काठमाडौ । नेपाल खुला विश्वविद्यालय (एनओयू) ले ५४५ जना विद्यार्थी दीक्षित गरेको छ । विश्वविद्यालयले आइतबार राजधानीको गरेको पहिलो दीक्षान्त समारोहबाट विश्वविद्यालय स्थापनादेखि २०८२ आषाढ मसान्तसम्म विभिन्न शैक्षिक कार्यक्रम पूरा गरेका ५४५ जना विद्यार्थीहरू दीक्षित गरेको हो ।
आइतबारको दीक्षान्त समारोहमा १८६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई दीक्षित भएका हुन्। समारोहमा सङ्कायगत रूपमा सामाजिक शास्त्र तथा शिक्षा सङ्कायबाट २४०, व्यवस्थापन तथा कानुन सङ्कायबाट २७४ र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्कायबाट ३१ जना दीक्षित भएका छन्। तहगत रूपमा दर्शनाचार्यमा १५२, स्नातकोत्तरमा ६४, पिजिडीमा २ र स्नातक तहमा ३२७ जना विद्यार्थी रहेका छन्।
स्थापनाको छोटो समयमै दूरशिक्षा र नवीन प्रविधिमार्फत उच्च शिक्षामा पहुँच विस्तार गरेको विश्वविद्यालयको प्रथम दीक्षान्त उत्सव
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आयोजना गरिएको हो ।
शिक्षाविद् केदारभक्त माथेमाले खुला विश्वविद्यालयलाई निरन्तर सिकाइको प्रतीक र सीमाविहीन शिक्षाको विशिष्ट केन्द्रका रूपमा चित्रण गरे । खुला विश्वविद्यालयका विद्यार्थीहरू बढी परिपक्व र स्व-अध्ययनशील हुन्छन्। दूरशिक्षाले मानिसमा आत्म-अनुशासन र जीवनभर सिकिरहने चेतना विकास गर्ने उनले बताए ।
माथेमाले डिग्री प्राप्तिलाई शिक्षाको अन्त्य नभई नयाँ चरणको सुरुवात भएको बताउँदै साहित्य र बहुविषयक ज्ञानले मानवीय संवेदनशीलता र विचारको विकास गर्ने बताए ।
कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले देश-विदेशमा रहेका नेपाली विद्यार्थीहरूका लागि खुला तथा दूर सिकाइका माध्यमबाट गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्याउन विश्वविद्यालयले गरिरहेको प्रयासको सराहना गरिन् । ‘हाम्रा उच्च शिक्षा प्रदायक संस्थाहरू अझै गतिशील हुनुपर्छ खुला विश्वविद्यालयले समयको प्रवाहलाई आत्मसात गर्दै विश्वव्यापी ज्ञान र रैथाने ज्ञानलाई सँगै लैजान सक्नुपर्छ’ उनले भनिन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपकुलपति प्रा.डा. शीलु मानन्धर बज्राचार्यले यो दीक्षान्त समारोहलाई विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण कोशेढुङ्गा भएको बताइन् । सोही अवसरमा विश्वविद्यालयको पहिलो प्राज्ञिक जर्नल “नेपाल खुला विश्वविद्यालय जर्नल” को पहिलो अङ्कको समेत अनावरण गरिएको थियो।
समारोहमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, सभासद, पूर्व पदाधिकारी, प्राध्यापक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो।
मकवानपुर । ५ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी नवोदय शिशु सदनले हात पारेको छ । शनिबारको फाइनल खेलमा ब्रम्हदिक एकेडेमीलाई १७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै नवोदयले उपाधिमा कब्जा जमाएको हो ।
नवोदयका जीतमा माधव भूर्तेलले ४ गोल, सुनिल मल्ल, किशोर श्रेष्ठ र बिजेन लामाले ह्याट्रिक पूरा गरेका थिए । यस्तै किसव दासले २ गोल, अजय बजगाई र कविर गौतमले १–१ गोल गरेका थिए ।ब्रम्हदिक एकेडेमीका सन्देश तामाङले एक मात्र सान्त्वना गोल गरेका थिए ।
प्रतियोगिताभरी १३ गोल गरेका नवोदयका माधव भुर्तेल ‘टप स्कोरर’ घोषित भए भने ब्रम्हदिकका अनुज कार्की उत्कृष्ट खेलाडी घोषित भए ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
भुटनदेवी माविलाई ९- १ को गोल अन्तरले पराजित गर्दै नवोदयले विजयी सुरुवात गरेको थियो । श्रमिक माविसंग २-२ गोलको बराबरी भएपछि ब्रम्हदिकले ट्राइबेकरमा जित निकाल्दै नवोदयसंग भेट पक्का गरेको थियो ।
प्रतियोगिताका बिजयी टिमलाई फाल्गुन ७ गते कार्यक्रम गरि पुरस्कार वितरण गरिने छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ को व्यवस्थापन र ब्रम्हदिक एकेडेमीको सह व्यवस्थापनमा भएको प्रतियोगितामा हेटौंडा ४ नम्वर वडाका चार वटा विद्यालयले सहभागिता रहेको थियो ।
मकवानपुर । ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन मा। विको २५ ओैँ वार्षिकोत्सवको अवसरमा आयोजित ज्ञानदीप रजत महोत्सव २०८२ अन्तर्गत आज सम्पन्न नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि सनसाइन मावि, बसामाडीले जितेको छ ।
हेटौंडा उपमहानगरपालिकाअन्तर्गतका १० ओटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता टोली सनसाइन माविले नगद ८,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो । त्यस्तै उपविजेता टोली ब्रह्मदिक् एकेडेमीले नगद ५,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
तेस्रो स्थान प्राप्त गर्ने टोली तुलसीमेहर मेमोरियल माविले नगद पुरस्कार ३,००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
कार्यक्रममा ज्ञानदीप शिक्षा निकेतन मावि सञ्चालक समिति उपाध्यक्ष राजेश बानिया, कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, पिटिए अध्यक्ष प्रकाश बानियाको पनि उपस्थिति रहेको थियो ।
विद्यालयका हाजिरीजवाफ क्लबका संयोजक नवीन मल्लको संयोजन तथा मावि तह संयोजक माधव अधिकारीको व्यवस्थापनमा सञ्चालित कार्यक्रम विश्वनारायण श्रेष्ठको अध्यक्षता एवम् ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्री ऋषिराम उपाध्याय पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले किसानको वर्गीकरण नहुँदा वास्तविक अनुदान वितरणमा समस्या रहेको बताएका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, बागमती प्रदेश कार्यसमितिद्वारा मकवानपुरको भीमफेदीमा आयोजित ‘किसान चौतारी एवं प्रथम प्रदेश परिषद भेला’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले भने ‘छिट्टै किसानको वर्गीकरण प्रक्रिया टुङ्ग्याइने छ ।’
साना किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले ‘थप पशु उपहार’ कार्यक्रम ल्याउने उनले घोषणा गरे। साना किसानलाई व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मन्त्री पौडेलले अबको बजेट तथा कार्यक्रममा साना किसानलाई प्रत्यक्ष लाभ हुने गरी योजना समेटिने जानकारी दिए।
“एउटा गाई पालन गरेका किसानलाई थप दुई वटा गाई किनिदिने र एउटा भैंसी पालन गरेकालाई अर्को भैंसी थपिदिने कार्यक्रम ल्याउन खोजेका छौँ,” मन्त्री पौडेलले भने, “निर्वाहमुखी खेती गरिरहेका साना किसानलाई व्यावसायिकतातर्फ डोर्याउनु नै हाम्रो मुख्य लक्ष्य हो।”
वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न बागमती प्रदेश सरकारले विशेष प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए। ‘डिप्लोमा’ सम्म अध्ययन गरेका युवाहरू व्यावसायिक कृषिमा लागेमा प्रदेश सरकारले ८ देखि १० लाख रुपैयाँसम्म प्रोत्साहन अनुदान दिइरहेको जानकारी गराउँदै उनले युवाहरूलाई स्वदेशमै उद्यमी बन्न आह्वान गरे । “नयाँ पुस्ताको आकर्षण विदेश मात्र हुनु दुःखद हो। कृषि प्राविधिक शिक्षा पढेर व्यावसायिक कर्ममा लाग्ने युवालाई सरकारले ठुलो राशिको अनुदानमार्फत सहयोग गरिरहेको छ,” मन्त्री पौडेलले भने ।
महासंघ प्रदेश अध्यक्ष विजय लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा साना किसानका समस्या, कृषि प्रविधिमा पहुँच र आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा छलफल भएको थियो। बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो। (more…)
मकवानपुर । सरकारले बिहीकारकाे मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार सार्वजनिक गरेका हुन् ।
सरकारले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे छ ।
अन्य के के छन् ? सरकारका निर्णयहरु:
- सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
- तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने ।
- भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने पहिलो साउथ एशियन एग्रोफरेस्ट्री एण्ड ट्रेस आउटसाइड फरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने ।
- २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने ।
- नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने ।
- नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने ।
- नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नं. ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने।
- मिति २०८१–११–२७ मा प्रतिनिधि सभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१–११–२७ गतेको अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने।
- गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।