रक्सीको मात हुँदैन ।
हत्केलाको रेखा हेरेर के भविष्य देख्छौ ज्योतिष ?
भाग्य उस्को पनि त हुन्छ जस्को दुबै हात हुँदैन ।
२.
थाहै नदिइ दिलबाट बसाइँ सरेर गएपछि ।
अमृत रित्याई घडा भित्र बिष भरेर गएपछि ।
कसरी गराैं भराेसा निस्वार्थ प्रेम पनि हुन्छ भन्ने,
जता गुलियो रस उतै भमरा चरेर गएपछि ।
लागेको थियोे आस हात समाइ खाेली तराैंला,
हट्याे भ्रम किनारामै छाेडी एक्लै तरेर गएपछि ।
साेचेकाे थिएँ रगतकाे भन्दा भावनाकाे नाता ठूलाे,
टुट्यो विश्वास भावनाले नै छल गरेर गएपछि ।
भ्रम रहेछ संसारिक माया माेह बल्ल आँखा खुले,
सजाएका ति सपना मन भित्रै मरेर गएपछि ।
चाबहिल, काठमाडौं ।

