मकवानपुर । सर्वोच्च अदालतले सोमबार गरेको ससद पुनर्स्थापना फैसलाको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका छन् । अदालतले असार २९ गते साँझ ५ बजे भित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशको नेता बानियाँले सम्मान गर्दै स्वागत गरेका हुन् ।
राष्ट्रपतिबाट भएका सबै निर्णय बदर गर्दै साउन ३ गतेभित्र संसद बैठक बोलाउन समेत सर्वाेच्चले आदेश दिएकाे छ । उक्त आदेशकाे स्वागत गर्दै बाँनियाले अदालतले संसदीय मूल्यमान्यतालाई स्थापित गरिदिएको बताए । प्रधानमन्त्रीको सनक र राष्ट्रपतिको बहकाउमा संसद विघटन गर्न नमिल्ने स्पष्ट पारेको उल्लेख गर्दै संविधानको रक्षा एवं संसदीय गरिमाको सम्बर्द्धनकाे पक्षमा स्वतन्त्र न्यायपालिकाले स्पष्ट फैसला दिएको उनले बताए ।
कुनै पनि राजनैतिक व्यक्तित्वले लोकतन्त्र कमजोर पार्न खोजे स्वतन्त्र न्यायपालिका रहेसम्म त्यो सफल नहुने कुराको अहिलेको फैसला प्रमाण भएको बताए । उनले नेपाली कांग्रेसको काँधमा युगिन जिम्मेवारी आएको भन्दै पार्टीका सबै तह र तप्काका नेता कार्यकर्ता सधैं झैं जिम्मेवार र मर्यादित भई जनताको सेवामा जुट्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने काममा निरन्तर खटिनुपर्ने बताए ।

