मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमण विरुद्धकाे भेराेसेल खाेप ४ हजार ९५ जनाले लगाएका छन् । जिल्लाकाे १० वटै स्थानीय तहमा पहिलो चरणकाे भेरोसेल खोप अभियान अन्तरगत ४ हजार ९५ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका जिल्ला भित्रका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका ४ हजार ९५ जनाले कोरोना विरुद्ध भेरोसेल खोपको पहिलो डोज लगाएका हुन् । जिल्लामा जेठ २५, २६, २७ र २८ गते ४ दिन जिल्लामा खाेप अभियान चलेकाे थियाे ।
मकवानपुरका लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये १० वटै स्थानीय तहका ६२ देखि ६४ उमेर समूहका अधिकांशले खोप पाएका सूचना अधिकारी घिमिरेले बताए । छुटेको केहिले आज शनिबार पनि लगाउन सक्नेछन् । स्थानीय तहलाई बाँडिएको खोप लगाएर बाँकी रहेकाे खाेप फिर्ता आउने तथा बाँकी रहेकाे खोप कस्लाई लगाउने भन्ने निर्णय जिल्लाको काभिड संकट व्यवस्थापन समितिले गर्ने घिमिरेले बताए ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिकाका २ हजार ३२, बागमती गाउँपालिकाका ३ सय ७८, थाहा नगरपालिकाका ३ सय ३३, मकवानपुरगढी गाउँपालिकाका ३ सय ३१, बकैया गाउँपालिका भित्रका २ सय ७७, मनहरी गाउँपालिकाका २ सय १९, कैलाश गाउँपालिकाका १ सय ७५ , राक्सिाङ गाउँपालिकाका १ सय ५७, भीमफेदी गाउँपालिकाका १ सय २९ र इन्द्रसरोबर गाउँपालिकाका ६४ जनाले खोप लगाएका छन् । भेरोसेल खोपको दोस्रो डोज ३ हप्ता पछि लगाईने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् । हाल जिल्लामा काेभि शिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहनेको संख्या १५ हजार १ सय ६२ रहेको छ ।
मकवानपुर । नेपालमा माैसमकाे आगमन भएकाे छ । बंगालको खाडी आसपास बिकशित भएको न्यून चापीय क्षेत्रका कारण जेठ २८ गते शुक्रबार नेपालमा माैसमकाे आगमन भएकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
नेपालको पूर्वी भूभाग प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन (Monsoon Onset) भएको छ। एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
हाल देशको पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा समेत भईरहेको अवस्था छ ।
जेठ २९ शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेकाे छ।
काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका हुन् ।
तथ्यांकमा नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ उल्लेख छ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजनासमेत बनाएको छ । गत १४ माघ २०७७ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।
हाल, चीनले अनुदान उपलब्ध गराएको १० लाख मात्रा भेरोसिल खोप लगाउने अभियान जारी छ । यद्यपि, काठमाडौं महानगरपालिकासहित केही पालिकामा खोप सकिएपछि अभियान स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई लगाउनुपर्ने देखिएको छ ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खोप खरिदका लागि सरकार लागिपरेको भन्दै केही दिनमै खोप आउने विश्वास दिलाएका छन्् । ‘केही दिनमै खोपसम्बन्धी सुखद समाचार सुन्नुहुनेछ,’ मन्त्री तामाङले शुक्रबार राजधानीसँग भने, ‘तर सबैभन्दा मुख्य कुरा सुरक्षित भएर बस्नु नै हो ।’
सरकारले १४ लाख ज्येष्ठ नागरिकलाई हालसम्म कोभिसिल्ड खोप दोस्रो मात्रा लगाइसक्नुपर्ने हो । तर, भारत सरकारमार्फत खरिद गरिएको खोप उपलब्ध नहुँदा ‘कहिले लगाउने ?’ भन्ने अन्योल छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले कोभिसिल्ड खोप लगाएकालाई एस्ट्रेजेनिका लगाइने जानकारी दिए । तर, सो खोप पनि ‘कहिले आउने ?’ कुनै टुगो छैन ।
औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
यसैबीच, देशभर शुक्रबार थप ५ हजार २ सय २५ निको भएसँगै हालसम्म ५ लाख २० हजार ८ सय १६ संक्रमित घर फर्केका छन् । नेपालमा संक्रमित निको दर ८६ दशमलव २ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ९८ जनाको पीसीआर र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।
पीसीआरबाट २ हजार ७ सय ९ र एन्टिजेनबाट १ हजार ४१ संक्रमित थपिएका छन्् । शुक्रबार देशभर थप ६७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म ८ हजार ३ सय ५ को मृत्यु भएको छ ।
यसैगरी, देशभर १ हजार १ सय ८९ आईसीयू र ३ सय ६६ संक्रमित भेन्टिलेटरमा छन्् । प्रदेश १ मा १ सय ९६ आईसीयू र ५४ भेन्टिलेटर, प्रदेश २ मा ५८ आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत छन्् । बाग्मती प्रदेशमा ६ सय ८७ आईसीयू र २ सय ४१ जना भेन्टिलेटरमा छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ८९ आईसीयू र २७ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १६ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा २२ जना आईसीयू र चार जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २१ आईसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत छन् । राजधानीबाट
नेपालको राष्ट्रिय फुटबल टिम फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोटमा अस्ट्रेलियासँग पराजित भएको छ । संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा अस्ट्रेलियासँग नेपाल ३-० गोल अन्तरले पराजित भएको हो ।
अस्ट्रेलियाले नेपालविरुद्ध पहिलो हाफमा २ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो । पहिलो हाफको ४५औ मिनेटमा नेपाली खेलाडी रोहित चन्दले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो । कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा पहिलो हाफमा अस्ट्रेलियाले खेलको छैटौ र ३८औ मिनेटमा १/१ एक गोल गरेको थियो भने दोस्रो हाफको ५७औ मिनेटमा तेस्रो गोल गरेको थियो ।
विश्वकपको छनौट अन्तर्गतनै नेपालले २०१९ मा अस्ट्रेलियाविरुद्ध ५-० को हार बेहोरेको थियो । योसँगै नेपालले विश्वकपको छनौट खेलमा ८ खेलमा ६ खेलमा हार र २ खेलमा जितसहित ६ अंकसहित आफ्नो यात्रा टुंगाएको छ । फिफा वरीयतामा ४१ औ स्थानमा रहेको अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ ।
अष्ट्रेलियाविरुद्ध नेपालका ३ युवा खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।
यसैगरी अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रतिक्रिया दिएका छन् । नेपाल अष्ट्रेलियासँग पराजित भए पनि खेल प्रशंसनीय रहेको अलमुताइरीले बताएका हुन् ।
मकवानपुर । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने २२ सवारी साधनलाइ कारवाही गरेकाे छ । जेठ २८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर, अटो गरी २० वटा सवारीसाधन कारवाही गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
यसैगरी निषेधाज्ञा उल्लङ्घन गर्ने ६१ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएका २० वटा सवारी साधनलाइ कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रति सवारी साधन २ हजार देखि ५ हजारका दरले कारवाही गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यस्तै निषेधाज्ञा उल्लंघन गरी पसल पसल खोली संचालन गर्ने १ जना नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएकोमा प्रशासन कार्यालयबाट ५ हजार जरीवाना समेत भएको रिमालले बताए ।