मकवानपुर । साहित्य सङ्गम मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । संगम स्थापना दिवसकाे अवसरमा आइतबार रक्तदान कार्यक्रम गरिएकाे हाे ।
३५ औं सन्ध्या दिवसकाे अवसरमा गरिएकाे रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका संगम सचिव मनोज पोखरेलले जानकारी दिए । रचना वाचन, विमर्श, विमोचनलगायतका साहित्यिक गतिविधिहरू गर्दै आएको सङ्गमले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएकाे अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा साहित्यिक संस्थाले रक्तदानको आयोजना गरेको पहिलो हाे । कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी, पत्रकारलगायतले रक्तदान गरेका छन् । ३५औँ सन्ध्या दिवसको अवसर आयोजित कार्यक्रममा रचना वाचन समेत गरिएको थियो ।
कार्यक्रममा चिरञ्जीवि लामिछाने, पुष्पा काफ्ले ढुङ्गेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, सानु खनाल, सन्देश गौतम, संप्रस पौडेल, सुबास सजल, ध्रुव सिन्तान, सुजन ढकाल, भावना सापकोटा, अजर फुयाँल, कुबेर पराजुली, रोश्नी चौलागाईँ, कमल नेपाल, अन्जान खड्का, देवकी तिमल्सिना, बैकुण्ठ लामिछानेलगायतले रक्तदानसँगै रचना वाचन गरेका थिए ।
हुरी रोकिए पनि, बतास रहन्छ ।
तिमी गयौ तिम्रो याद खास रहन्छ ।
लगेपछि लुटेर सारा खुशीहरु,
आँसु आँखाकै आसपास रहन्छ ।
हटाऔँ अब मालिक भन्ने शब्द,
यो मालिक रहेसम्म दास रहन्छ ।
नयाँ नयाँमा मात्रै हो महत्त्व हुने,
माया कहाँ सधैं एकनास रहन्छ ।
गर्दिन कसैसँग अपेक्षा केहि पनि,
पुरा नभएपछि मन उदास रहन्छ ।
जिन्दगी केहि होइन सोच्छ्न् घाटमा,
जल्नु अघि जबसम्म लास रहन्छ ।
सुर्योदय नपा इलाम
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रम गर्ने भएकाे छ । सिस्नुपानी मकवानपुरकाे आयोजना तथा हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयकाे प्रवर्धनमा कार्यक्रम गरिने शनिबार हेटौडामा पत्रकार भेटघाट आयोजना गरी जानकारी गराइएकाे हाे ।
सिस्नुपानी मकवानपुरले ४ नम्बर वडा कार्यालयकाे सहयोग तथा समन्वयमा कविता, प्यारोडी गायन, समसामयिक राजनीति र सामाजिक क्षेत्रका विकारका विरूद्धमा प्रहसन, मनोरञ्जनात्मक क्यारिकेचरसहितकाे गाइजात्रा गर्न लागेकाे हाे ।
आगामी ३ भदौमा हेटौडामा हुने हास्यव्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रममा स्थानीय कलाकारहरुकाे विभिन्न प्रदर्शन हुने छन् । गाईजात्रा कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, सामाजिक मुद्दामाथि प्रहसन/नाटकीय प्रस्तुति, कविता, बजेट भाषणलगायतकाे प्रस्तुति रहने उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिनप्रसाद लामिछानेले जानकारी दिए ।
पत्रकार भेटघाटमा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले साहित्यकाे एक माध्यम हास्यव्यङ्ग्य भएकाे बताउँदै भने ‘साहित्यकारहरुले व्यवस्था बदल्न भूमिका खेलेकाेमा अव अवस्था परिवर्तन गर्न तथा व्यवस्थालाई टिकाइ राख्न समेत लागि पर्नु पर्छ ।’ भाषा कला साहित्यकाे प्रवर्धन तथा उन्नयनमा स्थानीय सरकारकाे सहयाेग रहिरहने उनले बताए ।
राजनीति, समाज, प्रशासनिकलगायत सबै क्षेत्रमा रहेका विकृति र विसंगतिविरूद्ध हास्यव्यङ्ग्य सिर्जनामार्फत् आवाज बुलन्द पार्दै आइरहेको सिस्नुपानी नेपालको स्थापना २०५५ सालमा भएको हाे । विभिन्न हास्यव्यङ्ग्यात्मक सिर्जनाहरू प्रहसन, प्यारोडी, कविता, क्यारिकेचर मार्फत् मनोरञ्जन समेत प्रदान गर्दै आइरहेको सिस्नुपानीकाे जिल्ला शाखाका रूपमा सिस्नुपानी नेपाल मकवानपुर रहिआएको सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।
संस्थाले विगतमा राष्ट्रव्यापी खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता, हास्यव्यङ्ग्य सिर्जनाका सर्जकलाई सम्मान तथा पुरस्कार प्रेरणा र हौसला, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोगलगायतका कार्यसमेत गर्दै आएकाे उनले बताए ।
संस्थाले स्थापना दिवस विशेष हास्यव्यङ्ग्य कार्यक्रम, गाईजात्रा विशेष हास्यव्यङ्ग्यात्मक कार्यक्रम, भैरव जयन्ति विशेष कार्यक्रम, देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्दै आइरहेकाे अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार हास्यव्यङ्ग्य रचना, क्यारिकेचर तथा कार्टुन सिर्जनासँग सम्बन्धित कार्यशालाकाे तयारी समेत गरिएकाे छ ।
सिस्नुपानी मकवानपुरद्वारा तीन वटा पुरस्कार प्रदान गरिदै आएकाे छ । संस्थापक गणेशकुमार पौडेल परिवार रहेकाे गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य साहित्य सम्मान, हास्यव्यङ्ग्यकार आरसी रिजाल संस्थापक रहेकाे हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार, भैरव अर्याल स्मृति सम्मान (साहित्य सङ्गम मकवानपुरसँग संयुक्त) संस्थापक भैरव अर्याल परिवार रहेकाे पुरस्कार र सम्मान हरेका वर्ष प्रदान गरिदै आएकाे लामिछानेले बताए ।
हेटौडा ४ स्थित ओम्याक्स सिनेमा हलमा हुने कार्यक्रमका लागि अनिवार्य तर निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको आयोजकले जनाएकाे छ ।
चितवन । कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।
उत्कृष्ट १० मा विष्णु सापकोटाको उपन्यास‘अडिएका पाइला’, कृष्ण गौतमको उपन्यास ‘अद्वैत’, रमेश सायनको उपन्यास ‘अन्तर’, सानु शर्माको कथासङ्ग्रह ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपिचा’, जीवन जीवन्तको उपन्यास ‘चरैवेति’, भक्त स्याङ्तानको कथासङ्ग्रह ‘डम्फुको आत्मालाप’, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’, गोविन्दप्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ र रोशन थापा निरबको उपन्यास ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।
समाजले सार्वजनिक गरेको बिज्ञप्तिमा भनिएको छ – ‘कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरू मध्ये एउटा कृतिलाई प्रदान गर्दै आएको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि निर्णायक मण्डलको सिफारिसका आधारमा १० वटा उत्कृष्ट आख्यान कृतिको सूची वर्णानुक्रमका आधारमा प्रकाशित गरिएको छ । यी कृतिहरूमध्ये दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको सूची प्रकाशित गरिनेछ । ती मध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गरिनेछ ।’
पुरस्कृत आख्यानलाई आगामी कात्तिकमा चितवनमा कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताए । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ । २०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको ‘मरिचिका’ कथासङ्ग्रहले प्राप्त गरेकाे थियो । २०७६ सालमा श्याम शाहको ‘पथेर’ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको ‘परित्यक्ता’ उपन्यास, २०७८ सालमा लोकराज भट्टको ‘छाइल’ उपन्यास र २०७९ सालमा देवीप्रसाद सुवेदीको ‘मनु’ उपन्यासले उक्त पुरस्कार प्राप्त गरेका छन् ।
काठमाडौं। साहित्यकार कल्पना काफ्लेको मुक्तक संग्रह ‘अशान्त धड्कन’ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बीच ‘अशान्त धड्कन’ को लाेकार्पण गरिएको हो ।
प्राडा माधवप्रसाद पाेखरेल, साहित्यकार नवराज लम्साल, काफ्लेकी आमालगायतले मुक्तक संग्रहकाे लाेकार्पण गरे । दुई सय बढी मुक्तक समावेश गरिएकाे मुक्तक संग्रहमा विकृति, विसंगतिहरू, माया प्रेमलगायतका भावयुक्त मुक्तक समेटिएका छन् ।
काफ्लेकाे यसअघि भाव सरोवर कविता संग्रह प्रकाशित छ । साहित्य सुधाकी संस्थापक काफ्ले नेपाल एयरलाइन्समा कार्यरत छिन् ।