मकवानपुर । मनमाया स्मृति गजल पुरस्कार, २०७७ सम्पूर्णा ढकाललाई प्रदान गरिएको छ । गजल मञ्च मकवानपुरले हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा १० कक्षामा अध्ययनरत छात्रा ढकाललाई २ हजार ५ सय राशीको पुरस्कार शनिबार प्रदान गरेको हो । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा पुरस्कार स्थापना गरेको पुरस्कार मञ्चको १ सय ७६ औं गजल यात्राको अवसरमा प्रदान गरिएको हो ।
मावि तहमा अध्ययनरत विद्यार्थीबीच प्रतियोगितात्मक गजल लेखन तथा प्रस्तुती गराएर उत्कृष्ट सहभागीलाई पुरस्कार प्रदान गरिएको हो । गजल मञ्च मकवानपुरले सहभागिताका लागि आव्हान गर्दा १६ जना सहभागी भएका थिए । १६ जनामध्ये उत्कृष्ट ५ गजल छनोट गरेर शनिबार गजल वाचन समेत गराई उत्कृष्ट छनोट गरिएको हो । गजल मञ्च मकवानपुरका सचिव केशव समर्पण र सहसचिव विशाल अधिकारीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
सम्पूर्णासँगै मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत छात्रा ममता अगस्ती, बकैया गाउँपालिका–४ स्थित महेन्द्र माविमा कक्षा ९ मा अध्ययनरत छात्र भोजराज बोलखे, हेटौंडा–५, भैरवरोडस्थि जीएस निकेतन माविमा कक्षा १० मा अध्ययरत निश्चल राज गौतम र रोशनी चौलागाई उत्कृष्ट पाँचमा छानिएका थिए । प्रतियोगितामा सहभागी भई उत्कृष्ट ५ मा पर्न सफल विद्यार्थीलाई गजल संग्रहसमेत उपहारस्वरुप प्रदान गरिएको छ ।
गजल यात्राकै अवसरमा साहित्यकारहरुले गजल वाचन गरेका छन् । गजल मञ्च मकवानुपरका अध्यक्ष देवराज तिवारीको अध्यक्षता तथा अग्रज साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा नियमित गजल यात्रा भएको हो । कार्यक्रममा साहित्यकारहरु रमेश मोहन अधिकारी, निमेष निखिल, तुल्सी घिमिरे, गणेश पौडेल, सुवास खनाल, राजकुमार लामिछाने, पुरुषोत्तम आचार्यको पनि उपस्थिति रहेको थियो ।
- गीताश्री शर्मा
१.
कलिलो घामको झुल्कोसँग सधैं हाँसेकी छौ
डाँफे मुनाल मैना चरीसँगै तिमी नाचेकी छौ
तिमीलाई सम्झँदा गौरवले छाती फुल्छ कन्चन
दुवै देशको सम्बन्धलाई दह्रो बनाई गाँसेकी छौ।
२.
ह्दयको बगैँचामा ढकमक फुलहरू फुलेसरी
भमराहरू खुशी खुशी फुलबारीमा झुलेसरी
कहिले लाग्छ यो जिन्दगी छरिएको बतास झैं
संसार हेर्ने रहर बोकी मनै मनले डुलेसरी।
३.
चुँडिएको सारंगी बोकी धून खोज्न निस्कन्छन् कोही
औंशीको रातमा पनि जून खोज्न निस्कन्छन् कोही
गाग्रो बोकी मरुभूमिमा पानी खोज्नु पर्ने विडम्बना कतै
उमालेको तरकारीमा केवल नुन खोज्न निस्कन्छन् कोही।
४.
मनकी चरी मेची पारी कहिले वारी तर्छे
कहिले हिमाल चढ्छे फेरि तराई झर्छे
दिएर नसकिने जिन्दगीको परीक्षा भन्दै
जित्ने कोशिश गर्छे सधैं हारको सूचीमा पर्छे।
५.
खुसी तिमी भयौ भने म त यसै खुसी हुन्छु
आँखा सामु देख्दा सधैँ हृदयले पाउ धुन्छु
मन प्राण र वचनले आफ्नो ठानिसकें मैले
छेउमा आई बसिदेऊ नयनले मुहार छुन्छु।
६.
दुई दिनको जिन्दगीमा हाँसेर जिउने गरे
च्यातिएको लुगालाई जतनले सिउने गरे
दुःख-पीर पछिसरी समेटिन्छन् खुसीहरू
कुवाको पानी पनि गंगाजल सोची पिउने गरे।
७.
कहिले ढक पल्लामा यो शरीर जोखिने
हिँड्दा हिँड्दै बिच बाटोमै ठप्प रोकिने
बाँचुन्जेल तेरो-मेरो गरेर के पाइन्छ खोई
खरानी बनेर कुन दिन पानीमै हो पोखिने।
८.
तिम्रो प्रत्येक प्रश्नको उत्तर खोजेँ तर पाइनँ
मान–सम्मान नघटोस् भनेर म छेउमा आइनँ
अफ्ठ्यारो परिस्थितिमा पार्दिनँ निर्धक्क बस्नु
आँखाको नानीभित्र राखेर बसौंला सामु छाइनँ।
९.
तिम्रा पनि पक्कै थिए मनभरि रहरहरू
सपनाका महल अनि घुम्न जाने सहरहरू
परिस्थिले बाँधिएर घर छोडी परदेशिंदा
पोलेको त्यो मनभित्र चाहनाका कहरहरू।
१०.
सकिनँ मैले खुसी हुन तिम्रो हृदय दुख्दाखेरी
थामिएन आँखाको झरी तिम्रो दह सुक्दाखेरी
दुई ज्यान एउटै मुटु भएर हामी हाँसेका थियौँ
हेरेर गगन कसरी हिँडौँ तिम्रो शिर झुक्दाखेरी।
११.
कहिले काहीँ मन पनि एकान्तमा रमाउँछ
झर्न खोज्ने मोतीलाई परेलीले समाउँछ
उपहारमा यादहरू गाड़ा भई बसिदिन्छ
गाडधनलाई जोगाएर नयाँ नाता कमाउँछ।
१२.
मिठो वचन सधैं हृदयबाट बोलिदिए
नराम्रा विचार र धारणालाई पोलिदिए
हरेक दिन प्रणय दिवस बन्ने थियो यहाँ
निश्वार्थ माया एक आपसमा घोलिदिए।
गान्तोक, सिक्किम
मकवानपुर । मंगलबारबाट हेटौडामा चलचित्र ‘ए साथी सुन’को छायांकनमा सुरु भएको छ । नायिका वर्षा सिवाकोटी ‘ए साथी सुन’को छायांकनमा जोडिएकी छिन् ।
राघव आचार्यको निर्देशनमा तयार हुने यो चलचित्रमा वर्षाले नव–कलाकार रमेश बाँनियासँग रोमान्स गर्नेछिन् । यो चलचित्रको छायांकन हेटौडापछि धरानमा हुनेछ । सस्पेन्स थ्रिलर कथामा चलचित्र निर्माण हुने निर्माणपक्षले बताएको छ । विना कार्कीको लगानीमा तयार हुने यो चलचित्रको कथावस्तु मन परेपछि आफू काम गर्न तयार भएको वर्षाले बताउँदै आएकी छिन् ।
वर्षाले सामाजिक संजालमा तस्वीर राख्दै चलचित्रको छायांकन सुरु भएको र आफू काम गर्न उत्साहित भएको बताएकी छिन् । ‘कालिपुरुष’ नाम राखेर प्रि प्रोडक्शन काम सुरु भएपनि छायांकन अगाडि चलचित्रको नाम परिवर्तन भएको थियो ।
वर्षाले लकडाउनपछि चलचित्र ‘परदेशी २’को छायांकन पनि सकाएकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु ‘लक्का जवान, मनसँग मन र परदेशी २’ रिलिजको लागि तयार भएका छन् ।
मकवानपुर । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार, २०७७ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै यस बर्षकाे महालक्ष्मी साहित्य पुरस्कारबाट लम्साललाई सम्मान गरिएको हो ।
सामाजिक उत्तरदायित्व निभाउदैं बैकले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै अाएकाे महालक्ष्मी साहित्य पुरस्कारको राशि वृद्धि गरी ५१ हजार बनाईएको छ । गत वर्ष २१ हजार १ रुपैयाँको रहेको पुरस्कारकाे राशी यस वर्षबाट वृद्धि गरिएकाे महालक्ष्मी वैंकले जनाएकाे छ । डा. लम्साललाई प्रमाण पत्र, नगद ५१ हजार राशि र दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिएको हो । उच्च अदालत पाटन इजलास हेटौंडाका माननीय न्यायधीश शेषराज शिवाकोटीको प्रमुख आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ बाट समाजका पूर्व अध्यक्ष तथा मकवानपुरे स्रष्टा कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ बाट मकवानपुरका खोजकर्ता लेखक केदार प्रसाद न्यौपानेलाई सम्मान गरीएको थियो । सम्मान कार्यक्रमको समारोहमा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कविता सङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिएको थियो ।
समाजका अध्यक्ष माधब पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी विकास बैंकका सहायक कार्यकारी अधिकृत डलककुमार अधिकारी, साहित्यकार तुल्सी थापा, समाजका संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयाग्रीव आचार्य, बैंकका हेटौंडा शाखा प्रमुख शम्भु पराजुली, समाजका उपाध्यक्ष कृष्णप्रसाद दाहाल, सदस्य हेमन्त ढुङ्गेल लगायतले मकवानपुरे साहित्यस्रष्टाहरूले आफ्ना भनाई तथा रचना वाचन गरेका थिए ।
मकवानपुर । कथासङ्ग्रह ‘कुमाता’ को विमर्श कार्यक्रम शनिवार भएको छ । लघु कथा समाजको आयोजनामा पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथाकृति कुमाताकाे विर्मश कार्यक्रम काठमाडाैंमा सम्पन्न भएको हो । कुमाता यो पुस्तक चितवन साहित्य परिषदको चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कार, राउण्ड टेवुल गसिफ हेटौंडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको श्रष्टा सम्मानवाट सम्मानित भएको कृति हो ।
कार्यक्रममा लघु कथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा साहित्यको क्षेत्रमा कुमाताले फरक धार अंगालेको स्पष्ट पार्दै कथाहरु नारी प्रधान रहेको बताए । “कुमाताले नेपाली कथा साहित्यको क्षेत्रमा छुट्टै पहिचान वनाउन सफल भएको छ”, श्रेष्ठले भने, “किताव प्रकाशन भएको एक वर्षमा तेस्रो संस्करण आउने अवस्था वन्नु र तीन तीन वटा पुरस्कार हात पार्नु कथासंग्रहको वलियो पक्ष हो ।”
कार्यक्रममा कृति माथि समीक्षा गर्दै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाको विषय वस्तुहरु समसामयिक र हाम्रै समाज वरिपरिका रहेकाले पाठकहरुले रुचाएको बताए। “लेखकको पहिलो कृति भएकाले केही त्रुटि अवश्यनै छन्”, उनले भने, “प्रस्तुतीको शैलीलाई आगामी सिर्जनाहरुमा ख्याल गर्न लेखकलाई सुझाव दिन्छु ।”

त्यसैगरी अर्की समीक्षक उपप्राध्यापक ज्ञानु अधिकारीले कुमाताका लेखक पराजुलीले कुमातामा राम्रा कथाहरु समावेश गर्नु भएको बताउँदै शीर्षकले नकारात्मक अर्थ दिए पनि कथाहरुमा समेटिएको विषयवस्तुले नारी अस्मिताकै पक्षमा बोलेको बताए । “कथाले समाज बोल्नु पर्छ, कुमाताभित्र समाज प्रस्ट झल्किएको छ”, उनले भने । कुमाता कथा संग्रह समग्रमा राम्रो भए पनि आगामी कृतिहरुमा नारी अस्मिताप्रति अझ संवेदशील हुनु पर्ने उनले औल्याए ।
कुमाता कथासंग्रहका लेखक वसन्त पराजुलीले नारी सम्वेदनमा केन्द्रित भएर कथाहरु लेखिएको बताए । “नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकोले पाठकहरुले यसलाई मन पराइ दिनुभएको मैले पाएको छु”, गराजुलीले भने ।
भुँडी पुराण प्रकाशन प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले पुस्तकको तेस्रो सस्करण प्रकाशनको प्रकृया शुरु भएको जानकारी दिए । भुँडी पुराण प्रकाशन प्रालिले गत वर्षको फागुन २६ गते प्रकाशन गरेको कुमाता कथा संग्रहकाे गत असारमा दोस्रो संस्करण निकालेको हो ।