काठमाडौं । “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ।
यस गीतमा गायक मुकुन्द त्रिपाठी र अस्मिता अधिकारीले स्वर दिएका छन्। शब्द, संगीत, र निर्देशन मुकुन्द त्रिपाठीकै रहेको यो सिर्जना नेपाली सांगीतिक बजारमा एउटा रोचक प्रस्तुति हो। एरेन्जर राजु सुनाम र मिक्सिङ बिनोद परियारले यो गीतलाई प्राविधिक हिसाबले उत्कृष्ट बनाएका छन्।
भिडियोमा गायक मुकुन्द त्रिपाठीसँगै सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय रहेको छ। सिनेमाटोग्राफी सुबास सुबेदीले गरेका छन् भने सम्पादन र कलरिङ सुबास अम्गाईले गरेका छन्। भिडियोमा युमी बलामीको कोरियोग्राफी रहेको छ। दुर्गा न्यौपाने त्रिपाठीद्वारा प्रस्तुत यो गीत मुकुन्द त्रिपाठीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
काठमाडौं । प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुलीलगायतको अभिनय छ । उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ ।
भिडियो सुमी पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा हुने खुला कविता प्रतियाेगिताकाे लागि कविता पठाउने समय १ हप्ता थप गरिएकाे छ । साहित्य सङ्गम मकवानपुरकाे आयोजना तथा प्रदेश युवा परिषद्, बागमती प्रदेशको व्यवस्थापनमा हुने कविता प्रतियोगितामा कविता पठाउने समय थप गरिएकाे हाे ।
प्रतियाेगिताकाे म्याद थप सम्बन्धी सूचना साहित्य संगम मकवानपुरले प्रकाशित गरी जानकारी दिएकाे हाे । प्रतियोगिताकाे लागि कविता पठाउने समय सिमा २० मंसिर रहेकाेमा उक्त म्याद सकिएकाेले १ हप्ता थप गरी २७ मंसिरकाे समय तोकिएकाे सूचनामा उल्लेख छ । कविता प्रतियोगितामा सहभागि हुनेले २७ मंसिर दिउँसो ४ बजेसम्म कविता उपलब्ध हुने गरी पठाउनु पर्ने संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे व्यवस्था गरिएकाे अध्यक्ष बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ द्वितीय पुरस्कार ३० हजार रुपैयाँ तृतीय पुरस्कार २० हजार रुपैया र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ रहेकाे छ । जुनसुकै विषयका मौलिक कविताले स्थान पाउने प्रतियाेगितामा ४० वर्ष उमेर पुरा नभएका युवाले मात्र भाग लिन पाउने अध्यक्ष बर्तौलाले जानकारी दिए ।
प्रतियाेगितामा भाग लिने कविता बढीमा १५० शब्दकाे हुनु पर्ने छ भने कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित नभएको हुनुपर्ने बताइएकाे छ । कविता पठाउँदा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र र वैयक्तिक विवरण (बायोडाटा) समेत पठाउनु पर्ने नियम रहेकाे संगम सचिव मनोज पोखरेलले बताए ।
निर्धारित समयमा प्राप्त कवितामध्ये उत्कृष्ट २० कविताकाे छनोट १ पुसमा गरी अन्तिम प्रतियोगितामा सहभागी गराइने पोखरेलले बताए । उनका अनुसार ६ पुसमा हुने अन्तिम प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नु पर्नेछ । कविता sangam.htd@gmail.com मा पठाउनु पर्ने पोखरेलले जनकारी दिए ।
मकवानपुर । ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ कलाकार नीर शाहलाई प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस वर्षकाे लागि उक्त पुरस्कार शाहलाई प्रदान गरिने जानकारी दिएको हो ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले १ लाख राशीको पुरस्कार गीतकार शाहलाई प्रदान गरिने निर्णय भएको जानकारी दिए । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत सक्रिय स्रष्टा हुन । उनले नेपाली गीत संगीतमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाउदै आएका कलाकार शाहका पर्खी बसें आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब .. लगायतका गीत चर्चामा छन् । आगामी माघ १५ गते हेटौँडामा एक विशेष समारोहकाबीच नीर शाहलाई पुरस्कार समर्पण गरिने बताइएको छ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालमा पुरस्कारकाे स्थापना गरेका हुन् । २०६४ सालमा अम्बर गुरुङलाई ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिएकाे थियाे ।
त्यसपछि अम्बर गुरुङ- २०६४ प्रेमध्वज प्रधान- २०६५ भक्तराज आचार्य – २०६६, फत्तेमान राजभण्डारी- २०६७, शान्ति ठटाल- २०६८, दीप श्रेष्ठ- २०६९, प्रकाश श्रेष्ठ- २०७०, न्हुच्छेबहादुर डङ्गोल- २०७१, मीरा राणा- २०७२, कर्म योञ्जन- २०७३, चेतन कार्की- २०७४, दावा ग्याल्मो- २०७७, दीपक जङ्गम- २०७८, किरण प्रधान २०७९, राजेन्द्र थापा- २०८० पुरस्कृत भएका छन् । स्थापना हुँदा ५० हजार रुपैंया रहेकाे उक्त पुरस्कारकाे राशी २०६७ सालबाट बृद्धि गरी १ लाख रुपैंया पुऱ्याइएको छ ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा तरङ्ग साँस्कृतिक परिषद्को पहलमा ७ भाद्र २०५९ मा स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रकाे संस्था हाे । देश तथा विदेशमा रही नेपाली वाङमयकाे क्षेत्रमा उल्लेखनीय योगदान पुन्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको प्रतिष्ठानले जनाकारी दिएकाे छ ।
प्रतिष्ठान आफैंले स्थापना गरेकाे भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार (२०७७), भीम विराग राष्ट्रिय साहित्य पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय कला पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार (२०८१) प्रदान गर्दै आएकाे छ । यसैगरी प्रतिष्ठानले तुलसीमाया – शिवकुमारी सिर्जनशील नारी पुरस्कार ( सस्थापक मुक्तिगोविन्द वैद्य, २०६०), भीम – मथुरा बाल प्रतिभा पुरस्कार (संस्थापक विन्दुगोपाल गोर्खाली, २०६०), कमला भवानी सङ्गीत पुरस्कार (सस्थापक घनश्यामशङ्कर शर्मा, २०६५) प्रदान गर्दै आएकाे छ ।
यस्तै शीला नारी सङ्गीत पुरस्कार (संस्थापक आशीष श्रेष्ठ, २०६५), हर्षनर बज्राचार्य स्मृति स्वर्ण पुरस्कार (संस्थापक ज्योतिरत्न बज्राचार्य, २०६६), विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार (सस्थापक चुनु बानियाँ, २०७०), चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार (संस्थापक रामबहादुर पाख्रिन, २०७१), मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार (संस्थापक देवप्रसाद श्रेष्ठ/दीपकप्रसाद श्रेष्ठ, २०७३), अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार (संस्थापक रोशन सेन गुप्ता, २०७४ ) पुरस्कार समेत प्रदान गर्दै आएकाे छ ।
मकवानपुर । मकवानपुर हेटौंडाका बेलप्रसाद खतिवडाले जन्मदिनकाे अवसरमा पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् । हेटौंडा १८ निवासी खतिवडाले आफ्नो जन्मदिनमा पुष्पलाल स्मृति पुस्तकालयलाई ११ वटा पुस्तक सहयोग गरेका हुन् ।
हेटौंडा–५ स्थित पुस्तकालयमै पुगेर खतिवडाले ७ हजार ५ सय रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गरे । साहित्य संगम मकवानपुर संगम अध्यक्ष डीबी बर्तौला र सचिव तथा पुस्तकालय व्यवस्थापन समितिका संयोजक मनोज पोखरेललाई खतिवडा दम्पत्तिले पुस्तक हस्तान्तरण गरेका थिए । जन्मदिनलाई अवसरकाे रुपमा सदुपयोग गर्दै पुस्तकालयलाई पुस्तक सहयोग गरिएकाे खतिवडाले बताए । संगम अध्यक्ष बर्तौलाले पुस्तकालयलाई नयाँ पुस्तक भएकाेले पाठकले लाभ लिन सक्ने बताए ।
खतिवडाले सुधीर शर्माको ‘हिमालपारिको हुरी’, भिक्षु, ‘व्यापार र विद्रोह’, भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र’, गोविन्द कुसुमको ‘भृकुटी’, भानु बोखिमको ‘गोधुली गीत’, शैलेन्द्र अधिकारीको ‘अर्हत्’, सागर गैरेको ‘मोहर’, रमेश भुषालको ‘छालबाटो’, रमेश सायनको ‘अन्तर’, डा. श्रीधर खनालको ‘शावर्णी’, घनश्याम खड्काको ‘निर्वाण’ पुस्तकालयलाई हस्तान्तरण गरे ।
हेटौंडा उपमहानगरपालिकाले स्थापना गरी साहित्य संगम मकवानपुरकाे व्यवस्थापनमा सञ्चालन हुँदै आएको पुष्पलाल स्मृति पुस्तकालय दैनिक बिहान १० बजेदेखि साँझ साढे ५ बजेसम्म खुल्ने गरेको छ । पुस्तकालयकाे २ सय भन्दा बढी सदस्य रहेकाे पोखरेलले जानकारी दिए ।