मकवानपुर । आज जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस हाे । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रितकाे मृत्यु भएकाे थियाे । दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।
नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । भण्डारी र आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’
माधव नेपालद्वारा जारी विज्ञप्ती
मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली !
२०७८ जेठ ३ गते २८ औं मदन-आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८ वर्ष पूरा भएको छ। सर्वप्रथम म उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो हुनुहुन्थ्यो । सिद्धान्तकार, विचारक, व्याख्याता र एक दुरदृष्टियुक्त नेता हुनुहुन्थ्यो । उहाँले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर संसारभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र असाध्यै बलशाली बनाउनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यसैगरी कुशल संगठक कमरेड जीवराज आश्रितले नेकपा (एमाले)को संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा उहाँले खेल्नु भएको भूमिका अतुलनीय छ। सोभियत संघ विघटनपछि कम्युनिष्ट आन्दोलन रक्षात्मक मात्रै होइन अलमलमा थियो । विशाहीनता र जडताको गोलचक्करमा परेको तथा ओरालो लागेको कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर तत्कालीन महासचिव कमरेड भण्डारीले नयाँ उचाई प्रदान गर्दै नयाँ आशा र विधान प्रदान गर्नुभयो । मार्क्सवादका मूलभूत पक्षको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई सुवृत बनाउन जवसको अग्रणी भूमिका छ। जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंपा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु । यतिबेला हामी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्ये संगीन परिस्थितिको सामना गरिरहेका छौं।
यो बेला हामी माथि प्रश्न छ, के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिकर लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक-आर्थिक रूपान्तरण, राष्ट्रिय पूंजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका हाँ ?” हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य मान्यतालाई स्वयम् हामीले आत्मसात गरीरहेका छौं?’ अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ । नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन। यी तमाम दायित्व पूरा गर्नका लागि आजको सन्दर्भमा एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त हो । नेकपा (एमाले) को विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै उहाँहरुले देखेको सुन्दर सपना साकार पार्न सक्नेछौं । फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्र उहाँहरप्रतिको सम्मान हुनेछ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिंडूने प्रण गरौ । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। अहिले हामी कोरोनाको दोस्रो लहरका कारण हामीले युगकै असाध्यै कठिन परिस्थिति सामना गरिरहेका छौं । यो विषम परिस्थितिमा सवैसँग आवश्यक सहकार्य गर्दै सम्पूर्ण शक्ति र संयन्त्र कोरोना विरुद्धको लडाईमा परिचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ । कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्ति सहित आम जनसमुदायलाई हार्दिक अपील समेत गर्दछु।
मिति: २ जेठ, २०७०
माधवकुमार नेपाल वरिष्ठ नेता नेकपा (एमाले)


मकवानपुर । मकवानपुरमा थप ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा संस्थागत आइसोलेसनमा रहेका ७ जना र होमआइसोलेसनमा रहेका ८५ जना संक्रमण मुक्त भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेकाे संख्या हालसम्म ४ हजार ३ सय ७२ पुगेका छन् ।
कोरोना मुक्तहुनेमा ८१ जना हेटौंडा उपमहानगरपालिकाका, ३ जना मनहरी गाउँपालिकाका, २/२ जना थाहा नगरपालिकाका,भीमफेदी,बागमती र मकवानपुरगढी गाउँपालिकाका गरी ८ जना रहेकाे छन् ।
यसैगरी जिल्लामा आइतबार थप १ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय १६ जनाकाे पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ३९ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कार्यलयका अनुसार पष्टि हुनेमा हेटौंडा उपमहानपालिकाका १ सय २१ जना, मनहरीका ४ जना, कैलाश, राक्सिराङ र भीमफेदी गाउँपालिकाकाका ३/३ जना, थाहा नगरपािलका २ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।
यस्तै हेटौंडामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा मृत्यु भएको हेटाैडा अस्पतालले जनाकारी दिएकाे छ । मृत्यु हुनेमा ३ जना मकवानपुर जिल्लाका र एक जना जिल्ला बाहिरका रहेका छन् ।
मृत्यु हनुेमा हेटौंडा-१४ की ७४ वर्षीया महिला,हेटौंडा-८ की ६१ वर्षीया महिला,हेटौंडा-२ का ६४ वषीय पुरुष र जिल्ला बाहिर बाराका ४६ वर्षीया महिला रहेकी छन् । यो संगै मकवानपुरमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
२ हजार १ सय १७ जना संक्रमित उपचाररत
जिल्लामा आज दिनमा २ हजार १ सय १७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ हजार १२ जना संक्रमित घरमा र १०५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आइसोलेसनमा उपचाररत हुनेहरुमा हेटौंडाको हेटौंडा अस्पतालको कोभिड कक्षमा ४५ जना,गौरिटार आइसोलेसनमा ३२ जना,सहकारी अस्पतालमा ५ जना,चुरेहील अस्पतालमा ४ जना रहेका छन् ।
यसैगरी बागमती गाउँपालिकाको आइसोलेसनमा ८ जना,मनहरी र भीफेदी गाउँपालिकाको आइसोलेसनमा ५/५ जना र राक्सिराङ गाउँपालिकाको आइसोलेसनमा १ जना सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर / बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएकाे हाे ।
प्रशिक्षणको क्रममा प्रयोग गर्दा सक्कली हतियार बिग्रने, फुटेर काम नलाग्ने हुँदा डमि हतियार प्रयोग गर्न लागिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ अनुसार पाँचसय थान काठको डमी हतियार तयार पारिने भएको हो ।

वाग्मती प्रदेश अन्तर्गतका प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाइमा काठको हतियार वितरण गरी प्रयोग गरिनेछ । प्रदेश प्रहरी कार्यालयको आन्तरिक स्रोत साधन तथा कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण गरिएको छ ।
सक्कली हतियारकै तौल र आकारमा निर्माण गरी वाग्मती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने इकाइ प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले हस्तान्तरण गरेका छन् । कान्तिपुरकाे सहयाेगमा
मकवानपुर । नेपाली काँग्रेसले आज जेठ २ गते आइतबारदेखि सातै प्रदेशमा काेराेना भाइरसकाे अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । पार्टीको कोभिड–१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता–कार्यकर्ताको संलग्नतामा जुम प्रविधिमार्फत कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ ।
कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ ।
कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेतासमेत सहभागी हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री तथा समितिका संयोजक डा. प्रकाशशरण महतले गर्नेछन् ।

मकवानपुर । देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्वी भू-भाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेकोले आंशिक देखि सामान्य बदली रहि रहने महाशाखाले जनाकारी दिएकाे छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज जेठ २ गते आइतबार दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्ताै आज राती देशभर आन्शिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।