मकवानपुर । बागमती प्रदेशसभाको शनिबार दिउँसाे बस्ने गरी ताेकिएकाे बैठक विशेष कारण जनाउँदै स्थगित गरिएकाे छ । आज शनिबार अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ । भोलि असार २७ गते बिहान ११ः३० बजे पुनः बैठक आह्वान गरिएको छ ।
प्रदेशसभा सचिवालयमा शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसी शनिबारकाे लागि बैठक संचालन गर्ने सहमति भएको भएपनि प्रतिपक्षी दलहरुसंग सरकारको सहमति नभएको कारण बैठक सार्नु परेको बताइएकाे छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ काे लागि प्रस्तुत गरेको विनियोजित बजेटमाथि छलफलकाे क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विवेकशील साझा दलका नेताहरुले समष्टिगत रुपमा विभिन्न योजना तथा बजेटको बाँडफाँडमा पक्षपात गरिएको भन्दै असार २१ गते देखि संसद् अवरुद्ध गर्दै आएका छन् ।
यसैगरी विधेयकमाथिको छलफलको क्रममा बागमती प्रदेश सरकारले ल्याएको गौरबको योजनामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने,विद्युतीय बस सञ्चालन गर्न नहुने तथा प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल लगायतले बैठक अबरुद्ध गरेका थिए ।

