मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध वीनरेक्सहित हेटाैडामा १ जना पक्राउ गरेकाे छ । प्रहरीले हेटौंडा–५ का २५ बर्षीय सोम बहादुर थोकरलाई वीनरेक्स ४८ बोत्तलसहित विहीबार पक्राउ गरेको छ ।
विहीबार हेटौंडा–१५ स्थित रातोमाटे हुँदै हेटौंडा बजारतर्फ आइरहेको ना २४ प २२१० नम्बरको मोटरसाइकलमा सवार थोकरले वीनरेक्स बिक्रि बितरण गर्ने ल्याईरहेको छ भन्ने सूचना प्रहरीले पाएकाे थियाे । सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरीले टोलीले थोकरलाई हेटौंडा–४ स्थित चिल्ड्रेन पार्कबाट वीनरेक्स १ सय मिलिटिर लेखिएको ४८ बोतलसहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
थोकरलाई पक्राउ पछी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटाैडामा असोज १६ गते शनिबार मुटुरोग सम्बन्धि निःशुल्क शिविर हुने भएकाे छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा हेटौंडा अस्पतालमा मुटुरोग सम्बन्धि निःशुल्क शिविर हुने भएको हाे ।
शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञ सहित ७ जना डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले मुटुरोग सम्बन्धी शिविरमा सहजिकरण गर्ने भएका छन् । शिविरमा करिब पाँच सय जनालाई उपचार गर्ने प्रतिष्ठानले जनाएकाे छ ।
शिविरमा मुटुरोगको परीक्षणसंगै ल्याबमा परीक्षण, औषधि समेत निःशुल्क उपलब्ध गराइने बताइएकाे छ ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिका र नेपाल खेलकुद सस्था (नेपाल स्पोर्टस अर्गानाइजेशन) बीच फुटबल एकेडेमी सञ्चालन गर्न भएको २५ लाखको सम्झौता रद्द भएकाे छ । हेटाैडा उपमहानगरपालिका र संस्थाका अध्यक्ष गणेश थापासँग असोज १२ गते फुटबल एकेडेमी तथा खेलाडी प्रशिक्षण सञ्चालन गर्न गरेको सम्झौता रद्द भएकाे हाे ।
हेटौंडा उपमहानगरले २५ लाखको सम्झौता नेपाल स्पोर्टस अर्गनाइजेशसँग असाेज १२ गते मंगलबार गरेको थियो । हेटाैडा उपमहानगरपालिकाले फुटबलको विकासका लागि भन्दै २५ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो । तर बिहीबार हेटौंडा उपमहानगरले एक प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुखस्त स्तरीय निर्णयबाट सो सम्झौता रद्द भएको जानकारी गराएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष हुँदा थापाले पदको दुरुपयोेग तथा आर्थिक अनियमितताको आरोपमा दोषी ठह¥याउँदै विश्व फुटबल महासंघ (फिफा) फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाएको थियाे । फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी फिफाले प्रतिबन्ध लगाएको व्यक्तिसँग स्थानीय सरकारले सम्झौता गर्नु उचित नभएको भन्दै सम्झौता रद्द गरिएका बताइएकाे छ ।
मकवानपुर । असाेज १४ गते विहीबार देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ। हाल देशको आधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई एक/दई स्थानमा हल्का वर्षा भईरहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेकोले वर्षाकाे सम्भावना रहेकाे हाे ।
विहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेकाे छ।
मकवानपुर । हेटाैडामा रहेकाे एक क्याम्पस र अनुसन्धान केन्द्र बीच समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । हेटाैडा २ मा रहेका मकवानपुर बहुमुखी क्याम्पस र हेटाैडा १३ मा रहेकाे वनस्पती अनुसन्धान केन्द्र बीच रिसर्च इन्टर्न कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएकाे हाे ।
क्याम्पस प्रमुख डाक्टर शंकर प्रसाद उपाध्याय र केन्द्र प्रमुख रघुराम पराजुलीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । अनुसन्धान केन्द्रमा वनस्पतिको अध्ययन, अनुसन्धान, संरक्षण तथा वनस्पति सम्बन्धी व्यवहारिक सिकाइको समेत अवसर रहेको बताइएकाे छ । त्यसैले रिसर्च इन्टर्नलाई पनि कार्यालयले प्रोत्साहन दिंदै आएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को रिसर्च इन्टर्न कार्यक्रममा विज्ञान विषयमा स्नातक तहको पढाइ हुँदै आएको मकवानपुर बहुमुखी क्याम्पसबाट माग भइ आएकोले समझदारी पत्रमा हस्ताक्षर गरिएको पराजुलीले बताए । समझादारी पत्रमा क्पाम्पस र अनुसन्धान केन्द्र बीच रिसर्च इन्टर्नको लागि विद्यार्थी छनोट समन्वय समेत हुनेछ ।