मकवानपुर । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी २ पटक सो राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।
यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभागले जनाएकाे छ । विभागका अनुसार २ दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिने विभागले जानकारी दिएकाे छ ।
स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आफ्नै दाइमाथि खुकुरी प्रहार गरी घाइते बनाएकाे आराेपमा भाइलाई प्रहरीले पक्राउ गरेकाे छ । बागमती वडा नं.९ बेतिनी अगौटेमा आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी फरार रहेका भाइलाई प्रहरीले मंगलबार पक्राउ गरेको हाे ।
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी समायोजन छिट्टै गरिने भएकाेले समस्या समाधान हुने बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६८ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्ताे बताएका हुन् ।
प्रहरी समायाेजन ऐन मार्फत प्रदेश सरकारको मातहतमा प्रहरी संगठन आएपछि मातहतका निकायलाई रुपान्तरण गर्दै लैजान सजिलो हुने मन्त्री जम्कट्टेलले बताए । आफूहरुले संविधानमा रहेको अधिकार अनुसार काम गर्दा संघीय कानूनले व्यवधान देखाएकाले प्रहरी समायाेजन समेत हुन नसकेकाे उनकाे भनाइ थियाे ।
‘शान्ति सुरक्षा र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिकाकाे उच्च सम्मान रहेको छ’ मन्त्री जम्कट्टेलले भने ‘प्रहरी संगठनलाई रुपान्तरण गर्दै अझ सुदृढ बनाउनु पर्छ ।’ नागरिकले सबैभन्दा पहिला प्रहरीलाई खोज्ने हुदाँ प्रहरीप्रतिको विश्वास जन मानसमा रहनु पर्ने उनले बताए । उनले विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरुलाई सम्मान व्यक्त गर्दै देशको विभिन्न आन्दोलनहरुमा अग्रभागमा शान्ति सुरक्षाको लागि भूमिका निर्वाह गर्ने प्रहरी संगठनप्रति आभार व्यक्त गरे ।
पछिल्लो समय सामाजिक सञ्जालहरुले सकारात्मक भन्दा पनि नकरात्मक प्रचारलाई बढी प्राथमिकता दिएको भन्दै यसले सुरक्षा निकायमा चुनौति थपिएको उनले बताए । ‘प्रहरी सेवालाई संख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्छ’ मन्त्री जम्कट्टेलले भने ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेशको शान्ति सुरक्षामा प्रहरी संगठनले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरे । सबैको त्याग तपस्या र संघर्षबाट ल्याइएको व्यवस्थालाई अपनत्व लिनु पर्ने उनकाे भनाइ थियाे । कार्यक्रममा पूर्व प्रहरी हवल्दार डम्बर बहादुर सापकोटा(खत्री)लाई सम्मान गरिएको थियो । यसैगरी प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो । साथै विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र संघसंस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । चाड पर्वमा हुने भीडभाड र यातायातामा सुरक्षामाथि सुरक्षित हुनकाे लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाड पर्वलक्षित गरी मंगलबारबाट टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जारी गरेको सूचनामा जनाइएको हो । पार्सा जिल्लाकाे सिमाना कटेर हेटाैडा उपमहानगरपालिका १५ चुरियामाईबाट हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्य रुपमा टाइम कार्ड लागू भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यात्रु पाइने हाेडमा छिटाेछिटाे सवारी गुडाउँदा दुर्घटना हुने संभावनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू गरिएको हो । सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियमबमोजिम कारवाही हुनेसमेत प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाण्डाै जाने सुमाेहरुमा भने यस अघि नै टाइम कार्ड लागु भइसकेकाे छ । ताेकिएकाे स्थानबाट ताेकिएकाे स्थानमा ताेकिएभन्दा चाँडाे पुगेका नियम अनुसार कारवाही गरिने प्रहरीले जनाएकाे छ ।
मकवानपुर । राक्सिराङ्ग गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता घरघरैमा पुगेर वितरण थालिएकाे छ । दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका राजकुमार मल्लले दसैंको आउँदै गर्दा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर बाढ्न गएका छन् ।
बैंकका कर्मचारी समेतकाे टोलीले पालिकाकाे गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे थियाे । सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा स्थानीय ज्येष्ठ नागरिकले ठूलो राहत महसुर गरेका छन् भने पालिका अध्यक्ष तथा कर्मचारीलाई ज्येष्ठ नागरिकलगायतका स्थानीयले स्याबासी दिएका छन् ।
विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैंकमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महङ्गो भाडा तिरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतालाई चिर्दै गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर पुगेकाे पालिका अध्यक्ष मल्लले बताए । सोमबार पालिका अध्यक्ष मल्लसहितकाे टोली वडा नम्बर ९ का जनतालाई भत्ता बितरण गर्न पुगेको थियो । राक्सिराङ ९ नम्बर वडाको अठारे ह्याक्ती बस्ने ९१ बर्षिया बृद्ध गौरी सुनारलाई जेष्ठ नागरिक भत्ताको ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । वडा कार्यालयमा बैंकका कर्मचारीसहित पुगेका अध्यक्ष मल्लको टोलीले सोमबार करिब १ सय २० जना ज्येष्ठ नागरिक तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताइएकाे छ ।
सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै प्राप्त गरेपछि अधिकांश बृद्धबृद्धाहरुले आउँदो दिनहरुमा पनि यसैगरी प्राप्त गर्न गाउँपालिका अध्यक्षलाई अनुरोध गरे । वडा अध्यक्ष रामकुमार बाल्पा थिङले वर्षाका कारण बाटो बिग्रिएको र घण्टौं हिडेर गाउँपालिका कार्यालयसम्म पुगेर भत्ता लिन असहज भएकाले वडाबाटै भत्ता वितरण गरिएको बताए ।
गाउँपालिकाले राक्सिराङ ४ मा रहेको एक परिवारलाई दसैं मान्नको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । खाद्यान्न प्याकेजमा चामल, तेल, दाल र नुन रहेको थियो भने अध्यक्ष मल्लले नगद सहयोगसमेत गरेका थिए । अभियानकै क्रममा स्थानीय युवाहरुलाई खेलकुदका सामाग्री समेत हस्तान्तरण गरिएको थियो । पालिकाले यस अघि वडा नम्बर ६, ७ र ८ मा असोज २५ गते नै भत्ता बितरण गरिसकेको छ ।
