मकवानपुर । मकवानपुर जिल्लाकाे विभिन्न स्थानमा भएकाे घटना ५ जना घाइते भइका छन् । शनिबार गैडाकाे आक्रमणबाट १ जना, चट्याङ्क लागेर ३ जना र रुखबाट लडेर १ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्लाकाे मनहरी गाउँपालिका ६ खयरघारी मरुङगे ताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक वनमा घास काट्न गएका ३५ वर्षीय राम दिनेश कुशवार गैडाको आक्रमणबाट घाईते भएका हुन् । उनलाई उपचारको लागी भरतपुर चितवन सरकारी अस्पताल पठाएको छ भने दाहिने खुट्टामा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएकाे छ ।
यसैगरी जिल्लाकाे मकवानपुर मनहरी गाउँपालिका ६ रुपाचुरीमा चट्याङ्ग लागेर ३ जना घाइते भएका छन् । शनिबार स्थानीय मंगल मुक्तानकाे घर नजिकै हावाहुरी सहित पानी परेको समयमा चट्याङ लागि ३८ वर्षीय मंगलसहित उनका छोरा १८ वर्षीय कल्सान मुक्तान र मंगलकाे बहिनी नाता पर्ने २७ वर्षीय कालि बल घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घाइते तीनै जनाकाे अवस्था मध्यम रहेकाे छ भने उपचारकाे लागि भरतपुर अस्पताल लगिएकाे छ ।
यस्तै जिल्लाकाे बागमती गाउँपालिका वडा नम्बर २ आहाल डाँडामा रुखबाट लड्दा १ जना घाइते भएका छन् । स्थानीय ५५ वर्षीय बिर बहादुर लोप्चन खनिउको रुखमा चढी बिजुलीको तार तान्ने क्रममा लडी घाईते भएकाे प्रहरीले जनाएकाे छ । हेटौंडा अस्पतालमा उपचारको ल्याइएका लोप्चनकाे अवस्था मध्यम रहेकाे बताइएकाे छ ।
मकवानपुर । साहित्यकार माया ठकुरीसहित ११ जना हेटौंडामा सम्मानित भएका छन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले शनिबार ठकुरीसहित ११ जना व्यक्तित्वलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको हाे ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८१ बाट काठमाडौंका साहित्यकार ठकुरी सम्मानित भएकी छिन् । २५ हजार रुपैंया राशीकाे पुरस्कारबाट ठकुरी सम्मानित भएकी हुन् । यसैगरी भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८१ बाट गायक हेमन्त शर्मा (रुपन्देही) सम्मानित भएका छन् । भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८१ कलाकार भोलाराज सापकोटा (मकवानपुर) लाई प्रदान गरिएकाे छ भने भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८१ पत्रकार ठाकुर बेल्वासे (काठमाडौं) लाई प्रदान गरिएकाे छ । उक्त पुरस्कारहरुकाे राशी जनही २५/२५ हजार रुपैंया रहेकाे छ ।
वरिष्ठ कलासाधक भीम विराग सक्रिय रहेकाे साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटै क्षेत्रलाई समेटेर हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले उल्लेखित पुरस्कार गत वर्ष स्थापना गरेको हाे । यस वर्षबाट प्रतिष्ठान उक्त पुरस्कार प्रदान गरेको हाे । यस्तै प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई प्रदान गर्दै आइरहेका विभिन्न ७ वटा पुरस्कार तथा सम्मान समेत शनिबार प्रदान गरेकाे छ ।
तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८१ बाट महिला उद्यमी शोभा श्रेष्ठ (मकवानपुर) सम्मानित भएकी छिन् । समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ । यसैगरी भीम–मथुरा बाल प्रतिभा पुरस्कार, २०८१ विद्यार्थी रितिका छत्कुली (मकवानपुर) लाई प्रदान गरिएकाे छ । विन्दुगोपाल गोर्खालीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ ।
यसैगरी शिला नारी पुरस्कार, २०८१ बाट महिला उद्यमी मेनका श्रेष्ठ (मकवानपुर) सम्मानित भएकी छिन् । आशीष श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ । यस्तै रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८१ बाट लाेक दोहाेरी गायक कुलेन्द्र विश्वकर्मा (पर्वत) सम्मानित भएका छन् । चुनु बानियाँले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी २० हजार रुपैंया रहेकाे छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८१ बाट साहित्यकार दीपक गौतम (मकवानपुर) सम्मानित भएका छन् । रामबहादुर पाख्रिनले स्थापना परेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ ।
मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८१ बाट स्वास्थ्यकर्मी निर्मला ब्लोन (मकवानपुर) सम्मानित भएकी छिन् । देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ । अजित सेन- कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार, २०८१ बाट दृष्टीविहीन मेकानिक सुदर्शन ढकाल (मकवानपुर) सम्मानित भएका छन् । रोशन सेन गुप्ता स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ ।
सम्मानित व्यक्तित्वहरुलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजले तथा पुरस्कार संस्थापकहरुले नगर पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार तथा सम्मान कार्यक्रमकै दिन शनिबार प्रतिष्ठानको कोष वृद्धिको उद्देश्यले गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति सहितको साङ्गीतिक कार्यक्रम समेत आयोजना गरिएकाे थियाे । गायक द्वयले आफ्ना लाेक प्रीय गीतहरु प्रस्तुत गरेका थिए ।
वरिष्ठ कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरुप ७ भाद्र २०५९ भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल स्थापना भएकाे हाे । नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा देश तथा विदेशमा रही उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान गर्दै आइरहेको प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबलकाे उपाधी हेटौंडा १८ मा रहेकाे ज्योति माध्यमिक विद्यालय हर्नामाडीले हात पारेकाे छ । शनिबार भएकाे फाइनलमा हेटौंडा ९ स्थित प्रगति माविलाई हराउँदै ज्यातिले उपाधी जितेकाे हाे ।
शनिबा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भलिबल कोर्टमा भएको प्रतियोगितामा उपाधिका लागि प्रगति मावि र ज्योति माविबीच फाईनल खेल भएकाे थियाे । फाइनलमा ज्याेति मावि हर्नामाडीले प्रगति माविलाई २५-१५, २६-२४ र १५-१२ काे सेटमा हराउँदै उपाधी हात पारेकाे हाे । उपाधी विजेता सँगै ज्योतिले ७ हजार रुपैंया नगद र मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
यसैगरी उपविजेता प्रगति ५ हजार रुपैंया नगद, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । ज्याेतिकी शाेभाकुमारी आचार्य वेस्ट प्लेयर (उत्कृष्ट खेलाडी) घाेषित भई ट्रफी हात पारिन् । त्यस्तै तृतीय स्थानकाे लागि भएकाे खेलमा चन्द्राेदय मावि हेटाैंडा-८ ले कृष्ण आवि हेटौंडा-६ लाई साेझाे सेटमा परानीत गर्यो । कृष्ण आविलाई २५-१७ र २५-१९ काे सेटमा हराउँदै तृतीय स्थान प्राप्त गरेकाे चन्द्राेदयले ३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । सान्त्वना हुदै कृष्ण आविले १ हजार नगद र प्रमाणपत्र प्राप्त गर्याे ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाकाे आयोजनामा भएकाे प्रथम नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितामा हेटौंडाका १० सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए । विजेता तथा सहभागी विद्यालयका खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १८ का वडाध्यक्ष अनिल कुमार बानियाँ, १६ नम्बर वडाध्यक्ष रामकृष्ण काेईराला, ११ नम्बर वडाध्यक्ष जुना दाहाल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, ८ नम्बर वडाध्यक्ष रामकृष्ण थापा, राष्ट्रिय परीक्षा बाेर्ड हेटौंडाका प्रमुख कृष्ण घिमिरे, आधुनिक माविका प्रअ रामसागर गुरागाँई लगायतले पुरस्कार वितरण गरेका थिए ।
मकवानपुर । नेपाली सेनाले राष्ट्रको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेकाे बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । महाशिवरात्री तथा २६२ औं नेपाली सेना दिवशको उपलक्ष्यमा आयोजित विविध सैनिक प्रदर्शनी-वाकथुन तथा एडभेन्चर च्यालेन्ज (Adventure challenge) प्रतियोगिता २०८१ कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएको हो ।
गौरवशाली इतिहास बोकेको नेपाली सेनाले साथै देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउदै आएको उहाँले बताउनु भयो । ‘सेनाले राष्ट्रलाई पर्न आउने बिभिन्न विपत्ती, जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आईरहेको छ’ उहाँले भन्नु भयो । जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका हरेक कुनाकाप्चामा जनहीतका कार्यहरु गर्दै, आफ्नो ज्यानको पर्वाह नगरी जनरक्षाको लागी नेपाली सेना निरन्तर खटि रहेकोमा सेनाको योगदानको उच्च करद उहाँले गर्नुभयो ।
‘प्रदेश स्तरमा आयोजना गरिएको यस वाकथुन तथा एडभेन्चर च्यालेन्ज (Adventure challenge) प्रतियोगिता-२०८१ कार्यक्रमले बागमती प्रदेशमा रहेका जनताहरुलाई नेपाली सेनाबारे जान्ने बुझ्ने अवसर प्रदान गरी नेपाली सेना प्रति रहेको जनताको अपनत्वमा अझ वृद्धि हुनेछ’ उहाँले भन्नुभयो ‘अनेकता विचको एकताको प्रतिकको रुपमा नेपाली सेनाले पाईरहेको जनताको साथ र सहयोगमा समेत वृद्धि भएको देखिन्छ ।’ ‘आजको एडभेन्चर च्यालेन्ज प्रतियोगिताले युवा तथा विद्यार्थी भाईबहिनीका बाधा कठिनाईलाई हौसला, जोश, जाँगर र मानसिक तथा शारीरिक तन्दुरुस्तीले पार गर्न सकिन्छ भन्ने शिक्षा दिएको अनुभूति गरेको छु” उहाँले भन्नुभयो।
नेपाली सेना सम्बन्धी जानकारी दिने उद्देश्यले तयार गरिएका स्टलहरुले यस क्षेत्रमा रहेका जनताहरु त्यसमा पनि विशेष गरि विद्यार्थीहरुलाई नेपाली सेना सम्बन्धी ज्ञान हासिल गर्न सहज भएको महशुस गरेको उहाँले बताउनु भयो। कार्यक्रममा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, मध्य पृतनाका पृतनापती हरेन्द्र पाठक, प्रदेश सरकारका प्रमुख सचिव एवं, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख ज्यूहरु तथा वाहिनीपति, प्रदेश तथा मकवानपुर जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शुक्रबारबाट बकैया कला साहित्य महोत्सव सुरु भएको छ। झरनाकाे ३२ औ वार्षिकोत्सव तथा ३१३ औं साहित्य श्रृङ्खलाका अवसरमा बकैया गाउँपालिका- ५ कर्मचुलीस्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा छैटौं महाेत्सव सुरु भएकाे हाे ।
महाेत्सवकाे पहिलाे दिन बकैयाका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीच कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू समावेश भएका थिए । महाेत्सव उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले झरना साहित्यिक परिवारलाई आफूहरूले सधैँ नजिकबाट हेरिरहेको र यसको उन्नति-प्रगति चाहेको बताए ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. कपिल लामिछानेले महाेत्सवबाट आफू धेरै प्रभावित भएको बताए । आजको कार्यक्रम उत्साहजनक भएको उनकाे भनाइ थियो। दुई दिने बकैया कला साहित्य महोत्सव अन्तर्गत शनिबार भाेली स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तर्क्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहने झरनाका सचिव मसान उपासकले जानकारी दिए ।
झरनाले २०७६ सालबाट बकैया कला महोत्सव गर्दै आएकाे छ । हालसम्म झरनाले पाँचवटा बकैया कला साहित्य महाेत्सव, ३१२ वटा साहित्य शृङ्खला, ४३ औँ झरना साहित्यिक अर्धवार्षिक पत्रिका प्रकाशन, ८० वटा भन्दा बढि विद्यालयमा काव्य प्रशिक्षण, सय भन्दाबढी साहित्यकारलाई सम्मानित गरिसकेको उनले जानकारी दिए । हाल संस्थाको २ कठ्ठा जग्गा रहेकाे तथा भवन निर्माणकाे प्रक्रिया गरिएकाे बताइएकाे छ ।
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख अतिथ्यता तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कपिल लामिछानेको विशिष्ट अतिथ्यतामा सुरु महाेत्सवमा बकैया वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ६ का वडाध्यक्ष फुलमान भाेम्जन, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी तथा लोकेन्द्र माझी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतकाे उपस्थिति रहेको थियो।