मकवानपुर । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले सामान्य देखि पूर्ण बदली रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुँदा देशभर मौसम बदली रहि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार अहिले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू-भागहरुमा हल्का देखी मध्यम वर्षा समेत भइरहेको छ।
मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसै गरि सुदूरपश्चिम प्रदश तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना समेत रहेको छ।
महाशाखाका अनुसार मगलबार राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, हावा-हुरी,गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । मकवानपुरमा ट्रकको ठक्करबाट १ र बारामा मोटरसाइकल दुर्घटनामा परी १ गरि सोमबार २ जनाको मृत्यु भएको छ ।
सोमबार साझ ५:५० बजे हेटौंडा १० स्थित जिल्ला प्रहरी कार्यालयको मोडमा ट्रकले ठक्कर दिएर घाइते भएका पैदल यात्री लाल बहादुर घिसिङको उपचारको क्रममा मृत्यु भएको हो ।
यसै गरि बारा जितपुरसिमरा उपमहानगरपालिका २३ चुरियामन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका शंकर तामाङको उपचारको क्रममा मृत्युु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शिवम सिमेन्टबाट थानाभर्याङ तर्फ जाँदै गरेको ना.६ ख ८८९० नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेका हेटौडा १० का ६३ वर्षीय घिसिङलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो ।
उपचारको क्रममा घिसिङको मृत्यु भएको डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । घिसिङलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको साथै थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी सोमबार अपरान्ह ४:१० बजेको समयमा बारा जितपुरसिमरा २३ स्थित चुरियामाई नजिकै पुर्व पश्चिम राजमार्गमा हेटौडाबाट विरगंज तर्फ जादै गरेको प्र.२-०३-०१२प ८८५० नम्बरको मोटरसाइकल सडकबाट ३० फिट तल खस्दा हेटौडा १५ का बर्ष ३५ वर्षीय तामाङ घाइते भएका थिए ।
घाइते तामाङलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता कार्कीका अनुसार दुर्घटना स्थलमा मकवानपुर र बारा सिमराबाट प्रहरी टोली परिचालन गरि घटनाको मुचुल्का गरिएको तथा थप अनुसन्धान भइरहेको छ ।
मकवानपुर । एसईई र बिबिएमा उच्च अंक ल्याउने ३ जना बिद्यार्थीलाई हेटौडा उपमहानगरपालिकाले सम्मान गरेकाे छ । एसईई र बिबिएमा उच्च अंक सहित ल्याउने र नेपाल टप हुने बिद्यार्थीलाई उपमहानगरपालिकाले नगद तथा प्रशंसा पत्रसहित सोमबार सम्मान गरेको हो ।
२०७९ सालको एसईई परिक्षामा हेटौंडा–७ को तासिर इ·लिस बोर्डिङ स्कुबाट सहभागी डाफिन राई, मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिएम सातौं सेमष्टरमा सहभागी हेटौंडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागी हेटौंडा–६ का प्रकाश गौतमलाई हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मान गरेका हुन् ।
डाफिनले ४ जीपीए, बिबिएम सातौं सेमेष्टरमा सहभागि सृष्टी र बिबिएसमा सहभागी प्रकाशले सामुदायीक क्याम्पस तर्फ नेपाल टप गरेका थिए । सम्मान कार्यक्रममा नगर प्रमुख लामाले नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउँदै उपमहानगरले आर्थिक अभाबका कारण कसैले पनि पढाईबाट बञ्चित नहुने वातावरण बनाउने बताइन् ।
कार्यक्रममा उप प्रमुुख बानियाँले शिक्षामा उज्वल भविष्य बोकेका बिद्यार्थीकाे अध्यापनमा सहयाेग गर्ने बताए । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, उपमहानगरका बिज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल तासिर इ·लिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौडा अस्पतालमा २ वटा डाइलासिस मेसिन थपिएकाे छ । हेटौंडा उपमहानगरपलिकाले डाइलासिस सेवालाई थप प्रभावकारी बनाउँन अस्पतालमा २ वटा डाइलासिस मेसिन थप गरेको हाे ।
आरोग्य फाउण्डेसनले हेटौंडा ११ चुरेहिल अस्पतालमा सञ्चालन गरेको २ डायलासिस मेसिन किड्नीका बिरामीलाई लक्षित गर्दै उपमहानगरले हेटौंडा अस्पतालमा थप गरेको हो । चुरेहिलमा डाईलासिस उपचार बन्द भएपछि मेसिनलाई प्रयोगमा ल्याउन उपमहानगरले फाउण्डेसनसँगकाे सहकार्य सोमबार हेटौडा अस्पतालमा सञ्चालन हुने गरी थप गरिएकाे नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।
डायलासिस मेसिन बन्द हुदँ चुरेहिलमा उपचार लिर्दै आएका किड्नीका बिरामी सेवा बाट बञ्चित हुनुका साथै डायलासिस सेवा लिन बाहिर जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यता रहेको थियो । उपमहानगरको पहल पछि उनिहरुले उपचार सेवा हेटौंडामै पाउने हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए ।
नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाहरुको सहयोगमा उपमहानगरले सुरु गरेको डाइलासिस सेवालाई थप प्रभाकारी बनाउँ लानु पर्ने बताइन् । स्वास्थ्य र शिक्षाको अवस्था जिल्लामा सुधारउन्मुख रहेकाले त्यसको व्यवस्थापनमा उपमहानगर लाग्ने बताइन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईंले खानपान र औषधीजन्य पदार्थको सेवनमा ध्यान नदिँदा किड्नीका बिरामीको संख्या अधिक मात्रमा बढेको बताए । उनले रोगको उपचार भन्दा पनि त्यसको निरुत्साहनको पाटोमा ध्यान दिनु आवश्यक रहेको बताए । उनले स्थानीय तहले गरेकाे काममा प्रशासनले सहयोग गर्ने बताए । हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंले हेटौंडा डायलासिसबाट हप्तामा १ सय १० जनाले सेवा दिनुपर्ने अवस्था रहेको बताए ।
अहिले हेटौंडा डाइलासिस्मा १३ वटा मेसिनबाट उपचार हुँदै आएको छ भने एक मेसिन मर्मतको क्रममा रहेको अस्पतालले जनाएको छ ।
मकवानपुर । मकवानपुरको बागमती खोलाले बगाउदा १ जनाको मृत्यु भएको छ ।
बागमती खोला तर्ने क्रममा बगाउँदा बागमती गाउँपालिका–१ स्थित ठुलोगुर्दुङ बस्ने ४६ बर्षीय लघुदोर्जे दोङको मृत्यु भएको मकवानपुर प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बागमती नदी तर्ने क्रममा अचानक खोलाले बगाउँदा दोङको मृत्यु भएको हो।
घटनास्थल मुचुल्का तथा अनुसन्धान सहित पोष्टमार्टमको लागि शव हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
