मकवानपुर । निषेधाज्ञा उल्लंघन गरी व्यापार गरेकाे भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले व्यापारीहरूलाई कारबाही गरेकाे छ । निषेधाज्ञामा व्यापार गरेकाे भन्दै प्रशासनले व्यापारीलाई कारबाही गरेकाे हाे ।
प्रशासन कार्यालका अनुसार हार्डवेयर पसल सञ्चालन गर्ने हेटौडा-४ का दिपेश खड्गी, कपडा पसल सञ्चालन गर्ने हेटौडा-२ का विक्रम चौलागाई र मोबाईल पसल सञ्चालन गर्ने हेटौडा-२ का यसेस रिजाललाई २/२ हजार जरिवाना गरिएको ताेकेकाे छ ।
यसैगरी निषेधाज्ञा उल्लंघन गरी सवारी साधन सञ्चालन गर्ने १ ट्याम्पो सहित २ सवारी साधनलाई ५ हजार जरिवाना गरिएको छ । यसैगरी निषेधाज्ञा उल्लंघन गर्ने १३ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिइएको प्रशासनले विज्ञप्तिमार्फत जनाएकाे छ।यसैगरी मास्क नलगाई हिंडडुल गर्ने १ जनालाई १ सय जरिवाना गरिएको छ ।
यसै बिच, जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो गरी २१ वटा सवारीसाधन नियन्त्रणमा लिएकाे छ । यस्तै ६४ वटा सवारीको कागजपत्र नियन्त्रणमा लिईएकोमा कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम २१ वटा सवारी साधनलाई जनही २ हजारदेखी ५ हजारका दरले कारवाही गरिएको प्रहरीले जनाएकाे छ ।

मकवानपुर/ सिद्धार्थ शिशुसदन हेटौंडाबाट २०५४ सालमा प्रवेशिका परीक्षा दिएका विद्यार्थीहरुको समूह (पहल) ले कोरोना भाइरसको महामारीमा समस्यामा परेकाहरुलाई सहयोग गरेको छ।
माइती नेपाल मकवानपुरको समन्वयमा पहलले एकल महिला, ज्येष्ठ नागरिक, तथा कमजोर आर्थिक अवस्था भएका २८ घर परिवारलाई दाल, चामललगायत खाद्यान्न सामग्री सहयोग गरेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । महामारीको समयमा समस्यामा परेकाहरुलाई केही राहत होस् भनेर आफूहरुले जमर्को गरेको पहलका टिम कोअर्डिनेटर जावेद हुसेनले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा पहलका सदस्यहरु मनिल श्रेष्ठ, लिलु मगर, आनन्द अग्रवाल, माइती नेपाल मकवानपुरकी मन लामाको समेत सहभागिता रहेको थियो । माइती नेपाल मकवानपुरले महामारीको समयमा समस्यामा परेका वर्गहरुलाई विभिन्न संघसंस्थाहरुको समन्वयमा खाद्यन्न सहयोग गर्दै आएको लामाले बताइन् ।
मकवानपुर । मकवानपुर जिल्लामा काेराेना विरूद्धकाे खाेप ९६ वटा स्वास्थ्य संस्थाबाट लगाइने भएकाे छ । आज र भाेली २ दिन ६२ देखि ६४ उमेर समुहको सबै ब्यक्तिहरुलाई कोभिड-१९ बिरुद्दको प्रथम चरणको खाेप लगाउन लागिएकाे हाे ।
मकवानपुरका १० वटा स्थानीय तहका ९६ वटा स्वास्थ्य संस्थाबाट कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ । तर आज २५ गते भने हेटौंडा उपमहानगरपालिका र बागमती गाँउपालिकाकाे १ गरी २ वटा स्वास्थ्य संस्थाबाट मात्र खोप लगाइने भएको हो ।
जेठ २६ गते बुधबारबाट भने १० वटै स्थानीय तहका स्वास्थ्य संस्थाबाट खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । चिनबाट ल्याइएको सिनोभ्याक खोप ६२ देखि ६४ वर्ष उमेर समुहका ६ हजार ५ सय नागरिकलाई लगाउन लागिएको हाे ।
देशका हिमाली पहाडी जिल्ला तथा अन्य जिल्लामा भने फरक उमेर समूह नागरिकलाइ चिनियाँ खाेप सिनाेभ्याक्स लगाइने बताइरहँदा मकवानपुर जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन भनिएकाे छ । साेही अनुसार यहाँका पालिकाहरूले सूचना समेत जारी गरिसकेका छन् ।
मकवानपुर । हेटाैडा २ मा संचालनमा रहेकाे पल्पसा आइसोलेशन सेन्टरमा सोमबारसम्ममा ६ जना काेराेना संक्रमित रहेका छन् । संक्रमित मध्ये ४ जना महिला र २ जना पुरुष रहेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको व्यवस्थापनमा संचालनमा अाएकाे आइसोलेशन सेन्टरमा १ जना डाक्टरले दैनिक संक्रमितकाे निरीक्षण तथा ४ जना नर्सले २४ घण्टा सेवा दिइएकाे संघ अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
पल्पसा आइसोलेशन सेन्टरमा कोभिड संक्रमित महिला र पुरुषको लागि छुट्टाछुट्टै बेडको व्यवस्था, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, २४ घण्टा नर्स र बिहान बेलुका डाक्टरको निरीक्षण, नुहाउनको लागि तातोपानी, वाईफाई, टिभी, खाना तथा नास्ता, औषधी आदिको निःशुल्क व्यवस्था रहेको छ । पल्पसा परिसरमा एउटा एम्बुलेन्सको २४ घण्टा सुविधा पनि रहेको छ ।
कोभिड हेल्प डेस्क मकवानपुरका सदस्य संस्था सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, पशुपतिनगरद्धारा संचालित एम्बुलेन्स संक्रमितको सुविधाको लागि राखिएको हो ।
यसै गरी सोमबार पल्पसा आइसोलेशन सेन्टरको निरीक्षण गरिएकाे छ । प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, क्षयरोग तथा कुष्टरोग निरीक्षक ठाकुर पौडेल र जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले आइसोलेशन सेन्टरको निरीक्षण गरेका हुन् ।
यस्तै सोमबार ३८ जना कोभिड संक्रमितहरुलाई कोभिड हेल्प डेस्क मकवानपुरबाट सम्पर्क गरि उनीहरुको अवस्थाकाे जानकारी लिइएकाे हेल्थ डेक्स सचिवालय संयाेजक कृष्ण कुमार अग्रवालले बताए । हेल्प डेस्कका स्वास्थ्यकर्मीहरुबाट दैनिक फोन सम्पर्क गरी संक्रमितको अवस्था बुझ्ने, रायसुझाव दिने, समस्या भएमा हेल्प डेस्कमा सम्पर्क गर्न र पल्पसा आइसोलेशन सेन्टरमा स्वास्थ्य लाभको लागि आउन पनि आग्रह गरिने गरिएकाे छ । सोमबार नै हेल्थ डेक्स मार्फत २ थान सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको छ । हेटौंडा–१५ र हेटौंडा–३ का १/१ जनालाई अक्सिजन सिलिण्डर अक्सिजन वितरण गरिएको अग्रवालले जानकारी दिए ।
कोभिड हेल्प डेस्क मकवानपुरको टोलीले सोमबार हेटौंडा–१० मा कोभिड संक्रमितको घरदैलो कार्यक्रम गरेको छ । हेल्प डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ताको नेतृत्वमा हेटौंडा–१० का वडा सदस्य धर्म बस्नेत, हेल्प डेस्कका सदस्य शंकरलाल श्रेष्ठ, मउवासंघका कार्यसमिति सदस्य सुनिल अधिकारी, समाजसेवी केदार प्रसाद न्यौपानेलगायतको घरदैलो कार्यक्रममा उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २ सय २४ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । जिल्लामा होम आइसोलेसनबाट २ सय १६ जना र संस्थागत आइसोलेसनबाट १२ जना गरी थप २ सय २४ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना पुष्टि भएको छ । १ सय १० जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ३ सय २६ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा गरी थप ९२ जनामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा हालसम्म पुष्टि हुनेको संख्या ९ हजार ४ सय २३ जना पुगेको छ । जिल्लामा हाल १ हजार ८ सय ९५ जना सक्रिय संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।