मकवानपुर । नेपालीहरुकाे महान पर्व दशैंकाे आज फूलपाती । यसै दिन ३ वटा नेपाली चलचित्रहरु प्रदर्शनमा आएकाे छ । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएकाे हाे । ३ वटा चलचित्र एक साथ प्रदर्शनमा ल्याएर पर्वलाई थप उल्लास बनाउन खाेजिएकाे बताइएकाे छ ।
चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याएका हुन् । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने बताइएकाे छ । पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन् भने निर्देशन दीपेन्द्रकुमार खनालले गरेका छन् । चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
आजै प्रदर्शित अर्काे चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गरेको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् ।
यसैगरी निर्माता सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गरेको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको छ । उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
३ वटै चलचित्रले दर्शकको राम्राे साथ पाएको छन्। बिहान ५:४५ देखि प्रदर्शन सुरुवात गरेको चलचित्रका अधिकांश शो हाउसफुल रहेकाे बताइएकाे छ। यी तीन फिल्मको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले गत बुधवारदेखि नै अग्रिम टिकट बुकिङ खुलाएका थिए। टिकट बुकिङकाे आधारमा बलिदानले बढी सो प्राप्त गरेकाे देखिन्छ । यस पछि हरिबहादुरकाे जुत्ता र माइतिघरले सो प्राप्त गरेका छन् ।
पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । आजबाट प्रदर्शनमा आएका चलचित्र मध्ये दर्शकहरूलाई कुन रुचिकर लाग्छ? त्यसको नजिता भने बाँकी नै छ। गत वर्षपनि दसैंमा ३ वटा चलचित्र प्रदर्शन आएका थिए । सो वर्ष ती चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैंमा पनि चलचित्रकर्मीले आशावादी छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा हास्यव्यङ्गय साहित्यकार भैरव अर्यालको ९० औँ जन्मजयन्ती मनाइएको छ । आइतबार साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले रचना वाचन तथा परिचर्चा कायक्रम आयोजना गरी साहित्यकार अर्यालको जन्मजयन्ती मनाएकाे हाे ।
हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको भैरव अर्यालको शालिकमा माल्यार्पण गरिएकाे थियाे । साहित्य संगम मकवानपुरका सल्लाहकार निमेष निखिलले भैरव अर्यालको जीवनबारे परिचर्चा गरेकाे कार्यक्रममा चिरञ्जीवी लामिछाने र लक्ष्मी कँडेलले रचना वाचन गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष हास्यव्यङ्गय साहित्यकार राजकुमार लामिछानेले अर्यालभित्र सरल भाषामा विशेष व्यङ्ग्य प्रस्तुत गर्ने प्रतिभा रहेको बताए ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, पूर्वअध्यक्ष सुवास खनाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, साहित्यकार देवराज खरेल, पुरूषोत्तम आचार्य लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा राष्ट्र निर्माणमा प्रगतिशील लेखनकाे भूमिका विषयक परिचर्चा कार्यक्रम आयोजना गरिएकाे छ । आइतबार प्रगतिशील लेखक संघ (प्रलेस) नेपाल बागमती प्रदेशकाे आयाेजनामा ७४ ओैं प्रलेस स्थापना दिवसकाे अवसरमा उक्त कार्यक्रम आयोजना गरिएकाे हाे ।
कार्यक्रमका वक्ता मानकुमारी पाख्रिनले हामीले लामाे समय देशकाे व्यवस्था परिवर्तन गर्नका लागि खर्च गर्याै तर आज पुरानै व्यवस्था र अवस्था हावी हुँदा जेन-जीकाे आन्दाेलनले निशव्द बनाएकाे बताइन् । मकवानपुरगढी गाउँपालिकाकाे उपाध्यक्ष उनले राजनीतिकाे सेराेफेराेमा सहित्य, समाज, कला संस्कृतिहरु सबै रहने बताइन् । ‘हामीले जनयुद्द गरेर ल्याएकाे परिवर्तन पश्चात बामपन्थीहरुकाे बाहुल्यता सँगै साहित्यकाे विकास भएकाे छ’उनले भनिन् ‘व्यक्तिगत तथा सांगठनिक रुपमा साहित्यकाे विकास उत्साहप्रद देखिए पनि प्रगतिशिल लेखनकाे उर्वरता कम भएकाे देखिन्छ ।’
साहित्यले निराश, जीवनदेखि हारेकाे मान्छे पनि बाच्नुपर्ने उर्जा जागृत गराउने उनले बताइन् । ‘प्रगतिशील साहित्यलाई जनमानसमा पुर्याउन, समाजकाे अन्तर्विराेधलाई पहिचान गरिनु जरुरी छ’ उनले भनिन् । प्रगतिशील लेखनले वर्गीय, लैङ्गिक, सामाजिक, राज्यव्यवस्थामा रहेकाे कुरीतिलाई उजागार गर्न जरुरी रहेकाे उनले बताइन् । ‘सफ्टवेयरलाई सुधार नगरेसम्म हार्डवेयर जति राम्राे भयपनि राम्राे नहुने रहेछ’ उनले भनिन् । साहित्यले समाजकाे सफ्टवेयरकाे काम गर्नु पर्ने उनले बताइन् ।
‘प्रगतिशील साहित्यकाे जग माक्सवादलाई मान्छाै तर यसले प्रगतिकाे सवालमा कुरा उठाएकाे देखिदैन’ नेपालीले भनिन् ‘वडादेखि केन्द्रसम्म हजाराै दलित महिलाले सरकार निर्माणकाे कार्यमा निर्वाचित भइ कार्य गरिरहेकाे छ तर साहित्य लेखनले त्यसलाई वेवास्ता गरिरहेकाे छ ।’ प्रगतीशील लेखन पनि अलमलमा परेकाे महशुस हुने गरेकाे उनले बताइन् । राजनीति सङ्लो नहुदा यसले राज्य र समाजका हरेक व्यवस्थामा प्रभाव पार्ने बताउँदै उनले भनिन् ‘साहित्य तथा प्रगतिशील गीतले समाजका समस्यालाई समाधान गर्न सक्छ ।’
कार्यक्रममा अर्का वक्ता घनश्याम घिमिरेले राष्ट्र निर्माण तथा प्रगतिशील लेखककाे भूमिकाकाे विषयमा आफ्नो भनाइ राखेका थिए । राष्ट्रमा भुगाेल पहिलाे प्रमुख तत्व हाे कि जनता पहिलाे हाे भन्ने कुराले महत्व राख्ने उनले बताए । उनले राष्ट्र भनेकाे पहिला जनता हाे, त्यसपछि भुगाेल हाे तर राष्ट्रकाे परिभाषा समयअनुसार फरक फरक हुने बताए । ‘प्रगतीशील विचार भन्दा पनि व्यवहार हाे । प्रगतिशील हुँ भन्ने तर व्यवहारमा लागू गर्न सक्दैन भने त्यसकाे काम छैन’ उनले भने ‘व्यवहारमा लागू गर्न नसक्ने सिद्धान्त र चिन्तन आवश्यक छैन ।’
कार्यक्रम प्रलेश बागमती प्रदेश अध्यक्ष शान्ति प्रीयवन्दनाकाे सभाध्यक्षता तथा साहित्यकार रमेश माेहन अधिकारीकाे प्रमुख आतिथ्यतामा भएकाे हाे ।

