मकवानपुर । ऋषिराम पाेखरेलकाे पुस्तक अनुभूतिका आँखाहरु सार्वजनिक भएकाे छ । सर्जक सञ्जाल मकवानपुरले पाेखरेलकाे पहिलाे कृति अनुभूतिका आँखाहरु सार्वजनिक गरेकाे हाे ।
लामाे समय शिक्षण पेशमा आवद्ध रही अवकाश हुनु भएका पोखरेलले आफ्नाे जीवनका विभिन्न अनुभूति समेटी लेखेकाे पुरस्कारकाे प्रकाशक हेटौडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जाेशी रहेका छन् । लेखक पाेखरेलले आफ्नाे कृतिलाई अनुस्मरण भनेका छन् ।
समालाेचक घनश्याम घिमिरेले कृतिमा लेखक आफूले भाेगेका विभिन्न अनुभवहरु र गरेका अनुभूतिहरु जस्ताकाे तस्तै उतारेकाे बताए । कृतिकारले समाजमा रहेका स्वार्थी व्यक्तित्व र वैचारिक रुपमा स्खलित भएकाहरुप्रति कडा प्रहार गरेकाे समेत गरेकाे घिमिरेले जानकारी दिए । कृतिमा कलात्मक र साहित्यिक पक्षमा भने केही कमजाेरी रहेकाे उनकाे भनाइ छ ।
कार्यक्रममा साहित्यकार देवराज तिवारी र शान्तिप्रिय बन्दनाले पनि कृतिभित्रकाे वैचारिक पाटाे, नारीवादी चेतका साथै विभिन्न सकारात्मक र सुधारात्मक पाटाेबारे चर्चा गरेका थिए ।
बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटाैंडा-४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष ईन्द्र नेपाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, शिक्षासेवी देव श्रेष्ठलगायतले शुभकामनाका साथै कृतिका बारे धारणा राखेका थिए ।
मकवानपुर । वासुदेव–भानु स्मृति साहित्य पुरस्कारबाट दीपक गौतम सम्मानित हुने भएका छन् । वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले उक्त पुरस्कारबाट यो वर्ष साहित्यकार दिपक गौतमलांई सम्मानित गर्ने भएका हाे ।
नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक समेत रहेका मकवानपुरे साहित्यकार गौतमले साहित्य क्षेत्रमा पुर्याभएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठान आरसी रिजालले बताए । रिजालका अनुसार उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले २०७१ सालदेखि हरेक बर्ष भानु जयन्तीको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । प्रतिष्ठानले २०७१ सालमा साहित्यकार रामचन्द्र आचार्य फुर्सती, २०७२ मा पुरुषोत्तम आचार्य, २०७३ मा प्रभा भट्टराई, २०७४ मा श्यामकुमार बानियाँ, २०७५ मा नरेन्द्र परासर, २०७६ मा मुना अर्याल, २०७७ मा निमेष निखिल, २०७८ जनार्दन शर्मा, २०७९ मा ठाकुर शर्मा भण्डारी र २०८० मा सुनिल गौतमलाई सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष रिजालले जानकारी दिए ।
असार २८ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने भएकाे हाे । आगामी शुक्रबार संस्थाले विद्यार्थीहरुबीच विभिन्न प्रतियोगिताहरु आयोजना गरी भानु जयन्ती समेत मनाउने तयारी गरेको बताइएकाे छ ।
दर्कियो पानी चर्कियो छाती सम्झेर असार
रुझेकी होलिन् ती मेरी आमा गरेर हतार
टाढा छ मूल कुलोमा पानी आयो कि आएन
झिकेर भाका चरीले गीत गायो कि गाएन
थिएन इच्छा छोडेर गाउँ विदेश धाउन
साहुको ऋण, पुगेन राम्रो खान र लाउन
विदेशी भएँ यो मन तर पुगेछ गाउँमा
लेख्दै छु चिठी आँसुको मसी आमाको नाउँमा
कोदालो हलो बोकेर जुवा बेँसीमा झरेको
ओढेर घुम छलेर पानी रोपाइँ गरेको
सानीले रोप्थी हिलोले छ्याप्थी म गर्थेँ बाउसे
साथी र भाइ जिस्किन पाए उस्तै थे रउसे
आमाको माया गाउँको याद सम्झायो असारले
फन्दामा परेँ फर्केर जान दिँदैन कतारले
कस्तो भो गाउँ जन्मेको ठाउँ बिर्से कि साथीले
त्यो बुढो बर रोयो कि कतै हिँड्नेको तातीले
(असारे झ्याउरे)
इलाम
मकवानपुर । साहित्य संगम मकवानपुरले नियमित सन्ध्याअन्तर्गत शनिबारको गोविन्द खड्का तथा गणेश कुमार पौडेल स्मृति कार्यक्रम गरेकाे छ । संगमकाे ३४४ औं नियमित साहित्य सन्ध्यामा स्वर्गीय गाेविन्द तथा गणेश विशेष रचना वाचन कार्यक्रम गरिएकाे हाे ।
साहित्य संध्यामा १५ जना स्रष्टाले साहित्यका विविध विधामा रचना वाचन गरेका थिए । राजकुमार चौधरी, ऋषिराम पाण्डे, राजकुमार राउत, सुवास सजल, संप्रस पौडेल आँप, सानु खनाल र देवराज खरेल कविता वाचन गरेका थिए ।
यसैगरी अनिता पौडेलले मुक्तक र मिथिला अधिकारी गजल वाचन गरेकाे सन्ध्यामा छवि अनित्य, सानुभाइ विश्वकर्मा, राजुराम राउत तथा अग्रज साहित्यकार रमेश मोहन अधिकारी, देवराज तिवारी र जनार्दन खनालसमेत आआफ्ना रचना वाचन गरे ।
स्व. खड्का र पौडेलको तस्वीरमा माल्यार्पण गरि सुरु गरिएकाे सन्ध्या संगम अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा भएको थियाे ।
मकवानपुर । श्याम प्रसाद शर्मा स्मृति सम्मान २०८१ बाट प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेकाे उक्त सम्मानबाट शीतविन्दुलाई शुक्रबार हेटौडामा सम्मानित गरिएकाे हाे ।
प्रगतिशील साहित्य लेखनमा स्थापित शर्माकाे नाममा स्थापित सम्मानकाे राशी २५ हजार रुपैया रहेकाे छ । यस अघि १५ हजार रहेकाे उक्त सम्मानकाे राशी यस वर्षबाट बढाएर २५ हजार रुपैया बनाइएकाे हाे । कार्यक्रममा ज्ञवालीले एकल कविता वाचन समेत गरेका थिए । साहित्यकार निमेष निखिल र सुवास खनालले ज्ञवालीका कविता वाचन गरेका थिए भने आशाकाजी श्रेष्ठ र अजर फुयाँलले ज्ञवालीका गीतलाई गाएका थिए । यस्तै श्यामकुमार बानियाँ, पुरूषोत्तम आचार्य र हरि पौड्यालको विविध साङ्गीतिक प्रस्तुति गरेका थिए ।
साहित्य सङ्गमको आयोजना, भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहआयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्धनमा भएकाे सम्मान तथा साङ्गीतिक कार्यक्रममा ज्ञवालीका एकल कवितामाथि घनश्याम घिमिरेले समीक्षा गरे ।
२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ चौतारामा जन्मिएका ज्ञवालीले २०७३ सालमा ‘बिना सालिकका नायकहरु’ कविता कृति प्रकाशित गरेका थिए । यसअघि शीतविन्दु नामबाट साहित्य रचना गर्दै आएका ज्ञवालीले सहयात्री – २०४६ (उपन्यास), चिता जलिरहेछ – २०५१ (कविता संग्रह), आस्था, ओ मेरी प्रिया -२०५७ (कविता संग्रह), कुहिरो – २०६० (कथा संग्रह), माक्र्सवादको सिर्जनात्मक प्रयोग – (२०५८), प्रचण्डपथः विचारको केन्द्रीकरण कि भ्रष्टिकरण (२०५९), फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन (२०६४), युवाः एक बहस (२०६६), राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरणः एक अर्थराजनीतिक बहस (२०७०) लगायत कृति प्रकाशित छन्।
यसैगरी १९८६ असार ६ मा मकवानपुरकाे साेलिथुममा जन्मिनु भएको श्यामप्रसाद शर्मा नेपाली राजनीति, पत्रकारिता र साहित्यमा सक्रिय थिए। शर्माले ‘सेवा’ मासिक, ‘स्वास्नी मान्छे’, ‘साहित्य सेवा सदन’ पत्रिकाको सम्पादन तथा प्रकाशन गरेका थिए । मुक्ति पुरस्कार (२०५०) र महेन्द्र प्रज्ञा पुरस्कार (२०५०) लगायत सम्मानद्वारा द्वारा सम्मानित उनका निबन्धात्मक कृतिहरू “बहिनीलाई चिठ्ठी १-२ (२००८/२०१२)”, “तँ, तिमी, तपाईं, हजुर (२०१४)”, “मेरीआमा (२०२३)”, “थुनुवाको डायरी (२०३८)”, “केही साहित्यकार र साहित्य (२०४२)” प्रकाशन भएका छन् । यसैगरी म “साम्यवादी होइन (२०४०)”, “आएका केही चिठी (२०५५)”, “मेरो पत्रकार जीवन (२०६३)” लगायत कृतिहरू समेत प्रकाशन भएका थिए ।
औपचारिक रूपमा कक्षा १० सम्मको स्कुले शिक्षा प्राप्त गरेका शर्माले वीरगञ्जमा प्रगतिशील लेखक संघको स्थापना गरेका थिए । आत्मपरक, प्रयोगवादी तथा राष्ट्रवादी भावनाका सिर्जनामार्फत नेपाली साहित्यमा चिनिएका शर्माको निधन २०७४ साल बैशाख २४ मा काठमाडौंमा भएको थियाे ।