मकवानपुर । मकवानपुर प्रहरीले हत्या आरोपमा १ जनालाई पक्राउ गरेको छ । हेटौंडा-१६ हटिया भालुखोलाका मान बहादुर प्रजाकाे हत्या गरेकाे आरोपमा हेटौंडा-१६ हटिया भालुखोलाका राज कुमार भन्ने ठुलो सार्की मुक्तानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
गत साउन ३२ गते राती स्थानीय ६४ वर्षीय प्रजालाई धारिलो हतियार बञ्चारोले प्रहार गरी हत्या गरेकाे घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा स्थानीय ४० बर्षिय मुक्तानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
मकवानपुर । माधब नेपाल पक्षकाे नेकपा एकीकृत समाजवादी पार्टी र महन्त ठाकुर पक्षकाे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राजनीतिक दलको मान्यता पाएको छ ।
निर्वाचन आयोगको बैठकले दुवै दलले कानुनअनुसार दल दर्ताका लागि प्रक्रिया पु¥याएपछि दर्ता गर्ने निर्णय गरेकाे थियाे । आयोगले बुधबार नै दुबैलाइर नयाँ दल दर्ताको आधिकारिक प्रमाणपत्र दिएको हो ।
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गर्न आयोगमा निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्था थियो ।
‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३, (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट निर्णय गरी प्रमाणपत्र दिइएको,’ आयोगको तर्फबाट प्रदान गरिएको पत्रमा भनिएको छ ।
आयोगले तोकेको विहान ११ बजेदेखि २ बजेसम्मको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि दुवै दलका हस्ताक्षरकर्ताहरूले सनाखत गरेका थिए ।नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । सो संख्या २७ प्रतिशत हो ।
एमालेको १ सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र नेपाल अध्यक्ष रहने दलमा सनाखत गरेका हुन् । सो संख्या एमालेको संसदीय दलको कुल संख्याको १९ दशमलव ४८ प्रतिशत हो । आयोगमा सनाखतका लागि पुगेका ३ जना सांसदले भने सनाखत गर्न नपाउँदा सो संख्या नपुगेको हो ।
यसैगरी, नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १६ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य संख्याको ३३ प्रतिशत हो । यस्तै, संघीय संसद्का १४ जना सांसदले लोसपाका पक्षमा सनाखत गरेको आयोगले जनाएको छ ।
झलनाथको दिल्लीबाटै सनाखत
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको सनाखत भने दिल्लीस्थित नेपाली दूतावासमार्फत गराएको छ । आयोगले दिल्लीस्थित राजदूतावासमार्फत खनालको सनाखत गराइएको जनाएकाे छ । नेता खनाल हाल स्वास्थ्य उपचारका लागि भारतको दिल्लीमा छन् ।
रेशम चौधरी गएनन्
लोसपाको हस्ताक्षर सनाखतमा रेशमलाल चौधरीको भने सनाखत भएको छैन । उनको नाम र हस्ताक्षर प्रस्तावित दलका पक्षमा नभएकाले उनी आयोगमा सनाखतका लागि नगएका हुन् ।
ठाकुर समूहले पहिले प्रस्ताव गरेको दलको नाममा भने चौधरीको हस्ताक्षर थियो । तर पछि दलको नाम फेरेर बुझाउँदा भने चौधरीको नाम र हस्ताक्षर दुवै नरहेको पाइएको आयोगले जनाएको छ ।

मकवानपुर / एसियन हाइवेको मापदण्ड अनुसार राजमार्ग फराकिलो पार्ने सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफू सधैं सकारात्मक रहेको बताएका छन् ।
हेटौडा उपमहानगरपालिका क्षेत्र भित्र परेको राष्ट्रिय राजमार्ग फराकिलो पारिनु पर्ने पक्षमा आफू रहेको मेयर महतले बताएका हुन् । हेटौँडा उपमहानगरपालिकामा बुधबार पत्रकार सम्मेलन गर्दै मेयर महतले भने “२०७४ सालमा जननिर्वाचित प्रतिनिधिहरुको पहिलो नगर सभाले नै अनुमोदन गरेको विषय हो, हामीले कार्यान्वयनको लागि सघाउनु हाम्रो कर्तव्य हो ।’
हेटौडा क्षेत्रमा पर्ने राजमार्गको दायाँबायाँ २५ मिटर बनाउन जनप्रतिनिधिको हैसियतले पनि आफूहरु सकारात्मक रहेको महतले बताए । मेयर महतले राजमार्ग बिस्तारको काममा अबरोध नगर्न नगरवासीलाई अनुरोध गरेका छन् । “हेटौडा क्षेत्रमा घर बनाउने व्यक्तिहरूले नक्सा पास गर्ने समयमै सरकार या उपमहानगरपालिकाले चाहेको खण्डमा २५ मिटर क्षेत्रमा निर्माण गरिएको घर–टहरा हटाउने कागज गरेका छन, अहिले आएर भत्काउन दिन्न भन्न पाईदैन” महतले भने ।
हेटौँडा बाहेकका अन्य सहरमा सडक फराकिलो पार्ने काम धमाधम भैरहेको भन्दै उनले हेटौँडामात्रपछि परेको बताए । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले २५ मिटर सडक विस्तारको लागि केन्द्रीय सरकारलाई पटक–पटक आग्रह गरेको भएपनि सुनुवाई नभएकोमा गुनासो गरे । “संघीय सरकारले भत्काउन पहल नगरे स्थानीय सरकारलाई घरहरु भत्काउन अधिकार दिनुपर्छ ।”
२५ मिटर क्षेत्रका घरधनीले दिएको निवेदनलाई समेत अदालतले खारेज गरेको अवस्थामा २५ मिटर सडक फराकिलो बनाउने अभियान नहुनु दुःखद विषय भएको भन्दै उनले यसबारे संघीय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । सडक फराकिलो नहुँदा नगरले गर्नु पर्ने विकासका कामहरुमा समेत अवरोध भएको महतले बताए ।
रागमार्ग विस्तारको हल्लाले झण्डै ४ दशकदेखि मुख्य राजमार्गको घरहरु खरिद विक्रि तथा बैङ्किङ प्रयोजनमा आउन सकेका छैनन् । २०७४ सालमा मन्त्रिपरिष्दले हेटौंडा बजार नभत्काउने र हेटौंडा–१५ रातो माटोबाट हेटौंडा–१० राप्तिपुलसम्म राष्ट्रिय राजमार्गको लागि वैकल्पिक मार्ग बनाएर जोड्ने भनेर गरेको निर्णय आजसम्म लागू नभएको मेयर महतले बताए ।
हेटौंडा बजारमा २५ मिटरको टुङगो नलाग्दा हेटौंडा बजारको सुन्दरता समेत कुरुप हुँदै गएको उनले बताए ।
हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रादेशिक राजधानी रहेकोले पनि यहाँको विकासमा केही व्यक्तिगत लाभको लोभले रोकिनु नहुने उनले बताए ।
हेटौंडा मुलुकको केन्द्रभागमा अवस्थित उपमहानगरपालिका हो । मेची महाकाली जोड्ने महेन्द्र राजमार्ग, उत्तर दक्षिण जोड्ने त्रिभुवन राजपथ, हेटौंडा धरान चतरा जोड्ने मदन भण्डारी मार्गका साथै उपत्यका प्रवेशको रुपमा विकास गरिएको कान्तिलोकपथलगायत थुप्रै सडक सञ्जालले हेटौंडालाई छोएको छ ।
विज्ञप्ती :
हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका र प्रादेशिक राजधानी रहेको मुलुकको केन्द्रभागमा अवस्थित उपमहानगरपालिका हो । मेची महाकाली जोड्ने महेन्द्र राजमार्ग, उत्तर दक्षिण जोड्ने त्रिभुवन राजपथ, हेटौंडा धरान चतरा जोडने मदन भण्डारी मार्गका साथै उपत्यका प्रवेशको रुपमा विकास गरिएको कान्ति लोकपथ लगायत थुप्रै सडक सञ्जालले समेटिएको एक सुन्दर र सम्भावना बोकेको शहर हो । यस उपमहानगरपालिकामा दुई दुई वटा औद्योगिक क्षेत्रहरु छन् । पछिल्लो समयमा शैक्षिक हवको रुपमा स्थापित यस नगरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना संगै स्वास्थ्य क्षेत्रको गुणस्तर अभिबृद्धिको सम्भावना बढाएको छ । प्रादेशिक संरचना अनुसार प्रदेश मन्त्रालय, निर्देशनालय लगायत प्रदेशस्तरीय विभिन्न निकाय तथा कार्यालयहरु स्थापनाले नगरको आकर्षक बढ्दै गएको छ । विशेषगरी विगतमा तराइ क्षेत्रमा भएको मधेश आन्दोलन र पछिल्लो समयमा प्रदेश राजधानी घोषणा संगै अनुकूल वातावरणीय हावापानी र विकास हुदै गरेको पूर्वाधार सुविधाका कारण नगरमा अत्याधिक बसाइसराइको क्रम बढ्दै गएको छ । उपमहानगरपालिका यस अवसर र चुनौतिको व्यवस्थापनमा योजनाबद्ध ढंगले लागि पर्दै आएको छ ।
वि.सं. २०१३ सालमा मित्रराष्ट्र भारत र नेपालको राजधानीलाई जोड्ने गरी व्यापारिक मार्गको रुपमा त्रिभुवन हाईवेको निर्माण प्रारम्भ पश्चात समयक्रममा यस नगर भएर जाने पूर्वपश्चिम राजमार्ग लगायत अन्य राजमार्ग सडकहरुको निर्माण भएको हो । विगतदेखि सडक आसपासमा विकास भएको हेटौंडा बजार आजको तिब्र शहरीकरण हुदै गरेको एक महत्वपूर्ण नगरको हैसियतमा आइपुग्दाको समयमा जनसंख्या बृद्धि, यातायातका साधनहरुको बृद्धि लगायतका थुप्रै कारणले हेटौंडा बजारको मुख्य मार्गहरु अति नै सांघुरा र साना भएका छन् । जसका कारण सडक दुर्घटना दैनिक बढ्दो छ भने सडक सांघुरो भएको कारण सहज ढंगबाट आवागमन गर्न र बन्दव्यापार गर्न पनि कठिनाई हुंदै आईरहेको सर्वविदितै छ । नगरको आकर्षण तथा सुन्दरतालाई नै सांघुरा सडकले गिज्याएको भान हुने अवस्था रहेको छ । राष्ट्रियराजमार्यहरुको स्तरोन्नति गर्ने क्रममा नेपाल सरकारले पूर्व पश्चिम राजमार्गलाई एसियन हाईवेको रुपमा विकास गर्ने लक्ष्य राखेको र सोही अनुरुप मुलुकका अन्य शहरहरुमा सडक विस्तार र निर्माणको कार्य भै आकर्षक र चौडा सडक निर्माण भइसक्दा यस नगरको सडक उही अवस्थामा रहनु हामी सबै नगरबासीहरुलाई चिन्ता र बेखुशीको विषय भएको छ ।
यस उपमहानगपालिकाले राष्ट्रिय राजमार्गको अवधारणा र मापदण्डबमोजिम सडकको मुख्य भागबाट दायां बायां २५–२५ मिटर सडक चौडा गर्न प्रत्यक्ष परोक्ष रुपमा आवश्यक प्रयास गर्दै आईरहेको नै छ । जनप्रतिनिधि विहिनताको क्रमलाई तोड्दै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात बर्तमान नेतृत्व यस उपमहानगरपालिकामा निर्वाचित भई आएपछि आयोजना गरिएको पहिलो नगर सभाले नै सडकको मुख्य भागबाट दायां बायां २५–२५ मिटर सडक चौडा गरी सडक फराकिलो बनाउने प्रस्ताव पारित गरी नेपाल सरकार समक्ष अनुरोध गरेको व्यहोरा सबैमा विदितै छ । यस सन्दर्भमा सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गर्ने कार्य पनि पटक पटक भएको छ । भर्खरै सम्पन्न नवौं नगर सभाको बैठकले राष्ट्रिय राजमार्गको दांयाबांया २५–२५ मिटर चौडा गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको व्यहोरा यहांहरुसमक्ष जानकारी गराउन चाहन्छु । हालै हेटौंडा स्थित राजमार्ग विस्तार गर्दा घर जग्गाको क्षतिपूर्ति नदिई घर नभत्काउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई सम्मानित सर्बोच्च अदालतमा निवेदक वडा नं. १० बस्ने देवीलाल श्रेष्ठ समेतले दायर गर्नु भएको रिट निवेदन नं. ०७३–धय–१०७४ को परमादेश मुद्धामा सम्मानित सर्बोच्च अदालतको मिति २०७५÷२÷२ को फैसलाबाट रिट खारेज भएको सन्दर्भमा सडक विस्तारको क्रममा विगतमा देखिएको कानुनी अवरोध हटेको देखिएको सन्दर्भमा राजमार्ग सडक विस्तारको योजना कार्यान्वयनमा सहजता बढाएको देखिन्छ । विगतदेखि नै तदर्थ व्यवस्थाका रुपमा नगरबासीहरुको माग र स्थानीय दलीय सहमतिका आधारमा उपमहानगरपालिकाको निर्णयबाट राष्ट्रिय राजमार्गको दायाबाया घर निर्माण गर्दा सडक अधिकार र सेटव्याक गरी सडकको बीच केन्द्रबाट दायांबायां ३१ मि.छाडी घर बनाउनु पर्नेमा सो नछाडी घर टहरा निर्माण गरेका नगरबासीहरुले पछि नेपाल सरकार र नगरपालिकालाई आवश्यकता पर्दा विना मुआब्जा आफ्नै श्रोतले न.पा.को नियमानुसार क्लियर गरी दिनेछु भनि कवुलियतनामा गरि दिएको अवस्था सबैमा विदितै छ ।
राष्ट्रिय राजमार्गको दायां बायांका प्रभावित घरहरु भत्कने हल्लाले लामो समयदेखि मुख्यबजार क्षेत्रमा घरजग्गा विक्रि हुन सकेको छैन । नयां संरचना निर्माणको क्रम रोकिंदा दशकौ अघि बनेका जीर्ण भवनहरुले राजमार्ग सडकको दायाबायाका भाग ओगटेका छन । भवन तथा संरचना बैंकले धितो राख्न मान्दैन । घर मर्मत र थप निर्माण गर्न अनुमति पाईन्न । प्रदेश राजधानी रहेको हेटौंडा बजारको मुख्य दृश्य कुरुप बन्न पुगेको छ । यसले जुन गतिमा हेटौंडाको आर्थिक विकास हुनु पर्ने हो सो हुन सकेको छैन । हेटौंडा बजारको मुख्य सडक, सडक ऐन २०३१ अनुसार ५० मि. सडक चौडा हुंदा यस ठाउको आर्थिक समृद्धिको ढोका खुल्नुका साथै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन देख्न सकिन्छ । सरकारले सडक सीमा मिचेर निर्माण गरेको घर टहराहरुको संरचना भत्काउन शुरु गरेमा हेटौंडा उपमहानगरपालिकाले बजार र सडक आसपासको क्षेत्रहरुको सरसफाई र सुन्दरताको लागि नगरबासीहरुसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता पुनः जनाउदछ ।
हरि बहादुर महत
नगर प्रमुख
मितिः २०७८/०५/०९
मकवानपुर । काेराेना भाइरसकाे कारण जारी निषेधाज्ञ मकवानपुरमा भदौ २० गते राती १२ बजेसम्समकाे लागि थपिएको छ । थपिएकाे निषेधाज्ञामा खाद्य तथा गैरखाद्य पसलहरू विहान ६ बजेबाट साँझ ६ बजेसम्म खाेल्न सकिने छ, तर फुटपाथमा पसल राख्न निषेध गरिएकाे छ ।
आज जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले जारी निषेधाज्ञालाई भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकनै लाग्दा आज बसेको बैठकले भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो । निर्णयकाे पुरा विवरण यहाँ हेर्नुहाेस्
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ४ किलो लागुऔषध गाँजा, मिनिट्रक सहित १ जना मानिस पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्या मकवानपुरले जिल्लाकाे थाहा नगरपालिका वडा ३ दोबाटो स्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोट तर्फ जाँदै गरेको मिनिट्रकबाट गाँजा नियन्त्रणमा लिएकाे हाे । ना ७ ख ७६६४ नं. को मिनि ट्रकलाई चेकजाँच गर्दा ट्रकमा आलुको बोरा लोड रहेको बिचभागमा लुकाई ल्याएको ८ वटा पोकामा लागुऔषध गाँजा फेला पारेकाे थियाे । प्रहरीले ट्रक चालक मकवानपुरगढी गाउँपालिका वडा ८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई पनि नियन्त्रणमा लिएकाे छ ।
ट्रक र चालकमाथि थप अनुसन्धानकाे कार्य भैरहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।