मकवानपुर / बागमती प्रदेश सरकार मतहतमा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले चालु शैक्षिक सत्रबाटै स्वास्थ्य विभाग अध्यापन गराउने भएको छ ।
प्रदेशको प्राथमिकतामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालू शैक्षिक सत्रबाट नै अध्यापन गराउन पाउने गरी चिकित्सा शिक्षा आयोगबाट कक्षा सञ्चालनको अनुमति पाएको हो । प्रतिष्ठान अन्तरगत अहिले हेटौंडा अस्पताल सञ्चालन हुँदै आएको छ ।
लामो संघर्षपछि यो अनुमति पाएको प्रदेश सरकारले जनाएको छ । प्रतिष्ठानमा ३ संकायमा स्नातकतह अध्यापन गराउन अनुमति प्राप्त भएको हो । प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले बताए । जसमा प्रदेश सरकारले ७५ प्रतिशतलाई निशुल्क अध्यापन गराउने भएको छ ।
आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडीकल ल्याबटेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउनका लागि अनुमति प्राप्त गरेको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार प्रसाईंले बताए । चिकित्सा शिक्षा आयोगल छनोट गरेका ७५ प्रतिशत बिद्यार्थीलाई प्रदेश सरकारले निशुल्क रुपमा पढाउन लागेको उनले बताए ।
मकवानपुर । मकवानपुरमा सञ्चालित एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । मकवानपुरका १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान गरिएको हाे ।
गत जेठ १९ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य कार्यालय मकवानपुरलाई एम्बुलेन्समा जिपिएस जडान जडान गर्न निर्देशन दिएकाे थियाे । निर्देशन पश्चात जेठ ३१ गते साेमबार जिपिएस ट्रयाकिङ जडान गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
एम्बुलेन्स चालकले कोरोना महामारीको समयमा सेवा दिन नसकेको र विभिन्न बहाना बनाई पञ्छिन थालेको जनगुनासो पछि जिपिएस जडान गरिएको हो । १ लाख ५० हजारमा खरिद गरी १७ वटा जिपिएस जडान गरिएको घिमिरेले बताए । ‘हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाँउपालिका र मनहरी गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा जडान गरिएको हाे’ उनले भने ।
जिपिएसको कन्ट्रोल गर्न जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।
- सम्झना घिमिरे
मकवानपुर । बागमती प्रदेश सरकारलाई युएनडीपीले स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालको संयोजनमा युएनडीपीले बागमती प्रदेशकाे ३ जिल्लाकाे लागि स्वास्थ्य सहयोग उपलब्ध गराएको हाे ।
महिला सशक्तिकरण तथा गरिवी निवारण समुहका इन्दिरा न्यौपानेको समन्वयमा युएनडिपी नेपालबाट प्राप्त ५० थान (५ लीटरको २५ थान र १० लीटरको २५ थान) अक्सिजन कन्सन्ट्रेटर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई साेमबार हस्तान्तरण गरिएकाे हाे ।
मुख्यमन्त्री पाैडेललाइ हस्तान्तरण गरिएकाे उपलब्ध ५० थान अक्सिजन कन्सन्ट्रेटर मध्ये प्रदेशका चितवन जिल्लालाई ९ थान, सिन्धुली जिल्लालाई २० थान र मकवानपुर जिल्लालाई २१ थान वितरण गरिने भएकाे छ ।
स्वास्थ्य सामग्री ग्रहणपछी मुख्यमन्त्री पौडेलले वागमती प्रदेशको राजधानी हेटौडा लगायत यस अन्तर्गतका जिल्लाहरुमा कोरोना संक्रमणको कारण कुनै पनि विरामीले ज्यान गुमाउने अवस्था सिर्जना हुन नदिने बताए । ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका हेटौडा अस्पताललाई ३ सय बेडकाे सुविधा बनाइनेछ ’ पाैडेलले भने ‘उधोग संघ हेटौंडाले १ करोड २८ लाख लगानीमा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने काम तिव्र रुपमा अघि बढिरहेको छ ।’

त्यस्तै बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले विश्व नै कोरोना महामारीबाट गुज्रिरहेकोकाे अवस्थामा नेपालका आधा भन्दा बढि संक्रमित वागमती प्रदेश रहेकोले स्वास्थ्य प्रति थप सचेतताको आवश्यकता रहेको बताइन् । अक्सिजनकै अभावमा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परिरहेको अवस्थामा युएनडीपीले गरेको सहयोग संजिबनी बुटी झैं भएको बस्नेतले बताइन् ।
हस्तान्तरण कार्यक्रममा स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र हेटौडाका प्रमुख बसन्त अधिकारी, हेटौडा अस्पतालका मेडिकल सुपरिटेडेन्ट रामचन्द्र सापकोटा युएनडीपी प्रतिनिधि धन चन्द , बिपुल झा, महिला सशक्तिकरण तथा गरिबि निवारण समुहको मकवानपुरका अध्यक्ष न्यौपाने , नेपाली काङ्ग्रेस मकवानपुरका पुर्व सभापति तथा सल्लाहकार रामचन्द्र अर्याल (माईकल) लगायतकाे सहभागितामा रहेको थिए ।
काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि समन्वयत्मक र आक्रामक रूपमा परिचालन गर्न नसक्दा कोभिड नियन्त्रणमा अपेक्षित प्रगतिसमेत हुन सकेको छैन ।
उता कोभिड नियन्त्रणमा प्रभावकारी मानिएको खोप लगाउने अभियानलाई समेत सरकारले व्यापक बनाउन सकेको छैन । जसका कारण खोपको आशा गर्दै बसिरहेका आमनागरिक समयमै खोप नपाउने चिन्ताले सताइन थालेका छन् । खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनामध्ये हालसम्म २३ लाख ८३ हजारले मात्रै खोप लगाउने अवसर पाएका छन् । बाँकी १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपको प्रतीक्षामा छन् ।
सरकारले आगामी मंसिरसम्म खोप लगाउन योग्य सबै जनसंख्यालाई खोप लगाउने प्रतिबद्धता जनाएको थियो तर अहिलेसम्मको प्रगति हेर्दा सरकारको प्रतिबद्धता पूरा हुन कठिन देखिएको छ । खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका देशले खोप उपलब्ध गराउने सुनिश्चितता नजनाउँदा खोप अभियान अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको हो । साथै खोप ल्याउन सरकारले आफ्ना संयन्त्रको समेत सशक्त परिचालन गर्न सकिरहेको देखिँदैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख ९१ हजार ४ सय ९४ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । कोभिड–१९ खोपको लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्नेहुन्छ । यसरी हेर्दा अनुमानित १ करोड ९३ लाख ७३ हजार ७ सय ६३ जना खोपबाट वञ्चित छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको गत २८ जेठसम्मको तथ्याकंलाई आधार मान्दा २३ लाख ८३ हजार जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् ।
कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका करिब १३ लाख ५० हजार नागरिक दोस्रो डोजको प्रतीक्षामा छन् । भारत सरकारमार्फत खरिद गरिएको १० लाख डोज नआउँदा ती नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारत सरकारले तत्काल खरिद गरिएको खोप उपलब्ध गराउन नसक्ने जनाएपछि खोप अभियान प्रभावित भएको हो ।

सरकारले गत २३ फागुन गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन सुरु गरेको थियो । यस्तै, १४ जिल्लामा ५५ वर्ष माथिका व्यक्तिलाई पनि खोपको पहिलो डोज लगाइएको थियो । यद्यपि कोभिसिल्डको पहिलो मात्रा (डोज) लगाएका व्यक्तिलाई दोस्रो डोजका रूपमा एस्ट्राजेनेका लगाइने भनिए पनि सो खोपको पनि कहिले आउने सुनिश्चित छैन ।
अब कोभिसिल्डको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रूपमा लगाउने व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तर, विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्रमा दोस्रो डोज लगाइसक्नुपर्नेहुन्छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले खोप उपलब्धताका लागि विभिन्न देशलाई आग्रह गरे पनि खोप आउने सुनिश्चितता अझै नभएको बताए । डा. पोखरेलले भने, ‘अहिलेसम्म कुनै देशबाट पनि खोप उपलब्धताको सुनिश्चितता पाएका छैनौं । हाल चीन सरकारले उपलब्ध गराएको भेरोसिल खोप जेष्ठ नागरिकलाई लगाउने कार्य जारी छ ।’
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले खोप आयातका लागि कूटनीतिक रूपमा पहल भइरहेको बताए ।
स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि ४ खोप उत्पादक कम्पनीलाई पत्राचार गरेको थियो । नेपालमा दर्ता भएका कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एन्ड जोन्सनलाई ५० लाख डोज खोप खरिदका लागि पत्राचार गरे पनि ठोस परिणाम आउन सकेको छैन ।
हालसम्म ४१ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा, खरिद गरिएको १० लाख मात्रा खोप नेपाल भित्रिएको छ । यस्तै, चीन सरकारले अनुदानमा उपलब्ध गराएको १८ लाख मात्रा र कोभ्याक्स फ्यासिलिटीअन्तर्गत ३ लाख ४८ हजार मात्रा खोप नेपाल आएको छ ।
कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्नेगरी १ करोड ३० लाख डोज खोप उपलब्ध गराउनुपर्ने भए पनि यसबारे ठोस परिणाम निस्किन सकेको छैन ।
यस्तै, कोरोनाविरुद्धको खोप अत्यधिक माग र मागअनुसार आपूर्ति हुन नसक्नु नै खोप अभियानमा चुनौती रहेको सरकारले औंल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मागअनुसार खोप आपूर्ति हुन नसक्दा अभियान सञ्चालन तथा व्यवस्थापनका क्रममा कठिनाइ भएको औंल्याएको हो । सरकारले निकट भविष्यमै खोप ल्याउने भनेर आशा देखाए पनि खोप सन्दर्भमा ठोस परिणाम ननिस्किँदा आमनागरिक चिन्तित बनेका हुन् ।
यस्तै, पूर्वतयारीको समय कम भएकाले खोप लिने व्यक्तिको सूची तयार गर्न चुनौती रहेको, निश्चित स्थानमा खोप केन्द्र रहेकाले खोप सेवाको पहुँचमा कमी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले हाल सञ्चालन गरेको भेरोसिल खोपमा जेष्ठ नागरिक (६० देखि ६४ वर्ष)लाई प्राथमिकीकरणमा राखे पनि अन्य समूहले यो खोप लगाएको पाइएको छ ।
यस्तै, जेष्ठ नागरिकहरूको खोप केन्द्रसम्म सहज पहुँच नभएको, समयमै पर्याप्त खोप प्राप्त नहुँदा सूचना सम्प्रेषणमा कठिनाइ भएको बताइएको छ । खोप अभियान सञ्चालका क्रममा दैनिक खोप प्रगति विवरण संकलनमा कठिनाइ भएको स्वास्थ्यको बुझाइ छ । अहिलेसम्म कति नागरिकले खोप लगाए भन्नेबारेमा विस्तृत तथ्याकंगत विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन ।
हाल नेपालमा कोभिसिल्ड र भेरोसेल खोप उपयोगमा आएको छ । अध्ययन अनुसन्धानले कोभिसिल्ड खोपको प्रभावकारिता ८१ दशमलव १३ प्रतिशत र भेरोसेल खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको देखाएको छ ।
याे समाचार राजधानी दैनिकबाट साभार गरिएकाे हाे ।
मकवानपुर । पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै गएको छ। खोप अभियान सुरु भएको र निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेसँगै संक्रमण घट्दै गएकाे हाे ।
केही दिनदेखि घट्दाेक्रममा रहेकाे काेराेना संक्रमणमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ९४ कोरोना भाइरसको संक्रमण निकाे भएका स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएकाे छ । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ३१ हजार १ सय ५ पुगेको छ ।
यस्तै, दुई हजार ४ सय ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ६ सय ९४ र एन्टीजेन परीक्षणबाट ७ सय १३ गरी जम्मा २ हजार ४ सय ७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना देखिनेको संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय १२ पुगेको छ ।
मकवानपुरमा थप २ सय २१ जना कोरोना संक्रमण निकाे
पछिल्लो २४ घण्टामा मकवानपुरमा थप २ सय २१ जनाले कोरोना संक्रमण निकाे भएका छन् । यस्तै मकवानपुरमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।