
सेमन्त दाहाल
परिवार को साथमा मिठो मसिनो खाउँ सबैले
मान्यजनहरुको आसिर्बाद लिन जाउँ सबैले
तडक भडक देखासेखी सबै रोकौं आजै बाट
आ – आफ्नै गच्छ अनुसार दसैं मनाउँ सबैले।
काठमाडाैं

मिना चाैलागाई
माग्छन् रमाई छोराछोरी पापा र चिची दसैँमा
बाबा निराश छन् साहुको ऋणले थिची दसैँमा
हुनेलाई पो दसैँ नहुनेलाई दशा बुझिदिने कसले,
यो हाल देखेर आमा रुन्छिन् आँखा मिची दसैँमा ।
पाचखाल, काभ्रे

चेतनाथ दाहाल
सबैलाई अङ्गालोमा कस्ने गरी आउ
गरीबको झुप्रामा नि पस्ने गरी आउ
दशैं तिमी,माता दुर्गा भवानीको साथ
असत्यका पक्षलाई डस्ने गरी आउ ।
कानेपोखरी २ मोरङ्ग

अन्जिता राउत
यो साल छुट्टी पाइन अर्को साल आउने छु आमा
टीका अनि जमरा त्यसै पाली लाउने छु आमा
सारा पिर व्यथाहरु भुल्ने गरि आशिर्वाद थाप्दै
पक्कै हजुरहरुकै साथमा रमाउने छु आमा।
नेचा सल्यान ५ सोलुखुम्बु

निर्दोष केसी
मिठा मिठा सपना मनै मनमा बुन्छिन आमा
हरेक साझआगनको डिलमा हुन्छिन आमा
चाडपर्वले पनि सबैलाई खुशी कहाँ बनाउछ र
प्रदेशिएको छोरा लाई सम्झेर रुन्छिन आमा ।
नेपालगन्ज बाकें
गीताश्री शर्मा
हो ! म चुपचाप छु
तर चुप बसें भन्दैमा
मलाई कमजोर नसोच!
मलाई थाहा छ ,
निःशब्द छु , आजकल
तर लाटी छु भनेर
मलाइ घरी घरी नघोच ।
दर्पणले मलाई जस्तै देखाए पनि
तिमीले भने जस्ती नभए पनि
तिमीले सोचे जस्तो मन पनि नहोला मेरो
तर ,
मेरो मनको सुन्दरता देखेर
तिमीलाई जलन भएमा
दर्पण फुटाइ दिए पनि हुन्छ !
तिम्रो आक्रोशले अनि विद्रोहले
न मलाई बाहिर छुन्छ न भित्र केही हुन्छ ।
किनकि !
बाहिर जे छु ! भित्र पनि हुबहू छु ।
तिम्रो आडम्बर र इर्ष्याले
मलाई जसरी बाहिर असर पर्दैन
भित्री मनलाई बाह्र हातको टाँगोले छुँदैन ।
कहिले काहीँ तिमी मलाई
प्रश्नको डङ्गुरमा राख्छौ !
एउटाको समाधान गर्न नपाउँदै
तिमी अर्को बात राख्छौ !
तिमीले तर्साउन खोजे पनि
तिमीले डराउन खोजे पनि
या त ब्ल्याक मेल नै गरे पनि
खुशी खुशी जबाव दिन मलाई आउँछ ।
हाँसेर खुशीले जबाव दिएँ भन्दैमा
तिमीले मेरो भविष्य र विश्वासमा
औंला ठड्याउँन भने पाउँने छैनौ !
मेरो स्वतन्त्रता तिमीसँग थिएन ,
छैन र रहने पनि छैन
किन कि ! त्यो हाँसो र रोदन मेरो
आमाको कोख र बाबुको रगतबाटै
लिएर आएको
जन्मसिद्ध अधिकार हो ।
मेरो पेवा हो ।
म निःशब्द छु !
भरसक रहन्छु ! म सहन्छु पनि !!
तर मैले मेरो मुख खोल्नु परे
तिमी नि:शब्द हुनेछौ ।
यसैले बिन्ती छ तिमीलाई,
चन्द्रमाको मुहारमा पनि
निष्कलङ्कित दाग छ भनेर
हिलो छ्याप्ने काम नगर
मलाई कुनै नक्षत्रको नाम जोडेर
बिलो लाउने काम नगर ।
यदि सक्छौ भने !
तिमी मान्छौ नै भने
पृथ्वी, धरा, धरणी,धरती, माता र जननीसित
सँगै राखेर अथवा हाराहारीमा राखेर
मान, सम्मान र आदर गर्न सिक !
दुर्गा, लक्ष्मी, सरस्वती र काली नै भए पनि
नारी , महिला , आमा र माता हुन् भनेर
सगौरव सम्मान गर
किन कि
म आफैँलाई
नारी-महिला र आमा हुनमा
म गौरव मान्छु , अनि
आफैंलाई स्त्री भएर
जन्म लिएकोमा
भाग्यशाली ठान्छु ।
अनि भएछ भने पुनर्जन्ममा पनि
महिला, नारी , स्त्री र माता नै भएर
यस पवित्र धरामा
जन्म लिएर आउने
ईश्वरसित प्रार्थना गर्दछु !
अनि तिमीलाई पुनः पुरुष भएर
जन्माउन सकौँ
किन कि म ,
सृष्टि कर्ता हूँ , माता हूँ !! धरा हूँ,
महिला हूँ! नारी हूँ ! अनि धरतीमाता हूँ ।
गान्तोक, सिक्किम भारत
मकवानपुर । हास्य कलाकार मनोज गजुरेलले बिबाह गरेका छन् । गजुरेल र मञ्जु पोखरेल बीच सोमबार बिबाह गरेका हुन् । मनोजको यो दोस्रो बिहे हो । उनकले चार वर्षअघि मिना ढकालसँग सम्बन्ध विच्छेद गरेका थिए । पोखरेल नेपाल सरकारको न्याय सेवाककाे अधिकृत हुन् ।
कलाकार गजुरेल र पोखरेलले भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा बिहे गरेका हुन् । मन्दिरमा बिहे गरेपछि कौशलटारस्थित मानव सेवाआश्रममा रहेका वृद्धवृद्धालाई उनीहरूले खाना खुवाएका थिए । आफ्ना सन्तानको सहमति र सुझावका आधारमा दोस्रो बिहे गरेको उनले बताएका छन् । फेुसबुकमा गजुरेलले बिबाहकाे जानकारी सहित फाेटाे राख्दै आफ्नो बिबाहका विषयमा नकारात्मक कमेन्ट नगरिदिन आग्रह गरेका छन् ।
मनाेज गजुरेलकाे फेसबुक स्टाटस:
आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिलेकानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।
जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।
एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सु:ख/दु:खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियाैं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !
कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु । बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला ।

सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।अन्त्यमा, पुनः सम्पुर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ ।
अनि, सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेकाछौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद । नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँकाे हार्दिक शुभकामना ।
खुशी ‘कला’
दसैँ आयो हुने खानेलाइ माला माल उस्तै छ ।
गरिबलाई कसरी बाँच्ने बचाँउने सवाल उस्तै छ।
बाध्यताले परदेश रोज्यो, चाडमा स्वदेश सम्झ्यो,
चसक्क हुन्छ मन, साहुको ऋणकाे पर्खाल उस्तै छ।
अर्को वर्ष दसैँ मनाउँला आमा भन्छ परदेशी ,
थपिँदो कर्तव्य, जिम्मेवारी हरेक साल उस्तै छ ।
पार्टी प्रवेश गरे मात्र राहत पाउछ एउटा पिडितले,
चर्चा केन्द्रित समाजसेवा पीडितको हाल उस्तै छ ।
आफ्नो हैसियत हेर्दै चाडवाड मनाउनुस् महोदय,
नविर्सनुस् दसैँको भोलिपल्ट अनिकाल उस्तै छ ।
लेखनाथ कास्की हाल जर्मनी

पबित्रा चाम्लिङ
बर्ष दिनको चाडमा खोजेर मिली,खानु पर्छ दसैंमा
मान्यजनको हात बाट टीका थाप्न,जानु पर्छ दसैंमा
हुने खानेले घोडा चढुन्, नहुनेको पनि गोडा सरुन्
आ-आफ्नो औकात को कोसेली,लानु पर्छ दसैंमा।
खोटाङ

शान्ती अर्याल अधिकारी
१.
खेतहरुमा लहलह धानका बाला झुलेको देख्दा
रोकिएर लामो बर्षा निलो गगन खुलेको देख्दा
आँहा ! साच्चै दशै आए झै रमाईलो लाग्थ्यो,
भन्ज्याङ तिर पिङ् राखी सबैजना भुलेको देख्दा ।
२.
रहर हुँदा हुँदै पनि चाडबाड मान्न गाह्रो भयो
महङ्गी छ उस्तै हजुर खर्च धान्न गाह्रो भयो
कहिले उठ्न सक्ला खै ? जनताको जिवनस्तर
मर्का बुझ्ने को छ यहाँ ? नेता छान्न गाह्रो भयो ।
पाल्पा, हाल पाेर्चुगल

निर्मला सुनार
फाटेकाे लुगा काटेको मनलाई के चाडपर्व अाउँछ
भाग्यमा पनि सधै भरि किन खै दु:खले मात्र छाउँछ
न अामाकाे चाेली फेरियो न मिठाे जुटाउन सकियो
बनेर दशा रुवाउछ गरिबीले दशैमा हर्ष कहाँ पाउँछ ।
वर्दिया

खुशी ‘कला’
दसैं उत्साह बोकी आयो भन्छन खुसी हुनैपर्यो हजुर
गाउँघर शहर बहार छायो भन्छन खुसी हुनैपर्यो हजुर
बालापनको जस्तो त्यो दसैँ तिहार भेटिन अहिले कतै,
र पनि उमङग सबैतिर छायो भन्छन खुसी हुनैपर्यो हजुर ।
लेखनाथ, कास्की हाल जर्मनी

लक्ष्मी नेपाल
आखिर सबैको उस्तै होनि मन ल्याउनु पर्छ
मनाउँने तरिकामा थोरै परिवर्तन ल्याउनु पर्छ
चाड पर्व ऋण गरि तामझामले मनाउँनु भन्दा
सबैले घाँटि हेरि हाड निल्ने चलन ल्याउनु पर्छ ।