मकवानपुर । बालिका बलात्कारको आरोपमा पूर्वलडाकु हरि श्रेष्ठ पक्राउ परेका छन् । मकवानपुरकी एक बालिका बलात्कारको आरोपमा छिमेकी जिल्ला सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर श्रेष्ठ पक्राउ परेका हुन् ।
पीडित पक्षको जाहेरी अनुसार श्रेष्ठले फागुन ४ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सिन्धुली मरिन गाउँपालिका ७ का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धानको लागि हाल जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।
अहिले उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय सचिवालय सदस्य छन् ।
सौराहा, चितवन । चितवनको सौराहामा भएको पाँच दिने डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न भएको छ । गत फागुन ३ गतेबाट सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको दुबै तालिम सोमबार समापन भएको छ ।
डाटा ड्रिभन पत्रकारिता र पटकथा लेखन तालिमका लागि छुट्टाछुट्टै प्रशिक्षकहरुले सहजीकरण गरेका थिए । तथ्याङ्कमा आधारित पत्रकारिता तालिममा सहभागी काठमाडौकी पत्रकार पुष्पा थपलियाले तालिमा सहभागी हुनु अघि गुगल सिट खोल्ने समेतको जानकारी नरहेको बताइन् । तालिमपछि तथ्याङ्कलाई समाचारको शैलीमा जोडेर पाठकले सहज रुपमा बुझ्न सक्ने गरी प्रस्तुत गर्न सकिने बताईन ।
उक्त तालिममा मकवानपुरबाट सहभागी पत्रकार सञ्जिव सुनारले तालिम उपलब्धीमूलक भएको बताए ।तथ्याङ्कमा आधारित पत्रकारिता तालिममा उमेश श्रेष्ठ र अरुण कार्कीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक श्रेष्ठले पाँच दिनको तालिमले भोक जगाउने काम मात्रै गरेको बताए । अब अगाडि कसरी बढ्ने भनेर बाटो आफैंले खोज्न उनको आग्रह छ ।
यसैगरि पटकथा लेखन तालिममा सहभागी भएकी सृजना दुवालले ‘कथा लेख्न त आउँछ भनेर लाग्थ्यो तर त्यो सत्य रहेनछ । ‘तालिमपछि अझै धेरै सिक्न बाँकी रहेको महशुस भएको छ ।’ उनले भनिन् ।
अर्का प्रशिक्षार्थी श्रीधर न्यौपानेले तालिमले पटकथा लेखनका लागि बाटो देखाएको बताए । पटकथा लेखन तालिमका प्रशिक्षक केशव पाण्डेले तालिम पाँच दिने तालिम पटकथा लेखन यात्राको शुरुवात मात्रै भएको बताए । ‘ अहिले नै कथा लेख्ने, कथा भन्ने यात्रामा फुल स्टप लागेको हैन, यात्राको शुरुवात मात्रै हो ।’ उनले भने ‘सपनाको यात्रा चलिरहन्छ । सपनालाई मर्न दिनुहुँदैन ।’ पटकथा लेखन तालिममा केशव पाण्डे, प्रविण कुमार रावत र सुवास कोइरालाले प्रशिक्षण दिएका थिए ।
सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिम क्लास रुममा जानु अघिको रिक्तस्थान भर्नका लागि पुल मात्रै भएको बताए । ‘हामी सिक्न आएका थियौं, प्रशिक्षकले दिनरात नभनी प्रशिक्षण दिएका छन्’ उनले भने ‘ त्यसको सदुपयोग गरिदिनुस ।’
दक्ष जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘ पाँच दिने तालिम मार्फत टन्न दिएका छौं भन्दैनौं । सिक्ने भोक जगाएका छौं । कम्तीमा तीन तीन महिनाको तालिम आवश्यक पर्छ । ’ सञ्चार रजिष्ट्रार सापकोटाले भने ‘ सिकेको कुराको सदुपयोग गरिदिनुस ।’
पटकथा मात्रै तयार गर्नेलाई २५ हजार र फिल्म बनाउनेलाई ७५ हजार रुपैयाँ सहयोग गर्ने बताए । फिल्म प्रदर्शनका लागि विदेश जाँदा लाग्ने भाडामा पनि सकेको सहयोग गर्ने उनको आश्वासन छ । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको खेलबाट विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
यो सँगै खेलको सेमिफाइनल समीकरण पुरा भएको छ । आइतबार अन्तिम क्वाटरफाइनलका खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो ।
आर्मीको जीतमा जिलेस्पी जंग कार्कीले खेलको पहिलो हाफको २६ औं मिनेटमा, रास बुढा मगरले दोस्रो हाफको ८ औं, फत्तेमान घलले १८ औं मिनेटमा र कमल थापाले ३० औं मिनेटमा समान एक–एक गोल गरे । निकै आकर्षक बनेको खेलको म्यान अफ द म्याच आर्मीका फत्तेमान घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी सेमिफाइनल प्रवेश गरेको आर्मीले अब फाइनल प्रवेशका लागि भोली मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एपीएफसहित मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।
मकवानपुर । गजलकार अनिश न्यौपाने ‘भावना’ श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानबाट सम्मानित भएका छन् । गजल मञ्च मकवानपुरले २ सय ११ औं गजल यात्रामा गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरेको हो ।
साहित्यकाे गजल विधाको उन्नयन, विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो । मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ *मुक्तक संग्रह पनि प्रकाशनमा छ ।
सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए ।भोला शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।
यसैबीच मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट मनिका नेगी भइन् । बुद्ध मावि बकैया–३ हात्तिसुँडेमा कक्षा ९ कि छात्रा नेगीले नगद ५ हजार ५ सय ५५ रुपैयाँ राशीको मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा १७ जना विद्यार्थीको सहभागिता रहेको थियाे । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।
मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपाने तथा नेगीलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
मकवानपुर। राष्ट्रिय युवासंघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबिच मैत्रीपूर्ण फुटबल हुने भएकाे छ । भाेली (फागुन ७ गते) प्रजातन्त्र दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको हाे ।
राष्ट्रकाे लागि र स्वास्थ्यकाे लागि खेल अनिवार्य भएकाेले मैत्रीपूर्ण प्रतिष्पर्धामा खेल आयाेजना गर्न लागिएकाे चाैतारी मकावानपुर अध्यक्ष बालकृष्ण अधिकारीले बताए । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियोगीताको प्रचारका लागि मैत्रीपुर्ण सेभेन ए साईड फुटबल आयोजना गरिएको राष्ट्रीय युवा संघ नेपाल मकवानपुरका संयोजक राजेश नगरकोटीले बताए ।
मैत्रीपुर्ण सेभेन ए साईड फुटबल खेलले केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार हुनुका साथै २ संगठनबीचको सम्बन्ध सुमधुर हुने प्रेस चौतारी नेपाल मकवाननपुरका अध्यक्ष अधिकारीले बताए । फागुन ७ गते हेटौंडा ५ पिप्ले क्याम्पाचौरमा बिहान ८ बजे हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने छन् ।