मकवानपुर । मकवानपुरमा १ सय ६६ जना काेराेना संक्रमित थपिएका छन् । मकवानपुरमा साेमबार सोमबार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । पछिल्लो २४ घण्टामा कोरोना परीक्षण गराएका ४ सय ९२ जनामध्ये उक्त संख्यामा काेराेना संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट १ सय ३५ परीक्षण गर्दा ९३ जनामा र एन्टिजेन विधिबाट ३ सय ५७ परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएकाे छ । संक्रमण पुष्टि हुनेमा १ सय ४० जना हेटौंडा उपमहानगरपालिका रहेका छन् । यसैगरी थाहा नगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ११ जना, मकवानपुगढी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । याे सँगै मकवानपुरमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५९ हजार १ सय ८७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नै होम आइसोलेसनमा उपचाररत हेटौंडाका १३ जना र मनहरीका ७ जना गरी २० जना कोरोनामुक्त भएका छन् । जिल्लामा हाल १ हजार ७ सय १७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमा १० जना संस्थागत आईसोलेसनमा र १ हजार ७ सय ७ जना होम आईसोलेसनमा नै रहेर उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संस्थागत आइसोलेसनमा रहेका १० जना हेटौंडाका हुन् भने होम आइसोलेसनमा हेटौंडाका १ हजार २ सय ३४ जना, मनहरीका २ सय ५ जना, मकवानपुरगढीका १ सय जना, थाहाका ९३ जना, बकैयाका ४० जना, भीमफेदीका २० जना, कैलाशका ६ जना, इन्द्रसरोबरका ५ जना तथा बागमती र राक्सिराङका २/२ जना रहेका छन् ।
२५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये २५ प्रतिशतभन्दा बढीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोनाको तेस्रो लहर सुरु भएयता जिल्लामा कार्यरतमध्ये २५ प्रतिशत अर्थात् १ सय २५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए ।
गुरागाईंका अनुसार सबैभन्दा बढी हेटौंडा अस्पतालका ५९ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाे छ । यसैगरी, मनहरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका २२ जना, हेटौंडा उपमहानगरपालिकाभित्रका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रका १६ जना, कैलाश गाउँपालिकाअन्तर्गत कार्यरत ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, जिल्लामा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ८२ प्रतिशत र दोस्रो मात्रा लगाउतेको संख्या ६१ प्रतिशत पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा ३ दिनमा २ हजार ५ सय जनाले खोप लगाएको गुरागाईंले बताए ।
मकवानपुर । मकवानपुर जिल्लामा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आइतबार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र १ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जना गरी ९१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका २६ जना रहेका छन् ।
यसैगरी, थाहानगरपालिकाका १९ जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, मनहरी गाउँपालिकाका २२ जना, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार ६३ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ४ सय १५ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ७० जनाको मृत्यु भएको छ ।
देशभर ६ हजार ४ सय ६२ जना कोरोना संक्रमित
नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४ सय ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा आइतबार ३ हजार ७ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ८ सय ६८, ललितपुर ६ सय २ र भक्तपुरमा ३ सय २१ जना रहेका छन् । मन्त्रालयका अनुसार, यसअघि शनिबार २० हजार १ सय ८७ जनामा परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । देशभर कोरोनाको औसत संक्रमण दर ४१ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
भेरी अस्पताल, नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनका परिवारका ३ महिने छोरा, सासू, जेठानी दिदी गरी ४ जना पौष १५ गते बिहान मृत र अन्य ३ जना बेहोस अवस्थामा फेला परे । त्यस्तै, घटना सुर्खेत तथा काठमाडौंको बागबजारमा समेत घट्यो । चिसो बढेसँगै कोही बाथरुममा, कोही कोठामा त कोहीको सडकपेटीमै मृत्यु भइरहेको छ । यी त हालै घटेको प्रतिनिधि घटना हुन्, यस्ता दुर्घटना लामो समयदेखि जाडो महिनामा हरेक वर्ष घट्ने गर्छन् ।
मेचीदेखि महाकालीसम्म विगत ३ दिनदेखि मौसममा फेरबदल भएको छ र अझै एक सातासम्म रहने पूर्वानुमान जलवायु महाशाखाको छ । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई वर्षा, हिमपात, हुस्सू, कुहिरो र शीतलहरले चिसो बढाएको छ । माघ लागेदेखि तराईमधेशमा घाम लागेको छैन । पानीजस्तै शीतलहर छ । बाक्लो हुस्सू र चिसो हावाले मुटु नै हल्लाइरहेको छ । एक जोर न्यानो लुगा नभएर तथा नपाएर गरिब, विपन्न, असहायहरू परालकै सहारामा छन् । पराल, कोइला, दाउरा बालेर आगो ताप्ने, बस्ने तथा पराल नै ओढेर बाँचिरहेका छन् । उनीहरू वास्तवमा ढुंगेयुगको झल्को दिने दयनीय जीवन जिइरहेका छन् । जलवायु परिवर्तन तथा शून्य प्रतिकार्यले यो हविगत कति दिनसम्म रहने भन्नेमा कसैलाई एकिन छैन ।
तराईको दयनीय अवस्था : देशकै सर्वाधिक जनघनत्व बोकेको तराईक्षेत्र जहाँ प्रतिव्यक्ति आय कम भएका बढी छन्, त्यहाँका मानिसको घर, लुगाफाटा र चालचलन गर्मीसँग जुध्ने खालको छ । त्यस्तै विगतका केही दशकमा तराई केन्द्रित पर्यावरणीय समस्या देखापरेका छन् । जब चिसो र शीतलहर सुरु हुन्छ, तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगासमेत राम्रोसँग लाउन नपाउने गरीब जनता त्यसैमा अझ बुढाबुढी बालबालिका र महिलावर्गका लागि चिसो अभिशाप बन्दछ । मधेशमा अधिकांश समय गर्मी हुने भएकाले जाडोका लागि जोहो गरिँदैन, दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूसँग नयाँ लुगा किन्ने क्षमता हुँदैन । भएको एकसरो लुगा पनि शीतलहरले चिसो हुने, घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण पनि कोरा कल्पना बन्दछ ।
हिमपात र शीतलहरले कमजोर तथा विपन्न परिवारमाथि शत्रुपक्षले झैं निर्ममतापूर्वक आक्रमण गरिरहेको छ । गरिब, विपन्न, असहाय पराल, कोइला, दाउरा बालेर आगो ताप्दै ढुंगे युगको झल्को दिने दयनीय जीवन जिइरहेका छन् ।
सचेतनासँगै गरिबी : बर्सेनि तराईमा बाक्लो हुस्सू र शीतलहर फेरि आइपुगेको छ । विभिन्न तहका सरकारको कर्मकाण्ड सुरु भइरहेछ, उही दाउरा, कम्मल र खाद्यान्न बाँड्ने । तथापि अचानक आइपर्ने विपद् नभए पनि प्रभावितको अवस्था ज्यँँका त्यूँ छ । सरकारको तयारी देखावटी भएरै होला, जाडोले सबैलाई प्रभावित गरे पनि असर वर्गअनुसार फरक पर्दछ । जोगिन कोही घुर त कोही गिजर, हिटर प्रयोग गर्छन् । खानपानमा कोही महँगो रक्सी र धुम्रपान त्यस्तै बिक्रेता पनि थरीथरीका र क्रेता पनि कोही महलमा त कोही दानमा निर्भर । कमजोर तथा विपन्न परिवारमाथि शत्रुपक्षले जस्तो आक्रमण गर्छ, विपन्नको विपन्नता उजागर गर्छ । जति बढी गरिब, त्यति बढी असर । तसर्थ, शीतलहरमा मृत्युको प्रमुख कारण गरिबी नै हो ।
अत्यधिक चिसोले रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वास, अपच, पखालाजस्ता पाचन प्रणाली, स्नायु प्रजनन, रक्तसञ्चार प्रणालीलगायतका विभिन्न वातावरणीय, संक्रामक रोगबाट बढी प्रभावित हुन्छन् । चिसो, शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउँछ । ओठ, मुख, हातगोडा एवं कुर्कुच्चा सुख्खा र चिसो हावाले फुटाउने, चर्काउने र घाउ बनाउँछ । जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले योनिद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ । मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राइटिस, झाडा, पखाला हुनसक्छ र जन्डिस र टाइफाइड पनि हुने गरेको पाइन्छ । वाथ, सन्धीवाथ, आमवाथ आदि रोगबाट ग्रसितमा जाडोमा पीडाको बोध अत्यन्त ज्यादा हुन्छ ।
जटिलता : रुघाखोकीले ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी सामान्य संक्रमण गराउने भए पनि ट्राकियाटिस, ब्रोंकाइटिस, ब्रोेंलाइटिस, ब्रोंकोेनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया, नाकको राइनाइटिस, साइनाइटिस, कानको एक्युट ओटाइटिस मिडिया, ब्याक्टेरियल संक्रमण, टक्सिक कार्डियोमायोप्याथी, इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्युरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । अध्ययनले जाडोयाममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने पुष्टि गरेको छ ।
शीतांग : परिवर्तित चिसो मौसमी वातावरणको प्रत्यक्ष सम्बन्ध मानिसको शारीरिक तथा मानसिक स्थितिसँग रहने भएकाले मौसम परिवर्तन जनस्वास्थ्य समस्यासँग जोडिने गर्दछ । जब बाक्लो हुस्सू, चिसो वातावरण र शीतलहर चल्दछ तब शरीरको तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम घट्न गई हाइपोथर्मिया हुने गर्दछ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकुल काम गर्दछ । तर, त्योभन्दा कम भए वा ३० डिग्री सेल्सियसभन्दा कम हुँदा शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शीराधमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ ।
हाइपोथर्मियाबाट बढी पीडित तथा मृत्यु हुनेहरूमा वृद्धवृद्धा तथा नवजात शिशु जो एक ठाउँमा नचली बस्दछन् र एक्लो जीवन बिताइरहेका हुन्छन् तिनमा बढी देखिन्छ भने अन्य घरबारविहीन, विस्थापित परिवारका सदस्य र सडक पेटीमा समय बिताउनेहरू र कमजोर स्वास्थ्य अवस्था तथा रोगको जटिलतामा पनि देखिने गर्दछ । प्रभावित व्यक्तिलाई प्राथमिक उपचार भनेको न्यानोपन नै हो ।
रोकथाम : समाजमा प्रचलित उखान बलिया बांगा बाघलाई, अशक्त बुढापाका माघलाई भन्ने उखानले प्रश्रय नपाउनका लागि शरीरलाई न्यानो बनाउन मानिसले परापूर्वकालीन उपाय जाडोका साथी रुइ, फुइ र दुईमा भर पर्नुपर्ने जरुरी रहेका धेरै छन् । इन्फ्लुएन्जा र निमोनिया खोप महँगो त छँदै छ र लगाए पनि ३० प्रतिशत मात्र पूर्ण सुरक्षा दिने भएकाले खोप लगाएका पनि रोगको जोखिममा हुन्छन् । तातो र न्यानो स्थानमा बस्ने गर्नुपर्दछ । धुलो धुँवा, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्दछ, पटक पटक हात धुने गर्नुपर्छ ।
चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन भने धुवाँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन ‘सी’ पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्दछ ।
जाडोबाट बच्न पुरै झ्याल ढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टितेल तथा ग्याँसयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन आगोले लिइ दिई, अक्सिजनको मात्रा कम हुँदै जाने समस्या एकातिर हुन्छ भने अर्कोतिर आगोले कार्बन मनोअक्साइड जस्ता विषालु ग्यास बढी हुँदै गई अचेत बनाई थाहै नपाई मृत्यु समेत हुने खतरा बढ्छ, घरमा आगोलागी हुन्छ ।
अन्त्यमा, जिम्मेवारी र कर्तब्यबोध नभएका कारण प्रयाप्त बजेट, साधनस्रोत भए पनि स्थानीय र प्रदेश सरकार केन्द्र सरकारकै मुख ताकिरहेका छन् । निर्वाचनका बेला गाँस, बास र कपासको नारा दिएर भोट बटुल्ने सबै तहका नेता पनि पीडाप्रति बेखबर छन् । लक्षित कार्यक्रम बग्रेल्ति भए पनि कागजमै सीमित छन् । गरिबका नारा दिनेहरू सबै सधैं धनी बनिरहे पनि चिसो र शीत लहरबाट नागरिक जोगाउन र नागरिकलाई ढुंगेयुगबाट उद्धार गर्न उत्प्रेरित होऔं । जाडोबाट बच्ने उपाय तथा झ्याल, ढोका थुनेर आगो नबाल्न, दाउराको सट्टा न्यानो कपडा, हट वाटर ब्याग र कम्मल प्रयोग तथा बाँड्ने जस्ता सन्देश फैलाउनमा गरिबी नदेखाऔं । राजधानी दैनिकबाट साभार
मकवानपुर । मकवानपुर जिल्लामा १ सय ९६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पीसीआर विधिबाट १ सय ७९ जनाको परीक्षण गर्दा १ सय २३ जना र एन्टिजेन विधिबाट १ सय १६ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका संक्रमितमध्ये १ सय ४१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने १६ जना थाहा नगरपालिकाका र १५ जना मनहरी गाउँपालिकाका रहेका छन् । यसैगरी मकवानपुरगढीका १ सय २० जना, भीमफेदी र बकैया गाउँपालिकाका ५/५ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, बागमती र राक्सिराङ गाउँपालिकाका १/१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ । यो संगै मकवानपुरमा १ हजार ४ सय ४७ जना सक्रिय संक्रमित पुगेका छन् ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ७४ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ७० जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म हेटौंडाका १ सय २२ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि तीव्र गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो की कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । अल्का अस्पताका चिकित्सक डा रक्षा गौतम आफूमा काेराेनाकाे जस्ताे लक्षण देखिएमा पीसीआरु परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । ओमिक्राेनलाई सामान्य रुपमा हेर्न नहुने उहाँकाे भनाइ छ ।
यही विषयमा डा. रक्षा गौतमसँग गरिएकाे कुराकानी :
अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिरामीकाे चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरुको चाप धेरै बढेको छ । गएकाे दुईहप्ता देखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।
लक्षणका आधारमा आम सर्वसाधारणले काेभिड १९ काे डेल्टा हाे कि ओमिक्राेन कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको आधारभूत लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ ।
फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लु मा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु पर्यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वादपनि गएको हामीले यसपालि पाएका छौँ । र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरी यो पिक सिजन भइराखेको छ कोभिडको । हामीले बिरामीहरुलाई हेर्दाखेरी पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्लुयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ । पीसीआर गर्नैपर्छ ।
मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानि खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन कमन कोल्ड हुँदाखेरी ओपीडीमा धाउनु पर्दैन । जहाँ ज्वरो हुँदैन बिरामीलाई । जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो ।
प्रायः हामीले प्याटर्न हेर्दाखेरी बिरामीलाई तिन दिनसम्म ज्वरो आएको । तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरुले । अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तिन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ डिग्री भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरी पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ । छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानु भएको छैन । एकदमै कमजाेर हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपीडीमा ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।
यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
दुईथरी बिरामी हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै जँचाउन आउनुहुन्छ । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । आराम गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छन् आधा भन्दा बढी । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरे पनि निको भइराखेको छ धेरैलाई । कति चाहीँ धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन अस्पताल । श्वास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दीर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।
अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
सुझाव म के दिन चाहान्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पीसीआर गरेर छुट्याउन सक्दैनौँ । डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने भ्रम छ हामीकहाँ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईँहरुलाई भन्न सक्दैनौँ । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त ।
त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरुको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपीडीमा । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरु लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिँड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरुलाई बानी बसोस् भनेर । ९० प्रतिशत बिरामीहरुको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आईसीयू, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरु नराम्रो अवस्थामा गएको पनि हामीले देखेका छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई मेराे आग्रह छ ।उज्यालाे अनलाइन डटकमबाट