मकवानपुर । मुक्तक मञ्च मकवानपुरले विद्यालयस्तरीय खुला मुक्तक प्रतियोगिता गर्ने भएको छ ।
मञ्चको आयोजना र हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रबर्द्धनमा असार १४ गते शुक्रवार विद्यालय स्तरीय मुक्तक प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक अजर फुयालले जानकारी दिए । प्रतियोगितामा मकवानपुर जिल्लाका सामुदायिक तथा सस्थागत विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने मञ्च सचिव सुबास सजलले जानकारी दिए ।
प्रतियोगितामा सहभागी जनाउन यसअघि विद्युतीय वा छापा माध्यमबाट सार्वजनिक नगरिएको २ वटा मुक्तक असार १० गते भित्र सूचनामा उल्लेखित स्थान र इमेलमा पठाउन सकिने उनले बताए । प्रतियोगितामा प्रथम हुनेले ३ हजार द्वितीय हुनेले २ हजार र तृतीय हुनेले १ हजार पुरस्कार प्राप्त गर्ने मञ्च अध्यक्ष सागर तिमल्सिनाले बताए । यसै गरि सान्त्वना २ जनालाई जनही ५/५ सय प्रदान गरिने उनले जानकारी दिए ।
काठमाडौं । सुरेश लामा र एलिया सोयवको ‘माया बस्यो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ । सुरेशकाे स्वर रहेकाे ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हाे।
युवा प्रेम र आकर्षणको भाव व्यक्त गरिएको गीतमा शब्द र संगीत एलिया र सुरेशकाे रहेको छ। गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम देखाइएकाे छ। निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।
भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। हालसम्म भिडियोलाई २ लाख बढीले हेरेका छन् । यसैगरी भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ।
एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल हुन् । उनी गायक सुरेशको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ चिनिएका छिन् । ‘माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन् ।
मकवानपुर । श्याम प्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित हुने भएका छन् ।साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष उक्त सम्मान प्रदान गर्दै आएकाे छ ।
संगमले मंगलबार पत्रकार भेटघाटमा हेटौडामा कार्यक्रम गरी उक्त सम्मानकाे जानकारी दिएको हो । पत्रकार भेटघाटमा संगम अध्यक्ष डीबी बर्तौलाले असार ७ गते यस वर्षकाे श्याम प्रसाद शर्मा स्मृति सम्मान साहित्यकार एवम् पूर्व मन्त्री ज्ञवालीलाई सम्मानित गर्ने बताए ।
प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशी २५ हजार रुपैया रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त सम्मानकाे राशी यस वर्षबाट बढाएर २५ हजार रुपैया बनाइएकाे बताइएकाे छ ।
कार्यक्रममा ज्ञवालीका एकल कविता वाचन हुनेछ भने उनले लेखेका गीतकाे गायन समेत हुनेछ । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविताहरू वाचन गर्ने तथा आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीका गीतलाई गाउने छन् । यस्तै श्यामकुमार बानियाँ, पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति समेत रहने सचिव मनोज पोखरेलले जानकारी दिए ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्धनमा हुने सम्मान तथा साङ्गीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गर्ने समेत पाेखरेलले बताए ।
२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री – २०४६ (उपन्यास), चिता जलिरहेछ – २०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया -२०५७ (कविता संग्रह), कुहिरो – २०६० (कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग – (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन्।
दुई मुटु, एक धड्कन भएकै छैन
अर्थहीन जिन्दगी ठिक चलेकै छैन।
म किनारा, रहुला नदी रहुन जेल
यस्तै राम्रो छ अरु केही साेचेकै छैन।
यति भन्छु मुटुमा आगाे लगाउनेलाई
जलेकाे त हाे मेरो मुटु दुखेकै छैन।
आखिर कसरी घायल हुन्छौं त प्रिया
मेरा यी नजरमा तिमी परेकै छैन।
मात्रै हात र घुडाकाे भरमा हिड्छु म
लाग्छ अझै मैले त खुट्टा टेकेकै छैन।
माया दिए कंगाल हुन्न फूलको थुँगा
तर खै माया के हाे मैले बुझेकै छैन ।
मकवानपुर । साहित्य संगम मकवानपुरले २ जना स्रष्टालाई शनिबार हेटौडामा सम्मान गरेकाे छ । साहित्य सङ्गम मकवानपुरले शनिबार गरेकाे लघुकथा उत्सव कार्यक्रममा शार्दुल भट्टराई र डा दामोदर पुडासैनी किशाेरलाई सम्मानित गरेकाे हाे ।
भट्टराईलाई गोपालप्रसाद रिमाल स्मृति साहित्य सम्मान तथा किशाेरलाई साहित्य सङ्गम मकवानपुर कृति सम्मान प्रदान गरिएकाे हाे । हेटाैंडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँले सम्मानित व्यक्तिलाई नगद र प्रमाणपत्रसहित उनीहरुलाई सम्मानित गरेका हुन् ।
भट्टराई संगमद्वारा स्थापित २० हजार रुपैया राशिको ‘गोपालप्रसाद स्मृति सम्मान २०८१’ सम्मानित भए । नाटक, कविता, अनुवाद, सम्पादन तथा समीक्षामा क्रियाशील उनका ‘बाँसुरीको आतङ् (नाटकसङ्ग्रह)’ र ‘पुल खस्यो (कवितासङ्ग्रह)’ प्रकाशित छन् ।
संगमका संस्थापक सचिव केशव श्रेष्ठ ज्योतिले स्थापना गरेकाे २५ हजार रुपैयाँ राशिको ‘साहित्य सङ्गम कृति सम्मान २०८०’ ‘डोल्पो ओ डोल्पो’ कृतिका लागि पुडासैनी सम्मानित भएका हुन् । नमेटिएका चिठीहरू र गृष्मको निलो बतास पुडासैनीद्वारा लिखित कृतिहरू हुन् ।
हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले भाषा र लेखन क्षेत्रमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साहित्यकारहरुसँग शिक्षाकाे खानी हुने भएकाेले धेरैकुरा सिक्न सकिने बताउँदै बौद्धिक व्यक्तिलाई सम्मान गर्दै राजनीति र सामाजिक क्षेत्रमा लाग्न उहाँहरुलाई उत्प्रेरित बनाउनु पर्ने बताए ।
‘साहित्य सम्बन्धी कार्यक्रमको लागि साहित्य संघसंस्था उपमहानगरपालिका धाउने हाेइनकी उपमहानगरले बाेलाएर छलफल गरी साहित्यकाे लागि कार्यक्रम बनाउनु पर्ने बताए । ‘स्थानीय सरकार भौतिक निर्माणमा मात्रै रमाएकाे अवस्था छ’ उनले भने । अवकाे विकास भनेकाे बौद्धिक क्षेत्रकाे साहित्यकाे भाषा कला र संगीतकाे हुनु पर्ने बताउँदै तव मात्रै समाजकाे विकासकाे मापन गर्न सकिने बताए ।

साहित्य सङ्गम मकवानपुरका सल्लाहकार सुवास खनालले सम्मानित व्यक्तिको बारेमा संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा लघुकथा चौतारी मकवानपुरका अध्यक्ष तथा लघुकथाकार किशन पौडेलले लघुकथा लेखनमा महोत्सवले थप सहयोग पुग्ने बताए । यसैगरी साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरेले मकवानपुरमा साहित्य क्षेत्र चलायमान हुँदै अगाडि बढ्दै गइरहेको बताए ।
कथा, कविता, गजल, मुक्तक लगायत साहित्यका विविध विधाको विधागत कार्यशाला, लेखन, वाचन, स्रष्टा सम्मानलगायतका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सङ्गम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
लघुकथा सिद्धान्त र बाटो बहस
‘लघुकथाः सिद्धान्त र बाटो’ बहसमा चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौँकी सुमन वर्षा सहभागी थिए । एसके निधन सहजकर्ता रहेको यस सत्रको अभिभावकत्व साहित्य सङ्गमका सल्लाहकार तुलसी घिमिरेले गरेका थिए । बहसमा लघुकथाकार रेग्मीले लघुकथाको सुरूवात, मध्य र विचारको प्रयोग तथा यसको अन्त्य गरिने तौरतरिकाकाे जानकारी दिएका थिए ।
यस्तै लघुकथाकार सुमन वर्षाले लघुकथाका भिन्न स्वरुप रहेको र उठानका क्रममा राजनैतिक द्वन्द्व, समाजका विषयवस्तु, दैनिकीका कुराहरू जुनसुकै विषयवस्तु उठान गरेता पनि त्यसलाई निश्कर्षमा पुर्याएको छ वा छैन भन्ने विषयले पनि लघुकथाको भिन्नतालाई पहिचान गर्न सकिने बताइन् । वर्षाले लेखकले कसरी लेख्ने भनेर सूत्र हेरेर नलेख्ने बरू नवीन प्रयोग गर्दै लेख्ने जानकारी दिइन् ।
बहसका क्रममा लोहनीले लघुकथा पहिले लेखियो कि सिद्धान्त पहिले बन्यो भन्ने प्रश्नमा जुनसुकै लेखन पहिले हुने र सिद्धान्तमा हाल्ने काम पछि हुने जानकारी दिए ।
उत्सवमा मकवानपुरका किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अङ्कल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी, चितवनकी रचना शर्मा, बैतडीका धनदेव जोशी, प्युठानका हरि जिसी, काठमाडौँका किसान प्रेमी र केशव श्रेष्ठ ‘ज्योति’ लगायतले आ-आफ्ना लघुकथा वाचन गरेका थिए।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजिकरण गरेका थिए । कार्यक्रममा साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् साहित्यकारहरुको उपस्थिती रहेको थियो ।