मकवानपुर । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा भएको उपलब्धी सार्वजनिक गरेकी छन् । मन्त्री मोक्तानले सोमबार मन्त्रालयमा आफ्नो कार्यकालमा भएको मुख्य–मुख्य कार्य विवरण समेटिएको पुस्तक सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक पुस्तिकामा मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने शिक्षा, गरिबी निवारण, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सामाजिक सुरक्षा, सीपमूलक तालिमको विषयमा भएको कार्य समेटिएको छ । सो क्रममा उनले आफ्नो कार्यकालमा शिक्षा क्षेत्र सुधारमा उल्लेखनीय प्रगति भएको दाबी गरिन् ।
यसैगरी, प्रदेशका ३५ वटा स्थानीय तहसँगको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भइरहेको प्रकाशित पुस्तकमा उल्लेख छ । चेपाङ समुदायको उत्थानका लागि प्रदेशका ६ वटा स्थानीय तहमा चेपाङ, चमेरो र च्यूरी संरक्षण कार्यक्रम सुरु उनको भनाई छ ।
उनी नेकपा माओवादी केन्द्रकाे तर्फबाट दोश्रो कार्यकालकाे लागि २०७९ माघ ११ गतेबाट मन्त्री भएकी हुन् । साउन ६ गते प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजिनामा दिएसँगै उनकाे समेत पदावधी समाप्त भएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।
आइतबारको प्रदेशसभा बैठकमा एक घण्टा सम्बोधन गर्दै विश्वासको मत नलिने तर मार्ग प्रसस्त गर्ने घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय पुगेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनाको बाटो लिएका हुन् ।
विश्वासको मतको लागि भन्दै प्रदेश सभा बैठक आइतबारको लागि आव्हान गर्न लगाएका उनले आफ्नो कार्यकाल भएका कामको फेहरिस्ता सुनाएका थिए । असार २४ गते एमाले सरकारबाट बाहिरिए संगै अल्पमतमा परेका उनी राजिनामा नदिने तर प्रदेश सभाको सामना गरेर अघि बढने बताउदै आएका थिए । आफ्नो कुरा प्रदेश सभाको रेकर्डको लागि सभा रोजेको बताउदै उनले राजिनामा रोजेका हुन् । गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नयाँ सरकार गठन गर्न आव्हान
मुख्यमन्त्री जम्कट्टेलको राजिनामा संगै बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आइतबार आव्हान गरेका छन् ।
प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न साउन ८ गते बेलुका ५ बजेसम्मको समय तोकी आव्हान गरेका हुन् ।
अब बागमतीमा नेपाली काग्रेसको नेतृत्वमा एमालेसहितको दलको प्रतिनिधित्व हुने गरि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।

मकवानपुर । मकवानपुरकाे हेटौडामा ४६ औँ पुष्पलाल स्मृति दिवसमा रक्तदान कार्यक्रम भएकाे छ । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
नेकपा एमाले मकवानपुरले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको सम्झनामा पार्टी कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको हो । जिल्लामा विरामीलाई आवश्यक पर्ने रगतको कमी भएको जानकारी आएलगत्तै रक्तदान कार्यक्रम गरेको पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए ।
स्मृति दिवसमा पुप्पललाल पार्कमा रहेको पुप्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको थियो । पार्टी जिल्ला अध्यक्ष श्रिधर पोखरेलको सभाध्यक्षता तथा पार्टी केन्द्रिय सदस्य केदार न्यौपानेको प्रमुख अतिथ्यता भएकाे कार्यक्रममा केन्द्रीय सदस्यहरु रामेश्वर राना,जुनेली श्रेप्ठ,भारती पाठक लगायतकाले पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न निर्वाह गरेको भुमिका र योगदानकाे बारेमा चर्चा गरेका थिए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको सामुदायिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालयले वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला गरेकाे छ ।
२०८० सालकाे एसइई परीक्षा गुणस्तरमा मकवानपुर जिल्ला मै प्रथम स्थान हासिल गर्न सफल विद्यालयले आगामी २०८१ वर्ष अझ व्यवस्थित शैक्षिक याेजनासहित अगाडि बढ्न कार्यशाला आयाेजना गरिएकाे हाे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले याेजनाबद्व र व्यवस्थित रूपमा शैक्षिक विकास र उन्नयनकाे लागि अगाडि बढ्न कार्यशाला आयाेजना गरिएकाे बताए । हेटाैडा-४ काे वडा अध्यक्ष समेत रहेका सिग्देलले विकासकाे महत्वपूर्ण क्षेत्र शिक्षा भएकाेले सामुदायिक र संस्थागत विद्यालय बीचकाे सहकार्य र प्रतिस्पर्धाद्वारा शिक्षामा गुणस्तर सुधार गर्न वडा कार्यालय लागिपरेकाे जानकारी दिए ।
जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सहभागीता रहेकाे कार्यशालाकाे उदेश्यबारे प्रधानाध्यापक माधव दाहालले बताएका थिए । कार्यशालामा भाैतिक पूर्वाधारकाे विकास, शैक्षिक विकास, विद्यार्थीकाे समग्र विकासकाे लागि अतिरिक्त क्रियाकलाप र श्राेतकाे खाेजी, परिचालन र पारदर्शीता ४ वटा विषयमा समूह बनाई छलफल गरिएकाे थियाे ।
छलफल पश्चात भाैतिक पूर्वाधार विकासको सम्बन्धमा शिक्षक सरस्वती अधिकारी, शैक्षिक विकासको शिक्षक सूर्य घिमिरे, अतिरिक्त क्रियाकलापको शिक्षक सुमन श्रेष्ठ र श्राेतकाे खाेजी, परिचालन र पारदर्शीताको बालकृष्ण दाहालले समूहका सुझावहरू प्रस्तुत गरेको सहायक प्रअ भरत पाेखरेलले जानकारी दिए ।
कार्यशालामा समूहगत छलफलका निष्कर्षलाई विद्यालयकाे आगामी कार्ययाेजनाकाे रूपमा अगाडि बढाउन प्रधानाध्यापक माधव दाहालकाे संयाेजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएकाे सहप्रअ भरत पाेखरेलले जानकारी दिए ।
१२ कक्षासम्म अध्ययन हुने यस विध्यालयमा करिव २३ सय विध्यार्थी अध्ययनरत छन् भने सिभिल ईन्जीनियरिङ्ग, व्यवस्थापन, विज्ञान विषय र सिटिभिटी तर्फ ३ वर्षे डिप्लाेमा ईन्जिनियरिङ्ग विध्यालयले अध्यापन गराउँदै आएकाे छ ।
मकवानपुर । मकवानपुरे साहित्यकार तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ शनिबार हेटौंडामा विमाेचन गरिएको छ ।
गजल मञ्च मकवानपुरको २१५ औँ गजल यात्रामा घिमिरेद्वारा लिखित गजल सङ्ग्रह विमोचन गरिएको हो । मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका शिक्षासेवी देव श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिललगायतले पुस्तककाे लाेकार्पण गरेका हुन् ।
गजल मञ्च मकवानपुरले प्रकाशन गरेकाे सङ्ग्रहमाथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए । घिमिरेले घामका फूलहरूको समीक्षा गर्दै पाकाे उमेरका लेखकले युवाको जस्तै जोश जाँगर सहितको गजल लेखेको बताए । लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई गजलमार्फत सचित्र वर्णन गर्न सफल भएको उनको भनाई थियो ।
कार्यक्रममा साहित्यकार स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ, हरि पाैड्याललगायतले घिमिरेद्वारा लिखित गजल सङ्ग्रहबाट गजल वाचन गरेका थिए ।
गजल सङ्ग्रहकाे रुपमा घिमिरेकाे पहिलाे कृति हाे । सङ्ग्रहमा ७० वटा गजल समेटिएका छन् । २०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मिएका लेखक घिमिरेका यसअघि फूलका कुरा जूनका कुरा गीत सङ्ग्रह २०७१ र माटोको मोह कविता सङ्ग्रह २०८० प्रकाशित छ ।
२१५ ओैं गजल यात्रामा गजलकारहरु मुस्कान तिमल्सिना, मिथिला अधिकारी, डिबी वर्ताैलालगायतले गजल वाचन गरेका थिए ।