चितवन। हाम्रो मझेरी साहित्य प्रतिष्ठानले आफ्नो २२औं वार्षिकोत्सव मनाएको छ। विगत दुई दशक देखि नेपाली साहित्यको क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको प्रतिष्ठानले शनिबार भरतपुरमा विशेष कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको हो। समारोहमा नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान र कृतिहरूको विमोचन गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीको सभापतित्वमा आयोजित कार्यक्रममा करिव १ दर्जन स्रस्टा सम्मानित भए। गजल साहित्यमा योगदान दिएका नवलपरासीका गजलकार डा.घनश्याम न्यौपाने परिश्रमीलाई ‘हाम्रो मझेरी साहित्य शिरोमणि सम्मान-२०७७’ प्रदान गरियो भने चितवनका पत्रकार एवम् कुमाता कथासङ्ग्रहका लेखक वसन्त पराजुलीले ‘हाम्रो मझेरी विशिष्ट पत्रकारिता सम्मान – २०७७’ प्राप्त गरे। त्यस्तै ‘हाम्रो मझेरी साहित्य सम्मान -२०७७’बाट चितवनकी गायत्री श्रेष्ठ, काभ्रेका सूर्यप्रसाद लाकोजू र मकवानपुरका दिनेशकुमार शर्मा न्यौपाने विभुषित भए।
त्यस्तै चितवनकी कवि सामना पहाडले ‘सिर्जनशील नारी प्रतीभा सम्मान-२०७७’, चितवनका गजलकार रमेश प्रभातले ‘मोतीराम भट्ट गजल प्रतीभा सम्मान-२०७७’, बर्दियाकी स्रस्टा अन्जु सापकोटा अनुले ‘सिर्जनशील नारी साहित्य सम्मान-२०७७’, पाल्पाका स्रस्टा भोजराज भट्टराईले ‘हाम्रो मझेरी साहित्य प्रतीभा सम्मान-२०७७’ र सिन्धुलीकी स्रस्टा अस्मिता दाहालले ‘सिर्जनशील नारी युवा प्रतीभा सम्मान-२०७७’ सम्मान प्राप्त गरे। चितवनकै गीतकार भुवन शर्मा कँडेलको नाम पनि सम्मानित हुनेहरूको सूचीमा छ। कँडेलले ‘हाम्रो मझेरी गीतकार अवार्ड-२०७७’ प्राप्त गरेका हुन्।
कार्यक्रममा ९ वटा कृति पनि विमोचित भए। प्रतिष्ठानको मुखपत्र ‘हाम्रो मझेरी साहित्यिक पत्रिका’को ५८औँ अंकसँगै प्रतिष्ठानको नियमित प्रकाशन संयुक्त गजलसङ्ग्रह हैसियतको भाग-६ पनि विमोचन गरिएको छ। साथमा अर्को संयुक्त गजलसङ्ग्रह ‘उडान’ पनि सोहि कार्यक्रममा विमोचन गरियो। विमोचन गरिएका अन्य पुस्तकहरूमा चेतनाथ रुवालीको ‘आमा’, पुष्प अधिकारी अञ्जलोको ‘हरियो ऐना’, वसन्तमोहन अधिकारीको ‘कृष्ण’ किशन पौडेलको ‘कहर’ र रामजी रानाभाटको गजलसङ्ग्रह ‘उज्यालो जीवन’ गजल सङ्ग्रहरू थिए भने रामजी रानाभाटकै कवितासङ्ग्रह ‘उज्यालो मन’ पनि विमोचन गरिएको छ।
चितवन, नवलपरासी, मकवानपुर, सिन्धुलीसहित मुलुकका विभिन्न जिल्लाहरूबाट कार्यक्रममा उपस्थित स्रष्टाहरूको रचनावाचनसँगै कार्यक्रम समापन भएको थियो।
मकवानपुर । झरना साहित्यिक परिवारले दाेस्राे बकैया साहित्य महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकार, पत्रकारलाई सम्मान गर्ने भएको छ । गतवर्षबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन यस बर्ष पनि आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
बकैया गाउँपालिका–५ श्रीपुरमा रहेको प्रभात माविमा फागुन १४ र १५ गते महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए । महोत्सवमा पहिलो दिन फागुन १४ गते शुक्रबार नवसर्जक (बालबालिका विशेष) रचना वाचन, पुरस्कार वितरण एवम् बहसमूलक कार्यक्रम रहेको छ । दोस्रो दिन फागुन १५ गते शनिबार स्रष्टा सम्मान, स्थानीय सांस्कृतिक नृत्य, जग्गा दाताहरूलाई सम्मानसँगै साहित्यिक रचना वाचन तथा गायन कार्यक्रम रहेको गौतमले जानकारी दिए ।
साहित्यिक महाेत्सवमा यसवर्ष होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७७ सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम खतिवडालाई प्रदान गरिने छ । १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशी रहेको पुरस्कारका संस्थापक नुरप्रसाद गौतम हुन् रहेका अध्यक्ष गाौतमले जानकारी दिए ।
यस्तै, बाबुलाल–भोजमाया प्रतिभा सम्मान–२०७७ मकवानपुरे अग्रज कवि आर.आर. चौलागाईँ प्रदान गरिने भएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको यस पुरस्कारका संस्थापक विनोद सुवेदी रहेका छन् । शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान– २०७७ अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । काठमाडौँ निवासी पौडेललाई प्रदान गर्न लागिएको ११ हजार १ सय ११ राशीको पुरस्कारका संस्थापक रमेशमोहन अधिकारी हुन् ।
यसैगरी, खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान–२०७७ नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने छ । अर्पण र दर्पण पराजुलीले स्थापना गरेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७७ मकवानपुरे साहित्यकार रुकु कार्की प्रदान गरिने भएको छ । राजन दङ्गालले स्थापना गरेको उक्त पुरस्कारको राशी पनि ५ हजार ५ सय ५५ रुपैया रहेको छ ।
यस्तै, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७७ मकवापुर बकैयाका मनहरी लामिछानेलाई प्रदान गरिने सचिव उपासकले बताए । ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरस्कारका संस्थापक तुलसी गिरी रहेका सस्थाले जनाएकाे छ .
झरना–बकैया पत्रकारिता पुरस्कार–२०७७ बाट रौतहटका खेम बोलखेलाई प्रदान गरिनेछ । पुरस्कार संस्थापक रहेको बकैया गाउँपालिका रहेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । यसैगरी, झरना–बकैया नवप्रतिभा पुरस्कार–२०७७ बाट बकैयाका दीपशिखा घिमिरेलाई प्रदान गरिने छ । पुरस्कार संस्थापक चन्द्रकुमार राई रहेको उक्त पुरस्कारको राशी २ हजार ५ सय ५ रुपैया रहेको झरनाले जनाएको छ ।
झरना २०५० सालमा साविक छतिवन गाविस (हाल बकैया गाउँपालिका) मा स्थापित भई हालसम्म क्रियाशील मकवानपुरको अग्रणी साहित्यिक संस्था हो । यसले मासिक साहित्य शृङ्खला सञ्चालन, ‘झरना’ नामक अर्धवार्षिक पत्रिका प्रकाशन, प्रकाशन कोषमार्फत् साहित्यिक कृतिहरू प्रकाशन लगायत विविध साहित्यको क्षेत्रमा विविध गतिविधिहरू गरिरहेको छ ।
स्थापना कालदेखि नै साहित्यिक कार्यक्रमहरू गर्ने र विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई साहित्यमा लाग्न प्रेरित गर्ने अभियानहरू सञ्चालन गर्दै आएको छ । अहिले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत पछिल्ला ६ वर्षमा झरनाले ५० भन्दा बढी विद्यालय र कलेजहहरूमा पुगेर १ दिने काव्य प्रशिक्षण सञ्चालन गर्दै बाल साहित्य समितिहरू गठन गरिसकेको छ । नवसर्जकहरूमा लेखन र पठन संस्कृतिको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष गाैतमले जानकारी दिए ।
यसैबीचमा झरना साहित्यिक परिवार मकवानपुरले बकैया–५ मा आफ्नै भवन तथा पुस्कालय सञ्चालन प्रयोजनार्थ २ कठ्ठा जग्गासमेत गाउँपालिका कार्यालयबाट प्राप्त गरेको छ ।
मकवानपुर । नवोदय साहित्यिक बगैंचाले भर्चुअल सहिद दिवस विशेष कार्यक्रम गरेको छ l माघ १६ गते सहिद दिवसको अवसरमा महान् ४ सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दसरथ चन्द एवम् शुक्रराज सास्त्रीको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनी, रचना वाचन तथा वक्तृत्वकला प्रतियोगिता गरेकाे हाे ।
वक्तृत्वकला प्रतियोगिता जीएस निकेतनकी उषा अधिकारी, तुलसी मेहरका प्रमिश रानाभाट नवोदय शिशु सदनका प्रिन्स बर्तौला उत्कृष्ट ३ मा पर्न सफल भएका छन् । ९ वटा विद्यालयहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा विनिता कार्की र दिप्सिका घिमिरे रहेका थिए ।
विद्यार्थीको बोलाई क्षमता तथा खोज अनुसन्धानको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबकी अध्यक्ष इलिशा पराजुलीले जानकारी दिइन् l उत्कृष्ट हुनेहरूलाई क्लबले विद्यालयमा नै बोलाएर पुरस्कार दिने पराजुलीले बताइन् ।
मकवानपुर । संगीत साधक भीम विरागको ८६ औं जन्मजयन्तीको अवसरमा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुरले वरिष्ठ गायिका दावा ग्याल्मोलाई बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरेकाे छ
हेटौँडाका सङ्गीतप्रेमी,समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गर्नुभएको १२ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार बरिष्ठ गीतकार विश्व बल्लभले शनिबार हेटौंडामा भारत दार्जीलिङ निवासी गायिका ग्याल्मोलाई उक्त पुरस्कार प्रदान गरेकाे हुन् । प्रतिष्ठानले एक साङ्गितिक कार्यक्रमका साथ गायिका ग्याल्मोलाई एक लाख नगद राशी सहित पुरस्कार प्रदान गरेकाे हाे ।
शहर भित्र के को हल्ला, फूलको डाली–डाली, किन किन उदास, आँखा भित्र जस्ता चर्चित गीतहरु गायिका ग्याल्मोले स्वर दिएकी छन् । दार्जीलिङमा सन् १९५४ डिसेम्बरमा जन्मिएकी ग्याल्मो विद्यायल क्याम्पसमा गीत आउँदै साङगीतिक यात्रा अगाडी बढाएकी थिइन् । उनी सन् १९७० मा कक्षा १० मा पढ्दै गर्दा नेपालका तत्कालिन राजा महेन्द्रको जन्म दिवसमा दार्जीलिङबाट छनौटमा परि पहिलो पटक नेपालमा आएर आफ्नो प्रस्तुती दिएकी थिइन् ।
उनले कर्म योञ्जन, गोपाल योञ्जन, अम्बर गुरुङ, बसन्त क्षेत्री, बद्रीदुर्गा खरेल, मणिकलाल क्षेत्री, दिव्य खालिङ, शान्ति ठटाल, जितेन वर्देवा, राष्ट्रकवि माधव प्रसाद घिमिरे लगायतका संगीतसष्ट्राहरु संग काम गरिसकेकी छिन् ।
कला प्रतिष्ठानले भीम विराग युवा सङ्गीत पुरस्कार, २०७७ बाट हर्मोनी पोखरालाई सम्मान गरेकाे छ । महिलाहरुको सक्रियतामा सञ्चालित हर्मोनी पोखरालाई २० हजार नगर राशी सहित सम्मान गरिएको हो । नेपाली सुगम संगीत तथा महिला गायनको संरक्षण, सम्बद्र्धन र प्रशिक्षण संगै प्रवर्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको हर्मोनी पोखरा एसियाकै पहिलो महिलाहरुद्धारा सञ्चालित संगीत संस्थाको रुपमा रहेको छ ।
२०६४ सालमा स्थापना भएको प्रतिष्ठानले यसअघि अम्बर गुरुङ–२०६४, प्रेमध्वज प्रधान–२०६५, भक्तराज आचार्य–२०६६,फत्तेमान राजभण्डारी–२०६७, शान्ति ठटाल–२०६८, प्रकाश श्रेष्ठ–२०६९, दीप श्रेष्ठ–२०७०, न्हुच्छे बहादुर डंगोल २०७१ (नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र),मीरा राणा–२०७२, कर्म योञ्जन–२०७३ र चेतन कार्की–२०७४ लाई बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरीसकेको छ ।
कार्यक्रम भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यको सभाध्यक्षता तथा बरिष्ठ गीतकार विश्व बल्लभको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा कला सहित्य र संगीत क्षेत्रका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । रेडियाे मकवानपुर र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना बार्षिकोत्सवको अवसरमा सुरु भएको सप्ताहाव्यापी कार्यक्रम अन्तरत पहिलो दिन शुक्रबार शहीद दिवसको सन्दर्भमा माविस्तरीय कविता प्रतियोगिता भएको छ ।
शहीद शीर्षकमा भएको प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने प्रथम, त्रिभुवन नमूना माविका सुजन ढुङ्गाना द्वितीय, भानु माविका जेनिशा चौलागााइँ तृतीय, शारदा माविका कविना सञ्जेल र बालज्योति मावि पिप्लेका रिजाय कार्की शान्त्वना भएका छन् ।
प्रतियोगितामा जिल्लाको विभिन्न विद्यालयको २३ जना विद्यार्थीहरु सहभागी रहेका थिए । कविता प्रतियोगितामा साहित्यकारद्वय दीपक गौतम र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना भएका विद्यार्थीहरुले क्रमश: नगद ५ हजार, ३ हजार, २ हजार र एकहजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँको प्रमुख आतिथ्यता रहेको थियो । रेडियो मकवानपुरले सामुदायिक रेडियो हुनुको नाताले आफ्नो धर्म निर्वाह गर्दै आएकोमा खुसी स्टेसन म्यानेजर अधिकारीले खुशी व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, दिव्यतारा सहकारीका व्यवस्थापक रमेशप्रसाद कोइारालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीको २३ औं स्थापना दिवस तथा रेडियोको ११ औं बार्षिकोत्सवको अवसरमा शनिबार राक्सिराङको सरिखेत पलाँसेमा सञ्चो हस्पिटलको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर, १८ गते मामाघर नेपाललाई खाद्यान्न सहयोग, १९ गते एकल महिला, दलित वा विपन्न परिवारको दुईघरलाई खरको छानामुक्त गर्न जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ सहयोग, २० र २१ गते रेडियो मकवानपुर कप दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र २२ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।