मन गहिरे
१.
देखेको भन्दा पनि यहाँ नसोचेका कुरा हुन्छन्
पुरा होलान् सपनाहरू कति अधुरा हुन्छन्
बिश्वास के हुन्छ खै घात प्रति घातको दोसाँधमा
मुखले राम राम भन्नेहरु कै बगलीमा छुरा हुन्छन् ।
२.
कैले लाभ हुन्छ त यहाँ कैले हानी हुन्छ
कसैको भुल्ने,कसैको सम्झने बानी हुन्छ
दुश्मनी मात्रै कति गर्छौ बाचुन्जेल यहाँ
शरीर त आखिर डढेर खरानी हुन्छ ।
३.
सुकुम्बासीलाई बास बनाउने पुर्जा मिलोस्
खेलमा सधैं जीतको झन्डी र बुर्जा मिलोस्
नपरोस् कहिले हजारौंको भिडमा एक्लै हुन
साथ र संगतले जीवन जिउने उर्जा मिलोस् !!
तानसेन,पाल्पा
कोरोना मत्थर भएसँगै नेपाली चलचित्रको प्रदर्शन क्रम बढेको छ । यसैक्रममा शुक्रबारबाट दुईवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आउने भएको छन् । केही साताअघिसम्म हप्तामा एउटा पनि नेपाली चलचित्र रिलिज हुँदैनथ्यो । तर, अहिले कोरोना घटेकै कारण दुईवटासम्म चलचित्र एउटै मितिमा जुधेको हल सञ्चालकहरू बताउँछन् ।
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘षट्कोण’ मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलबाट आउँदै छ । यो चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेको हुन् । ‘साइको थ्रिलर’ जनरामा निर्माण भएको यो चलचित्र अहिलेको सिनेमा भन्दा केही फरक कथामा आफूले तयार गरेको निर्देशक काप्रीले बताएका छन् । आफ्नो फिल्म सस्तो मनोरञ्जनको फिल्म नभएको र फरक फिल्म भएकै कारण दर्शकलाई विशेष फिल्म लाग्ने पनि उनले बताएका छन् । ‘षट्कोण’बाटै मिलनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् ।
६ जना पात्रको आआफ्नै किसिमको भूमिका भएको र अपराध कथामा फिल्म केन्द्रित भएकाले यो चलचित्रको नाम ‘षट्कोण’ राखिएको पनि निर्माण पक्षको कथन छ । यो चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामालगायतको मुख्य भूमिका छ ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन छ ।
यस्तै, दीलिप रायमाझी, प्रियंका कार्की, वर्ष सिवाकोटी, सलोन बस्नेत, शिवहरि पौडेल, किरण केसीसहित विभिन्न कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्का जवान’ शुक्रबारबाट मुलुका १ सय १८ वटा सिनेमा हलमा आउँदै छ । यो चलचित्र हास्यप्रधान रहेको यसका निर्माता एवं अभिनेता किरण केसीले बताएका छन्, ‘चलचित्र पूर्ण मनोरञ्जनप्रधान र हाँसोको खुराकले भरिएको छ । चलचित्रले हँसाउँदै गर्दा दर्शकलाई केही महत्वपूर्ण सन्देश पनि दिन्छ,’ केसीले राजधानीसँग भने । राजधानीबाट
लक्ष्मी काफ्ले
१.
मरिमेटेर पढ्यो काम पाइदैन देशमा
श्रम अनुसार दाम पाइदैन देशमा
बाहिरिन लागेका युवाको लर्को हेर
हात बॅाधी बस्दा माम पाइदैन देशमा ।
२.
कति देशै खोक्रो बनाउने महसुर बने
कति गरिबीसॅगै जोतिने मजदुर बने
चाहना त मनमा दीनहिनका पनि थिए
भएनन् पूरा क्षणभरमा चकनाचुर बने ।
३.
कृषिप्रदान देशमा समयमा मल मिल्दैन
आकाशे खेतीमा निर्भर छौं जल मिल्दैन
श्रमजीवीलाई देशमा बॅाच्नै धौ धौ पर्छ
मरिमेट्दा पनि श्रमको प्रतिफल मिल्दैन ।
लामाचौर बगैचा, पाेखरा
जुनु खड्का
जाडो छल्न हिमाली भेगबाट
आउने सुगाको हुल जस्तो
जमात देखिएको छ
फेरिएको मुखमुद्रामा,
भिखका कागजी झोलीहरू
भिरेर आफ्ना ताण्डव
नृत्यहरूको साक्षी नभए झैँ गरी
वचनको लेपन लगाउँछन्
तर विडम्बनापूर्ण कुरा
निष्पक्ष देशभक्त भएको उनीहरूको
विश्लेषण त एकोहोरो जोगीकै
आवाजको अलख अलख
जत्तिकै सुनाएको छ
भिक्षाको आशमा विपरीत ध्रुवलाई
जोड्ने,भाँचिएकै मनहरूबाट पनि
नयाँ पलुवा अङ्कुरण गराउने
होडबाजीमा कठै!
सक्षम वा असक्षम कसको हातमा
यो देशको भविष्यलाई कुन
तार जालीको घेराउभित्र
बाजि मार्ने हुन् पत्तो छैन्
उनीहरूलाई आफ्ना असफल
परीक्षाको कुनै गम छैन्
आफ्नै हारमा जितको शंखघोष
गर्दै हिँड्ने जमातको
पनि यहाँ कमी छैन्
खै कुन विपक्ष मिलेर पक्ष हुने हो
निश्चितता छैन
कुहिरोका काग झैँ नेपाली जनता
यी जमात देखेर कहिलेसम्म कसरी
हराइरहने? उफ!!
शुक्लागण्डकी नगरपालिका तनहुँ
मकवानपुर । गजल मञ्च मकवानपुरको अध्यक्षमा केशव समर्पण चयन भएको छ । आइतबार भएको गजल मञ्चको तेस्रो अधिवेशनले मकवानपुरका पत्रकार तथा गजलकार समपर्णलाई अध्यक्षमा चयन गरेकाे हाे ।
यसैगरी मञ्चको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी आशुतोषलाई चयन गरिएको छ । सदस्यहरुमा किशन पौडेल, स्वस्तिका दाहाल, भोला शिवाकोटी, रोशनी चौलागाई रहेका छन् । उक्त कार्यसमितिले १ जना सदस्य पछि मनोनयन गर्ने गरी ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यसैगरी मकवानपुरका गजलकार विश्वनाथ सञ्जेललाई स्रष्टा सम्मान,२०७८ बाट सम्मानित गरिएको छ । गजल मञ्चकाे १ सय ९० औं विशेष यात्रामा सम्मान पत्रसहित सञ्जेल सम्मानित गरिएको हो । कार्यक्रममा सञ्जेलको परिचयबारे झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष चिरञ्जीवी लामिछानेले चर्चा गरेका थिए ।
यसैगरी ५ जना गजल संग्रह प्रकाशन गर्ने स्रष्टालाई कृति प्रकाशन सम्मानबाट सम्मानित गरिएको छ । कहर गजल संग्रहका किसन पौडेल, संयुक्त गजल संग्रह गोधुली चिन्तनका एसआर मञ्जरी ओली र भोला शिवाकोटी, अक्षर आराधनका गजल संग्रहका मसान उपासक र फर्कियौ किनारबाट गजल संग्रहका विश्वनाथ सञ्जेललाई सम्मान गरिएको हो । २०७४ सालदेखि हालसम्म गजल संग्रह प्रकाशनमा ल्याएका गजलकारलाई सम्मानित गरिएकाे छ।
सम्मानित भएका कृतिकारहरुले २/२ वटा गजल वाचन समेत गरेकाे कार्यक्रममा गजल यात्रा-३ गजल मञ्च मकवानपुले प्रकाशनमा ल्याइएकाे छ । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले विगत वर्षमा गजल यात्रा नियमित हुन नसक्दा संस्था बन्द हुने अवस्था सिर्जना भएको बताए ।
गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा गजलकार रमेशमोहन अधिकारी, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, गजलमञ्च मकवानपुरका संरक्षक मुक्तिगोविन्द वैद्य लगायतको उपस्थिति रहेको थियो ।