मकवानपुर । दुग्ध उत्पादक किसानहरुमा निराशा बढ्दै गएपछि स्थानीय सरकारले किसानलाई आफ्नो व्यवसायमा टिकीरहनको लागि पहल गरेको छ ।
दुध विक्री गरिएको भुक्तानी समयमा नपाएपछि आजित किसानहरु व्यवसायबाट पलायन हुने संभावनालाई मध्यनजर गर्दै मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो पालिका भित्रको किसानहरुको दुधको पैसा समयमै भुक्तानी गर्ने प्रवन्ध मिलाएको हो ।
पछिल्लो समय दुग्ध उत्पादक कृषकहरु आफुले बिक्री गरेको दुधको रकम समयमै नपाएर प्रताडित भएपछि प्रदेशको कृषि सहकारी मन्त्रालयदेखि विभिन्न निकाय गुहारीरहेका छन् । प्रदेश सरकारले दुध किसानहरुलाई भुक्तानी गर्नुपर्ने पर्याप्त बजेटको व्यवस्थापन गर्न नसक्दा गत आर्थिक वर्षमा भुक्तानी गर्न नसकेको बक्यौता अझै बाँकी नै छ ।
तर, मनहरी गाउँपालिकाले कृषकको दुधको भुक्तानीको सुनिश्चिततासँगै पालिकाले नै सहकारी मार्फत दूध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाएको छ । विगत २ महिनादेखी कार्यविधी निर्माण तथा उद्योग र सहकारीसँगको छलफलपछि गाउँपालिकाले हेटौडा डेरी इन्डष्ट्रिजसँग सम्झौता गरेको हो ।
सम्झौता अनुरुप गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको दुध संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दुध खरीद गर्ने र उद्योगलाई बिक्री गर्ने सम्झौता गरेको छ । सझौता पत्रमा उल्लेख भए अनुसार इन्डष्ट्रिजले मनहरी गाउँपालिकाका किसान उत्पादन गरेको दुध संकलन तथा विक्री गर्ने छ । जसको पैसा १५÷१५ दिनमा किसानलाई भुक्तानी गर्नुपर्ने छ ।
हाल मनहरी गाउँपालिकामा कृयाशिल ६ वटा सहकारीमार्फत दैनिक ७ हजार लिटर दूध संकलन भईरहेको छ । संकलित दूध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत विभिन्न उद्योगहरुमा विक्री वितरण भईरहेको छ । तर विविध कारणले कृषकहरुले ३ महिनासम्मको भुक्तानी पाएका छैनन् ।
पशुलाई आहारसँगै जिविकोपार्जनमा समेत सहयोग पुग्ने यो व्यवसाय समयमा दुधको भुक्तानी नपाएकै कारण धेरै कृषकहरु पलायन हुन थालेपछि गाउँपालिकाले नै यस्तो पहल कदमी उठाएको हो ।
यो सम्झौता मार्फत कृषकहरुले सहकारीमार्फत् विक्री गरेको दुधको रकम भुक्तानीको सुनिश्चितता गाउँपालिकाले नै गर्नेछ । आगामि कात्तिक १ गतेदेखि लागू हुनेछ ।
सम्झौता अनुरुप गाउँपालिकाले पाक्षिकरुपमा सहकारीमार्फत् कृषकलाई दुधको रकम भुक्तानी दिनेछ । यसरी समयमै रकम भुक्तानी पाउँदा कृषकहरुलाई राहत मिल्ने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । “जसको जिविकोपार्जनको स्रोत नै दूध विक्री हो, उनीहरुलाई ३–४ महिनासम्म संघले भुक्तानी नदिँदा अप्ठ्यारो हुन्छ” अध्यक्ष कालाखेतिले भने ।
अब सम्झौता अनुरुप कात्तिकदेखि डेरीले दूध खरिद गर्छ र मंसिरदेखि पाक्षिक रुपमा गाउँपालिकाबाट भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।
देशका ८०% भन्दा बढी कृषक पशुपालन र दुग्ध उत्पादन तथा बिक्रीवितरण व्यवसाय गर्दै आए पनि राज्यले व्यवस्थित गर्न नसक्दा अझैपनि कृषकहरु यो व्यवसायमा आत्मनिर्भर बन्न सकेका छैनन् । कृषकहरुले उत्पादन गरेको दुध कतिपय समयमा “मिल्क होलिडे” भन्दै विक्री वितरणमा समस्या आएको छ भने कहिले विक्री भएका दुधको पनि समयमै भुक्तानी नपाउँदा पशुलाई चाहिने आहार खरिद गर्न नसकी यो व्यवसायनै धरासायी बनेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३ महिनासम्म रोकिएको भुक्तानी अहिले पनि बक्यौता रहेको छ । दशैंको लागि दुग्ध सहकारीहरुले असार महिनाको दुधको पैसा असोज १ गते वितरण गरेको किसान सिताकुमारी घिमिरेले बताइन् । “उबेला बाँकी रहेको पैसा कहिले सबै पाइने हो थाहा छैन, असारको पैसा असोज १ गते पायौ, अब साउन भदौको बाँकी नै छ, असोज पनि सकिन लाग्यो” घिमिरेले भनिन् ।
मकवानपुर । हेटौंडा काठमाडौ मार्गको भैसे भिमफेदी सडकखण्ड अन्तरगत भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ काठमाडौंबाट हेटौंडा हुदै जनकपुर जान आउदै गरेको बस गोल्पिङमा दुर्घटना भएको हो ।
हेटौडाबाट काठमाडौ तर्फ जादै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र जनकपुर जान आउदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठोकिदा बस सडकबाट १० मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनाको समय हेटौडाबाट काठमाडौ तर्फ जादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत उक्त बसमा ठोकिदा बस पल्टिएको हो ।
प्रहरीका अनुसार उक्त दुर्घटनाका घाईते सबैलाई उपचारको लागि हेटौडा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा २ दर्जन बढी घाइते भएको तथा नामथर नखुलेको बताइएको छ । अन्य बिबरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा नियुक्त भएका छन् । काठमाडौं महानगरपालिका–१० निवासी थापा युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञमा नियुक्त गरेकाे हाे ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष थापाकाे नियुक्तिले खेलकुद क्षेत्रमा उपलब्धीमुलक काम हुनुका साथै ठोस तथा प्रभावकारी योजना निर्माणका लागि भूमिका रहने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले नियुक्ति पत्र प्रदान गर्दै बताए । थापाको नियुक्तिले प्रदेशको समग्र खेल क्षेत्रको विकासमा सहयोग पुग्ने उनले जानकारी दिए ।
काठमाडौं व्याडमिन्टन एकेडेमीका संस्थापक थापाले स्पोट्स इभेन्ट म्यानेजमेन्टमा मास्टर्स गरेका छन् । मन्त्रालयले यसअघि खेल विज्ञको रुपमा दीपक श्रेष्ठलाई समेत मनोनित गरिसकेको छ । श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन् ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई निर्वाहकाे लागि सहायता रकम उपलब्ध गराएकाे छ ।
मंगलबार गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति ५ हजार ३ सय रुपैंया सहयाेग उपलब्ध गराएकाे हो । पूर्ण अपङ्गता भएका व्यक्तिलाई केन्द्र सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएपनि आंशिक अपाङ्गता भएकाहरुकाे हकमा स्थानीय सरकारले अभिभावकत्व लिनु पर्ने भएकाेले सहायता रकम वितरण गरिएकाे गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
“आंशिक अपाङ्गता भएका व्यक्ति भनिएपनि कोहि पेशा/व्यवसाय गर्न असक्षम हुन्छन्” अध्यक्ष कालाखेतीले भने, “उनीहरुलाई चाडपर्वमा केही राहत पुगोस भनेर यस्तो कार्यक्रम ल्याइएको हो ।” गाउँपालिकाले आन्तरिक स्राेतबाट उक्त रकम उपलब्ध गराएकाे हाे । गत वर्षबाट गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिकाे लागि सहयोग गर्ने कार्यक्रम ल्याएकाे हाे ।