मकवानपुर । आज जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएकोकाे दिन । २०५८ जेठ १९ गते साँझ दरबार हत्याकाण्ड भएकाे आज २० वर्ष पूरा भएको छ ।
हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । साथै राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग विक्रम र अन्य राजपरिवारका सदस्यहरूको पनि हत्या भएको थियो ।
अत्यन्तै संवेदनशिल र उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले सम्म रहस्यमै रहेकाे छ । पारिवारिक भाेजमा भनाभन हुँदा युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली प्रहार गरेपछि आफैलाई गोली हानेको तत्कालिन छानविन समितिकाे प्रतिवेदनमा सार्वजनिक गरिएपनि त्यसको विश्वसनियतामा शंका गर्ने गरिन्छ ।
मुलुकमा राजतन्त्र हटेर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

