मकवानपुर । मकवानपुरकाे हेटौंडामा २८ बैशाख (आज) बाट प्रदेश युवा सम्मेलन हुँदैछ । ३० बैशाखसम्म हुने प्रदेश युवा सम्मेलनमा नीति निर्माण, सिप तथा उद्यम र प्रविधिमा युवाहरूको भूमिका र अवस्थाका विषयमा छलफल गरिने छ ।
प्रदेश युवा परिषद्ले आयोजना गर्ने तस्राे सम्मेलनमा बागमती प्रदेशसहित अन्य प्रदेशका ३०० बढी युवाको प्रत्यक्ष सहभागिता रहने परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले बताए । बागमती प्रदेश सहित अन्य प्रदेशबाट युवाहरूको सहभागिता रहने गरी कार्यक्रम तयारी गरिएको उनले बताए ।
सम्मेलनमा प्रदेशका ५० स्थानीय तहबाट युवा उद्यमीहरूको सहभागिता रहने छ भने सम्मेलनमा सहभागिताका लागि प्रदेश युवा परिषद् गठन भएका सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ५/५ जना र परिषद् गठन नभएका प्रदेशबाट सामाजिक विकास मन्त्रालयको सिफारिसमा १०/१० जना युवाहरूलाई सहभागी गराइने भएकाे छ । यी बाहेक अनलाइन मार्फत १५० जना सहभागी छनौट गरिएको चौलागाईंले जानकारी दिए ।
सम्मेलनले प्रदेश स्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उनले बताए । परिषद्ले २०७८ मा गरेको सर्वेक्षणमा युवाले नीति संवादको प्लेटफर्मको आवश्यकता महसुस गरेकाेले त्यसैकाे आधारमा युवा सम्मेलनको अवधारणा ल्याइएको चौलागाईं बताउँछन् ।
‘तेस्रो शृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनमा ७ प्रदेशका युवाहरू सहभागी बन्ने वातावरण निर्माण भएको छ । प्रत्यक्ष रूपमा ३०० बढी युवाहरू समेटिए पनि राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषद्को वेबसाइट मार्फत डिजिटल माध्यमबाट युवालाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ’ उनले भने ।
सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरूसँग प्यानल छलफल र कार्यशाला गोष्ठी हुने उनको भनाई छ । सम्मेलनमा सहभागीहरूलाई नेपालकै पहिलो सुरुङ मार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गरिने उनले बताए ।
बागमती सरकारले वार्षिक नीति तथा कार्यक्रममा युवा सम्मेलन समेटी बजेट विनियोजन गर्दै आएको छ। परिषद्का अनुसार अघिल्ला दुई आर्थिक वर्षमा १० हजार ५ सयभन्दा बढी युवाले विभिन्न सीप तालिम प्राप्त गरेका छन् भने चार सय ५ जना युवाले आफ्नै उद्यम सुरु गरिसकेका छन्। युवाको नीति संवाद र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित सम्मेलन प्रदेशको युवा विकासकाे यात्रामा एक महत्वपूर्ण पाइला हुने उनले बताए ।
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको समेत उनले बताए । सम्मेलनको उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेसभुसा, सांस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित रयाली गरिनेछ भने सम्मेलन पश्चात् घोषणापत्र समेत जारी गरिने छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले विकासमा जनताको सहभागिता र अपनत्व हुनुपर्ने बताएका छन्। शनिबार टोल विकास संस्थासँग विकास निर्माणका समीक्षा तथा योजना तर्जुमा सम्बन्धी सुझाब संकलन गर्न आयोजना गरिएकाे छलफलमा उनले यस्तो बताएका हुन् ।
हेटौंडा ४ स्थित पशुपति मन्दिरकाे हलमा ९ वटा टोल विकास संस्थाका अध्यक्ष तथा सदस्यहरुसँग भएकाे छलफलमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा–संस्कृतिको प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक अभियान क्षेत्रमा प्राथमिकताका साथ वडाले कार्य गरिरहेको अध्यक्ष सिग्देलले जानकारी दिए। उनले ४ नं. वडा नगरको मुटु भएकाले नगरमै प्रतिनिधिमूलक कार्य अगाडि बढाउन वडा अग्रसर भएको बताए।
कार्यक्रममा सहभागीहरूले वडा कार्यालयले गरेको कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै अबकाे विकासमा शहरीकरणसँगै वातावरण, सरसफाइ, शिक्षा, आधारभूत स्वास्थ्य, सचेतना मूलक कार्यक्रमलगायतका थप कार्यहरू अगाडि बढाउन सुझाव दिएका छन्। उनीहरूले विकासलाई चौतर्फी रूपमा अगाडि बढाउन साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा भएकाे छलफल कार्यक्रममा समाजसेवी प्रदीप कोइराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, टोल विकास संस्थाका अध्यक्षहरू नीरु अर्याल सुवेदी (गर्दोही), शान्ति बराल (लक्ष्मी), गणेश श्रेष्ठ (चिल्ड्रेन पार्क), गंगा अर्याल (चिसापानी), राजु अर्याल (हरियाली), सुदर्शन ढकाल (प्रतिभानगर), स्वेता कोइराला (प्रजातान्त्रिक), आशा विष्ट (वीरेन्द्रनगर) र सुन्दर न्यौपाने (श्रद्धानगर) लगायत टोलबासीहरूको उपस्थिति रहेको थियो।
अन्य टोल विकास संस्थाहरूको भेला वैशाख २९ गते सोमबार हुने बताइएकाे छ ।
मकवानपुर । अहिले देशमा पश्चिमी वायु, स्थानीय वायुकाे प्रभाव रहेको तथा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव छ।
जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
शनिबार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
शनिबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर। सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।
मकवानपुरको हेटौंडा – ६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउदै एपीएफले उपाधि कब्जा गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाईन । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्कियो भने सुष्मा तामाङको प्रहार बाहिरियो ।
उपाधि संगै एपीएफले पाँच लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपबिजेता बनेको पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी गोलरक्षक अन्जना राना मगर घोषित हुँदै नगद १० हजार प्राप्त गरिन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बांनियाले स्कुटर प्रदान गरेका थिए ।
एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए । यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै विभागीय टोलीले फाइनल भिडन्त पक्का गरेका थिए। प्रतियोगिताको सेमिफाइनलमा पुलिसले चितवन जिल्ला फुटबल टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने । संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको थियो ।
सातौं संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप अन्तरगत १९ बैशाखबाट महिलातर्फकाे गोल्डकप सुरु भएकाे हाे । प्रतियोगिताकाे छैटौं संस्करणसम्म पुरुषतर्फ मात्रै हुँदै आएकाेमा सातौं संस्करण महिलातर्फका टिम बीच प्रतिस्पर्धा हुने गरी गोल्डकप आयोजना गरिएकाे हाे ।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा १९ बैशाखबाट सुरु भएकाे प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब गरी तीनवटा विभागीय महिला टिमसहित मकवानपुर हेटौंडाकाे रिगल रिसोर्ट एन्फा महिला टिम मकवानपुर, बीरगन्ज युथ एकेडेमीकाे महिला टिम र नवजनजागृति युवा क्लब सिमरा बाराको महिला टिम, रौतहट र चितवन जिल्लाको महिला टिम गरी ८ बटा टिमकाे सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको हेटौडा सामुदायिक आँखा अस्पतालमा महिला बिरामीले अब महिनावारी प्याडको सुविधा पाउने भएका छन् ।
अस्पतालमा आउने महिला बिरामीहरुको लागि लक्षित गर्दै प्याड भेन्डिग मेसिन जडान गरिएको छ । युक्ति फाउण्डेशन काठमाडौंले अस्पतालमा यो मिसेन सहयोग गरेको हो । बिहीबारबाट अस्पतालमा आउने बिरामीले सेवा पाउने अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले बताए । संरक्षक श्रेष्ठ सहित अस्पताल प्रमख डा. सुनिल थकालीलाई फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले मेसिन हस्तान्तरण गरेका हुन् । “अब अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न बजारमा जानु पर्दैन” श्रेष्ठले भने ।
मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशनबाट सहयोग गर्नेछ । युक्ति फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने समस्याको लागि विभिन्न स्थानमा यस्तो मेसिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदी बिहीनीहरुलाई पर्न सक्ने समस्याको हल गर्न मेसिन विभिन्न स्थानमा डोनेशन गर्ने गरेको बताइन् । हेटौडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको उनले बताइन् ।