मकवानपुर । नेपाली चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएकाे छ । ओएसआर डिजिटलले सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ काे चलचित्रकाे एउटा राष्ट्रभक्ति गीत हो। दशैकाे घटनस्थापनको दिन असोज २१गते डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको हाे।
मनोज पण्डितको शब्द रहेको गीतमा हरि लम्सालले स्वर र संगीत भरेका छन्। पण्डित चलचित्र एकका निर्देशक पनि हुन्। चलचित्र ‘एक’ मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा हो।
प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्।
सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्। कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ।
यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफैले अभिनय गरेका छन् । मधेसलाई अलग बनाउने अभियानका साथ राजनीतिमा आएका सिके रावतको घरमै पनि यो गीतका केही दृश्यहरू छायांकन गरिएको छ।
‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुप्तचर संस्थाहरूजस्तै नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सि.ए.आई)को परिकल्पना पनि यो फिल्ममा गरिएका छन्। फिल्ममा सिएआई एउटा गुप्तचर संस्था हुन्छ। राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन्। खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ।
कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्। यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्।
- सीता रेग्मी
“आ कति कुर्नु कहिल्यै समयमा आउने भए पो!” सुजाताले एक्लै खाना खाई। एकछिन टिभी हेरेर बसी, सुमन अझै आएन, ऊ सुत्न गई तर निन्द्रा पटक्कै लागेन।पहिला सधै समयमै आउने उसको श्रीमान् हिजोआज निक्कै राती आउँथ्यो। कारण सोध्दा अफिसको कामले ढिला भएको भन्थ्यो।
हिजो बेलुका उसले अफिसमा पनि गएर बुझेकी थिई, समयमै त्यहाँबाट हिड्ने गरेको थाह पाएपछि उसलाई विभिन्न शंका लाग्न थालेको थियो।
“केही नराम्रो काम पो गर्न लागेकी?, की कोही केटीसँग पो…….,मसँग पनि पहिला जस्तो हाँसेर बोल्दैनन्, मान्छेलाई विग्रिन कति नै समय चाहिन्छ र, एउटा रानी हार लाउन मन छ भने देखि त यिनको चाला नै अर्कै छ !”
सुमन आईपुग्यो ढोका खुल्लै रहेछ भित्र पस्यो।सुजातालाई सुतिरहेको देखेर आफै खाना पस्किएर खायो अनि सुत्यो।तुरुन्तै निन्द्रामा परिहाल्यो।निदाएझै गरे पनि सुजाता भने निदाउनै सकेकी थिईन।
बाहिरबाट ढोका ढ्याक ढ्याक गरेको आवाज आयो। एकछिन बाटो हेर्दा पनि सुमन नउठेपछि सुजाता उठेर गई, ढोका खोली “यो सुमन जीलाई दिनोस् है, जरुरी काम छ पैसाको भन्दै हुनुहुन्थ्यो, विर्सेर आउनुभएछ।”
“के को पैसा?” सुजाताले आश्चार्य व्यक्त गरी। “तपाईलाई थाह छैन? उहाँले अफिस छुट्टी भएपछि मेरो पसलमो हिसाबकिताब राख्ने काम गर्नुहुन्छ, सारै राम्रो हसनुहुन्छ काममा, इमान्दार पनि।” ऊ फर्कियो।
सुजाता शंकाले भरिएको मनलाई पश्चातापको आँशुले पखाल्दै निदाईरहेको सुमनको अनुहारमा छचल्कीएका मायाका छालहरु नियाल्दै थिई।
सुन्दरहैँचा मोरङ
सन्दिप संग्राैला ‘दिलदुखी’
छाती दुखेर आयो , धोका दियौ र सानू
छोड्नै भनेर माया ला’को थियौ र सानु
भोकै बसेर भा’नी साथै बिताउँ चोला
भन्दै गरेर बाचा लौ बिर्सियौ र सानु
आशा जलेर मेरा सारा भए खरानी
टेक्दै हिडेर त्यसमा के चोखियौ र सानु
बाँच्ने रहर जगायौ,छोड्दा थियौ दुरूस्तै
हेर्दा स्वरूप उस्तै के बद्लियौ र सानु
आगो रहेछ माया संसार भस्म पार्ने,
झिल्को बनेर दिलमानै सल्कियौ र सानु
तेह्रथुम
भट्ट रश्मी
तिमी पाथी हुॅदा म नै मानो भएर पो
तिमी ठुलो हुॅदा म नै सानो भएर पो
आरामले ओत लागिरहेको छ जिन्दगी
पानी पर्दा नचुहिने छानो भएर पो ।
कति नै दिए जस्तो दान दातव्यका कुरा गर्छौ
कति नै जाने जस्तो ज्ञान ज्ञातव्यका कुरा गर्छौ
ठस्ठस् कन्दै दुई शब्द निकाल्न मुश्किल पर्नेले
बुलन्द नारा भाषण ,मान मन्तव्यका कुरा गर्छौ ।
नाता भन्दा ठुलो पनि साथी हुन सक्छ
मन,मुटु भन्दा पनि माथि हुन सक्छ
विश्वासघात कहिल्यै गर्दै नगरौ है
जस्ले गर्छ उही मात्र घाती हुन सक्छ ।
गुणीलाई एकै गुन सॅधै धेर हुन्छ
खुनीलाई जति गर उस्तै थोर हुन्छ
मान दिदा भुक्तमान खप्नु पर्छ यहाॅ
स्याल पनि मौका पाए ठुलै शेर हुन्छ ।
गाेरखा, हाल न्यूयाेर्क अमेरिका
- सीता रेग्मी
“दिउँसो तलको सटरकोठा हेर्न मान्छे आएको थियो, मन पराएर गु’को छ।” बेलुका घर फर्केका श्रीमान् लाई गिताले सुनाईन्।
“अनि भाडाको कुरा गरिनौँ ?” श्रीमानले सोधे।
“गरेँ, तपाईँले भने जति नै भन्दिएँ, हुन्छ भनेको छ।” श्रीमतीको कुरा सुनेर उनी केहीबेर शान्त रहे।
उनको कोठा अलि ठूलो र फराकिलो थियो त्यसैले उनले वल्लो पल्लो घरको भन्दा भाडा पनि अलि बढी नै तोकेका थिए।
“खाली राखेर नि के गर्नु पैसा पनि भने जति दिने भएछ, सानो तिनो खर्च टर्छ महँगीको जमाना छ।” उनी बिस्तारै बोले।
गिताले हुन्छ भन्ने बुझिन् र सोधिन्, “हुन्छ भन्दिउँ त?”
“के गर्ने रहेछन्?” श्रीमानले अर्को प्रश्न राखे।
“कपडाको होलसेल पसल गर्ने रे।” गिताले सिधा उत्तर दिईन्।
“अनि मान्छे चाहिँ कस्ता छन्?” उनले फेरि अर्को प्रश्न सोधे।
“मान्छे त हँसिलो, उज्यालो अनुहार परेको हेर्दा निकै राम्रो बोलीचाली पनि उत्तिकै मिठो, उमेर पनि तपाईँको भन्दा अझै कम हो जस्तो लाग्थ्यो……..।”
उनी अझै बोल्दैथिईन् श्रीमान् ले बीचैमा रोके अनि अलि ठूलो स्वरमा भने, “हुँदैन भन्देउ! बरु अलि पछि आफै पसल गरौला!”
सुन्दरहरैचा मोरङ