मकवानपुर । हेटौंडामा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा उपाधीका लागि आयोजक टिम एफसी विजय युथ क्लब,हेटौंडा र सेन्ट्रल कलेज विएसी,भरतपुर भिड्ने भएका छन् ।
बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक टिम विजय युथ क्लबले बागमती युवा क्लब, सर्लाहीलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । यसअघि मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा हर्दि युवा समाज,राप्तीलाई १-० गोल अन्तर पराजित गर्दै सेन्ट्रल कलेज फाईनलमा प्रवेश गरेको थियो ।
माघ २३ गते विहीबार हुने फाईनल खेलमा उपाधीका लागि एफसी विजय युथ क्लब,हेटौंडा र सेन्ट्रल कलेज विएसी,भरतपुर खेल्ने छन् । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतबाट कैद तथा जरिवाना ताेकिइ भुक्तान गर्न बाँकी रहेकाे उनीहरूलाइ माघ २१ गते पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला अदालत मकवानपुरकाे फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद तथा . २ लाख ६४ हजार रूपैया जरीवाना ताेकी भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर हेटाैडा वडा नं. १६ का बस्ने ४५ को प्रेम बहादुर स्याङतानलाई माघ २१ बुधबार पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले वन मुद्दामा १८ दिन कैद र रु १९ हजार ७ सय ५० जरीवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुर मनहरी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४८ को हरीकृष्ण न्यौपानेलाई २१ गते जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ९ बाट पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले वन मुद्दामा १८ दिन कैद र रु १९ हजरा ७ सय ५० जरीवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुर मनहरी वडा नं. ९ बस्ने वर्ष ४२ को भेष बहादुर अधिकारीलाई माघ २१ गते पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको रानाले बताए ।
मकवानपुर । झरना साहित्यिक परिवारले दाेस्राे बकैया साहित्य महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका साहित्यकार, पत्रकारलाई सम्मान गर्ने भएको छ । गतवर्षबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन यस बर्ष पनि आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
बकैया गाउँपालिका–५ श्रीपुरमा रहेको प्रभात माविमा फागुन १४ र १५ गते महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए । महोत्सवमा पहिलो दिन फागुन १४ गते शुक्रबार नवसर्जक (बालबालिका विशेष) रचना वाचन, पुरस्कार वितरण एवम् बहसमूलक कार्यक्रम रहेको छ । दोस्रो दिन फागुन १५ गते शनिबार स्रष्टा सम्मान, स्थानीय सांस्कृतिक नृत्य, जग्गा दाताहरूलाई सम्मानसँगै साहित्यिक रचना वाचन तथा गायन कार्यक्रम रहेको गौतमले जानकारी दिए ।
साहित्यिक महाेत्सवमा यसवर्ष होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७७ सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम खतिवडालाई प्रदान गरिने छ । १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशी रहेको पुरस्कारका संस्थापक नुरप्रसाद गौतम हुन् रहेका अध्यक्ष गाौतमले जानकारी दिए ।
यस्तै, बाबुलाल–भोजमाया प्रतिभा सम्मान–२०७७ मकवानपुरे अग्रज कवि आर.आर. चौलागाईँ प्रदान गरिने भएको छ । ११ हजार १ सय ११ रुपैयाँ राशीको यस पुरस्कारका संस्थापक विनोद सुवेदी रहेका छन् । शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान– २०७७ अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिने झरनाका सचिव मसान उपासकले जानकारी दिए । काठमाडौँ निवासी पौडेललाई प्रदान गर्न लागिएको ११ हजार १ सय ११ राशीको पुरस्कारका संस्थापक रमेशमोहन अधिकारी हुन् ।
यसैगरी, खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान–२०७७ नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने छ । अर्पण र दर्पण पराजुलीले स्थापना गरेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७७ मकवानपुरे साहित्यकार रुकु कार्की प्रदान गरिने भएको छ । राजन दङ्गालले स्थापना गरेको उक्त पुरस्कारको राशी पनि ५ हजार ५ सय ५५ रुपैया रहेको छ ।
यस्तै, सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७७ मकवापुर बकैयाका मनहरी लामिछानेलाई प्रदान गरिने सचिव उपासकले बताए । ५ हजार ५ सय ५५ रुपैया राशीको उक्त पुरस्कारका संस्थापक तुलसी गिरी रहेका सस्थाले जनाएकाे छ .
झरना–बकैया पत्रकारिता पुरस्कार–२०७७ बाट रौतहटका खेम बोलखेलाई प्रदान गरिनेछ । पुरस्कार संस्थापक रहेको बकैया गाउँपालिका रहेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैया रहेको छ । यसैगरी, झरना–बकैया नवप्रतिभा पुरस्कार–२०७७ बाट बकैयाका दीपशिखा घिमिरेलाई प्रदान गरिने छ । पुरस्कार संस्थापक चन्द्रकुमार राई रहेको उक्त पुरस्कारको राशी २ हजार ५ सय ५ रुपैया रहेको झरनाले जनाएको छ ।
झरना २०५० सालमा साविक छतिवन गाविस (हाल बकैया गाउँपालिका) मा स्थापित भई हालसम्म क्रियाशील मकवानपुरको अग्रणी साहित्यिक संस्था हो । यसले मासिक साहित्य शृङ्खला सञ्चालन, ‘झरना’ नामक अर्धवार्षिक पत्रिका प्रकाशन, प्रकाशन कोषमार्फत् साहित्यिक कृतिहरू प्रकाशन लगायत विविध साहित्यको क्षेत्रमा विविध गतिविधिहरू गरिरहेको छ ।
स्थापना कालदेखि नै साहित्यिक कार्यक्रमहरू गर्ने र विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई साहित्यमा लाग्न प्रेरित गर्ने अभियानहरू सञ्चालन गर्दै आएको छ । अहिले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत पछिल्ला ६ वर्षमा झरनाले ५० भन्दा बढी विद्यालय र कलेजहहरूमा पुगेर १ दिने काव्य प्रशिक्षण सञ्चालन गर्दै बाल साहित्य समितिहरू गठन गरिसकेको छ । नवसर्जकहरूमा लेखन र पठन संस्कृतिको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष गाैतमले जानकारी दिए ।
यसैबीचमा झरना साहित्यिक परिवार मकवानपुरले बकैया–५ मा आफ्नै भवन तथा पुस्कालय सञ्चालन प्रयोजनार्थ २ कठ्ठा जग्गासमेत गाउँपालिका कार्यालयबाट प्राप्त गरेको छ ।
मकवानपुर । मंगलबार मकवानपुरक चार स्थानीय तहमा स्वास्थ्य भवन शिलान्यास गरिएको छ । २०७२ सालको भुकम्पका कारण क्षती भएका मध्ये मंगलबार चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको हो ।
भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत निर्माण हुने भवन अन्तरगत मंगलबार मकवानपुरको थाहा नगरपालिका–११, टिष्टुङ्ग स्थित १० कोठे स्वास्थ्य चौकीको भवनको राष्ट्रिय सभा सदस्य रामनारायण विराडी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट र भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का प्रमुख तुल्सीराम खर्बुजाले संयुक्त शिलान्यास गरका हुन् ।
यस्तै राक्सिराङ–८, खैराङ्ग स्थित २२ कोठे स्वास्थ्य चौकी भवनको प्रदेशसभा सदस्य सन्त चेपाङ्, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल शिलान्यास गरेका हुन् । त्यस्तै भीमफेदी–४, निवुवाटार स्थित ९ कोठे स्वास्थ्य चौकी भवनको भीमफेदी गाउँपािलका अध्यक्ष हिदम लामाले तथा बकैया–२, धिँयाल स्थित स्वास्थ्य चौकी भवनको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले शिलान्यास गरेका छन् ।
टिष्टुङ्ग र खैराङ्गकाे स्वास्थ्य चौकी १८ महिना भित्र तथा धिंयाल र निवुवाटार स्वास्थ्य चौकीको भवन १५ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित शिलान्यास गरिएको जिल्ला अायाेजना कार्यान्वयन इकाइ भवनले जनाएकाे छ । हो । ४ वटा स्वास्थ्य संस्था भवनको कुल लागत १० करोड ४९ लाख ८२ हजार ८२१ रुपँयामा ठेक्का सम्झौता भएको भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) ले जनाएको छ ।
मकवानपुर । भूमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको अध्यक्षमा रामेश्वर राना मगर नियुक्त भएक छन् । विहीबार बसेकाे मन्त्रीपरिषद बैठकले आयोग मकवानपुरको अध्यक्षमा रानालाइ नियुक्त गरेको हो ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका सहइन्चार्ज समेत रहेका रानालाई आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको हो । यस्तै आयोगको जिल्ला विज्ञमा हेटौंडा ४ का तुलसी प्रसाद रिजाल र सदस्यमा हेटौंडा ८ का प्रतिमा श्रेष्ठलाई नियुक्त गरेको छ ।
समितिको अध्यक्षले नेपाल सरकारको सह सचिवको सुविधा पाउनेछन् भने विज्ञ र सदस्यले उप सचिव सो सरहको सुविधा पाउनेछन् । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन, अव्यवस्थित बसाेवासी, दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष, विज्ञ र सदस्य नियुक्त गरेको हो ।