उत्सव चाैलागाईं
म गाउँ आएपछि
मसँगै आए धेरै बालस्मृतिहरू ।
त्यो बूढो सिमलको रुख
गाउँमा फैलिएको चमेलीको बास्ना
कखरा पढेको पाठशाला
आँखामा ठोकिएको हिमाल
मलाई नै पर्खिरहेका रहेछन् ।
सहरको उकुसमुकुस
अलिकति बौद्धिकताको भ्रम
दुईचार कफीगफ
कदापी मलाई गाउँ बिर्साउने
हतियारहरू भएनन् ।
मैले गाउँका धेरै स्वादहरू छुटाएछु
किञ्चित मलाई सहर प्रिय भएन
गाउँको कुलोमा कति पानीहरू बगिसकेछन्
कतिपटक घाम खसिसकेछ क्षितिजबाट
तर मलाई सहरले
बन्दक बनाएर राख्यो यतिञ्जेल ।
मलाई अङ्ग्रेजी शिक्षाको लोभ देखायो
मोटरगाडीको लोभ देखायो
कृतिम सुखको लोभ देखायो
र घाँटी थिचेर राख्यो ।
म गाउँबाट कहिल्यै बिमुख भइनँ ।
आज धेरैपछि
आफैँसँग बिद्रोह गरेर
गाउँ आएको छु ।
प्रिय गाउँ
मलाई तिम्रो काखमा अलिकति ठाउँ देऊ
प्रियजन
मलाई मनमा अलिकति ठाउँ दिनोस् ।
मैले सहरमा
गाउँको बदख्वाइँ गरेको छैन
मैले गाउँको बुढीऔलाहरू सहरमा बेचेको छैन
प्रिय गाउँ
म तिम्रै काखमा उदाएँ
म तिम्रै आँगनमा प्रकाश छरूँ
र तिम्रै काखमा निदाऊँ ।
हेटाैडा, मकवानपुर
मकवानपुर । जनसाहित्यिक मञ्च बागमती प्रदेश संयोजकमा मसान उपासक चयन भएका छन् । जनसाहित्यिक मञ्च नेपालको शनिबार भएकाे भर्चुअल भेलाबाट मञ्चकाे बागमती प्रदेश संयोजकमा मसान उपासक चयन भएका हुन् । यस अघी उपासक मञ्चकाे सचिवालय सदस्य थिए ।
मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक तोकेको हो । शनिबारकाे भेलाबाट सातै प्रदेशको संयोजक सहित ५ सदस्यीय समिति पनि चयन गरेको छ । भेलाले प्रदेश १ मा रमेश शुभेच्छुक, गण्डकी प्रदेशमा सुवास मल्ल, लुम्बिनि प्रदेशमा हरी तिमल्सिना, कर्णाली प्रदेशमा दीपक गौतम र सुदुरपश्चिममा रामचन्द्र जोशी संयोजक चयन भएका छन् भने प्रदेश २ मा पछि संयोजक तोकिने भएको छ ।
मकवानपुरको दुई जनाले यो पटक केन्द्रमा स्थान पाएका छन् । मसान सँगै मकवानपुरका सुनिल गौतम केन्द्रिय सदस्य चयन भएका छन् । साथै प्रदेशमा मकवानपुरका गणेश तिमल्सिना चयन भएका छन् । बागमती प्रदेशमा संयोजक मसान उपासक र सदस्यमा तिमल्सिना सहित धादिङका प्रकाश सापकोटा, ललितपुरका सुस्मिता नेपाल, चितवनका अम्बिका कार्की चयन भएका छन् ।
भेलाले राम बिनयको संयोजकत्वमा १ सय ५ सदस्यीय केन्द्रिय आयोजक समिति, २५ सदस्यीय सचिवालय र ११ सदस्यीय कार्यालय समिति गठन गरेको छ । उपासक नेकपाको दुई साहित्यिक संस्था एकताको समयमा पनि संयोजक रहेका थिए । वास्तविक (रजिष्टर्ड) नाम मिनप्रसाद सञ्जेल रहेका उपासक मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल नाम हाे ।
- तुलसी पण्डित
गहभरी आँसु पार्दै मनमाया बोलिन् । छोराको विवाह न गरुन्जेल मात्र आफ्नो रहेछ ? अझ उनी भक्कानिदै भन्दै गइन् । मैले छोराको लागि के गरिन । सारा जीवन उसैको लागि सुम्पिदिए ।
उसको बाबा चाँडै नै बित्नु भयो । दुख गरेर छोरालाई खाइ न खाइ शहरमा राखेर पढाए । उसले पढ्दै गयो । जागिर पनि राम्रै खायो । म जिल्ल परे । मेरा दुखका दिन गए भनेर फुरुङ्ग भए । छोराको विवाहको कुरो आयो । योग्य केटी सँग विवाह गरिदिए । बुहारी पाए पछि म झनै दङ्दास परे । अब शहरको बसाइ हुनेछ । सबै दुख मेरा निमिट्यान्न हुने भए । म दङ्ग पर्दै शहर पुगे ।
तर अपसोच मनका भाव सबै हावा झै उडे । बुहारीले भनिन्– “यस्ता पाखेहरुलाई यहाँ ठाउँ छैन ?” मेरा होश हवास उड्यो । मैले भने – “मैले जन्माएर हुर्काएको छोरो पाखे भयो की भएन ?” ” यस्तो थाहा पाएको भए मैलै के विवाह गर्दा हुँम् ।” “त्यसो भए यस्ता पाखेको सम्पत्ति पनि लिन्नौ होला है ?”
“त्यो त कानुनले पाउने कुरा भयो नि ।” “सम्पत्ति र आफूले पाएको जवान छोरो पाखे न हुने उही आमा मात्र पाखे हुने रहेछ है ?” “जो सँग पाखे प्रवृत्ति हुन्छ उही मात्र पाखे हुने त होनी ।” “अनि तिमी पनि पाखेकी छोरी हैनौ र तिम्रो ममी र बाबा अझै पनि म सँग खेती गर्नका लागि पर्म लगाउँछन् ।”
भरतपुर
सुमन काेइराला
मैले धेरै पढेँ
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कबिता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सँधै ओझेल परे ।
बारीको डीलमा चुपचाप
ठिंग उभिएको बूढो रुख झैं
बा कहिल्यै उभिएनन्
भन्ज्यांगको चौतारी झैं
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँधेरो मेटाउन
मैन झै जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेल झैं चलिरहे
जिन्दगी भर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरि
सँधै एक्लै कुदिरहे
त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।
यतिखेर
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सँधै
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
करकलाको पातमा टलपल पानी झैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरुको सिला खोज्दैछन्
परेलीका डीलहरुमा ।
बोल्दा बोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउछु म गला अबरुद्ध भएको
र पनि दबाएर सबै पीडा
मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन
हुदै होइन ।
फुंग रंग उडेका
उदासीका फूलहरु
फुलेका छन् बाका मुहार भरि
चाउरिएर
ग्राफ जस्ता गालाका रेखाहरुमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाए देखि अस्ताउदा सम्म
ठुंगिरहन्छ ।
भित्र मनमा कता कता
बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरु
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरुवा हो
जो सँधै हारिरहन्छन्
केवल सन्तानका लागि
झापा, हाल हेटाैडा
मकवानपुर । आँचल साहित्य कला पुञ्जले कुशेऔंसीको अवसरमा आयोजना विशेष कविता प्रतियोगितामा ३ जना उत्कृष्ट भएका छन् ।
बा कुशेऔसी विशेष कविता प्रतियाेगितामा प्रसिद्धिका लम्साल, रोशनी चौलागाईं, सुविन रिमालको कविता उत्कृष्ट भएको छन् । कुशेऔसी तथा पितृ सम्मान दिवस विशेषको अवसरमा भर्चुअल माध्ययमबाट आयोजना गरिएको कविता प्रतियोगितामा कविता प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए । ती मध्येबाट ३ जना उत्कृष्ट चयन गरिएको आँचलले जनाएको छ ।
प्रतियोगिताको निर्णायकमा कवि सुवास खनाल र शान्तिप्रिय वन्दना रहेका थिए । उत्कृष्ट ३ जनालाई जनही १ हजार ५ सय नगदसहित प्रमाणपत्र उपलब्ध गराईने सचिव भावना सापकोटाले जानकारी दिइन् । प्रतियोगिता आयोजना गर्न हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सहयोग गरेको थियो ।
आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बढ्र्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल रहेका थिए । कार्यक्रममा आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, पूर्णकला घिमिरे, निरा शर्मा, सविता तिमल्सिनालगायतको सहभागिता रहेको थियो ।