मकवानपुर । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको केन्द्रीय महाधिवेशन लक्षित गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् ।
पार्टीले कात्तिक २६ गतेभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने र सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन कात्तिक २८ गते गर्न उक्त समितिलाई निर्देशन दिएको छ । सक्रिय सदस्यको दाबी विरोध यही कात्तिक २७ देखि २९ गतेसम्म गर्न समयसीमा तोकिएको छ । सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी मङ्सिर १ देखि ३ गते गर्ने, जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ ।
पार्टीले महाधिवेशनको तयारीका लागि विभिन्न ९ समिति गठन गरी सम्बन्धित नेतालाई जिम्मेवारी तोकेको छ । गठन गरिएका समितिमा सामाजिक कार्यपत्र तयारी समिति, आर्थिक कार्यपत्र तयारी समिति, राजनीतिक कार्यपत्र तयारी समिति, कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समिति छन् । सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्नुपर्ने छ भने अन्तिम नामावली ३० गते प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ ।
जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ । केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद भएकाे पार्टीले जनाएकाे छ । अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गर्दै आएकाे छ ।
मकवानपुर । यस वर्षकाे भाइटिका पर्व आज कार्तिक २० गते दिदीबहिनीले दाजुभाइलाई पञ्चरङ्गी अथवा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ ।
भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिने परम्परा छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आजकाे दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका जनाएकाे छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएता पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा रहेकाे धर्मशास्त्रविद् रामचन्द्र आचार्य फुर्सतीले बताए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेल रोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । गत वर्ष नेवार समुदायले किजापूजाका रूपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो । यस वर्ष भने एकै वर्ष परेको जनाइएको छ ।
मकवानपुर । मकवानपुरगढीकाे आमभन्ज्याङ युवा क्लबले बिनयबाबु स्मृति भलिबल प्रतियोगिताको उपाधि हाल पारेकाे छ । बिनयबाबु स्मृति प्रतिष्ठानले थाहा नगरपालिकामा आयोजना गरेको जिल्ला स्तरीय बिनयबाबु स्मृति रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेकाे हाे ।
थाहा नगरपालिका वडा न २ मा रहेको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई २५-१८, २६-२४, १५-२५, २७- २५ को सेटमा पराजित गरि उपाधि हात पारेको हो। उपाधि जितेसंगै आमभन्ज्याङले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ प्राप्त गर्दै चित्त बुझाएको छ।
जारी प्रतियोगिताको उत्कृष्ट खेलाडी आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।
कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता समापन समारोहमा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा नेपाल संवत ११४२ मनाइएकाे छ । नेपाल संवत् ११४२ काे अवसरमा हेटैडाका् मुख्य बजार क्षेत्रमा नेवारी समुदायहरुले र्याली गरेरका छन् । हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् याे वर्ष ११४२ कार्तिक १९ गते देशभर विविध कार्यक्रम आयोजना गरी मनाईइकाे छ ।
नेपाल संवतकाे अवसरमा हेटौंडाको पीपलबोटमा र्याली निकालेर बजार क्षेत्रको परिक्रम गरिएको थियो । हेटौंडाका नेवार समुदायहरुले यो पर्वलाई भव्य रुपमा मनाएका छन् । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाएका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएकाे पाइन्छ ।
गरिब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको गरेको र नेपालमा मौलिक संवतसमेत चलाएकोले उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो ।
यसैबीच, आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् ।
मकवानपुर । मकवानपुरको बकैयामा देउसी भैलो खेलेर हेटौंडा फर्किने क्रममा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । बकैया -३ हात्तीसुँडेमा देउसी भैलो खेलेर हेटौंडा फर्किदा बकैया-४ अजिङ्गरेमा बस दुर्घटना भएका हाे ।
कार्तिक १८ गते राती राष्ट्रिय लोकदोहरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु सवार बागमती प्रदेश ०३-००१ ख १३०९ नंबरको बस आफै अनियन्त्रित भई खेतमा पल्टिदा २१ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकाे छ ।
गम्भिर घाईते हुनेहरुमा हेटौंडा ५ सानोपोखरा बस्ने ४० वर्षीया निरु खड्का, हेटौंडा २ मनकामना चोक बस्ने ४९ वर्षीय बेल लो, राक्सिराङ् ३ बस्ने ४२ वर्षीय रविन कुमार चेपाङ्, हेटौंडा-११ नवलपुर बस्ने ३६ वषीया सम्झना बिष्ट र हेटौंडा-५ पिप्ले बस्ने ४८ वर्षीया लक्ष्मी तिमिल्सिना रहेको छन् ।
गम्भिर घाईते भएका ३ जना खड्का,लो र चेपाङलाई थप उपचारको लागि चुरेहिलबाट चितवन रिफर गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । अन्य घाइतेहरुकाे उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल,संचो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।