मकवानपुर । हेटौंडा उपमहनगरपालिका वडा नम्बर १० राप्तिरोडमा संचालित गुराँस पोलिक्लिनिक तथा श्री साई फार्मेसीमा जिल्ला प्रशासन कार्यलय मकवानपुरले ताला लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमन क्रममा गुराँस पोलिक्लिनिकमा लाइसेन्स नभएको व्यक्तिले औषधि बिक्री वितरण गरिएको पाइएपछि प्रशासनले ताला लगाएको हो ।
संचालकले कर्मचारीको आवशयक कागजपत्र देखाउन नसकेपछि ताला लगाइएको बताईएको छ । अनुगमनमा स्वास्थ्य कार्यालय, घरेलु कार्यालय, हेटौंडा उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटाैडामा असोज १६ गते शनिबार मुटुरोग सम्बन्धि निःशुल्क शिविर हुने भएकाे छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा हेटौंडा अस्पतालमा मुटुरोग सम्बन्धि निःशुल्क शिविर हुने भएको हाे ।
शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञ सहित ७ जना डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले मुटुरोग सम्बन्धी शिविरमा सहजिकरण गर्ने भएका छन् । शिविरमा करिब पाँच सय जनालाई उपचार गर्ने प्रतिष्ठानले जनाएकाे छ ।
शिविरमा मुटुरोगको परीक्षणसंगै ल्याबमा परीक्षण, औषधि समेत निःशुल्क उपलब्ध गराइने बताइएकाे छ ।

मकवानपुर । नेपालमा १ हजार ५ सय ५८ जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त सख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार देशभरमा ८ जार ६ सय ५४ नमुनाको पीसीआर परिक्षण गर्दा १ हजार ८६ र ३ हजार ७ सय २० जनाको एन्टीजिन परिक्षण गर्दा ४ सय ७२ जनामा संक्रमण देखिएको हो ।
यसैगरी बितेको २४ घण्टामा थप १ हजार ३ सय ५१ जना काेराेना संक्रमणमुक्त भएका छन् भने काेराेना निको हुनेको संख्या हाल ७ लाख ४६ हजार ५ सय ६६ रहेको छ ।
यस्तै नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । याे समेत हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ जना पुगेको छ ।
यसैबीच हालसम्म देशभर ४० लाख ७७ हजार २ सय ५६ नमुनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ । हाल देशभरका क्वारेन्टाइनमा २ सय ३६ जना र २५ हजार ४ सय ९७ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।
मकवानपुर । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक ५ हजार खर्च उपलब्ध गराउने बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उक्त निर्णय नै खारेज गरेको थियो ।
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामाग्री सहयोग गरिएकाे छ । प्रतिमाननिमा स्मृति प्रतिष्ठानले प्रदेशको स्वास्थ्य मन्त्रालयलाई १ करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हाे ।
कोरोना महामारी र अन्य स्वास्थ्य सेवा समस्याकाे समयमा प्रयोगकाे लागि मन्त्रालयलाई विहीबार प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेकी हुन् । २००७ सालका प्रजातान्त्रिक योद्धा प्रतिमानचन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिमान निमा स्मृति प्रतिष्ठानकाे तर्फबाट निर्देशक स्वाती थापाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको उपस्थितीमा प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिइन् ।
प्रतिष्ठानले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान ११ थरिका स्वास्थ्य सामाग्री सहयोग गरिएको थापाले बताइन् ।
केही दिन अघी प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाई मन्त्री समेत नियुक्त गरेकी थिइन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासको लागि मन्त्रालय फुटाएका बताइन् । एउटै मन्त्रालयमा शिक्षा,स्वास्थ्य, महिला तथा बालबालिका, युवा, खेलकुद भएकोमा चुस्त दुरुस्त काम गर्न फुटाएर मन्त्रालय खडा गरिएको उनले बताइन् ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राप्रपाका केन्द्रीय नेता मधु अधिकारी लगायतको सहभागिता रहेको थियो । प्रतिष्ठानले सात प्रदेशमा करिब ८ करोडको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।