यो मन जल्यो, मुटु जल्यो तिम्रो शहरमा ।
आकाश फाट्यो ,धर्ती गल्यो तिम्रो शहरमा।
तिमीलाई बिर्सनकै लागि लेख्न छोडेकी हुँ ,
आज फेरि महफिल चल्यो तिम्रो शहरमा।
भत्किन्छ भन्ने डरले झुपडी भत्काएर आएँ
तिम्रो सामु बिश्वास ढल्यो तिम्रो शहरमा ।
जून जस्तै भयौ तिमी, तारा जस्तै भयौ,
आकाश हेर्दै यो रात टल्यो तिम्रो शहरमा ।
बस्तीहरु अधेरिए , चुल्हाहरु चिसा भए,
ढुङ्गामा पनि आगो बल्यो तिम्रो शहरमा ।
भरतपुर, चितवन
मकवानपुर । हेटौंडा जेसीजकाे वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । हेटौंडा जेसीजकाे आयोजना भएकाे राष्ट्रियस्तरको वकृत्वकलामा पौडेल प्रथम हुँदै पुरस्कार स्वरुप नगद २५ हजार प्राप्त गरिन् ।
‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरुबीच आज फाइनल प्रतियोजिता भएको हो । फाइनल प्रतियाेगितामा पौडेल प्रथम भइन् भने पोखराकी सुस्मा आचार्य द्वितीय र नवलपुरकै पुजा पराजुलीले तृतीय स्थान प्राप्त गरेकी थिइन् । द्वितीय र तृतीय हुने आचार्य र पराजुलीले क्रमशः नगद १५ हजार र १० हजार प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले विजयी तथा सहभागीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए । हेटौंडा जेसीजले सन् २०२० बाट वर्षेनी वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।
कार्यक्रममा प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दिपकराज मिश्रलाई सम्मान गरिएको थियो ।वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगितामा सन् २०२० मा प्रिन्सि काफ्ले, २०२१ मा रिमा काफ्ले र सन् २०२२ मा गरिमा घिमिरे प्रथम भएका थिए ।
मकवानपुर । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिइने भएको हो ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार र मुखियालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो । दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।
अक्षरलाई कलाको आवरण मार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागी माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
लामो समय साझा प्रकाशनमा आबद्ध मुखिया ६ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।
त्यस्तै, २०७९ सालको मदन पुरस्कार ओझाको ऐंठन उपन्यासलाई प्रदान गर्ने निर्णय भएको छ। विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐंठनको पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा ओझाको ऐंठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय भएको गुठीले जनाएको छ।
लेखक ओझाको यो तेस्रो पुस्तक हो। यसअघि उनका ऐलानी र एक पाइला आकाशमा पुस्तक प्रकाशित छन्।
यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ पाँच पुस्तकको सूची प्रकाशित गरेको थियो। जसमा सुविन भट्टराईको इजोरिया, ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटोको घर पुस्तक समावेश थिए।
२०७९ सालको मदन पुरस्कारका लागि ३सय १३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ।
२०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको अग्नि महाकाव्यलाई प्रदान गरिएको थियो। जगदम्बा-श्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिंदै आएको छ।
नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान प्रदान गरिदै आएको छ ।
काठमाडौं । ललितपुरमा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको हो ।
शनिबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ललितपुरको पाटन दरबार क्षेत्रमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए ।
उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं’ उनले भने ।
त्यस्तै एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले प्रदर्शनी निक्कै नै प्रभावकारी भएको बताए। ‘ज्येष्ठ नागरिक केहि गर्न सक्दैनन् भन्नेलाई हामी पनि अझै केहि सक्रिय छौं भन्ने सन्देश आजको फोटो प्रदर्शनीले दिएको छ, यस्ता खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्दै जाने छौं ।’ उनले भने।
कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी राखिएको कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए । प्रदर्शनीमा राखिएको तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म राखिएको फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।



मकवानपुर । साहित्य सङ्गमद्वारा मकवानपुरका ९ जना स्रष्टा सम्मान गरिएको छ । २०७९ सालमा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गरेका मकवानपुरे ९ जना स्रष्टालाई सङ्गमले सम्मान गरेको हो ।
शनिबार सङ्गमको ३ सय ३५ औँ साहित्य सन्ध्यामा उनीहरु सम्मानित भएका हुन । सङ्गमले ‘छेलिएका अनुहार’ पुस्तकका लेखक प्रताप विष्ट, ‘शिक्षकको भाषा’ का छवि अनित्य, ‘छैनौ कसोरी तिमी’ का पुरूषोत्तम आचार्य, ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ का मसान उपासक, ‘खुसी’ लघुकथा सङ्ग्रहका किशन पौडेल, कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ का सुभाषचन्द्र पौडेल, ‘कोरिएका धर्साहरू’ कविता सङ्ग्रहका ऋत्विक के. बी., ‘अभियुक्त समय’ कविता सङ्ग्रहका समर्पण न्यौपाने, ‘कठघरामा देश’ का सर्जक बिर्खे अन्जानलाई सम्मानित गरेको हो ।
साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा सम्मानित स्रष्टाहरू के.बी, न्यौपाने,अनित्य,पौडेल,अन्जान,पौडेल भीमफेदीया तथा कार्यक्रमका समीक्षक हरिकृष्ण काफ्ले तथा शान्तिप्रिय वन्दनाले रचना वाचन गरेका थिए।
यसैगरी कविहरू दिनेश शर्मा,सुवास खनाल,जनार्दन खनाल,मनोज पोखरेल,कुवेर पराजुली,कृष्टिना कार्की,सरजु भण्डारी,दीपिका लम्साल,बिजनेस सन्जेल,प्रकृति अर्याल,अनसूया खनाल,रिजन राना,सुवास सजल,रोशनी चौलागाई,बैकुण्ठ लामिछाने,ठाकुराम भण्डारी,कमल नेपाल,विष्णु न्यौपाने,पुण्यशिला श्रेष्ठ, ऋषि के.बी,सानुभाइ विश्वकर्मा,लक्ष्मी कँडेल,ऋषिराम पाण्डे,ओमभक्त भण्डारी,स्वस्तिका बानियाँ,रजनी पौडेल, सम्प्रस पौडेल र सन्जित श्रेष्ठलगायतका स्रष्टहरुले रचना वाचन गरेका थिए।
साहित्यकार नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्य तथा सङ्गम अध्यक्ष डीबी बर्तौलाको सभापतित्वमा सम्मान तथा सन्ध्या भएकाे हाे ।