मकवानपुर । अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खोलिएकाे छ ।
कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो ।
कोशी ब्यारेजमा पानीको सतह पुल सम्म आएको छ भने सप्तरी र सुनसरी दुवै तर्फबाट आवागमनमा रोक लगाइएको छ ।
मकवानपुर । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले १९ र २० असोज बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिने निर्णय गरेकाे हाे ।
सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने भएपनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएकाे तथा विपद्काे अवस्था सृजना भएकाेले बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएकाे छ । लगातार भइरहेको भारी वर्षाका कारण सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
मकवानपुर । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। विशेष गरी मधेसदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले २० असोजसम्म पानी पर्ने अधिक सम्भावना अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको हो। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराले पनि वर्षा गराइरहेको छ। मौसमविद्हरूले अर्को मौसमी प्रणाली पनि नेपाल प्रवेश गर्ने संकेत देखिएको बताएका छन्। उक्त प्रणालीले केही क्षेत्रमा अत्यधिक वर्षा गराउने सम्भावना रहेको उल्लेख गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा, साथै लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान छ। त्यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
शनिबार (आज) राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा, साथै मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ । पानी पार्ने बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म फैलिएको छ । भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा बढी केन्द्रित छ। विशेष गरी हेटौडादेखि ललितपुर र आसपासका क्षेत्रमा मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।
मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरकाे हेटौंडा उवमहानगरपालिका वडा नम्बर १५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ काे सिमानासुथित चुरियामाई मन्दिरको उकालोमा भएको सवारी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ ।
बुधबार बिहान भएकाे दुर्घटनामा घाइते ६ मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । जनकपुरबाट काठमाडौं जान आउँदै गरेको ना ७ ख ८५३७ नम्बरको बस चुरियामाई मन्दिर नजिक उकालोमा ब्रेक फेल भई पछाडि गुड्दा ना १२ प ३३६० र म.प्र. ०३–०२४ प ४४९५ नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिदाँ ६ जना घाइते भएका थिए ।
मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी रहेकाे बारा प्रहरीले जनाएकाे छ । गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएकाे छ ।
पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी जनाएकाे छ । त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।
बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
दसैँको जमरा देवीको आशीर्वाद मात्र होइन, स्वास्थ्य र आयुर्वेदको खजाना पनि हो । यसले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आयुर्वेदिक उपचारलाई एकैसाथ जोडेर जीवनलाई शक्ति, सन्तुलन र समृद्धि दिन्छ ।
दशैँको समयमा जमरा नेपाली हिन्दु धर्मावलम्बीका लागि मात्र धार्मिक मान्यता नभई स्वास्थ्य र आयुर्वेदसँग पनि जोडिएको तत्त्व मानिन्छ । विशेष गरी दशैँमा घरमा राखिने जमरालाई लक्ष्मी, दुर्गा र देवी–देवताका आशीर्वादको प्रतीकका रूपमा लिइन्छ । पुरानो परम्पराअनुसार जमरामा रहेको बिउ र बोटले नकारात्मक ऊर्जा हटाउने र सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिन्छ ।
आयुर्वेदिक दृष्टिकोणले पनि जमरालाई विशेष महत्त्व दिएको पाइन्छ । यसमा पाइने प्राकृतिक सूक्ष्म पोषक तत्त्वहरूले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने र मानसिक स्फूर्ति प्रदान गर्ने मान्यता छ । यसैले दशैँको अवसरमा जमरा घरमा राख्ने र यसको पानी पिउँदा स्वास्थ्य लाभ हुने धार्मिक विश्वास छ ।
जमराको महत्त्व केवल धार्मिक वा सांस्कृतिक दृष्टिले मात्र सीमित नभई यसको आयुर्वेदिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण रहेको आयुर्वेद चिकित्सकहरू बताउँछन् । जमरालाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ र आयुर्वेदले यसलाई पौष्टिक र स्वास्थ्यवर्धक तत्त्वको रूपमा व्याख्या गरेको छ ।
अन्नको राजा जौँ
संस्कृतमा जौँलाई यव भनिन्छ । वैदिक ग्रन्थदेखि नै यसको महिमा गाइँदै आएको छ । जौँलाई रोग निवारक, यज्ञयज्ञादीमा उपयोगी र बल–प्राण पुष्ट पार्ने अन्नको रूपमा वर्णन गरिएको छ । पौराणिक ग्रन्थहरूले समेत जौँलाई “अन्नको राजा” मानेका छन् ।
जमरा मात्र धार्मिक प्रतीक नभई पौष्टिक आहार पनि हो । गहुँको जमरा उमारेर बनाइने रस नियमित सेवन गर्दा शरीरलाई धेरै लाभ पुग्छ । त्यसैले अहिले आधुनिक जीवनशैलीमा समेत जमराको प्रयोग स्वास्थ्योपचार र सौन्दर्य वृद्धिका लागि लोकप्रिय हुँदै गएको छ ।
जमराको जुसको अद्भुत फाइदा
जमराको जुस सेवन गर्दा मुख र दाँतको समस्या घट्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ, पाचन तन्त्रलाई सबल बनाउँछ र कलेजोलाई स्वस्थ राख्छ । साथै छाला र कपालसम्बन्धी समस्या समाधानमा पनि जमरा उपयोगी हुन्छ ।
चिकित्सकहरूका अनुसार उच्च रक्तचाप, मधुमेह र क्यान्सर जस्ता रोगमा सातदेखि नौ दिनसम्म जमराको जुस सेवन गर्दा धेरै फाइदा पुग्छ । सौन्दर्यमा निखार ल्याउने गुणसमेत जमरामा पाइन्छ, जसले गर्दा यसलाई प्राकृतिक सौन्दर्य वर्द्धकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
कसरी गर्ने जमराको प्रयोग ?
जमरालाई त्यसै चपाएर खान सकिन्छ । तर रस बनाएर सेवन गर्दा अझ स्वादिलो र प्रभावकारी हुन्छ । सामान्यतया आठदेखि दश वटा गहुँका जमरा जरासहित काटेर राम्ररी धोई कुटेर रस निकालिन्छ । यसरी बनेको जुसमा तुलसीको रस, मह र अदुवा मिसाएर पिए अझ बढी फाइदा हुन्छ ।
यदि कुनै रोगबाट पीडित हुनुहुन्छ भने ३० देखि ५० एमएलसम्म जमराको रस दैनिक सेवन गर्न चिकित्सकहरूले सुझाव दिने गरेका छन् ।
आयुर्वेदिक दृष्टिमा जमराको महत्त्व
जमरालाई आयुर्वेदले विभिन्न कोणबाट व्याख्या गरेको छ ।
सात्त्विक आहार: जमरा शुद्ध, सात्त्विक आहार मानिन्छ । यसले मानसिक शान्ति, शुद्धता र सकारात्मक ऊर्जा ल्याउँछ । दसैँमा टिका लगाउँदा जमरालाई आशीर्वादका रूपमा प्रयोग गर्ने चलन यसैसँग सम्बन्धित छ ।
पाचन शक्ति वृद्धिकारी: अङ्कुरित बीउमा पाइने पाचक इन्जाइमहरूले पाचन प्रक्रियामा सहयोग गर्छ । आयुर्वेदमा यसलाई अग्नि सन्तुलनमा राख्ने तत्त्वका रूपमा लिइन्छ ।
रक्त शुद्धिकारी: जमराले शरीरको रक्त शुद्ध गर्ने क्षमता राख्छ । यसले रगतको गुणस्तर सुधार्छ र शरीरलाई स्वस्थ राख्छ ।
त्रिदोष सन्तुलन: जमरामा वात, पित्त र कफलाई सन्तुलन गर्ने गुण हुन्छ । यसले शरीरमा समग्र स्वास्थ्य सन्तुलन कायम राख्छ ।
शक्तिवर्धक: जमरामा प्रोटिन, भिटामिन र खनिज प्रशस्त मात्रामा हुन्छन् । यसले शरीरलाई ऊर्जा र शक्ति प्रदान गर्छ । दसैँको लामो धार्मिक अनुष्ठानमा शारीरिक तथा मानसिक शक्ति बढाउन यो उपयोगी हुन्छ ।
आँखाको स्वास्थ्य: जमरामा लुटेन र जेक्सन्थिन जस्ता एन्टिअक्सिडेन्ट पाइन्छन्, जसले आँखाको दृष्टि सुधार्न मद्दत गर्छ ।
सांस्कृतिक दृष्टिकोण
दसैँमा जमरालाई देवी दुर्गाको प्रतीकका रूपमा मानिन्छ । नवदुर्गा पूजामा जमरालाई देवीको प्रसाद मानिन्छ र टिका लगाउँदा अग्रजहरूले आशीर्वादका साथ टाउकोमा राख्छन् । यसले शुभता, समृद्धि र दीर्घायुको प्रतीक जनाउँछ ।
यसरी धार्मिक र सांस्कृतिक दृष्टिकोणले मात्र होइन, स्वास्थ्य र आयुर्वेदिक दृष्टिले पनि जमराको महत्त्व अनुपम छ ।
जमरा: आस्था र स्वास्थ्यको संगम
दसैँ केवल धार्मिक पर्व मात्र होइन, यसले सांस्कृतिक, सामाजिक र स्वास्थ्य सम्बन्धी सन्देश पनि बोकेको हुन्छ । टिका सँगै राखिने जमराले विश्वास, श्रद्धा र आशीर्वाद त दिन्छ नै, त्यससँगै जीवनलाई स्वस्थ, ऊर्जाशील र सन्तुलित बनाउन पनि मद्दत पुर्याउँछ ।
यसरी जमराले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आयुर्वेदिक स्वास्थ्य विचारलाई एकैसाथ जोड्ने कार्य गर्दछ । यही कारणले दशैँमा जमराको महत्त्व अनन्त र अद्वितीय मानिन्छ ।
(पूर्णायु आयुर्वेद हस्पिटलमा कार्यरत वरिष्ठ आयुर्वेद चिकित्सक डा.लक्ष्मण पौडेलसँगको कुराकानीमा आधारित)
prasashan.com बाट साभार गरिएकाे