मकवानपुर । राष्ट्रिय सभामा प्रस्तुत भएका ७ वटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता भएका छन् । राष्ट्रिय सभाका २ जना सदस्यले शुक्रबार ७ वटै अध्यादेश अस्वीकार गर्दै सूचना दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी(जसपा)बाट सांसद प्रमीला कुमारी र मृगेन्द्रसिंह यादवले अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका छन् । उक्त अध्यादेशहरू संसद् छलेर ल्याएको, संविधानको भावना विपरीत रहेको, संसदीय अभ्यास र मान्यता विपरीत रहेको लगायतका कारण राष्ट्रिय सभाले अस्वीकृत गर्नुपर्ने सूचना पत्रमा उल्लेख छ ।
अस्वीकार गरिएका अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेलवे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश र विनियोजन अध्यादेश छन् ।
त्यस्तै, काँग्रेसले पनि अध्यादेश अस्वीकारको सूचना संसद् सचिवालयमा दर्ता गराएको छ । राष्ट्रिय सभाको बिहिबारदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले विभिन्न १६ अध्यादेश पेश गरेको थियो ।
संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधिसभा विघटन गरी ल्याइएको अध्यादेश तथा कतिपय विधेयकहरु संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत भएको कांग्रसको तर्क छ । सांसदहरु राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्थ र खिमलाल देबकोटाले आज सङ्घीय संसद् सचिवालयमा अध्यादेश अस्वीकार गर्ने सूचना सचिवालयमा दर्ता गरेका हुन् ।
राष्ट्रिय सभाकाे अर्काे बैठक असार २० गते बस्नेछ ।

