मकवानपुर । कोरोना संक्रमितहरुले आफूलाई होम आइसोलेशनमा सुरक्षित राख्ने भनेेेको तर जथाभावी हिडेको गुनासो छिमेकबाट आएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका संक्रमितको फोन ट्रयाकिङ सुरु गरिएको छ ।
छुट्टै कोठा, शौचालयलगायतको सबै प्रकारको भौतिक व्यवस्था तथा भौतिक दुरी कायम राख्दै होम आइसोलेशनमा बस्ने भनेर सामुदायिक आइसोलेशनमा नगएका संक्रमितहरुले न्युनतम मापदण्ड पुरा नगरेको गुनासो टोलका छिमेकबाट आएपछि होम आइसोलेसनमा बसेकाको ट्रयाकिङ थालेको छ ।
संक्रमितको सम्पर्कमा पुगेकाको हेटौंडा अस्पतालबाट मोवाइल एप मार्फत ट्रयाकिङको काम सुरु गरिएको हो । फोनबाट ट्रयाकिङको काम सुरु गरिएको हेटौंडा अस्पतालका सुपरीटेण्डेन डाक्टर प्रविण श्रेष्ठले बताए । हेटौंडाका सबै वडामा एप मार्फत संक्रमितको अवस्था पत्ता लगाउनका लागि ट्रयाकिङ सुरु गरिएको बताइएको छ । सुपरीटेण्डेन डाक्टर श्रेष्ठका अनुसार उपमहागरको वडा ४, १ र ६ मा यो काम सुरु भैसकेको छ ।
यसै बिच उपमहानगरमा कोरोना संक्रमित बढ्दै गएपछि सचेतना अभिवृद्धि गर्नको लागि हेटौंडा उपमहानगरले सबै वडामा टोली परिचालन गरको छ । दैनिक रुपमा संक्रमणको दर बढ्दै गएपछि वडा स्तरमै टोली परिचालन गरेको उपमहानगरका मेयर हरीबहादुर महतले बताए । वडा स्तरबाटै जनचेतनाका जानकारीसँगै संक्रमितको र परिवारको अवस्था बुझने र आवश्यक सहयोगको लागि वडा अध्यक्षको नेतृत्वमा जनप्रतिनिधिको टोली परिचालन गरिएको मेयर महतले बताए । ‘उपमहानगरभित्र संक्रमित भएर होम आइसोलेसनमा रहेकाको मनोभावना बलियो बनाउन र हौसला बढाउनका लागि घरघरमा जानका थालेका हौं’ मेयर महतले भने । वडाका प्रतिनिधिहरु घरमै पुगेर दुरी कायम गरेर भेट्न भनिएको उनले बताए ।

शनिबार साँझसम्म उपमहानगरमा २ सय ८१ जना संक्रमण पुष्टि भएको छ । जोखिमका अवस्था हेर्दा संक्रमितहरु उपमहानगरको ४, ५, १०, ९, ६ बढि मात्रामा छन् । उपमहानगरमा २ सय जना होम आइसोलेसनमा रहेको उनले जानकारी छन् । बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा कोरोना संक्रमितको अवस्था बुझ्नका लागि वडा अध्यक्षको नेतृत्वमा होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि टोलि परिचालन गरिएको उपमेयर मिना कुमारी लामाले बताइन् ।
संक्रमितको दर अनुसार सबै वडामा मेयर र उपमेयर पुग्न संभव नभएपछि वडा तहबाटै टोली परिचालन गरिएको उनले बताइन् । केही बृद्धबृद्धाको अवस्था बुझ्न र हौसला बढाउनका लागि मेयर महत आफै पुग्ने गरेका छन् । मेयर महत, उपमेयर मिना कुमारी लामा हेटौंडाको बसपार्क, टिसीएनरोड, आनन्दटोल लगायतका क्षेत्रमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको अवस्था बुझन गएका थिए ।
मकवानपुर। मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौंडामा “फुड बैंक” अभियान सञ्चालन गर्ने भएको छ । कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेसनले फुड बैङ अभियान संचालन गर्न लागेको हो ।
फाउण्डेशनले भोली सोमबारदेखि हेटौंडाको अटोल्याण्ड चोकमा फुड संकलन केन्द्र रहने गरि फुडबैंक सञ्चालन गर्न लागिएको फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैंक अभियान सञ्चालन गर्न लागिएको खुलालले जानकारी दिए ।
फाउण्डेसनले सोमबारबाट “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गर्न लागेको उनले बताए । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्नुहुनेछ भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जानुहुने छ । ‘काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर फाउण्डेसनले सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गर्न लागेका छौं’ उनले भने–‘अभियानले आवश्यक्ताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाईन, बृद्धाश्रमहरुमा समेत सहयोग गर्नेछ ।’
शनिबार बिहान बसेको फाउण्डेसनको बैठकले पहिलो चरणमा हेटौंडाबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त अभियान अन्तर्गत कोरोनाका कारण छाक बसेका नागरिकलाई परिवार संख्याको आधारमा सहयोग उपलब्ध गराईनेछ । त्यस्ता परिवारले एक पटकमा एक छाक टर्ने गरि दाल, चामल, नुन, तेललगायत खाद्यान्न उपलब्ध गराईने प्रमुख खुलालले बताए ।
फुड बैंक सञ्चालनका लागि आजको बैठकले ५ सदस्य फुड बैंक व्यवस्थापन उपसमिति निर्माण गरेको छ । फाउण्डेसनका सदस्य उत्तम न्यौपानेको संयोजक्त्वमा बोल बहादुर कार्की, रमिला सापकोटा, शिवहरी दाहाल, भवानी शर्मा सदस्य रहेको ५ सदस्य समिति गठन गरिएको हो ।
उक्त समितिले कार्यविधि समेत तयार गरेर सोमबारबाट काम सुरु गर्ने छ । अभियानमा नगद तथा जिन्सी दुबै सहयोग गर्न सकिने बताइएको छ ।
मकवानपुर। जेसिआइ हेटौंडाको आयोजनामा शनिबार भएको राष्ट्रिय अनलाईन बुद्धिचाल प्रतियोगिताको उपाधि विवेक थिङले जितेका छन् । शनिबार दिउँसाे भएको प्रतियोगितामा सहभागी १ सय ४० स्पर्धीलाइ पछि पार्दै उनले उपाधीमा कब्जा जमाएका हुन् ।
जेसिज सप्ताहको पहिलो दिनकाे कार्यक्रममा देशभरबाट चेस खेलाडीहरुको सहभागिता रहेको थियो । थिङले उपाधि जित्ने क्रममा ९ खेलमा जित एक बराबर तथा एक हार ब्यहोरेका थिए ।प्रतियोगितामा सुश्रुत दाहाल दोस्रो तथा मनिष हमाल तेश्रो भए । प्रतियोगितामा २४ विधामा पुरस्कार प्रदान गरिएको नेपाल बुद्धिचाल संक्रमका केन्द्रीय सचिव धरम लामाले बताए । लामाका अनुसार प्रतियोगितामा देशका अधिकांश चर्चित खेलाडीहरु थिए ।
कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठले बुद्धिचालको विकासको लागि जेसिजले गरेको प्रतियोगिताको प्रशंसा गरे । उनले यस्ता खाले कार्यलाई जेसिजले आगामी वर्षहरुमा पनि जारी राख्न भन्दै आवश्यक सहयोगको लागि बुद्धिचाल संघ सधै तयारी रहेको बताए ।
जेसिआई हेटौँडाका अध्यक्ष राजदेव बाँनीयाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय महासचिव धरम लामा, संघका बागमती प्रदेश कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला अध्यक्ष माधव तिमल्सिना, जेसिआइ हेटौंडा का कार्यकारिणी उपाध्यक्ष एवम जेसिज सप्ताह मुल कार्यक्रम संयाेजक जेसि पवन कङ्साकार, जेसिआइ हेटौंडाका पुर्ब अध्यक्षहरु भजकृष्ण गोर्खाली, गणेश कुमार श्रेष्ठ, , प्रभात पौडेल, दिपकराज मिश्र ,अरुण कुमार दाहाल , हेटौँडा लेडि जेसिजका अध्यक्ष शुसिला पौडेलको आतिथ्यता रहेको थियो । कार्यक्रमको संयोजन विकेशलाल श्रेष्ठले गरेका थिए ।
मकवानपुर । दुबै मृगौलामा समस्या आएपछि मकवानपुरका एक युवाले आर्थिक सहयोगको याचना गरेका छन् । मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली निवासी ३३ वर्षीय रामकृष्ण बजगाईले दुबै मृगौलामा समस्या आएपछि आर्थिक सहयोगको याचना गरेका हुन् ।
२०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मृगौलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए । मकवानपुर जिल्ला बकैया गाउँपालिकाका स्थानीय शिक्षक हरिहर खनालका अनुसार बजगाई विगत ७ महिनादेखि उपचारका लागि पाटन, कान्तिपुर, टिचिङमा धाइरहेका थिए । हाल उनको काठमाडौं स्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । बजगाई हप्तामा २ पटक डाइलेसिस गर्नका लागि आइतवार र बुधवार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डाइलेसिस गर्नका लागि ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । डाइलेसिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।
बजगाई करिव ७ वर्ष बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ वर्ष र कुवेतमा ४ वर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले बैदेशिक रोजगारमा गएर आर्जन गरेको करिव १४ लाख मृगौलाको उपचारमै खर्च भईसकेको जानकारी दिए । चिकित्सकले मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको कारणले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि ३३ वर्षीय किशोर बजगाइले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेका हुन । चिकित्सकका अनुसार उनको दुबै मृर्गौलाले काम गर्न छाडेका छन् ।
बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सक्नेछन् । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न सकिने छ ।
मकवानपुर । मुस्लिम युवा समाज मकवानपुरले शुक्रबार रक्तदान कार्यक्रम गरेकाे छ । शुक्रबार बिहान रक्तसञ्चार केन्द्र, हेटौंडा शाखामै आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ६७ जनाले रक्तदान गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बल्ड ब्याग हस्तानतरण गरेर कार्यक्रम उद्घाटन गर्दै काेरोना भाइरस संक्रमणको कारण रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरेकोमा समाजलाइ धन्यवाद दिए। आवश्यक रगत उपलब्ध गराउन कठिन भएकाले स्वास्थ्य सावधानी अपनाएर सबै रक्तदातालाई रक्तदान गर्न खुलालले अाग्रह गरे ।
कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको अवस्थामा मुस्लिम युवा समाजले रक्रसंचार केन्द्र हेटौंडामै स्वास्थ्य सुरक्षा सतर्कताका साथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोरोनाका कारण रगत संकलन हुन नसक्दा अहिले देशै भरी रगतको अभाव छ । मकवानपुरमा पनि रगतको अभाव नहोस् र रगत अभावकै कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको मुस्लिम युवा समाजका अध्यक्ष मोहमद सफिक मियाले जानकारी दिए ।
मोहमद सफिक मियाकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका अध्यक्ष धरम लामा, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइइटी मकवानपुरका कोषध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखापाल रामजी प्रसाद खतिवडालगायतको सहभागिता थियो ।