मकवानपुर । हेटाैडा उपमहानगरपालिका १४ मा निशुल्क आँखा शिविर आयाेजना गरिएकाे छ सांग्रिला डेभलपमेन्ट बैंक हेटौंडा शाखाको प्रायोजन तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहप्रायोजनमा आँखा शिविर आयाेजना गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा रहेको जनज्योति माविको प्राङ्गणमा निशुल्क आँखा शिविर भएको हाे । सांग्रिला विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा गरेको सप्ताहव्यापी विविध कार्यक्रम अन्तर्गत आज निशुल्क आँखा शिविर सम्पन्न गरेको हो । विहान ९ बजेदेखि २ बजेसम्म संचालन गरेको शिविरमा हेटौंडा १४ लगायत अन्य क्षेत्रका ८० जना महिला र ७० जना पुरुष गरी १ सय ५० जनाले निशुल्क आँखा परीक्षण गराएका छन् ।
आँखा परीक्षण गराएका मध्ये २१ जनाको शल्यक्रिया गर्नुपर्ने खालको मोतिविन्दुको विरामी भेटिएकाे बैंकका शाखा प्रबन्धक रुपक मैनालीले जानकारी दिए । शिविरमा भेटिएका माेतिविन्दुका विरामीकाे हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क उपचार गरिने भएकाे छ ।
मकवानपुर । हेटाैडामा मकवानपुरकाका साहित्यकार तुल्सी थापा सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा साहित्यकार थापालाई सम्मान गरिएको हो ।
साहित्यका विभिन्न पाटामा कलम चलाउँदै आएका थापालाई साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै साहित्य संगमले ३ सय १२ औं साहित्य सन्ध्याको अवसरमा आयोजित विशेष साहित्यिक कार्यक्रममा नगद ५१ हजार राशी सहित सम्मान गरेको हाे । कविता, कथा, नाटक, दाना कवितालगायतका क्षेत्रमा कलम चलाउँदै साहित्य क्षेत्रकाे याेगदान अनवरत रुपमा लागि रहेका थापालाई संगमका संस्थापक तथा साहित्यकार नवराज शर्माले सम्मानपत्र प्रदान गरेका थिए । हाल अमेरिका निवासी मकवानपुरका गौरव थपलियाले उपलब्ध गराएकाे नगद सहितकाे सम्मान सगमले थापालाइ प्रदान गरेकाे हाे ।
सम्मानित साहित्यकार थापाको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार निमेष निखिलले भनाइ राखेका थिए । थापाको दाना कविता, नाटकका विषयमा साहित्यकार केशव तौजले, सुवास खनाल र उज्वल भण्डारीले बाेलेका थिए । संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

मकवानपुर । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोलको मूल्य वृद्धि गरी १ सय ३३ रुपैयाँ कायम गरेको छ भने डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर १ सय १६ रुपैयाँ पुर्याएको छ ।
आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ ।
एलपी ग्यासमा काठमाडौँको साबिक बिक्री मूल्यमा प्रति सिलिन्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५ सय रुपैयाँ प्रतिसिलिन्डर कायम गर्ने निर्णय गरेको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरीचौकी स्थापना गरिएकाे छ । शुक्रबार उक्त प्रहरी चाैकीकाे उद्घाटन् गरिएको हाे ।
प्रहरीचौकीको उद्घाटन् गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय स्तरमानै पुगेर आम नागरिकलाई सुरक्षा दिने उदेस्यले अस्थायी प्रहरीचौकी स्थापना गरिएको बताए । महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो भवन प्रहरीचौकी राख्नका लागि उपलब्ध गराएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठोर, मकवानपुरगढी ६ का वडा अध्यक्ष टिका दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुर–हेटौंडा– भीमफेदी– कुलेखानी– काठमाडौं सडकखण्डमा स्तरोन्नती गर्न बन्द हुने भएको छ । कुलेखानी सडकखण्डमा स्तरोन्नती गर्न कार्तिक १३ गतेदेखि १५ गतेसम्म ३ दिन दैनिक ४ घण्टा सवारीसाधन बन्द हुने भएको हाे ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय,यातायात पूर्वाधार निर्देशनालयले विहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन केही घण्टा सवारीसाधन बन्द हुने जानकारी गराएको हो । निर्देशनालयले भोलि कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनमा रोक लगाइएको हो ।
निर्देशनालयले सम्पूर्ण सवारी साधनहरुको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बन्धित निकायहरुमा समन्वय गरी निर्माण कार्यमा सहयोग पुर्यादिन सबैलाई आग्रह समेत गरेको छ ।
