मकवानपुर । राष्ट्रिय क्रिकेट टोली (पुरुषको) को जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ। राष्ट्रिय क्रिकेट टिमले प्रयोग गर्ने जर्सीको नयाँ डिजाइन खुल्ला प्रतिस्पर्धा मार्फत छनोट गर्ने निर्णय गरेको नेपाल क्रिकेट संघले सोमबार सूचना जारी गर्दै जनाएको छ ।
जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र नीलो रङ ख्याल गर्न आग्रह समेत गरिएको छ । राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसीसीको नियमानुसार नै जर्सी डिजाइन गर्न आग्रह गरिएको छ । नेपालको खेल परम्परालाई झल्काउने, नेपाली क्रिकेटको लिगेसीलाइ प्रतिबिम्बित गर्ने किसिमको जर्सी डिजाइन गरी पठाउनु पर्ने सूचनामा उल्लेख गरिएकाे छ ।
नेपाल क्रिकेट संघले जर्सीको उत्कृष्ट डिजाइन गर्नेलाई रु एक लाख पुरस्कार प्रदान गरिने विज्ञप्तिमार्फत जानकारी दिएको छ। नेपालले आगामी जुलाईमा विश्वकप लिग २ अन्तर्गत स्पेनमा स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्ने छ । सोही प्रतियोगितालाई ध्यानमा राखी नयाँ जर्सीको डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको हो । तीन सदस्यीय छनोट समितिले प्राप्त डिजाइनबाट उत्कृष्टलाई छनोट गर्ने छ । नेपाल क्रिकेट संघको नाममा अन्यत्र जर्सी डिजाइन सम्बन्धी आएको सूचनाहरू आधिकारिक नभएको जनाइएको छ।


