मकवानपुर । शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको मकवानपुर जिल्लामा अबको केही समयमा मत गणना हुनेभएको छ ।
विहिबार मध्यरातमा सबै मतपेटिका संकलन सकिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै स्थानबाट मतपेटिका संकलन गरेर हेटौंडा ४ को भुटान देवि माविमा ल्याउने काम सकिएको छ । कार्यालयले दिएको जानकारी अनुसार आज शुक्रबार बिहान सर्वदलीय बैठक बोलाइएको छ । उक्त, बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत गिता श्रेष्ठले जानकारी दिइन ।
मकवानपुरमा रहेका ५९ प्रतिशत मतदाताले हिजो बिहिवार मतदान गरेका थिए । यो अघिल्लो निर्वाचनमा भन्दा शून्य दशमलव २१ प्रतिशतले बढी हो ।
कुल १ लाख ८६ हजारा ५५१ मतदाताले मतदान गरेका छ्न । जसमा महिला ८९ हजार ९१२ पुरुष ९६ हजार ६४३ र अन्य ५ जना रहेका छन् ।
मकवानपुर । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन हुने दिन भोली हवाई निगरानी निर्णय गरेको छ।
समग्र शान्ति-सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निष्कर्ष लिएको मन्त्रालय स्रोतले जनाएको छ।
बैठकबाट मतदानको दिन आकाशमार्गबाट गस्ती परिचालन गर्ने, आवश्यकताअनुसार हेलिकप्टर तयारी अवस्थामा राख्ने तथा संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने विषयमा सहमति भएको जानकारी दिइएको छ।
सुरक्षा व्यवस्थापनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई समन्वित ढंगले परिचालन गर्ने निर्णय गरिएको छ।
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। छलफलका क्रममा विद्यमान सुरक्षा अवस्था, निर्वाचनको तयारी, सम्भावित जोखिम व्यवस्थापन र शान्ति-सुरक्षासम्बन्धी विषयमा समग्र समीक्षा गरिएको जनाइएको छ।
यसअघि सोही दिन बिहान गृहमन्त्री अर्यालले देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट संवाद गरी जिल्लागत अवस्था, तयारी र चुनौती बारे जानकारी लिएका थिए।
मकवानपुर । प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अवधि सकिन लाग्दा नेकपा एमाले मकवानपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ ।
एमालेका जिल्ला नेताहरूका अनुसार घरदैलो, कोणसभा र जनभेटघाटका क्रममा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ दुवैमा पार्टीका उम्मेदवारप्रति जनलहर देखिएको एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बताए ।
उनका अनुसार दुवै क्षेत्रमा सन्तोषजनक मतान्तरसहित एमालेका उम्मेदवार विजयी हुने अंकगणित देखिएको हो ।
मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना शालिन र सादगी नेता भएकै कारण एमालेको मात्रै नभएर अन्य दलको मत समेत प्राप्त हुने बताइएको छ । तत्कालन जिल्ला विकास समितिको सभापति हुंदा जिल्लामा बसाइएको विकासको जग नै रानाको जित्ने आधार बनेको लामाले बताए ।
यस क्षेत्रमा एमालेले आफ्नो संगठन बलियो रहेको र विकास निर्माणका एजेन्डाले मतदाता आकर्षित गरेको दाबी गरेको छ भने क्षेत्र नम्बर २ मा पनि अघिल्ला निर्वाचनको मतपरिणाम र पछिल्लो राजनीतिक समीकरणका आधारमा आफूहरू अग्रस्थानमा रहेको दाबी गरिएको छ ।
यसअघि ५ दलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै विजयी भएका महेश कुमार बर्तौला मकवानपुर–२ का उम्मेदवार बनेका हुन् ।
जितेर गएपछि निर्वाचन क्षेत्र सहित सिंगो मकवानपुरको समस्या सदनमा उठाउने, सुकुम्बासीलाई लालपुर्जा दिलाउन खेलेको भूमिका र मध्यवर्ती क्षेत्रको समस्या हल गर्न गरिएको पहलकदमीका कारण बर्तौलालाई यस क्षेत्रका मतदाताले रुचाएको एमाले मकवानपुरका नेताहरु बताउँछन् ।
एमाले नेतृत्वले “स्थिर सरकार, विकास र समृद्धि” लाई मुख्य चुनावी नाराका रूपमा अघि सारेको छ । मतदाताले विगतको कामको मूल्याङ्कन गरेर सूर्य चिह्नमा मतदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
मकवानपुर । अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक निशानाहरूमा गरेको संयुक्त हवाई आक्रमणका कारण इरानमा १०८ जना स्कुले बालबालिकाको मृत्यु भएको छ । यो घटनालाई यस युद्धको अहिलेसम्मकै भयावह त्रासदीका रूपमा हेरिएको छ।
इरानी स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी इरानको मिनाब स्थित एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा मात्रै कम्तीमा १०८ जनाको मृत्यु भएको छ।
इरानको रेड क्रिसेन्टले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार देशका २४ वटा प्रान्तमा भएका श्रृङ्खलाबद्ध आक्रमणहरूमा हालसम्म २०१ भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। यसैगरी, आक्रमणमा परी कम्तीमा ७४७ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको रेड क्रिसेन्टले जनाएको छ।
यसैबीच, इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको परिवारमा पनि ठूलो क्षति पुगेको छ। इरानी अर्ध-सरकारी सञ्चारमाध्यम ‘फर्स न्यूज’ ले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। सर्वोच्च नेताको निवासलाई लक्षित गरी गरिएको आक्रमणमा उनको परिवारका सदस्यहरू परेका हुन्।
इरानले पनि इजरायली क्षेत्रलाई लक्षित गरी जवाफी कारबाही सुरु गरेको छ। इजरायली उद्धार टोलीका अनुसार इरानी आक्रमणका कारण तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने कम्तीमा ९० जना सामान्य घाइते भएका छन्।
युद्धको कारण त्यहाँ कार्यरत नेपालीको अवस्था चिन्ताजनक छ । नेपाल सरकारले यो समयमा संवेदनशील र विवेकपुर्ण कदम चाल्नु जरुरी छ ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले स्थापनाको चौथो वर्ष विशेष उत्सवका रूपमा मनाउने भएको छ। मञ्चले फागुन १६ गते शनिबार हेटौंडामा आयोजना गर्ने चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन र स्रष्टा सम्मान कार्यक्रममा ४ जनालाई नगदसहित सम्मान गर्ने भएको छ ।
मुक्तक मञ्च मकवानपुरले भैरहवाका डा. मुरारि पराजुलीलाई ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’ बाट सम्मानित गरिने भएको छ । यस्तै काठमाडौ का सुनिल अधिकारी ‘तारा स्मृति मुक्तक सम्मान’ बाट तथा काठमाडौकै मदन नेपाल ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’बाट सम्मानित हुने भएका छन् । मकवानपुरका युवा स्रष्टा अनिस न्यौपाने ‘मनको आँखा’ लाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ बाट सम्मानित गरिने सचिव सुबास सजलले जानकारी दिए ।
उक्त सम्मानहरू क्रमशः अग्रज साहित्यकार आर.सी. रिजाल, मञ्चका संस्थापक उपाध्यक्ष किसन पौडेल, संस्थापक अध्यक्ष डी.बी. बर्तौला र प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष श्रीराम अधिकारीले गरेका हुन् । मञ्चले विगतका वर्षहरूदेखि नै मुक्तक विधामा निरन्तर साधनारत व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
यसअघि बुटवलका रमेश समर्थन, मकवानपुरका देवराज खरेल, रौतहटका हरिकृष्ण काफ्ले, चितवनकी विमला अधिकारी देवकोटा, सिन्धुलीका लोकेन्द्र डहरे, पोखराका दीपक समिप, काठमाडौकी निलाञ्जला भारद्वाज तथा मकवानपुरका समर्पण न्यौपाने र विर्खे अन्जान एवं सिन्धुलीकी अस्मिता दाहाल मञ्चबाट सम्मानित भइसकेका सजलले जानकारी दिए ।
वार्षिकोत्सवसँगै मञ्चको दोस्रो अधिवेशनको विशेष सत्रमा संस्थाको आगामी कार्ययोजना, संगठनको वृहत्तर विस्तार र नयाँ नेतृत्व चयनका विषयमा छलफल हुने बताइएको छ । यसैगरी दोस्रो सत्रमै नेपाली मुक्तक संरचना परम्परा र प्रवृत्ति विषयमा विमर्श कार्यक्रम हुनेछ । उक्त विषयमा डा. मुरारि पराजुली, डा. विश्वनाथ सन्जेल र सुनिल अधिकारीले विमर्श गर्नेछन् भने साहित्यकार सानु खनालले सहजीकरण गर्नेछन् ।
सचिव सजलका अनुसार मुक्तकीय अभियानलाई अझ सशक्त, मर्यादित र संगठित बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।