मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी मंगलबारकाे मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यस्तै उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने र भैसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेकाे छ। ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण र सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए ।
नेपाल प्रहरी स्थापनाको सु-अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, प्रदेश प्रहरी श्रीमती संघबाट हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको प्रवक्ता गिरीले जानकारी दिए । असोज ३० गते “६५ औं प्रहरी दिवस २०७७” मनाईने छ ।
मकवानपुर । मकवानपुरमा थप १ सय २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित मध्य हेटाैडा उपमहनगरपालिकाका १ सय १० जना, बागमती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना रहेकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
संक्रमित मध्य ७७ जना पुरूष र ४८ जना महिला रहेका छन् । ३ जना मकवानपुर जिल्ला बाहिरका रहेकाे चाैलागाइले वताए । असाेज २५ गते लिइएकाे २९६ जनाकाे स्बाबकाे परीक्षण नतिजा साेमबार राती अाएकाेमा उक्त संख्यामा संक्रमित देखिएकाे हाे ।

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिङफिङले नेपाल भ्रमण गर्नुभएको एक वर्ष पुरा भएको अवसर पारेर नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट : अ पिक्टोरियल गाइड’ (President XiÚs Nepal Visit :A Pictorial Guide) को सोमबार पुर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सार्वजानिक गरेका छन् ।
पुस्तक सार्वजनिक समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधै हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताए । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले भने–‘कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौ ? बेल्ट एण्ड रोड इनिसियटिभ्सबाट कति लाभ लिन सक्यौं ? यसको समिक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ ।’ नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने–‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशकारुपमा अघि बढ्न चाहान्छौं ।’
पछिल्लो समय सी जिन फिङले चीनको नेतृत्व सम्हाल्नु भएपछि उनले बेल्ट एण्ड रोड सम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडी सार्नु भएको उल्लेख गर्दै नेपालले भने–‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गर्यो । उहाँ आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो । सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिकरुपले लाभ हुने जुन प्रस्ताव अगाडी सार्नुभयो, त्यो अत्यन्तै सहनीय छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सन् १९६५ मा नेपाल–चीनविच कुटनैतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयामहरुका बारेमा चर्चा गरे । सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभ्समा नेपालको हस्ताक्षर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भ्रमणका रुपमा राष्ट्रपति विद्या भण्डारीले गर्नुभएको चीन भ्रमण र चीनका राष्टपतिबाट २३ वर्षपछि भएको सिको नेपाल भ्रमण दुई देशवीचको सम्वन्धमा कोशेढुंगा भएको उनले बताए ।
चीन विश्वमै उत्पादनको घर र ठूलो व्यापार साझेदार देश भएको उल्लेख गर्दै पूर्व राजदूत पौड्यालले नेपालले चीनबाट लिनसक्ने लाभका विविध पक्षबारे उल्लेख गरे । उनले भने–‘विश्वमा उदयीमान देश चीनजस्तो छिमेकी मुलक चीनबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पुरा हुनसक्छ र नेपाल पनि चीनसँगसँगै विकास र समृद्धिको यात्रामा अगाडी बढ्न सक्छ ।’
विश्वमै ठूलो व्यापार साझेदार चीन जस्तो मुलुकको प्रभावशाली नेताको भ्रमण नेपालका लागि तात्वीक र आधारभूतरुपमै भिन्न र विशेष रहेको उनले बताए । त्यतिमात्र नभएर उक्त भ्रमण विश्व परिस्थिति र हाम्रो आन्तरिक कारणले पनि महत्वपूर्ण रहेको उनको भनाई थियो । राष्ट्रपति सी को भ्रमणका बेला चीनका लागि राजदूत समेत रहनुभएका पौड्यालले उक्त भ्रमण गराउँदाका आफ्ना अनुभव पनि बताए ।
कार्यक्रममा नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको सी को भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेको र यसले द्धिपक्षीय सम्बन्धमा विशेष महत्व बोकेको बताए । साेमबार सार्वजानिक गरिएको पुस्तक ‘प्रेसिडेण्ट सि जिङफिङ्स नेपाल भिजिट ः अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङ / विएम रेग्मी का लेखहरु समावेश छन् ।
साथै, पुस्तकमा दुई देशका भएका संयुक्त वक्तव्यहरु, दुई देशका उच्चस्तरीय भ्रमणमा भएका सम्झौताहरु, सी भ्रमणका तश्वीर र साथै सी भ्रमणका बेला नेपाली छापा माध्यममा प्रकाशित सामाग्रीहरु पनि समावेश गरिएको छ ।
मकवानपुर / कोरोना भाइरसको संक्रमणकालमा नागरिक समाजको भूमिका अझै सशक्त बनाउनु पर्ने बताइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत कोभिड १९ ले पारेको प्रभाव : नागरिक समाज तथा सन्चार जगतको भूमिका बिषयक हेटौंडामा भएको छलफल कार्यक्रम सहभागीहरुले यस्तो बताएका हुन् ।
इन्सेकको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले कोरोनाकालमा सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउनु पर्ने खास कारण नै नभएको बताए । नागरिक समाजले काम गरेको तर, प्रयाप्त नभएको खुलालले बताए । कोरोना संक्रमण जाँचको लागि दैनिक पीसीआर परीक्षणको दर बढाउनु पर्ने उनले बताए । कोरोना संक्रमितलाई राम्रो व्यवहार गर्न, यसबारे चेतना फैलाउने काममा नागरिक समाज, राजनीति दल तथा टोल विकास संस्थाहरु चुकेको उनले बताए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश उपाध्यक्ष आरती पाठकले कोरोनाकालमा महिला हिंसा घटना ह्वात्तै बढेको बताइन् । हिंसा गरेको आरोपीलाई कोरोनाको कारण थुनुवाको रुपमा राख्न नपाउँदा घरैमा राख्नु परेको र यसले पनि हिंसा बढाएको पाठकले बताइन् । चैत यता ९७ जना महिला हिंसाका घटनाहरु रेकर्ड भएको उनले बताइन् । यसैगरी यसबिचमा ग्रामिण क्षेत्रमा बाल बिवाह पनि बढेको उनले बताइन् ।
‘सानो तिनो व्यवसाय गरेर उद्यमशीलतामा लागेका महिला संक्रमणपछि बजार व्यवस्था राम्रो नहुँदा घरै फर्कन परेको र यसले पनि समस्या निम्त्याएको छ’ पाठकले भनिन् ‘महिलाहरुलाई आत्मनिर्भर बनाउँन नसक्दा पनि हिंसा बढेको छ ।’ कार्यक्रममा गैसस महसंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटाले नागरिक समाजले कोरोनाकालमा व्यापक काम गरेको तर नागरिक समाज तथा गैससले गरेको काम स्थानीय तहले नदेखेको गुनासो गरिन् । कोरोना संक्रमणपछि जारी लकडाउनमा पैदल यात्रीलाई खाना, बास, यातायातलगायतको क्षेत्रमा सहयोग गर्न अहोरात्र खटेको नागरिक समाजलाई स्थानीय सरकारले मुल्याङ्कन नगरेको उनले बताइन् ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज तथा गैरसरकारी संस्थाहरुले विषम परिस्थितिमा पनि जिम्मेवार भएर काम गरेको स्मरण गरे । शिक्षा स्वास्थ्य खाद्य आवासलगायतको क्षेत्रमा इन्सेकले पनि काम गर्दै आएको र कोरोना महामारीको समयमा पनि इन्सेकले आफ्नो अभियानलाई जारी राखेको संयोजक गौतमले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी,जिल्ला कानून सहायता समिति अधिवक्ता अप्सरा बस्नेत, विभिन्न गैससका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा कोरोनाकालमा शिक्षा, स्वास्थ्य, खाद्य, आवासको क्षेत्रमा परेको प्रभावबारे पनि छलफल गरिएको थियो । शिक्षा स्वास्थ्य खाद्य र आवास अधिकार सम्बन्धी समस्या तथा सरोकारवालाको पहिचान र कार्य योजना निर्माण कार्यक्रम इन्सेकद्धारा हेटौंडा उपमहानगरपालिकामा गठित मानव अधिकार समूहको अध्यक्ष चन्द्रवति पनेरुको अध्यक्षतामा भएको थियो ।