मकवानपुर । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरकाे ३५३ औं साहित्य सन्ध्या संगीतमय भएकाे छ । शनिबार संगमले नियमित सन्ध्यमा विभिन्न स्थानीय कलाकारले सांगितिक प्रस्तुति दिएर सन्ध्यालाई संगीतमय बनाए ।
नियमित सन्ध्यामा स्वस्तिका बाँनिया, राज कुमार लामिछाने, स्वस्तिका दहाल, एसके निधन, राम कार्की, देवराज तिवारी, दिबिसा रुम्बा लगायतले रचना वाचन गरेका थिए । यसैगरी सांगितिक कार्यक्रम अन्तरगत सुस्केरा परिवार तथा विभिन्न स्थानीय कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । प्रमेन्द्र महर्जन, सुरेश न्यौपाने, डोल्मा लामा, राम कार्की, यादव श्रेष्ठ, मनोज साही, पुरुषोत्तम आचार्य लगायतले सांगीतिक प्रस्तुतीले कार्यक्रमकाे रौनक बढाएकाे थियाे ।
संगम अध्यक्ष डीबी बर्तौलाले नियमित सन्ध्या अन्तरगत बर्षकाे अन्त्यमा आयोजना हुने सन्ध्यामा साहित्यका अन्य विधाका साथै संगीतलाई पनि जोडिदै ल्याइएकाे बताए । वसन्त ऋतुकाे आगमन हुने चैत्र महिनामा सृजनाकाे उत्सव मनाउन सांगीतिक कार्यक्रम समेत सन्ध्यासँगै गर्ने गरिएकाे सचिव मनोज पाेखरेल जानकारी दिए ।
संगम अध्यक्ष डीबी बर्तौलाकाे सभाध्यक्षता तथा संगमका संस्थापक केशवलाल तौजलेकाे प्रमुख आतित्थता र कवि तुलसी घिमिरेकाे विशिष्ट आतित्थतामा भएकाे ३५३ औं सन्थ्यामा श्याम कुमार बानियाँ, देबराज खरेल, सुवास खनाललगायतकाे उपस्थिति रहेकाे थियाे । संगम उपाध्यक्ष सानु खनालले स्वागत गरेकाे कार्यक्रमकाे सहजीकरण सचिव पोख्रेलले गरेका थिए ।
चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवनको बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको शुक्रबार छड्के अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल सहित मन्त्री थापाले बकुलहर रत्ननगर अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले अस्पतालको सेवा प्रवाह, उपलब्ध स्रोत-साधन अवस्था तथा संरचनाको जानकारी लिए। अनुगमनपछि मन्त्री थापाले अस्पतालले आफ्नो क्षमता भन्दा बढी बिरामीको चाप भएपनी सेवा दिइरहेको बताए। उनले भने ‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं। प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं।’ स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देशन गर्ने, आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने उनले प्रतिबद्धता जनाए।
उनले डाक्टर तथा स्वास्थ्यकर्मीले एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिँदै अस्पताल व्यवस्थापनलाई यसमा थप ध्यान दिन आग्रह गरे। अनुगमनलाई नियमित बनाउने र सेवा बिस्तारलाई आवश्यक अध्ययनपछि मात्रै अघि बढाउने उनले जानकारी दिए । बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीको चाप बढी रहेको भन्दै मन्त्री थापाले सेवाको गुणस्तर कम हुन नदिने प्रतिबद्धता जनाए । अस्पताल व्यवस्थापनलाई बिरामीहरूको सुविधाका लागि प्रभावकारी योजना बनाउन समेत उनले निर्देशन दिए ।
सचिव डा. गौतमले अस्पतालको सेवामा केही सुधार देखिएको भन्दै सन्तोष व्यक्त गरिन् । उनले भनिन् ‘केही समयअघिको तुलनामा अहिले सेवा विस्तार भएको देखिन्छ, जुन सकारात्मक पक्ष हो। तर, अझै सुधार आवश्यक छ।’ प्रदेश सरकारको ध्यान स्वास्थ्य सेवा सुदृढीकरणमा रहेकाले आगामी दिनमा अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय बनाउने उनले बताइन् ।
चिकित्सा महाशाखा प्रमुख गेलालले टीम वर्क गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन्। अनुगमन टोलीले अस्पताल भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्ने मन्त्रालयले जनाएको छ । साथै, आँखा सेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरूसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना बनाइने बताइएकाे छ।
अस्पताल व्यबस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्य र मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले मन्त्रालयको सुझाव र निर्देशन अनुसार सेवा बिस्तार तथा सुधार गर्दै लगिने बताएका छन् ।
मकवानपुर । विद्यार्थी जीवनको शिक्षाको आधार भनेर परिभाषित गरिदै आएको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएकाे छ । मकवानपुर जिल्लाका २८ वटा केन्द्रमा साधारण, प्राविधिक र ग्रेडवृद्धि तर्फ गरी १५६ जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन् ।
यस वर्ष मकवानपुरबाट साधारण, प्राविधिक र ग्रेडवृद्धिका गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले एसइईकाे लागि फर्म भरेकाेमा १५६ जना अनुपस्थित रहेकाे शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएकाे छ । साधारण तर्फ ५ हजार ५६७, प्राविधिक तर्फ २२० तथा ग्रेड वृद्धि तर्फ ४५६ जना एसइईमा सहभागी भएकाे इकाईले प्रकाशित तथ्याङ्कमा उल्लेख छ ।
साधारण तर्फ २ हजार ९०८ जना छात्र र २ हजार ६५९ जना छात्रा परीक्षामा सहभागी भए भने ३५ जना छात्र र २८ जना छात्रा परीक्षामा अनुपस्थित भएका छन् । यस्तै प्राविधिक धार तर्फ १०८ जान छात्र र ११२ जना छात्रा परीक्षामा सहभागी हुदाँ ४ जना छात्र र ३ जना छात्रा अनुपस्थित रहेका छन् । यसैगरी ग्रेड वृद्धि तर्फ १९३ जना छात्र र २६३ जना छात्रा परीक्षामा सहभागी हुँदा ४४ जना छात्र र ४२ जना छात्रा अनुपस्थित रहेकाे इकाईले जनाएकाे छ ।
मकवानपुरको भिमफेदीमा रहेको क्षेत्रीय कारागारबाट ६ जनाले एसइई परीक्षा दिएका छन् । विभिन्न कसुरमा जेल जीवन भोगिरहेका ६ जना कैदीबन्दीले भीमफेदी कारागारबाट यस वर्ष एसईई दिएका हुन् । उनीहरुले परीक्षाको पहिलो दिन बिहीबार भीमफेदी कारागारमै बसेर परीक्षा दिए । सवारी ज्यान, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदी एसइई परीक्षामा सहभागी भएको कारागारका जेलर तिर्थराज पौडेलले बताए ।
हेटौंडा उपमहानगरपालिका—२ स्थित सिद्धार्थ माविबाट एसईई फाराम भरेका कैदीबन्दीहरुले जेलभित्रबाटै परीक्षा दिने व्यवस्था मिलाइएको थियाे । सुरक्षाकर्मीको समन्वयमा सिद्धार्थ माविका शिक्षकले नै उत्तरपुस्तिका र प्रश्नपत्र कारागार पु¥याएका दिए । यसैगरी मकवानपुरको हेटौंडा ११ मा रहेको बाल सुधार गृहका २ जना बालकहरु पनि परीक्षमा सहभागी भएका छन् ।
मकवानपुरमा एसइईकाे लागि २८ वटा परीक्षा केन्द्र तोकिएकाे शिक्षा समन्वय इकाई प्रमुख सुदिप गिरीले जानकारी दिए । गत वर्ष २६ वटा मात्रै परीक्षा केन्द्र तोकिएको मकवानपुरमा कैलाश गाउँपालिकाको नामटारस्थित कालिका माविमा साधारण तर्फ र हेटौंडाको श्रमिक माविमा प्राविधिक धारकाे लागि परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले बताए । कैलाश गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएसँगै मकवानपुरको सबै स्थानीय तहमा एसइईकाे परीक्षा केन्द्र कायम भएको छ ।
जिल्लामा एसइई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी परिचालन गरिएकाे इकाईले जनाएकाे छ । जिल्लामा सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसइईमा विद्यार्थी सहभागी भएका हुन् ।
बागमती गाउँपालिकाको जनता मावि फापरवारी केन्द्रमा ४ वटा विद्यालयका विद्यार्थी सहभागी भएका छन् । यसैगरी बकैया गाउँपालिका हात्तीसुडेस्थित बुद्ध मावि परीक्षा केन्द्रबाट ७ विद्यालयका, बकैयाकै महेन्द्र मावि छतिवन परीक्षा केन्द्रमा ६ विद्यालयका हेटौंडा उपमहानगरपालिका हटियाको जनप्रीय मावि परीक्षा केन्द्रमा ७ वटा विद्यालयका, महेन्द्र मावि भीमफेदी परीक्षा केन्द्रमा ५ विद्यालयका, थाहानगर पालिकास्थित जनकल्याण मावि पालुङ्ग परीक्षा केन्द्रमा ८ विद्यालयका, थाहा नगरकै मत्स्य नारायण मावि परीक्षा केन्द्रमा ३ विद्यालयका, सरस्वती बालबोधनी मावि मार्खु परीक्षा केन्द्रमा ५ विद्यालयका, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी मावि परीक्षा केन्द्रमा ४ विद्यालयका मनहरीकै महेन्द्र किरण मावि ज्यामिरे परीक्षा केन्द्रमा ४ वटा विद्यालयका हेटौंडा बसामाडीस्थित महेन्द्र किरण मावि केन्द्रमा ३ वटा विद्यालयका, हेटौंडा १९ बस्तिपुरको निर्मल मावि परीक्षा केन्द्रमा ७ वटा विद्यालयका परीक्षार्थी सहभागी भए ।
यसैगरी हेटौंडा ६ स्थित वंशगोपाल मावि चौघडा परीक्षा केन्द्रमा ३ वटा विद्यालयका, हेटौंडाकै आधुनिक मावि परीक्षा केन्द्रबाट ८ वटा विद्यालयका, बालज्योति मावि हेटौंडा पिप्ले परीक्षा केन्द्रमा ३ वटा विद्यालयका, हेटौंडा १० ज्ञानदा मावि परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका, हेटौंडा ४ स्थित भुटनदेवी मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका, हेटौंडा २ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका विद्यार्थीले एसइईमा सहभागी भए । मकवानपुरका २ वटा संस्थागत विद्यालयमा समेत एसइईको परीक्षा केन्द्र निर्धारण गरिएकोमा हेटौंडा ५ स्थित जीएस निकेतन परीक्षा केन्द्रबाट ३ वटा विद्यालयका, हेटौंडा १० स्थित सोलिड्यारिटी इङ्गलिस एकेडेमी परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका परीक्षार्थी सहभागी भए ।
यस्तै हेटौंडा ९ स्थित प्रगति मावि परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका, थाहा नगरपालिका स्थित बज्रवाराही मावि परीक्षा केन्द्रबाट ७ वटा विद्यालयका, हेटौंडा १ स्थित अमर मावि परीक्षा केन्द्रबाट २ वटा विद्यालयका, मकवानपुरगढी ६ स्थित जालपादेवी मावि परीक्षा केन्द्रबाट ६ वटा विद्यालयका, हेटौंडा ८ स्थित चन्द्रोदय मावि परीक्षा केन्द्रबाट ६ विद्यालयका, प्रजा जागृति मावि राक्सिराङ परीक्षा केन्द्रबाट ५ वटा विद्यालयका, कैलाश गाउँपालिका–९, नामटारस्थित कालिका मावि परीक्षा केन्द्रमा ५ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भए ।
यस्तै प्राविधिक तर्फका परीक्षार्थीहरुको लागि थप गरिएको हेटौंडा ४ स्थित श्रमिक मावि परीक्षा केन्द्रबाट १० वटा विद्यालयका नियमिततर्फ तथा ग्रेडवृद्धितर्फका विद्यार्थीले परीक्षा दिएका छन् ।
मकवानपुर । लघु, घरेलु तथा साना उद्योगहरू देशको अर्थतन्त्रको बलियो जग भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नेपालको लघु, घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धन र संरक्षणका लागि समर्पित राष्ट्रिय स्तरको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कैलाली जिल्लाको २३ ओँ बार्षिक साधारणसभा एवं ११ औं जिल्ला सम्मेलनमा बोल्नु हुँदै बुधबार उहाँले यस्ताे बताउनु भएकाे हाे ।
स्थानीय स्रोत साधन र कच्चा पदार्थको प्रयोग, कृषि र उद्यमको परस्पर निर्भरता, स्वरोजगार तथा रोजगारी सिर्जनामार्फत् गरीबी निवारण र आत्मनिर्भरतालाई साना तथा घरेलु उद्योगले बढावा दिएको उहाँले बताउनु भयाे । कृषि क्षेत्रले ग्रहण गर्न नसक्ने जनशक्ति साना उद्योगमा प्रयोग गर्न सकिने उहाँले बताउनु भयाे ।
जब औद्योगिक विकासको कुरा आउँछ, ठुला र मझौला उद्योगको प्रबर्द्धनमा जोड दिनुपर्ने उहाँले बताउनु भयाे । नेपाल जस्तो विकासोन्मुख देशमा ठुला उद्योगको दाँजोमा साना तथा घरेलु उद्योग नै प्रभावकारी रहेकाे उहाँले बताउनु भयाे । वैदेशिक रोजगारीमा गएका नेपाली विविध कारणले देश फिर्ता आउनुपर्ने समय अहिलेको विश्व परिस्थिति हेर्दा अनुमान गर्न सकिने उहाँले बताउनु भयाे ।
‘अग्ला हिमाल चढ्नुपूर्व साना /साना हिमाल आरोहण अनिवार्य भए जस्तै औद्योगिक छलाङ्ग मार्न साना तथा घरेलु उद्योग विकासमा जोड दिनुपर्दछ’ उहाँले भन्नुभयाे । साना तथा घरेलु उद्योग स्थापना र बिस्तारमा थुप्रै चुनौतिहरू बिद्यमान रहेकाे उहाँले बताउनु भयाे । पूंजी, कच्चापदार्थ, प्रविधि, दक्ष जनशक्ति, बजारीकरण र नीतिगत तहका समस्याहरूसङ्ग जुझ्नुपर्ने उनले बताए ।
‘स्टार्टअप र निरन्तरता अथवा टिकाउ दुबै पक्षमा विभिन्न अवरोधहरू आउँछन् तर सरकार वा कमजोर नीति नियम भन्दै दोष थुपारेर बस्नुहुदैन’ उहाँले भन्नुभयाे । व्यवसायिक यात्रा निकै चुनौतीपूर्ण हुने तर आत्तिन नहुने उहाँले सुझाव दिनुभयाे । उत्पादीत वस्तुमा सुपथ मूल्य र गुणस्तर कायम गर्न सक्नुपर्ने उहाँले बताउनु भयाे ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोईनसहित ६ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौंडा उपमहानगरपालिका ८ र हेटौंडा १० बाट एकैदिन प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।
हेटौंडा ८ ओमनगरस्थित रनिश थापाको घरबाट लागूऔषध खैरो हेरोईनसहित ३ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मंगलबार ३७ वर्षीय रनिशसहित ३५ वर्षीय सुनिल खड्गी र हेटौंडा–१५ का ३२ वर्षीय धन सिंह वाईबालाई नियन्त्रणमा दिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुको साथबाट २ ग्राम २९० मिलि ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरेको थियो ।
यस्तै हेटौंडा–१०, न्युरेनीस्थित हुम बहादुर थापा मगरको घरबाट लागूऔषध खैरो हेरोईन कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले मंगलबार नै ४३ वर्षीय हुम बहादुर हेटौंडा–२ चौकीटोलका २४ वर्षीय बिजय आले मगर तथा हेटौंडा–१८ का २० वर्षीय रविन सुनारलाई नियन्त्रणमा लिइएकाे हाे ।
प्रहरीले उनिहरुको साथबाट १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको जनाएको छ । लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।