चितवन । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलकाे उपाधि बागमती प्रदेशले हात पारेकाे छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै बागमतीले स्वर्ण पदक हात पारेको हो । बागमतीले २५–२१, २५–१२ र २५–८ को सेटमा गण्डकीलाई पराजित गरेकाे हाे ।
उपविजेता बनेको गण्डकीले रजत पदकमा चित्त बुझायाे । लुम्बिनी प्रदेश तेस्राेस्थानमा रहँदै काश्य पदक हात पार्यो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर बागमतीकी सलिना बुढामगर, उत्कृष्ट ब्लकर लुम्बिनीकी आरती चौधरी, उत्कृष्ट सेटर बागमतीकी प्रगती नाथ, उत्कृष्ट सरोभर गण्डकीकी अरुणा शाही, उत्कृष्ट डिफेन्डर बागमतीकी एन्जीला प्रधान र उत्कृष्ट खेलाडी बागमतीकै सुमित्रा रेग्मी भइन् । उत्कृष्ट प्रशिक्षको अवार्ड बागमतीका कुमार राईले प्राप्त गरे ।
यसैगरी पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशकाे पोल्टामा परेकाेछ । फाइनलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि उचाल्दै स्वर्ण पदक हात पारेको हो । गण्डकीले २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा कोशीलाई पराजित गरेको हो । कोशीले रजत पदकमा चित्त बुझायो भने सुदूरपश्चिम प्रदेशले काश्य पदक हात पार्यो ।
प्रतियोगितामा गण्डकीका हिमाल सुनारी सर्वोत्कृष्ट खेलाडी भए भने बेस्ट स्पाइकर गण्डकीकै सरोज बर्देवा, बेस्ट सेटर गण्डकीकै सुजन चोखाल, बेस्ट डिफेन्डर गण्डकीकै कुञ्जन शाही ठकरी, बेस्ट ब्लकर कोशीका पुकार तामाङ, बेस्ट सेभर सुदूरपश्चिमका बलदेव सिंह धामी भए ।
भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चैत्र २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियाेगिता सुरु भएकाे हाे । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलकाे प्रतिस्पर्धा भएका छन् ।
पुरुष फुटबल बाहेक सबै खेल चितवनमा भएका छन् । पुरुष फुटबल खेल भने गौरीटार रंगशाला हेटौडामा भएकाे छ । खेलकुदकाे समापन वैशाख १ गते शनिबार गौरीटार रंगशाला हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नेछन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको संयुक्त आयोजनामा प्रतियाेगिता भएकाे हाे ।
मकवानपुर । मकवानपुरकाे इन्द्रसराेवर गाउँपालिका ३ सिस्नेरीमा अखिल नेपाल फुटवल संघ (एन्फा) ले खेलकुद एकेडेमी स्थापना गरेकाे छ ।
फुटबलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ १३ वर्षमूनि पुरुष खेलाडीलाई मकवानपुरको बत्सलादेबी मावि सिभिल इञ्जिनियरिङ शिक्षालयमा प्रशिक्षणमा राखिने भएको हाे । ३० जना छात्रहरुलाई नियमित अध्ययनमा बाधा नपर्ने खेल्दै पढ्दै गर्ने वातावरणमा उपलब्ध गराइने भएकाे हाे ।
अखिल नेपाल फुटबल संघ एन्फाले छनौट गरेका खेलाडीलाई विद्यालयको छात्राबासमा राखेर अध्ययन र प्रशिक्षणको व्यवस्था मिलाईएको हो। शुक्रबार एन्फा अध्यक्ष पंकज बिक्रम नेन्वाडको उपस्थिती मा महासचिव किरण राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास चन्द्र ठकुरीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
संबिधान सभा सदस्य समेत रहेका ठकुरीले खेल क्षेत्रमा उर्जाशिल युवाहरुकाे आवश्यकता रहेकाे बताउँदै विद्यालयकाे लागि याे अवसर जुटाएकाेमा एन्फाप्रति आभार प्रकट गरे ।
नेपालमै पहिलो पटक नयाँ अवधारणाका साथ सम्झौता गरिएको उनले बताए । विभिन्न जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई एन्फा एकेडेमीले प्रशिक्षणमा राख्नेछ । अहिले जिल्लाहरुमा छनाैटकाे कार्य जारी छ । छात्रावासमा फुटबलका प्रशिक्षक वार्डेन कर्मचारी एन्फाले व्यवस्थापन गरेको छ । यसकाे लागि एन्फाले वार्षिक २६ लाख प्रदान गर्नेछ ।
विद्यालय र एन्फा बिच भएकाे याे संझाैता ४ वर्षसम्मकाे लागि रहेकाे महासचिव राइले बताए । बागमती प्रदेश सरकारकाे आर्थिक लगानिमा ८३ लाख रुपैयाँमा बिद्यालय परिसरमा छात्रावास निर्माण गरेकाे छ । छात्रावासमा आवश्यक केही पुर्वाधार निर्माण कार्य बाँकी रहेकाेले स्थानीय सरकारकाे सहयाेगमा निर्माण पुरा गर्ने तयारी रहेकाे विव्यास अध्यक्ष ठकुरीले बताए ।
कार्यक्रममा इन्द्रसराेवर गाउँपालिका अधयक्ष देबकृष्ण पुडासैनीले खेल क्षेत्रकाे विकासकाे लागि आवश्यक समन्वय गरीने बताए । विद्यालयकाे प्रयासले राष्ट्रिय र अन्तरास्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिने भएकाेले स्थानीय सरकारले पनि याे जिम्मेवारी वहन गर्न ध्यान दिने बताए ।
यसैगरी वडा ३ का अध्यक्ष प्रताप भम्जनले विद्यार्थीलाई खेलाउदै र सिकाउंदै गर्ने अभ्यास सुरु भएकाे बताए । ‘फुटबल विश्वमा नै रुचाइएको खेल भएकाेले व्यक्तिव विकासको लागि पनि खेल अनिवार्य छ’ उनले भने । वडा कार्यालयले भौतिक सहयोग गर्ने भम्जनले बताए ।
खेलबाट नाम दाम इज्जत कमाउन सकिने गरि नीति निर्माणमा पनि ध्यान दिनु जरुरी भएकाे विद्यालयका प्रध्यानाध्यापक उमाकान्त चाैधरीले बताए । गर्मी र चिसाेकाे हिसाबले वर्षैभरी मध्यम हावा पानी हुने याे क्षेत्र प्राकृतिक र वातावरणीय हिसाबले अत्यन्तै उपयुक्त रहेकाे र काठमाण्डाैबाट एक घण्टाकाे सडक मार्गमा पर्ने भएकाले एन्फाले एकेडेमी राख्न उपयुक्त ठानेकाे राइले बताए । विद्यालयमा हाल कक्षा १ देखी १२ सम्म ४५० विद्यार्थी अध्ययनरत छन् ।
मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गरेको छ ।
यस वर्षको १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित भएका हुन । यस्तै २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट देसार सम्मानित भएकी हुन । बिहीबार हेटौंडामा १५ औँ संस्करणको कार्यक्रम गरि थापा र देशारलाई वरिष्ठ साहित्यकार नगेन्द्र थापाले सम्मान प्रदान गरेका हुन् ।
सम्मानपछि गितकार थापाले आफूले देखेको भोगेको समाज, परिस्थितिलाई अक्षरमा उतारेर समाजमा सचेतना दिने गरेको बताए । “म बन्दुक बोकेको मान्छे हुं, तर कलम मेरो प्रिय हो” उनले भने “भीम बिरागलाई सम्झिरहने छु, म उहाँको फ्यान हुं ।”
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा स्थापित बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कारबाट यसअघि गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्वहरू अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जंगम) र किरण प्रधान (२०७९) सम्मानित भइसकेका छन् ।

यसैगरी भीम विराग युवा सङ्गीत पुरस्कार २०७७ पोखराको हार्मोनिक समूह र २०७८ गायक शिव परियार प्रदान गरिएको थियो । हरेक वर्ष यो पुरस्कारलाई फरक फरक व्यक्तित्वले प्रायोजन गर्दै आएका छन् । यस पटक चितवनका साहित्यकार एलबी क्षेत्रीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन । देशार रेडियो नेपालकी ‘क’ श्रेणी गायिका हुन् । २०६६ सालमा राष्ट्रव्यापी आधुनिक गीत सम्मेलनमा प्रथम भएकी थिइन् ।
प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार रहेको प्रतिष्ठान महासचिव छवि अनित्यले जानकारी दिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।
मकवानपुर । वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा ६ हजार ८ सय ९५ लक्षित परिवारलाई स्वास्थ्य बिमा गरिदिएको छ ।
मन्त्रालयले २ करोड ३४ लाख १५ हजार ९ सय ५० रुपियाँ प्रिमियम भुक्तानी दिएको हो । प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘क’ र ‘ख’ वर्गका अशक्त र स्वास्थ्य स्वयमसेविकाको बिमाबापत् प्रिमियम भुक्तानी गरिदिएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १ सय ५५ परिवारलाई ३५ लाख ७ हजार ७ सय, भक्तपुरमा ३५ परिवारलाई १ लाख २ हजार ९ सय ५०, ललितपुरमा ५ सय ५० परिवारलाई १८ लाख ७ हजार ७ सय ५०, काभ्रेपलाञ्चोकमा ७ सय २० परिवारलाई २४ लाख ७२ हजार ५०, नुवाकोटमा ५ सय ७३ परिवारलाई १५ लाख ९९ हजार ३ सय ५०, रसुवामा १ सय ८१ परिवारलाई ५ लाख १५ हजार २ सय र रामेछापमा ३ सय १९ परिवारलाई १० लाख ४३ हजार भुक्तानी गरिएको छ ।
धादिङमा ५ सय ९१ परिवारलाई २१ लाख ५२ हजार १ सय ५०, मकवानपुरमा १ सय १ परिवारलाई ४ लाख १० हजार ५ सय ५०, दोलखामा २ सय ७४ परिवारलाई ९ लाख १६ हजार ५०, सिन्धुपाल्चोकमा १ हजार ३ सय १४ परिवारलाई ४६ लाख २२ हजार ८ सय, सिन्धुलीमा ४ सय ७९ परिवारलाई, १५ लाख ७७ हजार ४ सय र चितवनमा १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरिएको छ ।
तथ्यांकअनुसार १३ वटै जिल्लामध्ये सबभन्दा बढी चितवन जिल्लामा भुक्तानी भएको पाइएको छ । महिला स्वास्थ्य स्वयमसेविका १ सय ४, अशक्त ३ सय ७७ र अतिसीमान्तकृत १ हजार १ सय २२ गरी १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरिएको छ ।
प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अघिल्लो पटक मन्त्री हुँदा निर्णय भएबमोजिम सुरुवात गरिएको बताए । पुनः स्वास्थ्य मन्त्री भइ पदभार ग्रहण गरेकै दिन निर्णय गरेबमोजिम काम सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अतिविपन्न वडाका सिफारिस र बिमा अभिकर्तामार्फत छनौट गरिएको मन्त्री श्रेष्ठले बताए ।
मकवानपुर । प्रदेशले बागमती प्रदेशमा नव नियुक्त भएका मन्त्रीहरुलाई गैर सरकारी संस्था महासंघ बागमतीले सम्मान गरेकाे छ ।
नयाँ वर्ष २०८१ काे पुर्वसन्ध्यामा गैससले मन्त्रीहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे । कार्यक्रममा बागमती प्रदेश सरकारका खानेपानी मन्त्री एकालाल श्रेष्ठ, वन मन्त्री केशवप्रसाद पाेखरेल र उद्याेग प्रशासन मन्त्री प्रकाश श्रेष्ठकाे उपस्थिती रहेकाे थियाे ।
सम्मान कार्यक्रममा मन्त्रीहरुले आफ्नाे तर्फबाट सामाजिक हितकाे लागि काम गर्ने र यसमा सधै गैससहरुकाे सभागिता र सहकार्य गरिने बताएका थिए ।
गैसस महासंघ मकवानपुर र मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला सञ्जालकाे समन्वयमा कार्यक्रम गरिएकाे गैसस बागमती अध्यक्ष आरती पाठकले बताइन् ।
गैरसरकारी संस्थाहरुकाे याेगदानलाई आत्मासात गर्दै समन्वय र सहकार्य गरी सामाजिक विकासमा हातेमालाे गर्न गैससकर्मीहरुले माग गरेका छन् ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला सञ्जाल उपाध्यक्ष माया लामाले अधिकार संरक्षणकाे सवालमा राजनीतिक तवरबाट सहयाेग हुने अपेक्षा व्यक्त गरिन ।