मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाएको छ।
खाेलाले बगाउँदा कक्षा २ मा अध्ययनरत राक्सिराङ–१ की ८ बर्षिया रोशनी स्याङतानको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कक्षा ६ मा अध्ययनरत १३ वर्षीय सिमा बोलनकाे घाइते अवस्थामा उद्धार गरिएकाे छ । यसैगरी कक्षा ५ मा अध्ययनरत ११ बर्षिया सुमित्रा भुलुन र कक्षा ७ मा अध्ययनरत बिनिता भुलुनकाे वेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
हेटौंडा १९ बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरू मंगलबार पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। रात बढ्दै जाँदा खोलाले बगाएको विद्यार्थीको खोजीमा समस्या भएको बताइएकाे छ ।
मुख्य न्यायाधीश, रजिस्ट्रारको ४ जना परिवार सहित ६ जना सवार स्कारपियो भिरबाट खस्यो
मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउपालिका ६ जुरीखेत भिरबाट स्कारपियो खस्दा ६ जना घाइते भएका छन् ।
जसमा एकै परिवारका ४ जना रहेका छन् ।
काठमाडौबाट बिरगंजतर्फ आउदै गरेको उच्च अदालत बिरगंज पर्साको मुख्य न्यायधीश, रजिष्टार र गाडि चालक सहित ६ जना सवार प्रदेश ३-०१-००२ झ ५१८३ नं. को स्कारपियो गाडी अनियन्त्रित भई सडकदेखी अन्दाजी ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख श्याम खत्रीले बताउनुभयो ।
घाईतेहरुमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ । रजिस्ट्रारको श्रीमती अन्दाजी ४९ बर्षिया लक्ष्मी बडुको टाउको र शरिरको विभिन्न भागमा चोट लाग्दा अवस्था गम्भिर रहेको छ ।
अन्यको अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहुनेहरूमा मुख्य न्यायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अन्दाजी ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोटलागेको छ ।
रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अन्दाजी ५१ को तारादत्त बडुको शरिरको विभिन्न भागमा चोट लागेको छ ।
रजिस्ट्रार कै छोरा वर्ष अन्दाजि २५ को रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ । रजिस्ट्रार कै छोरी अन्दाजी ३१ कि रिता बुडको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
चालक दाङ जिल्ला राप्ति न.पा. ८ बस्ने वर्ष अन्दाजी ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
उनीहरुको अवस्था मध्यम रहेको बताईएको छ
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक र रजिष्टारलाई थप उपचारको लागि हेटौडा अस्पताल ल्याईएको र बाँकी ४ जना घाईतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि छाउनी अस्पताल काठमाडौ पठाएको छ ।
मकवानपुर । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको छ ।
आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ । साथै, यसरी नागको पूजा गर्दा अग्नि, मेघ र चट्याङको डरबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ ।
शास्त्र अनुसार अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागहरूको पूजा गर्ने विधान छ । श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ ।
पौराणीक कथन अनुसार नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले पानीको मुल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् । हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पुजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।
हिन्दू धर्ममा सर्पको पूजाको महत्वबारे धेरै किंवदन्तीहरू छन् । तिनिहरूलाई लोककथाहरू वर्णन गरिएका छन्। पुराण र महाभारतका अनुसार, विश्वव्यापी सृष्टिकर्ता भगवान ब्रह्माका नाति कश्यपले प्रजापति दक्ष, कद्रु र विनाताका दुई छोरीहरूसँग विवाह गरेका थिए। त्यसपछि काद्रुले नाग जातिलाई जन्म दिइन् भने विनताले सूर्यदेवकी सारथी बनेकी अरुणालाई जन्म दिइन् र विष्णुको वहान बनेका महान् चील गरुडलाई पनि जन्म दिइन्।
अनंतं वासुकीं शेषं पद्मनाभं च कंबलम्
शंखपालं धृतराष्ट्रं च तक्षकं कालियं तथा
एतानि नव नामानि नागानाम् च महात्मन:
सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत:
तस्य विषभयं नास्ति सर्वत्र विजयी भवेत्
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ स्थित कालीलेक सामुदायिक वन उपभोक्ता समूहले ५५ वटा फलफूलको बिरुवा रोपिएको छ ।
वन संरक्षणसँगै कृषकको बालीमा बाँदरको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले फलफूलको बिरुवा रोपिएको हो । समूहको आफ्नै लगानीमा विभिन्न फलफूल तथा बहुउपयोगी प्रजातिका ५५ वटा बिरुवा रोपिएको समूहका उपाध्यक्ष नवीन बिष्टले जानकारी दिए।
बिष्टका अनुसार बाँदरको प्रकोप नियन्त्रण गर्न तथा वन्यजन्तुलाई वनमै आहारको व्यवस्था गर्ने उद्देश्यले वन क्षेत्रमा फलफूलका बिरुवा रोपिएको हो । अमला, फलिट, कटहर, अम्बा, जामुन, इमिली, हर्रो र बर्रो लगायतका प्रजातिका बिरुवा रोपिएका छन् । वन क्षेत्रमा फलफूलका बिरुवा हुर्किएसँगै वन्यजन्तुले आवश्यक आहार वनमै प्राप्त गर्ने र आसपासका बस्ती तथा खेतीबालीमा हुने क्षति कम हुने समूहको अपेक्षा छ।
‘समूहले आफ्नै लगानीमा फलफूलका बिरुवा खरिद गरी रोपण गरेको हो। अन्य सामुदायिक वन उपभोक्ता समूहहरूले पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ उपाध्यक्ष बिष्टले भने ‘यस्ता कार्यक्रमलाई स्थानीय सरकारले समेत प्रोत्साहन गर्न आवश्यक छ।’
समूहले वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण, सिँचाइ तथा नियमित हेरचाहमा समेत ध्यान दिने जनाएको छ। कार्यक्रमले वन संरक्षण, जैविक विविधताको संरक्षण तथा स्थानीय कृषकको बाली जोगाउन योगदान पुग्ने विश्वास गरिएको छ।
सेवा सुरु भएको पहिलो दिनमै मंगलबार शल्यक्रियामार्फत जन्मिएका दुई नवजात शिशुलाई एनआइसीयूमा भर्ना गरी उपचार थालिएको अस्पतालका बालस्वास्थ्य विशेषज्ञ डा. हरिबहादुर खड्काले जानाकारी दिए । एनआइसीयूमा जन्मिएको २८ दिनसम्मका नवजात शिशुको जटिल अवस्थाको उपचार गरिनेछ ।
यसअघि एनआइसीयू सुविधा नहुँदा जोखिमयुक्त नवजात शिशुलाई थप उपचारका लागि चितवन वा काठमाडौं लैजानुपर्ने अवस्था थियो । अस्पतालमै एनआईसीयू सेवा सुरु भएकाले नवजात शिशुको जटिल अवस्थाको उपचारका लागि अन्यत्र लैजानु नपर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एव हेटौंडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाईंले बताए ।
एनआइसीयूसँगै अस्पतालमा १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाको जटिल अवस्थाको उपचारका लागि आठ बेडको बाल सघन उपचार कक्ष (पीआइसीयू) पनि संचालनमा ल्याइएको उनले बताए । बागमती प्रदेश सरकारको ३ करोड ७२ लाख बजेटबाट एनआइसीयू र पीआइसीयू सञ्चालनमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता उत्सव चौलागाईले बताए ।
डा. खड्काका अनुसार एनआइसीयू सञ्चालनपछि गर्भवतीले प्रसूति सेवाका लागि हेटौंडा अस्पताल रोज्ने क्रम बढ्ने अपेक्षा गरिएको छ । नवजात शिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेपछि स्थानीयस्तरमै सुरक्षित प्रसूति तथा बाल उपचार सेवा विस्तार हुने उनको भनाइ छ ।
एनआइसीयू संचालनका लागि चार जना मेडिकल अधिकृत, १८ जना स्टाफ नर्स, चार जना स्वीपर र दुई जना सुरक्षागार्ड परिचालन गरिएको छ । अस्पतालले थप दुई जना बालस्वास्थ्य विशेषज्ञ नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ । हेटौंडा अस्पतालमा हाल २४ बेडको बालबालिका वार्ड, चार बेडको स्पेशल नियोनेटल केयर युनिट र चार बेडको पोषण पुन स्थापना केन्द्रसमेत संचालनमा छन् ।
एक महिनाअघि हेटौंडा अस्पतालमा करिब ४ करोडको लगानीमा १६ वटा वटा हेमोडाइलायसिस मेसिन खरिद गरेर दैनिक ६० जना विरामीलाई डायलासिस सेवा दिँदै आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संचालन हुँदै आएको प्रादेशिक हेटौंडा अस्पतालमा आठ वटा आइसीयू छन् ।
अस्पतालमा अहिले १२ जना विशेषज्ञसहित १०९ जना चिकित्सक कार्यरत छन् । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचार गरेर ५ सय ४७ जना कार्यरत छन् । यो अस्पतालमा गत आवमा ३ लाख २५ हजार ६ सय जनाले सेवा लिएका थिए । दैनिक १ हजार ७ सयदेखि १ हजार ८ सय जनाले अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । गत आवमा उक्त अस्पतालमा ३ हजार ५ सय ६ जना सुत्केरी भएका थिए । तीमध्ये २ सय ३९ जना २० वर्षमूनिका थिए ।