मकवानपुर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम बिज्ञान बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागमा हल्का हिमपातको पनि आकलन गरिएकोले महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन भनेको छ ।
मकवानपुर । मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचनमा देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले आफ्नाे मताधिकार प्रयाेग गर्ने भएका छन् । उनीहरुले १० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने आयाेगले जानकारी दिएकाे छ ।
यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने निर्वाचन आयाेगले विहीबार गरेका पत्रकार सम्मेलनमा बताएकाे छ । निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको आयाेगले बताएकाे छ ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाेमा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम रहेकाे बताइएकाे छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाेमा प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कूल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र सम्बन्धित जिल्जामा पठाइसेकाे आयाेगले जनाएकाे हाे ।
मंसिर ४ काे निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २ सय १९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराएकाे जनाएकाे छ । पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने छन् ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेकाे आयाेगकाे दावी छ । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भंग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँडन वा प्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी विहीबारबाटै सुरु गर्ने समेत आयाेगले पत्रकार सम्मेलनमा जनाएकाे हाे ।
त्यसैगरी आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी, अपांगता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको छ । मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको आयाेग बताउँछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसार पसार तथा सेवन गर्ने/गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयाेगले जनाएकाे छ ।
त्यसैगरी यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।
कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानून बमोजिम कारवाही गर्न विशेष निर्देशन समेत आयाेगले दिइएको छ ।
मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको समेत जनाएकाे छ । सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील रहेकाे बताइएकाे छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएकाे छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको आयाेगले जनाएकाे छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको आयाेगले जानकारी दिएकाे छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
‘आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको छ’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ‘आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदाताहरूलाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु ।’
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीले लामालाई लागूऔषध नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुलसहित हेटौडा १५ राताेमाटेबाट पक्राउ गरेको हो । विहीबार बिहान ११ बजेको समयमा हेटौंडा-१५ रातोमाटेस्थित पुर्व–पश्चिम राजमार्गमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट नारायणघाटतर्फ जादैं गरेकाे ना ५ ख १७५८ नम्वरको बसलाई रोकि चेक जाँच गर्दा बसमा सवार लामाको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
लागूऔषध र लामालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । आसन्न मंसिरकाे ४ काे निर्वाचनकाे प्रचार प्रसारकाे समय मंसिर १ गते राती १२ बजेबाट सकिदैछ । चुनावी सभामा पटक पटक संसद र मन्त्री भएर पुनः उम्मेदवार बनेकाहरु आफूले गरेकाे एकाध कामलाई मतदाता समक्ष मत आकर्षित गर्ने हतियार मनाउदै छन् । उनीहरुले पदमा रहँदा काम गरेका थिए थिएन भन्ने कुरा मतदाताले राम्ररी हेक्का राख्ने गरेका छन् । यद्यपी उम्मेदवारहरु सभालाई आकर्षित गर्ने प्रचार गर्ने गर्छन् ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट उम्मेदवार रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापाले मकवानपुरकाे सदमुकाम हेटौंडालाई बागमती प्रदेश राजधानी बनाउन आफूले मात्रै त्याग गरेकाे बताएका छन् । थापा नै सत्तामा रहेका बेला हेटाैडालाई तत्कालिन क्षेत्रीय सदरमुकाम समेत बनाएका थिए । त्यसबेला प्राय राजधानी केन्द्रीत क्षेत्रीय कार्यालयहरु हेटौडा सारिएकाे थियाे । त्यसले पूर्णता भने पाएन ।
मकवानपुरगढी गाउँपालिकामा भएकाे चुनावीसभामा थापाले हेटौंडालाई राजधानी बनाउन हुँदैन भन्ने पक्षमा कांग्रेस र माओवादी रहेकाे बताए । उनले भने त्याे बेला सत्ता पक्षधर काँग्रेस र माओवादी मन्त्रीहरु हेटौडा प्रदेश राजधानी बनाउन नहुनेमा एकमत रहेका थिए ।’ हेटौंडालाई तत्कालीन समयमा अस्थायी राजधानीका रुपमा निर्णय गरिएको थियो । उक्त मन्त्रिपरिषदमा थापा उपप्रधानमन्त्री थिए ।
उनका अनुसार तत्कालीन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउनु पर्छ भनेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएको थिए । थापाले भक्तपुर काठमाडौं उपत्यकाकै एक भाग भएकोले कुनै हालतमा राजधानी हेटौंडा लैजानु पर्छ भन्नेमा आफूले प्रस्ताव राखेको बताएका छन् ।
‘मैले हेटौंडालाई राजधानी बनाउनु पर्छ भन्दा क्याबिनेटमा रहेका कांग्रेस र माओवादीका मन्त्रीहरुले प्रदेशकाे केन्द्र नपर्ने कुनामा कसरी राजधानी हुन्छ भनेर मुखामुख गरे थापाले भने, ‘मैले कुनै हालतमा हेटौंडा राजधानी हुनुपर्छ भने । बिहानको मन्त्रिपरिषद् बैठकमा निर्णय हुन सकेन् । अर्काे वैठकमा निर्णय गराए ।’
देउवाले आफूलाई एउटा कुनामा लगेर राजधानीको विषयमा तपाईले सहयोग गर्दिन पर्यो भनेर भनेको थापाले बताए । कांग्रेस पार्टीभित्र विद्रोह हुन्छ मलाई सहयोग गर्दिन पर्यो भनेर देउवाले भनेको उनले बताए । ‘तपाई एउटा प्रदेशको प्रमुख लिनुस् तर राजधानीको कुरा नगर्नुस् भन्नु भयो । मैले भने प्रदेशको प्रमुख चाहिँदैन् । यदी तपाई हेटौंडा राजधानी नबनाउने भए म राजिनामा दिन्छु भनेपछि मन्त्रीपरिषद् बैठकमा उहाँले साह्रै जिध्धी गर्नु भयो हेटौंडालाई राजधानी बनाउँ भनेर भन्नुभयो र अस्थायी राजधानी ताेकियाे ।
उनले हेटौंडालाई आफूले राजधानी बनाएको भनेर भ्रम छरिएको उनको भनाई थियो । हेटौंडाको कतैबाट पनि प्रस्ताव नआउँदा आफूले राजधानी बनाउने प्रस्ताब लगेकाे थापाले बताए ।
मकवानपुर । मंसिर ४ को चुनावमा मकवानपुर जिल्लामा ३ लाख ७ सय ३३ जनाले मतदान गर्ने भएका छन । मकवानपुर जिल्लामा २ प्रतिनिधी सभा क्षेत्र र ४ प्रदेश सभा क्षेत्र निर्वाचनमा ३ लाख ७ सय ३३ जना मतदाताले मतदान गर्ने भएका हुन् ।
६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेकाे मकवानपुर क्षेत्र नम्बर–१ मा १ लाख ५० हजार १ सय ५५ जना मतदान गर्ने छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् ।
क्षेत्र नम्बर १ मा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । निर्वाचन आयाेगका अनुसार उम्मेदवार मध्ये आदीवासी जनजाती ४३.७५ प्रतिशत र खसआर्य ५६.२५ प्रतिशत रहेकाे छ ।
१ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र मकवानपुर क्षेत्र नम्बर–२ मा १ लाख ५० हजार ५ सय ७८ जनाले मतदान गर्ने छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् ।
यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ । आयाेगका अनुसार उम्मेदवार मध्ये आदीवासी जनजाती ३० प्रतिशत र खसआर्य ७० प्रतिशत रहेकाे छ ।

मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क मा ७७ हजार ९ सय ८९ जनाले मतदान गर्ने छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना तथा महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यमा १ जना रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेश सभा ख ७२ हजार १ सय ६६ जनाले मतदानमा भाग लिने छन् । जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना रहेका छन् । क्षेत्र नम्बर–१ को प्रदेशसभा क पुरुष मतदाता तथा प्रदेश ख मा महिला मतदाता बढी रहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ को प्रदेश सभा क मा ८३ हजार ९९ जनाले मतदान गर्दैछन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार २ सय ५५ जना छन् । अन्यमा १ जना छन् । क्षेत्र नम्बर–२ को ख मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन् । यस मध्यमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् । क्षेत्र नम्बर–२ को दुवै प्रदेशसभा क्षेत्रमा पुरुष मतदाता बढी रहेका छन् ।
