- चेतनाथ दाहाल
एउटै गाउँका,एउटै स्कुलमा एउटै कक्षामा अध्ययन गर्ने सुरज र सुमनको बीचमा फरक थियो त केवल उनीहरुको घरको आर्थिक अबस्था।
सुरजको परिवार सम्पन्न थियो तर सुमनको परिवारमा बिहान बेलुकाको हातमुख जोड्न धौ धौ थियो। सुरज कहिलेकाही सुमनको घरमा जादा सुमनले सिस्नोको सागसंग च्याँख्लाको भात खाईरहेको देख्दा हेयको दृस्टीले हेर्थ्यो अनी भन्थ्यो “धत् यस्तो सुगुरलाई खुवाउने चिज पनि मान्छेले खाने हो?
हुन त भाग्यले झापड हानेपछि कस्को के लाग्छ!” पढाई सकेपछि सुमन गाउँमै आधुनिक तरिकाले कृषि ब्यबसाय गरेर बस्यो सुरज ठुलो जागिर खाने धेरै कमाउने उच्च महत्वाकांक्षा बोकेर शहर पस्यो।
समय आफुले सोचेजस्तो मात्र कहाँ हुन्थ्यो? उच्च महत्वाकांक्षा,अत्यधिक दौडधुप र खानपिनको लापरबाहीले गर्दा सुरजलाई सुगर र प्रेसरले गाज्यो। उसले शहरमा आफुजस्तै मान्छे प्रशस्त भएको अनुभब गर्यो र त्यसैलाई मध्यनजर गरि एउटा होटल खोल्यो।
एकदिन सुमन काम बिशेषले शहर गयो। सुरजलाई भेट्न उ होटलमै पुग्यो। होटलको सामुन्नेमै एउटा बोर्ड झुण्डिएको थियो जसमा लेखिएको थियो “यहाँ सिस्नुको साग,च्याँख्लाको भात र कोदोको ढिंडो पाइन्छ।”
अचम्म मानिरहेको आफ्नो पुरानो साथीको अनुहारमा हेर्दै भावुक हुदै सुरजले भन्यो “के गर्नु मित्र समयले झापड हानेरै छोड्यो।”
कानेपोखरी २ मोरङ्गहाल काठमाडाैं

