मकवानपुर । तामाङ समुदायकाे सांस्कृतिक तथा धार्मिक पर्व ल्होछारको अवसरमा मकवानपुरको बागमती, राक्सिराङ र बकैयाले आआफ्नाे गाउँपालिकामा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा बागमती गाउँपालिकाले माघ १८, १९ र २० गते र बकैया र राक्सिराङ गाउँपालिकाले माघ १९,२० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । सोमबार सूचना जारी गर्दै गाउँपालिकाहरुले ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
मकवानपुर जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको छ । तामाङ समुदायको बाहुल्यता रहेको भन्दै ल्होछार मुख्य दिन १९ गते र साे दिनकाे १ दिनअघि र १ दिनपछि गरी ३ दिनसम्म सार्वजनिक विदा दिएको बागमती गाउँपालिकाले जनाएकाे छ । त्यसैगरी बकैया र राक्सिराङ गाउँपालिकाले ल्होछार मुख्य दिन १९ गते र त्यस पछीकाे २ दिन विदा दिएकाे जनाएको छ । ३ दिन सार्वजनिक विदाको समयमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य नियमित खोप कार्यक्रमहरु भने सञ्चालन हुने जनाइएको छ ।
यसैगरी काभ्रेपलाञ्चोकको रोशी तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै मकवानपुर लगायत बागमती प्रदेशका जिल्लाहरुमा साेनाम ल्हाेछारमा सार्वजनिक विदा माग गर्दै यस अघी मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापनपत्र समेत बुझाएका थिए । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गर्दै ज्ञापना पत्र बुझाएका थिए ।



मकवानपुर । सोनाम ल्होछारमा बागमती प्रदेशमा ३ दिन सार्वजनिक बिदा दिन माग गरिएकाे छ । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गरेको हाे ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै उक्त बिदाको माग गरिएको हो । प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाइने परम्परा रहेकाेले कम्तीमा ३ दिन सार्वजनिक बिदाको माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदमा बिदाकाे विषयमा छलफल गरि निर्णय गरिने प्रतिकृया दिए । ज्ञापन पत्र बुझाउन नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, संघीय कमिटि सदस्य सुनिल मोक्तान, बागमती प्रदेश कमिटिका अध्यक्ष लिलाकुमार घलान, निवर्तमान अध्यक्ष सोमबले तामाङ लगायतको उपस्थिति थियो ।

मकवानपुर । सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत याे वर्ष पौष शुक्ल पूर्णिमाका दिन आज सुरु भएकाे छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक स्वस्थानी व्रत एवं माघस्नान गरिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । श्री स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।
यी अष्ट मातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्त्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबिचको संवाद छ । स्वस्थानी व्रत कथामा शिव भगवानका ज्येष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनि बिचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि….’
श्री स्वस्थानी कथा आराध्य देव भगवान् शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा शृङ्खलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दु परिवारहरूमा साँझ या बिहान चोखो निधो हुँदै व्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।
प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।
स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भिडभाडमा रोक लागेको छ । यो शाली नदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।
माघ स्नान सुरु
माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको सङ्कल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्छ । स्नानपछि भगवान् विष्णुको पूजा अर्चना गर्नु र सकेसम्म सात्त्विक, अल्पहार र एक छाक मात्र भोजन गरी श्रद्धा र भक्तिपूर्वक व्रत बस्न सकिन्छ । माघ महिनामा दानको विशेष महत्त्व छ । दानमा तिल, गुड, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।
माघ महिनामा पवित्र नदीहरूमा स्नान गर्नाले विशेष ऊर्जाको प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्तिपूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान् नारायणलाई प्राप्त गर्न सकिन्छ भन्ने सनातनप्रति विश्वास राख्नेहरूको छ ।
चितवन । धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाएको भए पनि निषेधाज्ञाकाे अवज्ञा गर्दै स्नान गर्नेकाे घुइँचाे लागेकाे हाे ।
माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुइँचो साझँ सम्म नै बढ्दै गएकाे छ। प्रशासनले प्रवेशमा रोक लगाएपनि टाढा–टाढाबाट भक्तजन पैदलै हिँडेर देवघाट पुगेका छन्। सवारी साधन लिएर समूह भएर जाने भक्तजनलाई रोक्ने र छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने प्रशासनको निर्णय थियो।
यद्यपि देवघाटको वेणी संगममा भक्तजनको बाक्लो उपस्थिति छ। चितवनको दासढुंगाबाट तनहुँतर्फ आउने भक्तजनले जीप कारलगायतका साना गाडी लिएर पनि देवघाट पुगेका छन्। चितवनको आँपटारीबाट देवघाट पैदल जाने भक्तजनको संख्या पनि उल्लेख्य रहेको छ।
छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने तर समूहगत रुपमा जान नदिने निर्णय भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए। ‘निषेधाज्ञा खुलाइएको छैन। एक्ला–एक्लै जाने हो भने जान दिने भन्ने कुरा भएको हो’, उनले भने।
त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्तिको दिन हरेक वर्ष तिर्थालुको घुँइचो लाग्ने गर्छ।
मकवानपुर । नेपाली पात्राे अनुसार १२ महिनामा १२ वटा संक्रान्ति पर्दछ हरेक महिनाकाे १ गतेलाई संक्रान्ति भनिन्छ । तर सवै संक्रान्तिहरुले महत्व राख्दैनन् । बर्षमा २ वटा संक्रान्तिले मात्र विशेष महत्व राख्ने गर्दछ नेपाली हिन्दुहरुमा । साउन महिनाकाे साउने संक्रान्ति र माघ महिनाकाे माघे संक्रान्ति । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने धार्मिक विश्वास छ ।
आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती लगायतका नदीहरुमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । यस अवसरमा पहाडी समुदायमा मान्यजनकाे घरमा जाने टिका ग्रहण गर्ने घीउ चाकु तरुल खिद्राे (खिचडी) प्रसादकाे खाने प्रचलन रहेकाे छ ।
माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको छ । थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँछन् । मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराई क्षेत्रमा बसाेबास गर्नेहरुले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
राष्ट्रपति लगायतले दिए माघे संक्रान्ति र माघीकाे शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चाडपर्व मनाउन आग्रह गरेकी छन्। माघी र मकर संक्रान्तीको अवसरमा शुभकामना दिँदै राष्ट्रिपति भण्डारीले आ–आफ्नो स्वास्थ्यको ख्याल गरी चाडपर्व मनाउन आग्रह गरेकी हुन् ।
यसैगरी प्रधानमन्त्री शेर बहादुर देउवाले माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै विशिष्ट पहिचान भएको याे पर्व सामाजिक सद्भावको उदाहरण भएको बताएका हुन् । माघी पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गर्दै उनले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताएका छन् ।
यस्तै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको माघे संक्रान्ति पर्व अवसरमा शुभकामना व्यक्त गरेका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपालमा माघे संक्रान्तिलाई उत्साहपूर्वक मनाउने समुदायका लागि प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गरेका हुन् । शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय पर्व भएको उल्लेख गरेका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्,‘यस्ता पर्वहरुले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ ।