मकवानपुर । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकाेटाले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् भने एउटा विधेयक फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुख देवकाेटाले बिहीबार प्रदेश सभाबाट पारित भएकाे प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश सभाको ७ असोज २०८१ को बैठकबाट पारित भई १८ असोज २०८१ मा प्रमाणीकरणको लागि नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्राप्त भएकाे उक्त विधेयकहरु संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएकाे हाे । प्रमाणीकरण भएकाे विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनकाे रुपमा लागू हुनेछ ।
यसैगरी प्रदेश प्रमुखले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको प्राप्त “प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक” नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम पुनर्विचारकाे लागि प्रदेश सभामा फिर्ता गरेका छन् ।
बिहीबार प्रदेश प्रमुख देवकाेटाले प्रदेश सभा सभामुखलाई सम्बाेधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएकाे विधेयक सभामा छलफल गरी संसाेधनसहित पारित भइ पुनः प्रमाणीकरणकाे लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ ।
मकवानपुर । मकवानपुर प्रहरीले मनहरीबाट तास खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएकाे छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएकाे टोलीले बुधबार राति जुवा खेलिरहेको उनीहरुलाई नगद ४५ हजार रुपैयासहित नियन्त्रणमा लिएको हाे ।
प्रहरीले नगद तथा ताससहित मकवानपुर मनहरी ६ वस्ने ४७ वर्षीय रेशम तामाङ, २४ वर्षीय रविन मोक्तान, ५३ वर्षीय गोपीलाल मोक्तान, ४२ वर्षीय अशोक राई, ४० वर्षीय कृष्ण थिङ, ४० वर्षीय कृष्ण पाख्रिन, ४५ वर्षीय सन्तोष राई र ३३ वर्षीय विष्णु पाख्रिनलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
मनहरी गाउँपालिका वडा नम्वर ६ भुलचोकबाट हार जित हुने गरि जुवा खेलिरहेको अवस्थामा नगद ४५ हजार ४ सय ४५ सहित ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६९ औं प्रहरी दिवस, २०८१ विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
कार्यालयले मंगलबार र बुधबार दुई चरणमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । प्रहरी दिवस कार्यक्रमकाे पहिलो दिन मंगलबार श्रद्धाञ्जली तथा मृतक प्रहरीका परिवारलाई सम्मान कार्यक्रम गरेकाे थियाे । यसैगरी बुधबार विभिन्न विधामा उत्कृष्ट हुने, खेलकुद कार्यक्रममा उत्कृष्ट हुनेहरु र पुर्व प्रहरीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।
प्रहरी दिवस कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारको स्थापनासँगै प्रदेशको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा प्रदेश प्रहरीले काम गर्दै आइरहेको बताए । ‘प्रदेश प्रहरीलाई प्रभावकारी एवम् व्यवस्थित बनाउन सरकारले अभिभावकको भूमिका निर्वाह गर्दै आइरहेको छ’ उनले भने ।
यसैगरी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछानेले प्रहरीको साहस, लगनशीलता र समर्पणले नै सबैको हरेक क्षण सुरक्षित भएको बताए । ‘निलो पोशाकलाई सम्मान गर्दै विभिन्न चुनौतिको सामना, हरेक परिवर्तनको साक्षि, सशस्त्र द्वन्द, असहज परिस्थिति, प्राकृतिक विपद्, दुर्घटनामा पनि नागरिक सेवामा समर्पित रहदैं सदैव अग्रपक्तिंमा रहि मुस्कान सहितको सेवा दिदै अहोरात्र खटिरहने प्रहरी संगठनलाई बागमती प्रदेश सरकारको निरन्तर सहयोग र समन्वय रहि रहनेछ’ उनले भने ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्माले प्रदेशको शान्ति सु–व्यवस्थालाई मजबुत बनाउने कार्यमा बागमती प्रदेश सरकारबाट सहयोग भइरहेकाे बताए ।
उत्कृष्ट अनुसन्धानकतातर्फ काभ्रेस्थित इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरी, उत्कृष्ट विपद् व्यवस्थापकतर्फ जिल्ला प्रहरी काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्का र काभ्रे जिल्लास्थित ईलाका प्रहरी कार्यालय देविटारका प्रहरी हवल्दार शम्भु बोहरा पुरस्कृत भए ।
यसैगरी पुरस्कृत हुनेहरुमा उत्कृष्ट प्रहरी कार्यतर्फ हेटौंडास्थित प्रहरी चौकी रातोमाटेका प्रहरी हवल्दार सुरेन्द्र साह, उत्कृष्ट वाह्य प्रशिक्षकको रुपमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रहरी सहायक निरीक्षक कर्ण बहादुर तामाङ र उत्कृष्ट प्राविधिक जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्की रहेका छन् ।
यस्तै नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८१ मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नागरिक सहायता कक्षको उत्कृष्ट व्यवस्थापन गर्ने प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले र सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित नेपाल प्रहरी संगठनको सेवा प्रवाहलाई सरल, सहज र प्रवाहलाई प्रभावकारी बनाउन पुुर्याएको योगदानको कदर गर्दै रवि आचार्यलाई प्रशंंसा पत्र प्रदान गरिएको छ ।
नेशनल गोल्ड टेलिभिजन हेटौंडाका प्रबन्ध निर्देशक उज्वल चौलागाई, टिम टिभी हेटौंडाका प्रमुख रामशरण दुलाल, सिन्धुलीका पूर्वप्रहरी निरीक्षक राम बहादुर हायू र मकवानपुरका पूर्व प्रहरी सहायक निरीक्षक रामसिंह तामाङलाई कदरपत्रद्वारा सम्मानित गरिएको छ ।
यस्तै बागमती प्रदेश प्रहरीस्तरीय फूटबल, भलिबल, टेवलटेनिस, क्रिकेट, बास्केट बल, डोरीतान र ब्याडमिन्टन प्रतियोगितामा प्रथम तथा द्वितीय हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
यसैगरी प्रहरी दिवसकाे अवसरमा भएकाे रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित ४५ जनाले रक्तदान गरेका थिए । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मासहित ४१ जना पुरुष र ४ महिला कर्मचारीले रक्तदान गरेका हुन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे सरकारी अस्पताल हेटौंडा अस्पतालकाे टिकट मोबाइलबाटै बुकिङ गर्न सकिने भएको छ ।
अस्पतालले सेवाग्राहीको सहजताको लागि मोबाइलमार्फत टिकट बुकिङ सेवा गर्ने भएकाे हाे । यो सेवा १ कार्तिकबाट लागू हुने अस्पताल प्रशासनले जनाएको छ । यो सुविधा लागु भएसँगै अस्पतालको सेवा लिनको लागि लामो लाइनमा बस्नु नपर्ने भएको छ । अस्पतालले नगद वा स्वास्थ्य बिमा दुवै प्रणालीबाट टिकट बुकिङकाे गर्न सकिने व्यवस्था गरेको जनाएकाे छ।
अस्पतालको नयाँ प्रणालीअनुसार, बिरामीले मोबाइल एपमार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन्। यसका साथै परिवारका अन्य सदस्यका लागि पनि यस एपमार्फत टिकट लिन सकिनेछ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार, जाँच गर्नुपर्ने मिति भन्दा अघिल्लो रात १२ बजेभित्रै टिकट बुकिङ गरिसक्नुपर्नेछ । जाँच हुने दिन बिहान टिकट बुक गर्ने सुविधा भने हाललाई उपलब्ध छैन ।
पुराना बिरामीले अस्पतालको आईडी प्रयोग गरेर पुनः जाँच गराउन सक्नेछन् भने नयाँ बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर टिकट बुकिङ गर्न सक्नेछन् । यो सेवाले अस्पतालमा आउने बिरामीलाई लामो लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउने बताइएको छ । बिरामीले एपमार्फत ल्याब रिपोर्ट पनि सजिलै हेर्न र डाउनलोड गर्न सक्ने प्रशासनले जनाएको छ । हेटौंडा अस्पतालले यो सेवा सुरु गरेर बिरामीलाई थप सुविधा दिने र स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
कसरी लिने सेवा ?
मोबाइलबाट टिकट बुकिङ गर्न अस्पतालको आधिकारिक वेबसाइटमा गएर एप डाउनलोड गर्नुपर्छ । त्यसपछि, आफ्नो मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्नेछ । दर्ता गरेपछि कुन विभागमा जाँच गराउने, कुन चिकित्सक छनोट गर्ने र कुन मितिमा जाँच गर्नुपर्ने हो भन्ने जानकारी भरेर टिकट बुक गर्न सकिन्छ ।
यदि नगदमा जाँच गराउन चाहिएको भए ‘Pay Now” मा क्लिक गरेर भुक्तानी गर्न सकिन्छ । बिमा भएका बिरामीले आफ्नो बिमा नम्बर राखेर स्वास्थ्य बिमाको सेवा लिन सक्नेछन् । एक पटक टिकट बुक गरेपछि बिरामीले अस्पतालमा उपस्थित भइ काउन्टरबाट कार्ड लिनुपर्नेछ ।
स्टेप 01: यो QR Scan गर्नुहोस् वा https://bit.ly/3pBt30i जानुहोस्, हस्पिटल लिस्ट (अस्पताल सूची) मा हेटौंडा अस्पताल छान्नुहोस् र download गर्नुहोस्।
स्टेप 02: निवेदनमा आफ्नो मोबाइल नम्बर राखी दर्ता गर्नुहोस ।
स्टेप 03: तपाइँले चाहनु भएको बिभाग (कुन बिभागमा जचाउन पर्ने हो) सो छान्नुहोस् ।
स्टेप 04: चिकित्सकको नामावली भएमा सो समेत छान्नुहोस् ।
स्टेप 05: आफुलाई जचाउन पर्ने दिनको मिति छान्नुहोस् ।
स्टेप 06: तपाइँ यो अस्पतालको नयाँ वा पुरानो कुन बिरामी हुनुहुन्छ छान्नुहोस्, पुरानो भएमा अघिल्लो पटक जचाएको कार्ड हेरी तहाँ भएको हस्पिटल ID राख्नुहोस् ।
स्टेप 07: नयाँ बिरामीले आवश्यक सम्पूर्ण विवरण भर्नुहोस् । यसै १ एप मार्फत परिवारको सम्पूर्ण सदस्यको व्यक्तिगत विवरण भरि आवश्यक परेको खण्डमा जो व्यक्तिलाई चाहिएको हो, सोहि व्यक्ति/बिरामीको लागि टिकट लिन मिल्ने छ ।
स्टेप 08: नगदबाट जाँच गराउने हो भने Pay Now मा क्लिक गरि आफुलाई पायक पर्ने Payment Gateway छानेर पैसा तिर्नुहोस, वा नेपाल सरकारको स्वास्थ्य बिमा अन्तर्गत भए “म स्वास्थ्य बिमा कार्यक्रममा अनुबन्धित छु भनि स्वघोसणा गर्दछु” मा क्लिक गरि आफ्नो बिमा नम्बर राख्नुहोस् । बिमा नम्बर आफ्नो बिमा कार्डको माथिल्लो दायाँ पट्टि QR Code को तल रहेको हुन्छ । यो सुबिधा प्रयोग गर्न बिरामी वा बिमितको प्रथम सेवा बिन्दु “Hetauda Hospital”/ हेटौंडा अस्पताल अनिवार्य हुन पर्ने छ, नहुने बिरामीले रिफर कागजपत्र सहित यस अस्पतलमा नै गएर दर्ता गर्नु पर्ने छ ।
स्टेप 09: अब आफूले छानेको मितिमा उक्त टिकट लिएको विवरण बताई अस्पतालको काउन्टरबाट कार्ड लिन सक्नु हुनेछ । बिमाको हकमा बिमा कार्ड, र नगदको हकमा बिरामीको नाम र दर्ता गरेको मोबाइल नम्बर आवश्यक हुनेछ। कार्ड लिनको लागि टोकन लिन पर्दैन भने ओपिडिमा चिकित्सक रहने समय भित्र पुगी कार्ड लिन सकिन्छ ।