कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार नपाएर बालिकाको मृत्यु प्रकरण
कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म पालो कुर्दा पनि उपचार नपाएर पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्युलाई गुपचुप पार्न खोजेको अस्पताल प्रशासनले सार्वजनिक दबाबपछि छानबिन समिति गठन गरेको छ । बुधबार समाचार प्रकाशित भएसँगै जनस्तरबाट अस्पताल प्रशासन र कर्मचारीको व्यापक विरोध भएपछि तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले समेत दोषीलाई कारबाही गर्न निर्देशन दिएपछि तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
डा. प्रकाश जोशीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य छन् । अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर छानबिन समिति गठनबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा लेखिएको छ, ‘सोमबार रातको समयमा यस अस्पतालको इमर्जेन्सी वार्डमा भएको घटनाका सन्दर्भमा सत्यतथ्य पत्ता लगाउन तपार्इं (डा. प्रकाश जोशी)को संयोजकत्वमा तपसिलबमोजिमका सदस्यहरू (सिलवाल र दाहाल) रहने गरी समिति गठन गरिएको हुँदा सो सम्बन्धमा सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्र प्रतिवेदन पेस गर्नुहुन अनुरोध छ ।’
थापाथलीस्थित परोपकार प्रसूतिगृह स्त्रीरोग अस्पतालको ६४औँ वार्षिकोत्सव कार्यक्रममा पुगेका निर्देशक डा. रायलाई मन्त्री बस्नेतले फोन गरेर तुरुन्त छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए । त्यसपछि छानबिन समिति गठन गरिएको हो । समितिको छानबिनमा दोषी देखिए कारबाही गरिने डा. रायले बताए । ‘घटनाको बारेमा छानबिन गर्न समिति गठन भएको छ,’ उनले भने, ‘समितिको सिफारिसअनुसार हामीले सेक्युरिटी गार्ड वा अस्पतालको दोष देखिएका सम्बन्धित व्यक्तिलाई कारबाही गर्छौँ ।’
उच्च ज्वरो र निरन्तर बान्ता भएर थलिएकी रेजिशालाई सोमबार साँझ आमा रिता गोपाली र हजुरबुबा कृष्णबहादुर गोपालीले उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा पुर्याएर तत्काल उपचारको व्यवस्था मिलाइदिन पटक–पटक गुहार गरे पनि त्यहाँ खटिएका कर्मचारीले पालोमा कुराउँदा ज्यान गएको थियो । बालिकाको मृत्युलगत्तै सोमबार राति र मंगलबार बिहान परिवार तथा आफन्तले आन्दोलन गरेपछि अस्पताल प्रशासनले मिलापत्र गराएर उन्मुक्ति लिने प्रयास गरेको थियो ।
घटनाबारे मंगलबार नयाँ पत्रिकाले प्रतिक्रिया माग्दा अस्पताल निर्देशक रायले बालिकाको मृत्यु दुःखद भए पनि दोष बिरामीको आफन्तलाई नै लगाएका थिए । आफन्तले बिरामीको अवस्थाबारे अस्पतालका कर्मचारीलाई बुझाउन नसक्दा बालिकाको मृत्यु भएको गैरजिम्मेवार जवाफ दिएका थिए । उनकै सक्रियतामा मंगलबार बालिकाकी आमा रिता र हजुरबुबा कृष्णबहादुरलाई कानुनी बाटो खोज्दा थप झन्झट हुने त्रास देखाएर मिलापत्र गराई उम्किने प्रयास भएको थियो । मंगलबार तयार गरिएको मिलापत्र ड्राफ्टमा पीडित पक्षलाई कुनै राहत तथा घटनाको छानबिनबारे केही उल्लेख थिएन ।
‘हामीले त अस्पताल प्रशासनलाई कारबाही हुनुपर्छ भनेका थियौँ, तर उहाँहरूले कानुनी कारबाहीको बाटोमा जाँदा उल्टै दुःख हुन्छ भन्दै मिलापत्र गर्न दबाब दिनुभयो,’ कृष्णबहादुरले भने, ‘मिलापत्रमा हामीलाई कुनै किसिमको राहत र सान्त्वना दिने कुरै थिएन ।’ कानुनी प्रक्रियामा नलाग्न दबाब दिएकै कारण परिवारले मंगलबार नै बालिकाको अन्त्येष्टि गरेका थिए ।
नयाँपत्रिकाबाट
याे पनि हेर्नुस्
दुई घन्टा कुर्दा पनि उपचार नपाएर मकवानपुरकी बालिकाकाे कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मृत्यु
दुई घन्टा कुर्दा पनि उपचार नपाएर मकवानपुरकी बालिकाकाे कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मृत्यु
Tags: No Comments
निरन्तरको बान्ता र ज्वरोले थलिएकी पाँच वर्षीया रेजिशालाई उपचारका लागि इमर्जेन्सीमा ल्याएका आमा र हजुरबुबालाई अस्पतालका कर्मचारीले डाक्टरकहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए । बिरामीको गम्भीरता बुझिदिन उनीहरूले हारगुहार गरिरहे, तर कसैले सुनेन । उपचारको पर्खाइमा दुई घन्टासम्म संघर्ष गरिरहेकी अबोध बालिकाले अन्ततः हजुरबुबाको काखमै तड्पिँदै प्राण त्यागिन् ।
गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको ज्यान गएको छ । उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको हो ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५:०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । कृष्णबहादुरले नातिनीको अवस्था जटिल बन्दै गएकाले तत्काल उपचारको व्यवस्था मिलाइदिन इमर्जेन्सी कक्षमा खटिने सेक्युरिटी गार्डलाई बिन्ती गरे । त्यहाँ डाक्टरबाहेक व्यवस्थापन मिलाउने सेक्युरिटी नै थिए ।
तर, सेक्युरिटीले टिकट काटेर पालोमा बस्न आदेश दिए । टिकट लिने प्रक्रिया पनि उस्तै लम्बेतान, कृष्णबहादुरले काउन्टर नम्बर १ मा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । रेजिशालाई भने ज्वरोले गालेर लल्याकलुलुक बनाउँदै थियो । कृष्णबहादुरले नातिनीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै पालो अगाडि सारिदिन सेक्युरिटी गार्डसामु हात जोडे ।
अस्पतालको सुरक्षामा खटिएका प्रहरीले पनि पालो अगाडि सारिदिन आग्रह गरेका थिए । तर, बिरामीको ज्यान तलमाथि होला भन्नेमा होइन, कसैको पालो तलमाथि होला कि भन्नेमा निर्मम बन्यो अस्पताल प्रशासन, किनभने त्यो कान्ति बाल अस्पतालको इमर्जेन्सीमा स्थापित कठोर नियम हो । जतिसुकै गाह्रो भए पनि पालोमै आउन भनेपछि कृष्णबहादुर र रिताले रेजिशाको छटपटीमा रुनबाहेक केही गर्न सकेनन् । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि साँझै ७:१० बजे रेजिशाको मृत्यु भयो ।
‘हामीले नातिनीलाई उपचारका लागि समयमै अस्पताल पुर्याएका हौँ, तर इमर्जेन्सीमा पुगेर पनि वेलैमा डाक्टरलाई देखाउन पाएनौँ । नातिनीको अवस्थाबारे पटक–पटक जानकारी गराउँदा पनि सेक्युरिटी गार्डले पालोमा आउन भनेपछि हाम्रो कुनै उपाय चलेन । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, हेर्दाहेर्दै नातिनीको ज्यान गयो,’ कृष्णबहादुरले रुँदै भने, ‘इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरो लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि !’
अस्पतालको गैरजिम्मेवार व्यवहारका कारण रेजिशाको ज्यान जानु मृतकको सूचीमा अर्को एक नाम थपिनु मात्रै हो । तर, अकालमा ज्यान गुमाएका परिवारका लागि अपूरणीय क्षति हो । आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिएर उनको सुन्दर भविष्य कोर्न एक वर्षदेखि परदेश (पोर्चुगल)मा पसिना बगाउँदै गरेका बुबा जितबहादुरको सपनाले हार खाएको छ ।
तर, अस्पताल प्रशासन भने उल्टै शोकसन्तप्त परिवारमाथि दोष देखाएर मृत्युलाई सामान्यीकरण गर्न उद्यत् छ । कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय उपचार नपाउँदा बालिकाको ज्यान गएको स्विकार्छन्, तर आफन्तले बिरामीको अवस्थाबारे बुझाउन नसकेको दाबी गर्छन् । ‘अस्पताल पुग्दा पनि उपचार नपाएर बालिकाको ज्यान जानु राम्रो होइन । तर, बिरामीका आफन्तले बालिकाको अवस्थाबारे सेक्युरिटी गार्डलाई राम्ररी भन्नुभएको रहेनछ, त्यसकारण यस्तो घटना हुन पुग्यो,’ उनले भने, ‘बिरामीको भिड धेरै हुने भएकाले पनि पुग्दाबित्तिकै सेवा लिन कठिन छ ।’
अस्पतालको लापरबाहीले बालिकाको ज्यान गएपछि आफन्तले सोमबार नै सिसिटिभी फुटेज हेर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए । कृष्णबहादुरले घटनाको जिम्मा अस्पताल प्रशासनले लिनुपन, दोषीमाथि कारबाही हुनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । मृतकका आफन्तले सोमबार राति र मंगलबार बिहान अस्पताल परिसरमा आन्दोलन पनि गरेका छन् ।
बालिकाको मृत्युपछि नियम सुधारको घोषणा
पालो कुर्दाकुर्दै उपचार नपाएर बालिका रेजिशाको मृत्यु भएपछि कान्ति बाल अस्पताल प्रशासनले इमर्जेन्सी कक्षको नियम सुधारको घोषणा गरेको छ । पालोमा बस्दा गाह्रो भएका बिरामीलाई पहिले पालो दिने गरी नियम सुधारिएको निर्देशक रायले बताए । त्यस्तै, पालो पर्खिनुपर्ने बिरामीलाई पनि पर्खाइकै क्रममा निगरानी गर्न इमर्जेन्सी विभागलाई निर्देशन दिएको उनको भनाइ छ । ‘अब इमर्जेन्सीमा आएर गाह्रो भएका बिरामीले पालो कुर्नुपर्दैन, हामीले मंगलबारदेखि नै नियम सुधारेका छौँ,’ रायले भने ।
बहिरंग सेवा दिनमा तीन घन्टा मात्र, भिड इमर्जेन्सीमा ओपिडीमा भन्दा इमर्जेन्सीमा आउने बिरामी धेरै
बालबालिकाको विशिष्टीकृत अस्पताल भएकाले देशभरबाट कान्तिमा बिरामी ल्याइन्छन् । तर, अस्पतालको बहिरंग सेवा (ओपिडी) दिनमा जम्मा तीन घन्टा मात्रै सञ्चालन हुन्छ । बिहान १०:०० बजेदेखि सुरु हुने ओपिडी दिउँसो १:०० बजे नै बन्द हुन्छ । ओपिडीमा देखाउन नभ्याएका बिरामी इमर्जेन्सीमा आउँछन् । नाम इमर्जेन्सी दिए पनि ओपिडीभन्दा खासै केही फरक छैन । ओपिडीमा जस्तै चर्को लाइन हुन्छ, टिकट काट्न पनि लाइन नै बस्नुपर्छ । बिरामी कुन गम्भीर हो, कुन सामान्य हो भन्नेसँग मतलब हुँदैन, टिकट नम्बरअनुसार पालोमा बसेर जँचाउनुपर्छ, ओपिडीमा जस्तै । अन्य अस्पतालबाट स्लाइन पानी तथा अक्सिजन दिएर एम्बुलेन्समै ल्याइएका बिरामीलाई मात्रै तुरुन्तै भर्ना गरिन्छ ।
सयभन्दा बढी बिरामी पालोमा हुन्छन्, तर चेकजाँचमा भने कहिलेकाहीँ एकजना मात्रै चिकित्सक हुन्छन्, प्रायः दुईजना । अस्पताल प्रशासनका अनुसार इमर्जेन्सीमा २४ घन्टामा १२ जना चिकित्सक खटाउने गरिएको छ । त्यसमध्येकै चिकित्सक मागअनुसार एनआइसियू, पिआइसियू र अन्य उपचारमा पनि लाग्नुपर्छ । ५–६ जनासम्मको टिम इमर्जेन्सीमै रहने भए पनि अन्यत्र माग हुँदा कहिलेकाहीँ कम पनि हुन सक्ने बताउँछन् अस्पताल निर्देशक राय । यस्तो अवस्थामा इमर्जेन्सीमा गएको गम्भीर बिरामीले पनि घन्टौँसम्म कुर्नुपर्ने अवस्था हुन्छ । यस्तै अवस्थाका कारण सोमबार साँझ रेजिशाले अकालमै ज्यान गुमाउनुपर्यो ।
‘यहाँ एउटा डाक्टरलाई इमर्जेन्सीमा बसेर मात्रै पुग्दैन, आवश्यकताअनुसार जता पनि दौडिनुपर्ने हुन्छ,’ निर्देशक रायले भने, ‘कहिलेकाहीँ आइसियूको डाक्टर सर्जरीमा हुन्छन् भने कहिले इमर्जेन्सीमा पनि पुग्छन्, इमर्जेन्सीमा पनि हामीले ग्रिन, एल्लो, रेड जोन भनेर छुट्याएका छौँ, सोहीअनुसार उपचार गरिन्छ ।’
हाल कान्ति अस्पतालमा १२ पिआइसियू र १५ एनआइसियू बेड छन् । अन्य सामान्य बेड एक सय ५० हाराहारी भए पनि एउटै बेडमा दुईजनासम्म बिरामी राख्ने गरिएको छ । इमर्जेन्सीमै बिरामीको भिड अत्यधिक हुँदा एउटै बेडमा दुईजनासम्मलाई उपचार गर्ने गरिएको अस्पताल प्रशासनले नै जनाएको छ । अस्पतालका अनुसार इमर्जेन्सीमा दैनिक तीन सयसम्म बिरामी आउने गरेका छन् भने ओपिडीमा आउने दुई सयभन्दा बढी हुन्छन् । अस्पतालमा बालरोगसँग सम्बन्धित ३० भन्दा बढी विशषेज्ञ चिकित्सक छन् ।
बालिकाका हजुरबुबा कृष्णबहादुर गोपाली भन्छन्–उपचारको आस गर्दागर्दै काखमै नातिनीको सास गयो
आइतबार बिहानदेखि नातिनीलाई ज्वरो आउने र बान्ता हुने भइरहेको थियो । गाह्रो भएपछि त्यसै दिनदेखि स्कुल पठाएनौँ । बाफलमै मेडिकलमा चेकजाँच गराएर औषधि खुवायौँ । तर, सोमबारसम्म पनि कुनै सुधार देखिएन, खानासमेत खान नमानेपछि बेलुकातिर ट्याक्सीमा राखेर कान्ति बाल अस्पताल पुर्यायौँ ।
५:०० बजे कान्तिको इमर्जेन्सीमा पुग्दा भिडभाड थियो । नातिनी राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सुरुमै लागेको थियो, यस्तो भिडभाडमा कसरी छिटो उपचार पाइएला र ? सोधपुछ गरेर १ नम्बर काउन्टरमा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । त्यहाँ व्यवस्थापन गर्ने सेक्युरिटी गार्ड हुने रहेछन् । मैले नातिनीको जटिल अवस्थाबारे सबै बताएँ ।
नातिनी काखमा रोइरहेकी थिइन् । गार्डले जतिसुकै गाह्रो भए पनि लाइनमै बस्न भनेपछि कुर्नुको विकल्प रहेन । तर, नातिनीको शिथिल अवस्था देखेर छटपटी चल्थ्यो । उठेर सेक्युरिटी गार्डलाई बिन्ती गर्थेँ– छिटो पालो मिलाइदिनुस् न । सेक्युरिटी गार्डले उल्टै झपारे । ड्युटीमा रहेका प्रहरीलाई पनि चाँडो पालो मिलाइदिन आग्रह गरेँ, तर प्रहरीले भनेको पनि मानेनन् सेक्युरिटीले । दुई घन्टासम्म पालो कुर्दा पनि डाक्टरलाई देखाउन पाइएन, उपचारको आस गर्दागर्दै ७:१० बजे काखमै नातिनीको सास गयो ।
इमर्जेन्सीमा पुगेर पनि दुई घन्टासम्म डाक्टरलाई देखाउन नपाउने कस्तो स्वास्थ्य व्यवस्था ? बिरामीको छटपटी र आफन्तको पीडा नदुख्ने कस्तो अस्पताल, कस्ता कर्मचारी ? मेरा लागि त्यो अस्पताल होइन, मुर्दाघर बन्यो । अरू कुनै अस्पताल लगेको भए बरु नातिनी बचाउन सक्थेँ कि ! छोरा विदेशमा छ । म, बुहारी र नातिनी यहाँ थियौँ । अब नातिनी रहिनन् । हामीलाई पहाडले थिचेजस्तो भएको छ ।
नयाँ पत्रिकाबाट साभार
मकवानपुर । मकवानपुरको हेटौंडामा अल्पसंख्यकसंग समुदायको छलफल कार्यक्रम भएको छ ।
भदौ १७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटाैडा १० काे आयाेजना तथा हेटाैडा उपमहानगरपालिका १० नं वडा कार्यालयको सहकार्यमा अल्पसंख्यकसंग समुदाय छलफल कार्यक्रम गरिएको हो ।
छलफल कार्यक्रममा प्रहरी नायब निनीक्षक दाताराम अधिकारीले सरकारी तथा गैरसरकारी निकायबाट अल्पसंख्यकहरुकाे समस्या समाधान हुने बताए । ‘उनीहरु आर्थिक उपार्जनको लागि आफ्नाे स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन’ अधिकारीले भने ‘सराेकारवाला निकायबाट अल्पसंख्यककाे समस्या समाधान हुने भएकोले गलत काम नगर्ने र सभ्य समाज निर्माण गर्न प्रतिबद्दता गर्नु पर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि १० नम्बर वडाध्यक्ष फुर्वा दोर्जे तमाङले मुलुककाे विधमान समस्या बेराेजगारी भएको रहेकाे बताए । ‘अल्पसंख्यकहरु पछिल्लाे समय खुलेकाले समाजलाई समस्या थाहा हुँदै आएकाे छ’ तमाङले भने सराेकारवाला निकायहरुसंग समन्वय गर्दा समस्या समाधान हुन्छ ।’ उनले हेटौंडाको १, २, ४, र १० नम्बर वडालाई सरसफाइ वडा घाेषणा गर्ने तयारी गरिरहेको अल्पसंख्यक समुदायबाट १ जनालाई राेजगारी दिन सकिने बताए । ‘समस्यासंग नजिक भएमात्र समाधानकाे वाटाे पहिल्याउन सक्ने भएकाेले पिडितले नभनेसम्म समाजमा पुनस्थापनाकाे लागि स्थानिय सरकारले पहल गर्न सक्दैन’ उनले भने ।
फ्रेन्डस हेटाैडाकी संयाेजक किरण थापाले विगतन २५ बर्षदेखि पहिचानकाे लडाइ लडिरहेकाे बताइन । ‘महिला अधिकारको लागि विश्वमा १०० बर्ष अघि लडाइँ हुदा समेत अझै हाम्राे अधिकार अनुभुत भएकाे छैन’ थापाले भनिन् ‘मानव भएकाे नाताले अधिकार प्राप्त गर्न पाउनु पर्छ ।’ ‘याैनिक तथा अल्पसंख्यककाे लागि छुट्टै अधिकार हाेइन महिला र पुरुष कै अधिकार उपभाेग गर्छन, त्यही किसिमकाे अधिकार चाहिएकाे हाे’ उनले भनिन । बाटाेमा याैनिक अल्पसंख्यकलाई मात्र समाजले देख्ने गरेको बताउदै थापाले तेस्राे लिङ्गीहरुले फरक हाउभाउ भएको कारण मात्रैले मानव अधिकार लगायत अन्य अवसरबाट बन्चित गराइएकाे बताईन ।
‘प्रकृतिले कसैलाई फरक व्यवहार गर्दैन दृष्टिकाे दाेषले घर, विधालय, अस्पताल, सरकारी, निजि निकायलगायत हरेक स्थानमा विभेद हुने गर्छ’ थापाले भनिन ‘ पक्षपात नगरी राज्यकाे हरेक निकायमा रोजगारी तथा अन्य अवसर प्राप्त हुनु पर्छ ।’ प्रत्येक स्थानीय तह, प्रदेश तथा संघीय मन्त्रालयहरुले १/१ जना अल्पसंख्यकलाइ मात्र राेजगारीमा राखिदिने हाे भने सडकमा उभिनु पर्ने बाध्यता नहुने उनले बताईन । थापाले व्यक्तिकाे लागि उज्यालोमा अभिसाप तर रातमा मनाेरन्जनकाे साधन बन्नु परेको शाैचालयमा समस्यादेखि नागरिकतमा, सवारी अनुमती पत्र लाइसेन्स पाउन कठिनाइ रहेको बताईन ।
पत्रकार धर्मेन्द्र दहालले प्रदेश सरकार र स्थानीय सरकारसंग समन्वय गर्ने हाे भने याैनिक अल्पसंख्यकहरुकाे समस्या समाधान हुने बताए
सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटाैडा १० का अध्यक्ष प्रदिप कंडेलकाे सभाध्यक्षता तथा हेटाैडा १० नम्बर वडाध्यक्ष फुर्वा दाेर्जे तमाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
मकवानपुर । बालबालिका खेल्न, नाच्न, गाउन मन पराउँछन् । विशेषगरी उनीहरु बाल मनोविज्ञानसँग जोडिएका क्रियाकलापहरुमा सहभागी हुन पाउँदा खुसी हुन्छन् ।
बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न क्षेत्रको जानकारी प्राप्त गरी नेतृत्व र व्यक्तित्व विकास गर्न पनि उत्तीकै आतुर हुन्छन् ।
अहिले सरकारी र निजी दुबै विद्यालयहरुले किताबी ज्ञानलाई मात्रै नभई बालबालिकाको अतिरिक्त क्रियाकलापमासमेत जोड दिन थालेका छन् । बालबालिकाहरु स्कुल नजानको लागि रोइकराई गर्ने अवस्थाको क्रमशः अन्त हुँदैछ । विद्यालयहरुले पनि बालबालिकाहरुको चौतर्फी विकासमा जोड दिने गरी शिक्षण सिकाइको नीति अवलम्वन गर्दै गएको पाइन्छ ।
पछिल्लो उदाहरण मकवानपुर हेटौंडा– ४ स्थित नवोदय शिशु सदन विद्यालय । यो बिद्यालयले बालबालिकालाई ‘विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा’ नीति अवलम्वन गरेको छ । त्यसका लागि विद्यालयले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्न अतिरिक्त कृयाकलापसँगै रचनात्मक अभ्यासहरु गरिरहेको छ ।
सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक रुपमा परिणत गरी शिक्षामा जोड दिनुपर्ने विद्यालयका शिक्षक चन्द्रमणि रिमाल बताउँछन् ।
बिद्यालयले अहिले नबोदय मुन कार्यक्रम संचालन गरिरहेको छ । जस अन्तरगत सयुक्त राष्ट्रसंघको ८ अंगको मुख्य कामबारे चर्चा गरिरहेका छन् । यस कार्यक्रममा कक्षा ८,९ र १० का ३०० जना बालबालिका प्रत्यक्ष सहभागी छन् । सामाजिक विषयमा गरेको अध्ययनलाई प्रयोगात्मक रूपमा अभ्यास गर्न पाउँदा रमाइलोसंगै सिकाई भएको छात्रा खुसी मल्लिकले बताइन् । कार्यक्रममा मकवानपुरसंगै गैडाकोट, चितवन बुटवल जिल्लाबाट विद्यार्थी सहभागी छन् ।
उनले बालबालिकाहरुलाई कक्षामा रटाउनुभन्दा पनि प्रयोगात्मक शैलीबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने अनुभव बालबालिकाहरूले सुनाए । “सिर्जनशील अध्यापनका कारण बालबालिकाहरु पनि सिर्जनशील छन्”अभिभावक झबिन्द्र ज्ञवलीले बताए ।
विद्यालयले हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना गरेको छ ।
विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।
१४ गतेबाट सुरु भएको कार्यक्रम १६ गतेसम्म जारी रहने विद्यालयले जनाएको छ । कार्यक्रममा संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइएको छ ।
बालबालिकाहरुलाई नै विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा उभ्याइएको छ । विद्यार्थीहरुले पनि राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरिरहेको नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।
नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दाभिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रम संचालन भइरहेको महासचिव खनालले बताए ।
नमूना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ ।
कार्यक्रममा नवोदय शिशु सदनसहित मकवानपुरका अन्य विद्यालयका बालबालिकाहरुको पनि सहभागिता रहेको छ । बिद्यालयले गत २ बर्ष यो कार्यक्रम भर्चुअल प्रविधिबाट गरेको थियो ।
मकवानपुर । तीन तहको सरकारबीच मानव अधिकार कार्यन्वयको लागि सूची नै उल्लेख गरी बाँडफाँड गरिएको भए पनि त्यसको समुचित कार्यान्वयन हुन नसकेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले बताएका छन् ।
संघीय संरचनाको दृष्टिले मानव अधिकार संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच तालमेलमा समस्या भएको उनले बताए । मानवलाई प्राप्त हुने सबै खाले अधिकार निर्वाध रूपमा प्रयोग गर्न पाउनु नै मानव अधिकारको सही कार्यन्वयन भएको बताउँदै मन्त्री श्रेष्ठले भने: नीतिगत अस्पष्टताहरु हटाउन आफूहरुले हामीले प्रयास जारी राखेका छौं ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा हेटौँडामा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । नेपालमा भएका राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक सबै प्रकारका आन्दोलनमा महिलाको भूमिका उल्लेखनीय रहेको उनले स्मरण गरे । संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीले धेरै महिलालाई राजनीतिमा समावेश त गराएको तर प्रत्यक्ष निर्वाचनमा अझै महिलाको नेतृत्वलाई स्वीकार्न नसकेको उनले बताए ।
“प्रतिस्पर्धा समानहरूको बीचमा हुन्छ, असमानहरू बीचमा आरक्षण र विशेषाधिकार चाहिन्छ” उनले भने । मन्त्री श्रेष्ठले महिलालाई अंश, वंश र अर्थको अधिकार अनिवार्य रहेको बताए । अंश अर्थात आर्थिक, र वंश अर्थात सामाजिक अधिकारमा पुरुष बराबर महिलाको समान हक हुनुपर्न मन्त्री श्रेष्ठले बताए ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले संविधानमा सुनिश्चित अधिकार, मौलिक हक संरक्षणमा स्थानीय तहको भुमिका र न्यायिक समितिको काम कर्तव्य र अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्दै जनताको अधिकार प्रत्याभुत गराउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताए ।
आर्थिक अधिकारमार्फत् जनताको जीवनस्तर माथि उठाउन आवश्यक राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख अधिकारीले बताए ।
स्थानीय तह मानव अधिकारमैत्री बन्नुपर्ने उनले अधिकारीले बताए । स्थानीय तहमा हुने न्यायिक समिति प्रभावकारी हुन सके प्रहरी तथा अदालतमा पुग्ने घरेलु हिंसालगायतका सामाजिक विवादको चाप घट्ने उनले बताए ।
इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले स्वास्थ्य, शिक्षा, आवास तथा खाद्य अधिकारको संरक्षण तथा संवद्धनमा स्थानीय तहको भूमिका सम्बन्धमा र नेतृत्व विकास तथा महिला सशक्तिकरणको विषयमा प्रस्तुती दिएका थिए ।
अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारी, जिल्ला बार एशोसियसन अफ मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, मनहरी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, मानव अधिकार समूह मनहरी गाउँपालिका संयोजक बिमला गोपाली,अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरणका विषयमा आफ्नो महिला सशक्तिकरण आवश्यक भएको बताए ।
जिल्ला अदालत बार एसोसिएसन मकवानपुरका अध्यक्ष तथा अधिवक्ता अप्सरा बस्नेतले प्रजनन स्वास्थ, महिलामाथि हुने हिंसा, कानुनी प्रावधान तथा निराकरणमा स्थानीय तहको भुमिकाको बारेमा प्रस्तुतीकरण गर्दै समाजमा अहिले भ्रुणहत्याको घटनाहरू बढेको बताइन् ।
यस्तो सवालमा महिलाहरूले यसलाई रोक्नको लागि भूमिका खेल्नु पर्ने अधिवक्ता बस्नेले बताइन् । समाजलाई परिवर्तन गराउनको लागि मानव अधिकार तथा कानुनी विषयमा हरेक नागरिकले जानकारी राख्नु पर्नेमा उनले बताइन् ।

कार्यक्रममा डब्लुपीडीकाे फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाँइले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम विगत तीन वर्षदेखि मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा सञ्चालन भएको बताइन् ।
मानव अधिकारको अवधारणा तथा विकासक्रम, मानव अधिकार, मौलिक हक संरक्षणमा स्थानीय तहका भूमिका र न्यायिक समितिको काम कर्तव्य र अधिकारबारे प्रस्तुती रहने इन्सेकका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले बताए ।
कार्यक्रममा अधिवक्ता बस्नेतले प्रजनन् स्वास्थ्य, महिलामाथि हुने हिंसा, कानुनी प्रावधान तथा निराकरणमा स्थानीय तहको भूमिका विषयमा पनि प्रस्तुती दिएकी थिइन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १, ३, ४ र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का रिनियु परियोजनामा आवद्ध रहेका १५ ओटा महिला समूहका महिलाहरू र बाल अधिकार समूहका बालिकाहरूको सहभागितामा रहेको थियो ।